मुलुकमा कोभिड–१९ सङ्क्रमण जोखिम बढेसँगै दुई वटा लकडाउन भई कतिपय राष्ट्रिय गौरवका आयोजना पनि थला परिरहेका बेला नागढुङ्गा सुरुङमार्ग निर्माणको काम भने तीव्र रूपमा भइरहेको छ ।
कोरोना महामारीका कारण देशभर नै बन्दाबन्दी रहेको अवस्थामा जोखिम न्यूनीकरणका हरसम्भव उपाय अवलम्बन गरी अत्याधुनिक उच्च प्रविधिमार्फत आयोजनाले कामलाई तीव्रता दिएको हो ।
हाल आयोजनाको समग्र भौतिक १५.९ र आर्थिक प्रगति २५.५५ पुगेको आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिए । काठमाडौँको बलम्बुस्थित तोतीपाखाबाट सुरु भई धादिङको सिस्नेरीखोलामा पुगेर अन्त्य हुने मूल सुरुङ २५८ मिटर र सहायक सुरुङको प्रगति ४९९ मिटर पुगिसकेको छ ।
लकडाउनका कारण लक्ष्यमा पुग्न भएको ढिलाइ दुई महिनाभित्रै सम्बोधन हुने तथा विगतमा छ मिटर खनिँदै आएकामा अहिले दुई सिफ्टमा कर्मचारी खटाएर दैनिक १२ मिटरसम्म सुरुङ अघि बढेको आयोजनाले संसदीय समितिलाई जानकारी गराएको छ ।
जग्गाको मुआब्जा छ अर्बसहित करिब २२ अर्ब लगानी अनुमान गरिएको दुई दशमलव ६९ किलोमिटर लामो नागढुङ्गा सुरुङमार्ग २०८० वैशाख १३ (सन् २०२३ अप्रिल २६) अघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य छ । कोरोना जोखिमलाई ध्यान दिँदै आयोजना परिसरमै ३२ शैय्याको आइसोलेशन केन्द्र पनि बनाइएको छ । प्राविधिक तथा मजदुर गरी यसबीचमा आयोजनामा कार्यरत ८६ जनामा कोभिड–१९ देखिएपछि केही दिन काम प्रभावित भएको थियो ।
सम्भावना देखिएका १७ सुरुङमार्गको पहिचान गरी भौगर्भिक अध्ययन गर्ने कार्य क्रमशः अघि बढिसकेको छ । हुन त आजभन्दा १०० वर्षअघि चन्द्रशम्शेर जबराकै पालामा थम्सन युनिभर्सिटीमा अध्ययन गरेर फर्किएका इञ्जीनियर डिल्लीजङ्ग थापाले हेटौँडा नजिक चुरियामा निर्माण गरेको ७६१ फिट लम्बाइको सुरुङलाई नेपालको ऐतिहासिक सुरुङ मानिन्छ । दक्षिण एसियामै सुरुङ नभएका बेला बेलायती ढाँचामा निर्माण गरिएको त्यो नेपालको पहिलो सडक यातायातका लागि बनाइएको सुरुङ १० फिट अग्लो थियो ।
यद्यपि मुलुकमा सडकबाहेक खानेपानी, सिँचाइ र विद्युत् आयोजना समेतका लागि करिब २७५ किमी सुरुङ निर्माण भइसकेको छ । तर, सवारी साधन गुड्ने अत्याधुनिक सुरुङमार्गका रूपमा नागढुङ्गा रहने छ । नौबिसे–थानकोट सडकखण्डको पिपला घुम्ती उकाल्न र त्यहाँ सडक चौडा गर्न नमिल्ने धरातलीय अवस्थाले राज्यलाई नागढुङ्गा सुरुङ निर्माणका लागि बाध्य बनाएको हो ।
सवारी जामबाट मुक्ति पाइने र हैरानी छल्ने विकल्पको सोचले अघि बढाइएको सुरुङ सञ्चालनमा आएसँगै यात्रामा समयका हिसाबले ४० मिनेट बचत र दूरीका हिसाबले साढे चार किमी कम हुनेछ । त्यस सडकखण्डमा दैनिक गुड्ने १४/१५ हजार सवारी साधनको ४० मिनेटका दरले समय बचत हुनेछ ।








