बा
सतहमा
कहिलै देखिएनन..
बा गहिराईका मोति हुन !
बाले चम्किला कुरा
कैलै गरेनन..
बा ऊँचाईका ज्योति हुन !
कविका कोमल हरफहरुमा
आमा लेखिइन !
गीतकारका सुन्दर पंक्तिहरुमा
प्रेयसी सजिइन !
बा सधै बिर्सिइए
बा सधै छोडिए
बा अलि कड़ा भए
सायद,
त्यसैले छोडिए !
सांच्चै,
बा साह्रै कड़ा !
बाले चन्द्रमा घरमै ल्याइदिने
लोरी कैलै गाएनन !
बाले परी र राजकुमारका
कथा पनि सुनाएनन !
कैले सिस्नुपानी त कैले गोर्खे लौरी
बाले चल्तीको दया देखाएनन !
कहिलेकाहिं कछुवा जस्ता लागे बा !
दुनियाँ रफ्तारमा चल्दा
बा कूटो कोदालोमै रमाए !
बाको मन्द गति देखेर
म हरेकपटक हतारोले कराएँ !
एक दिन नियालेर हेरें,
एकदमै कठोर कवजभित्र
लाखौं बेथा सजिलै लुकाउने बा,
सांच्चै कछुवा नै रहेछन !
कैले बा लट्टे नरिवल जस्ता देखिए !
झाम्रे,त्यान्द्रे,कडक..फोड्नै अफ्टेरा !
आधुनिक भनिने युगमा बा खै कता हराए ?
कहिलेकाहिं त
साथीभाईलाई चिनाउन सम्म लजाएँ !
एक दिन देखें,
असाध्यै कडा खोलभित्र
लपलपे खुस्बुदार नौनी पकाउने बा
सांच्चै जट्टे नरिवल नै रहेछन !
जब आफू बा बनियो
जगत् र जमानालाई चिनियो
तब महसूस भो,
दुनियाँमा यति विधि
लफडा रैछ र पो
बा कडा भएका रैछन,
जगतमा यति धेरै
बेईमानी रैछन र पो
बा चट्टान भएका रैछन !
नानी-बाबुलाई मन परेको
एक ज़ोर नाना किनिदिन
पुरै बजार चाहारेको
बाले कैलै सुनाएनन !
बुने-बुनीको खुसी किनिदिन
सधै झुकेको, सधै हारेको
बाले कैलै बताएनन !
बा कैलेकाहिं फोहोरी पनि लागे !
सधै मैलो सधै भिजेको
बाको दौराको फेर
अनि शीरको टोपी !
एक दिन नियालेर हेरें,
लुकी लुकी टोपीले
पसीना अनि
दौराको फेरोले
आंशु पुछिरहेका !
पुरुषले देखाउन नहुने भनिएको
आंशु त कुना पसी पुछेथे,ठिकै छ
देखाउन मिल्ने पसीना
किन लुकेर पुछेका होलान ?
सन्तानलाई सुकिलो बनाउन
कष्ट लुकाएर
धर्ती,आकास,जगत र ज़माना संग लड्ने बा
सांच्चै धुले, मैले र फोहोरी नै रहेछन !
बा कहिले गँवार जस्ता पनि लागे !
माया देखाउन जानेनन
चिप्ला कुरा गरेनन
लोकाचार कैलै पारेनन
तर
सन्तानलाई खुसी बनाउने
लिगलिगे दौडमा
बा कैलै हारेनन !
चाहना मार्ने बाले
बहाना कैलै गरेनन !
काजीले सुन्ना थपेर बनाएका
तमसुकका कुरा बताएनन !
मुखियाले मनपरी मिचेका
साँध र सिमाना देखाएनन !
मुगलानी मसानघाटका
डरलाग्दा दर्दहरु सुनाएनन !
अनेकौं तूफ़ान आए
लाखौं वेग आए
ज्वारभाटा हजारौं सल्बलाए,
बा कहिलै डगमगाएनन !
सायद
बा सतहमा बसेनन !
सबथोक सहजै सहने बा
गहिराइमा बसिरहे
र
सबको जीवनमा
सुन्दर लहर पैदा गरिरहे !
हरेक उन्मत्त ढुकढुकीहरुमा
प्राण भर्न अहोरात्र
सकिनसकी लडिरहने बा
हरेक बीमारका ओखती हुन !
खुसीका हजार तरंग
सतहमा फैलाइदिएर
आफू चुपचाप
कसैले नदेख्ने स्थानमा बस्ने बा
गहिराइका ‘मोति’ हुन !
-हेमन्त गिरी टोकियो