“मकै”

प्रकाशित मिति:

काठमाण्डौको चलेकै तालिम गृहमा तिन दिनको कार्यशाला शुरु हुदै थियो । बिभिन्न जिल्लाका सहभागी पहीलो दिनको हाजिरी लाउदै परिचायात्मक औपचारिकतामा व्यस्त थिए । तिनै सहभागी बिच म पनि पुराना साथीहरु सँगको औपचारिकतामा व्यस्त भए । नयाँ मित्रहरु सँग नव परिचयका लागी मेरो अग्रसर कायमै थियो । सहभागी जुटदै थिए, त्यहि बिचमा तालिम गृहका वेटरले बिहानीको खाजा तयारी भएको जानकारी थिए । सबै खाजाका लागी खाजास्थलमा जान थाले । खाजा खानेहरुको लाम लाग्यो । चिया, जुस, ब्रेड, अण्डा र जाम सगै खाजाका बिभिन्न परिकार । जेठको टन्टलापुर गर्मिबाट राहत पाएको अनुभव गर्दै धेरै सहभागी खाजा खान व्यस्त भए । खाजाका बिभिन्न परिकार मध्य सबैलाई बढि मन थियो “तारेको हरियो मकै” । हुन पनि दुधिलो मकैलाई केप्सिकम, लसुन, पियाज र मसलाको मिश्रणमा लोभ लाग्दो गरि तेलमा तारिएको थियो । धेरै सहभागीले मकै नै थपेर खाए । मैले पनि मिठो लागे पछि तारेको हरियो मकै थपे । मकै दुधिलो थियो, त्यसै माथी न छोडाउनु पर्ने झन्झट न त मुख भरी कालो लाग्ला कि भन्ने चिन्ता । काठमाण्डौ मात्रै होईन प्राय अधिकांस रात्रीकालीन पार्टीहरुमा पनि ग्राहकले रुचाउन थालेछन “तारेको हरियो मकै” । मकैलाई हरियोमा मात्रै होईन फुला बनाएर पनि चलेका रिसोर्ट र सिनेमाहरुमा पनि “पप कर्न” भन्दै मिठो मानी मानी खाएको भेटे । सजाईएका कागजमा ठेउला नभएका फुला मकैलाई “पप कर्न” को संज्ञा दिएर मिठो मानी मानी खान थालिएछ ।


