गृहपृष्ठ खबर गस्तीको बेला मदिरा चोरी गरेको आरोपमा असईसहित तीन प्रहरी निलम्बित

गस्तीको बेला मदिरा चोरी गरेको आरोपमा असईसहित तीन प्रहरी निलम्बित

सिरहामा नेपाल प्रहरीका असईसहित तीन जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन् ।

इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी असई नबल किशोर ठाकुर तथा प्रहरी जवान अन्नु कुमार राय र नरेश कुमार राय निलम्बनमा परेका हुन् ।

उनीहरूमाथि गस्तीको क्रममा मदिरा पसलबाट मदिरा चोरी गरेर लगेको आरोप छ । गत जेठ ९ गते राति १० बजेतिर लहान नगरपालिका २३ गढीया चोकमा रहेको पूजा मदिरा होटलमा मदिरा सेवन गरी होहल्ला गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिँदा पसलका सञ्चालक भागेका थिए ।

पसल सञ्चालक भागेपछि पसल खाली रहेको अवस्थामा पसलबाट ती प्रहरीहरूले केही थान रक्सी लिएर गएका थिए । प्रहरीले मदिरा चोरेको भिडियो सामाजिक सञ्जालमा आएपछि प्रहरीको आलोचना हुँदा उनीहरूलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

उनीहरूलाई प्रहरी नियमावली २०७१ बमोजिम आजकै मितिबाट निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी शालिग्राम शर्माले बताए । यस विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

सम्बन्धित् समाचार