दशकपछि तिमीसँग भेट हुँदा……..
प्रिय मान्छे, समयले फेरि हामीलाई ठोक्यायो । एउटा कालखण्ड अवधिपछिको यो जम्काभेट सुखद र प्रितिकर भयो । तर, प्रिय मान्छे यी सबै शब्दहरु केवल औपचारिक न हुन् । जब तिमीले बितेका पलहरुको स्मृति गरिरहेकी थियौ, तिम्रो ओठमा छचल्किरहेका ती कम्पनहरु, आँखामा छिनछिनमा देखिने र ओझेल पर्ने चमक, ओठमा कतिबेला देखापर्ने मुस्कान र कतिबेला देखापर्ने विशाद, अनि मेरो अपलक हेराई, के त्यतिबेला हामीमा खेलिरहेका भावनाहरु शब्दमा अभिव्यक्त हुनसक्छन् ? शब्दहरु टुहुरा छन् किनभने तिनले मान्छेका भावनाको असीम गहिराई अभिव्यक्त गर्न असमर्थ छन् ।
प्रिय मान्छे, तिमीले एकदमै ठीक भनेकी हौ— केही साझा अनुभुतिहरु भएकैले हामी फेरि समयको एउटा अन्तरालपछि ठोक्कियौ । अब त हामीलाई बितेका प्रतिपल कुनै रोमाञ्चक चलचित्रका दृश्य बनिसकेको छ । ओहो ! हामी त कस्तो समयमा बाँचेछौ । बेलाबेलामा मलाई लाग्छ हामी एउटा कथाकालमा बाँचेका थियौ । हामी जे गर्यौ त्यो कथा बनेछ । समयका पानामा त्यो आख्यान बनेछ । नजानी नजानी हामी पात्र बनेछौ । जीवन कथामा बदलिएछ र हामी आज संघारमा उभिएर त्यो कथा पाठ गरिरहेछौं । परिधिमा बसेर रंगमञ्चका दृश्यहरु नियाल्नु अनि बेलाबेलामा अञ्जान बनेर रंगमञ्चमा छिरिदिनु……..जीवन घाम बनेछ, छाया बनेछ, जीवन आगो बनेछ, पानी बनेछ । बतास जस्तै बहकिने उरन्ठ्यालो यो जीवन । मलाई जीवन चिन्नुछ ।
प्रिय मान्छे मलाई जीवन खोज्नुछ । म भौतारिरहेछु । थाहा छैन कता बेत्ताल उडिरहेछु । फेरि जब समयले तिमीसँग क्षणिक पलको लागि ठोक्काइदियो भावनाका उत्ताल ज्वारहरुले म निष्लोट भएँ । म भावनामा बाँच्छु । कथित व्यवहारिक बन्ने अभिनयमा निर्जीव जीवन मलाई स्वीकार्य छैन । म आवेगमा बाँच्न चाहन्छु । म असन्तुष्टिमा बाँच्न चाहन्छु । म जीवनका उतारचढावहरुलाई बोध गर्न चाहन्छु । म अनुभुतिहरुमा जिउँदो हुन्छु । व्यवहारका नाममा सनातनी जीवनचर्या मेरो निर्जीवता हो । आत्माको हत्या हो । हामी कुनै संयोगले भेटिएका थियौ । त्यसपछि केही पलहरु हाम्रा साझा भएर बिते । नजानी नजानी एउटा दुरीको अन्तरमा पनि हामी एउटै टाइम स्पेशमा बाँचेछौ । नजानी नजानी अनुभुतिहरु सेयर भएछन् । नजानी नजानी बोध हुन थालेछ । फेरि समयको एउटा क्षणमा हामीबीच दुरी पलायो । हामी आ–आफ्ना बाटोका पथिक बनेछौ । ती दिनहरु संघर्षका दिनहरु थिए । दुःख र कष्टका पलहरु थिए । तर त्यतिबेला हामी स्वतन्त्रता सहित स्वच्छ थियौं । त्यहि पवित्र स्वच्छन्दताले हामीलाई अत्मिक यात्राको सहयात्री बनायो । हामीमा भविष्यको अतिशय चिन्ता थिएन न त वर्तमानको तनाव । हामीले कष्टहरुलाई आत्मसात गर्यौ र त्यहिं अभावहरुलाई इन्जोय गर्यौ । दहीमा पाउरोटीका टुक्राहरु डोबेर खाँदा पनि, खल्लो नुन राखेको चिया पिउँदा पनि, उही लुगामा पानी र पसिनाले भिज्दा पनि हामीलाई अभावको पीडा हुन्थेन । जब पीरहरु इन्जोय गरिन्छन् भने पीरहरु पीडा कसरी पो बन्छन् र ? त्यो हामी आफैले रोजेको दिनहरु थिए अनि गुनासो कोसँग ? बिलौना कोसँग ? तर ती विगत त आज सम्झिल्याउँदा कथाका घटनामा बदलिएछन्, रंगमञ्चका दृश्यमा फेरिएछन् । के सोचेका थियौ र हामी हाम्रै महाआख्यानको रचना गरिरहेका थियौं ! हरेक मान्छे एउटा बेग्लै उपन्यास बोकेर हिंड्दोरहेछ ।