आफनै ठाँउका रेष्टुरेन्टमा रात्रीकालिन खाजामा पनि “तारेको हरियो मकै” खानेहरु बढि नै देखिए । सामान्य चलेको रेष्टुरेन्टका सञ्चालक सँग सोधे बारीमा मकै लाउनु भएको छ र ? उनले जवाफ दिए “रेष्टुरेन्ट बाटै फुर्सद छैन कहाँ मकै फलाउनु हजुर ?” । फेरी सोधे यस्ता दुधिला र हरिया मकै कहाँबाट ल्याउनु भयो त ? मधेसको दक्षिण तिर अझै मकै फल्ने सिजन नै भएको छैन । हुन पनि हाम्रो तिर साउनको अन्तिम साता तिर मकै फल्छ । उनले जवाफ फर्काए अहिले त “तारेको हरियो मकै” प्याकिङ्गमा आउछ । फ्रिजमा राख्छौ । धेरैले मन पराएर मकै नै खान खोज्छन । अहिले त धेरैले मन पराउन थाले पछि ताजा किने मात्रै हो स्टकमा पाउनै मुस्किल छ । यिनै संबाद बिच मकै र मकैका परिकारका कथा मेरा लागी रोचक थियो । कारण थियो २०÷२२ बर्ष अघि मकैको खाजा भन्दा हितनाबोध गराईने मकै अहिले चलेको परिकार बनेछ । कक्षा ६ का पढदा, मेरो दैनिकीको खाजा हुन्थ्यो “पोलेको मकै” अनि कहिले काही “भुटेको मकै” । हाम्रा कक्षा शिक्षक थिए अमेरिकाबाट नेपाल बुझ्न आएका हाम्रा कक्ष एरिक सम्बोय । धेरै पछि नेपालमा बालमैत्री शिक्षाको अवधारणा आए पनि नेपालमै बालमैत्री शिक्षाको अभ्यास गर्ने हामी भाग्यमानी बिधार्थी थियौ । उनै अमेरिकी कक्षा शिक्षकले हाम्रो मासिक परिक्षा लिन्थे, अनि अमेरिकीकाबाट लिएर आएको बिभिन्न ताराका स्टिकर कापीमा लगाई दिन्थे, अनि कक्षाका उत्कृष्टताको आधारमा उतैबाट ल्याएको चक्लेट बाड्थे । कक्षामा सबै भन्दा सानो बिधार्थी भएकाले उनले अन्य बिधार्थी भन्दा मलाई औधी माया गरेको अनुभुती हुन्थ्यो । मैले तिनै शिक्षकबाट लिईएको एउटा मासिक परिक्षामा दुई वटा तारा र चक्लेट पाएको थिए । हाम्रो कक्षामा महेन्द्र प्राथमिकमा कक्षा ५ सम्म पढेर आएका केहि साथीहरु ६ कक्षामा थपिएका थिए । मेरा साथीहरु प्रायः सदरमुकाम दक्षिणका थिए । मधेसी समुदायका उनीहरु खाजाका लागी घरबाट चामल लिएर आउथे अनि भुजा भुटने भारमा चार भाग लगाएर एक भाग भुजा भुटनेलाई दिएर बाकी तिन भागको भुजा भुटाएर दिउसोको खाजा खान्थे । मेरो खाजा भने कहिले घरबाट ल्याएको पोलेको मकै त कहिले भुटेको मकै हुन्थ्यो । धेरै साथीहरुले खाजा खान घरबाटै १÷२ रुपैया बोकेर आउथे । उनीहरुले टिफिनको समयमा त्यहि पैसाले टिकिया र चटपटे खान्थे । घरबाट चामल ल्याउने साथीहरु मध्य केहिले कहिले काही चामल चोरेर ल्याउथे । एक जनाले चामल बेचेर चटपटे र टिकिया किन्थे र सामुहिक रुपमा खाजा खान्थे । साथीहरुको दैनिकको फरक परिकारका बिच मेरो सधैको मकैको परिकार देख्दा केहि साथीहरुले “मकैवाला” भन्न समेत भ्याउथे । मलाई दैनिक भुटेको र पोलेको मकै लिएर जादाँ हिनताबोधको अनुभती हुन्थ्यो । फरक परिकारको खाजा भएकाले मेरो साथीहरु सँग सामुहिक खाजा खाने मेलो मेसोनै पर्दैन्थ्यो, अनि लुकेर भुटेको मकै र पोलेको मकैको खाजा खान्थे । टिकिया र चटपटे खान पैसा पनि हुदैनथ्यो अनि लाग्थ्यो मैले पनि टिकिया र चटपट खाने दिन कहिले आउला ? । त्यस बेला भारतिय चलचित्रको प्रभाव बढि थियो । शनिबार र आईतबार सबै काम छोडेर एन्टिना मिलाउने जिम्मा लिएर डिडि नेशनलमा फिलिम हेरिन्थ्यो । यसो झ्यार झ्यार भएको कि छतमा गएर एन्टिना मिलाएर सफा बनाउने मेरो जिम्मामा पर्थ्यो । फिलिममा हेरेको जस्तो आफु पनि ठुलो भएर हिरो बनौ बनौ जस्तो लाग्थ्यो । हामी अध्ययन गर्ने बेला सम्म स्कुले जिवनमा प्रायः छात्राहरु सँग बोल्ने बानी थिएन । बोल्नु परे लाज लाग्थ्यो । तर सोहि कक्षामा अध्ययनरत एक छात्रा हिरोईन जस्तो र म हिरो जस्तो छु भनेर साथीहरु सधै जिस्काउथे । सबै साथीहरुले दैनिक जिस्काउदा मलाई पनि कता कता त्यस्तै अनुभुती हुन थालेको थियो ।
गणित बिषयको कक्षा थियो, मैले आमालाई दुई दिन अघि खोई कराई गरेर नयाँ ज्यामेट्रिबक्स किनेको कक्षाका सबै साथी साथीलाई थाहा थियो । धेरै साथीले त्यो दिन ज्यामेट्रिबक्स ल्याउन बिर्सिएछन । अनि तिनै हिरोईन जस्तै भनेर म सँग जोडिने गरिएकी छात्राले मेरो छेउमा आएर ज्यामेट्रि बक्समा भएको गोलाकार बनाउने कम्पास मागिन । उनको कुराले साह्रै अतालिएको मैले “ज्यामेट्रिबक्स ल्यान बिर्सिएछु । ” भन्ने जवाफ दिए । कारण ज्यामेट्रिबक्स सगै मैले खाजाका लागी ल्याएको दुईवटा पोलेको मकै राखेको थिए । कम्पास दिन मन भए पनि पोलेको मकै देखिने डरले मैले त्यो दिन झुठो बोल्नु पर्दा साह्रै चित्त दुखेको थियो । एका तिर झुठो बोलेकोमा पश्चाताप अर्का तिर कतै झोला खोल्दा कम्पास देखिएला कि भन्ने पिर । यिनै दोधारका बिच म कक्षा छोडेर भागे । मनमा कता कता लाग्यो आज झोलामा पोलेको मकै नराखेको भए म यसरी कक्षा छोडेर भाग्नु पर्ने थिएन । त्यस पछि धेरै दिन खाजामा पोलेको मकै लान मानिन । केहि दिन पछि बारीका हरिया मकै सिद्दिए अनि मैले पोलेको मकै खाजामा लैजाने झन्झटै सकियो । हो यो त्यहि मकैको कथा थियो जस्ले मलाई स्कुले जिवनमा साथीहरुका बिच फरक भएको अनुभती गराएको थियो । बिगतको स्मरणले झसङ्ग बनायो, हो मेरो स्कुले जिवनमा पटक पटक मेरा लागी हितनाबोधको प्रर्याय बनेको “पोलेको र भुटेको मकै” अहिले ठुला होटल र सिनेमा घरमा चलेको तथा सबैका लागी रुचिलो खाजा बनेछ ।

खग प्रसाद चापागाई
कपिलवस्तु

सम्बन्धित् समाचार