हरेक मान्छे आफुमा पात्रहरुको चलखेल बोकेर बाँच्दोरहेछ । फरक यति हो वर्तमानमा बाँच्ने अभिनय गर्दागर्दा कलाका ती उच्चताहरु विस्मृतिको भीरमा पोखिदाँरहेछन् । आज हामी निकै फ्र्यान्क भएर भावनाहरु साटफेर गर्यौ । अहिले हाम्रा आ–आफ्ना स्फेयरहरु छन् । ती स्फेयरहरुको गहिराईमा विगतको छायाँ त होलान् तर वर्तमानमा ती एकअर्कामा ओभरल्याप छैनन् । म्याग्नेटिक फिल्ड जस्तै तिनका प्रभाव घेरामा भने कतै न कतै टक्करहरु होलान् । त्यसैले हामी स्वतन्त्र थियौ अनुभुतिको साटफेरको लागि । हामीले हिच्किचाहट, औपचारिकता र संस्कारका कथित सीमाहरु भत्कायौ र बितेका दिनहरुको कथाहरु साटफेर गर्यौ । तिम्रो सामु आफ्नो बेइमानी स्वीकार्नुको आनन्द मलाई अब शायदै मिल्ला । मान्छेले दोषहरु बिसाउन पनि बिसौनी चाँहिदो रहेछ । जब तिमीले भन्यौ— म यस्तै यस्तै सुन्न चाहन्थे । अनि मैले महसुस गरे कि तिमी अनुभुतिको भारी बिसाउन आएकी छौ । यस्तो अनुभुति जुन तिम्रो मनको पातालमा संमुद्र जस्तै चुपचाप बगिरहेको थियो । छातीको ज्वारभाटा मच्चिरहेको थियो । म पनि त फरक थिएन । भावनाका उत्ताल छालहरुलाई सम्हालिदिन फेरि तिमी आयौं ।
नेपथ्यबाट एउटा धुन बज्यो । म संगीत तरंगको पछि पछि स्वप्नलोकमा यात्रा गरेछु । मलाई आफ्नै बेत्ताल छालहरुसँग बरालिनु थियो, मलाई आफ्नै आवेगसँग मात्तिनु थियो । मलाई जीवनका यी आवरणहरु च्यतिदिनु थियो । तिमी बिसौनी भएर आयौ । मेरो मनको गह्रौ भारी फ्याकेर अहिले म लापत्ता छु । तिम्रो बिसौनी म बन्न सकें कि सकेंन मलाई थाहा छैन । भारी त तिम्रो पनि ठूलै थियो । भनेको थिएनि, मान्छेको मन पत्र–पत्रले बनेको हँुदोरहेछ । बन्दोकोभी जस्तो । जति पत्र उप्कायो अर्को बाँकी रहने । हरेक पत्र स्मृतिको एउटा विशेष घटनाको अभिलेख हुँदोरहेछ । हामी पुराना पत्रहरुलाई नयाँ आवरणले ढाकेर जीवन बाँचेको अभिनय गर्दारहेछौ । कुनै क्षण कुनै कारणहरुले दबिएका ती मनका पत्रहरुलाई उजिल्लाउँदा रहेछन् अनि स्मृतिको अतिशय गहिराईमा मान्छे चुर्लुम्म डुब्दोरहेछ । समय नदी जस्तो बग्दो रहेछ स्मृतिहरु किनारका चट्टानजस्तै स्थिर हुँदारहेछन् । र, हरेक चट्टानहरु बग्ने पानीहरुका उतारचढावका साक्षी रहेछन् । हामीले आफ्ना यात्राका चट्टानहरुमा खोपिएका अक्षरहरु पढ्न सिकें जीवन कति कोमल हुन्थ्यो होला ।
प्रिय मान्छे, अनुभुतिहरुको पछि पछि पुतली जस्तै उड्न पाएँ मान्छेको जीवन कति घमाइलो हुँदो हो तर मान्छे त आफैले निर्माण गरेका व्यवहारका अनेक तामझाम र बोझहरुको कैदी बनेको छ । मान्छेले व्यवहारिकताको ठूलो जेलखाना बनाएर आफ्नो हृदयलाई कैद गरेको छ । बाटोभरि हृदयविहिन मानिसका रुखा आवाजहरु सुन्नुपर्दा मेरो कोमल भावनाहरु कति पटक छियाछिया हुँन्छ होला ? आज तिमी आयौं, आफ्नै मनको छटपटीले तिमीलाई धकेलेछ । तिमी गयौं तर एक्लै होइन । मैले मेरो अनुभुतिहरुको ठूलो भारी बोकाएर पठाएको छु । तिमीले भारी कति बोझिलो ठान्यौ फर्केर हेर्ने इच्छा हुँदाहुँदै पनि टाउको मोड्न सकिनँ । जीवन कहिलेकाँही विवशताको बन्दी लाग्छ । यसपटक मनसम्मै छोइने गरेर आयौ तर तिम्रो स्फेयर मेरो स्फेयरभन्दा केही दुरीको अन्तरालमा सुरक्षित छ । म चाहन्छु त्यो सुरक्षित नै रहोस् तथापि त्यसका तरंगहरुले मेरो स्फेयरलाई स्पर्श गर्न नछोडोस् ।
शायन