दुर्गमको एक गाउँमा एउटा चिया पसल थियो। त्यस चिया पसलमा गाउँका प्रभावशाली व्यक्तिहरुको नियमित जमघट हुने गर्दथ्यो। बढ्दो उमेरका युवाहरु पनि आफ्नो प्रभाव देखाउन त्यहीँ गएर ठूला बडाहरुको कुरा सुन्ने, मौका मिल्यो भने आफ्ना कुराहरु पनि राख्ने गर्थे।
ठूलाबडाहरु भने युवाहरुको कुराकामा ध्यान दिँदैनथे। तर युवाहरु आफ्ना कुरा सुनाउननिकै लालायित हुन्थे। त्यसैले उनीहरु आफूलाई परिपक्व देखाउन आफ्ना बाका हजुरबाका जस्तै कपडा लगाउँथे। बा–हजुरबाहरुकै नक्कल गरेर पसलमा गई चिया खाने, चुरोट खाने गर्दथे।
एक दिन एक युवाले हजुरबाको कपडा लगाएर पसल नजिकै गएर रवाफिलो पारामा स्टाइलका साथ रु. २० को नोट दिँदै चुरोट माग्यो। तर पसलकी युवतीले यस युवालाई वास्तै गरिनन्। यसबीचमा पसलकी साहुनीले २–३ जना ग्राहकलाई सामान बेचिसकेकी थिइन्। आफूलाई बेवास्ता गरेको देखेर युवक रिसले भुतुक्कै हुन्छ र रिसाउँदै चश्मा खोलेर हेर्न थाल्यो।
तर, दोकान उ भएको ठाउँबााट ३ सय मिटर टाढा पो रहेछ। हजुरबाको पावरवाला चश्माको कारण दोकान नजिकै देखिएको रहेछ।
यति बेला नेपाल सरकारका सबै मन्त्री र उनीहरुका आसेपासेहरुले देशभरि तीब्र विकास भएको, सुशासन कायम भएको, कानूनी राज्यको स्थापना भएको र विगतका कुनै पनि सरकारले गर्न नसकेका पानीजहाज, रेल, टे«ड एण्ड ट्रान्जिट सन्धि लगायतका विकासै–विकासका कार्यहरु भएको देखेका छन्। तर जब चश्मा खोलेर वास्तविकताको धरातलबाट हेर्नेछन् तब महशुस गर्नेछन् कि, कसरी समय र श्रोतको बर्बादी गरिएको रहेछ।
सायद त्यतिबेला धेरै ढिलो भएको हुनेछ। यो सरकारको पतन भइसकेको हुनेछ। देशमा कम्युनिष्टहरुको पहिचान पनि एक फटाहा र छद्मभेषी शक्तिको रुपमा स्थापित भएको हुनेछ। समय छँदै सरकारी कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुले नेपाली समाजको विशिष्ठतामा आधारित विकासका प्राथामिकताहरुमा आधारित कार्यक्रमहरु सञ्चालन गर्न थाले भने अझै केही ढिलो भएको छैन।
विहानै घरवाट निस्केको मानिस विहानको खाना खान नआएपनि दिउसो खाजाखान आयो भने अलमलिएको मात्रै भनिन्छ, हराएको वा भागेको भनिदैन। त्यसकारण विगतका ७ महिनामा सरकार निकै अलमलिएको छ। खान नपाउने, भोका–नाङ्गा र सामाजिक रुपमा सदियौँदेखि विभेदको अपमानवाट प्रताडित जनताहरुले नयाँ भविष्य र भाग्यको आशा–भरोसासहित बनाएको सरकारले त्यस वर्गका जनताहरुका दैनिक जनजीवनसँग जोडिएका अवस्थाहरुप्रतिको बेवास्ताले सरकारलाई जनताबाट अलग्याइदिएको छ।
‘सर, तपाईं सकारात्मक सोचले सकारात्मक रुपान्तरण हुन्छ त भन्नु हुन्छ, तर हामी जनताले प्रयोग गर्ने वीरगञ्ज अस्पताल अस्पताल जस्तो छैन। हामीले पढ्ने विद्यालय अस्तब्यस्त छ। त्यहाँ पढ्ने विद्यार्थीहरुलाई सबैले छिःछिः र दुरदुर गर्दछन्। सरकारी कार्यालयमा जाँदा अपमान, ढिलासुस्ती बेहोर्नुपर्छ, हामीले हिँड्ने बाटो धुलाम्मे र हिलाम्मे छ। हाम्रालागि सरकार कहाँ छ? हाम्रो गाउँमा अझैपनि आमा–हजुरआमाहरुलाई बोक्सी भनिन्छ। हाम्रो जातका मान्छेले बाटो काटेमा साइत बिग्रन्छ भनिन्छ। १२ वर्ष पुग्ने बित्तिकै हामीलाई विवाह गर्न दबाब दिइन्छ, बा–आमाले दाइजो दिन नसकेका कारण दिदीहरुलाई दिउसै डढाइन्छ। तर न्याय पाइँदैन। वार्डदेखि संघीय सरकारहरुलाई हाम्रा यी यावत समस्याहरुप्रति चासो छैन। हामीलाई यति विघ्न किन बेवास्ता गरिन्छ? हाम्रा हजुरबाका पालादेखिका हाम्रा समस्या ज्यूकात्यूँ छन्। यो सरकारले पनि हाम्रा समस्यालाई केही वास्ता गर्दैन भने आखिर हाम्रो देशको सरकार कसको लागि हो? किन यति ठूलो सञ्जाल भएको कम्युनिष्ट पार्टी केही बोल्दैन? कुरीति, विभेद, भ्रष्टाचार, अन्याय, अत्याचारविरुद्ध सामाजिक आन्दोलनको नेतृत्व गर्दै । यदि सधैँ यस्तै भइरहने हो भने कतिवर्षमा यो देश परिवर्तन हुन्छ?’
गत महिना लायन्स क्लब अफ वीरगञ्जद्धारा आयोजित कार्यक्रममा सहभागीहरुले उठाएको यी प्रश्न नै यो देशको भाग्य र भविष्यसँग जोडिएका प्रश्न हुन्।
ठाकुरबाबा नगरपालिका (बर्दिया) को २० वर्षे गुरुयोजना निर्माण प्रक्रियाको सहजीकरण गर्ने सिलसिलामा गत हप्ता म बर्दिया पुगेको थिएँ। त्यहाँ भएको छलफलपछि मेयर, उपमेयर र सबै वडाका वडाअध्यक्षहरुले सर्वसम्मतिद्वारा आगामी ५ वर्षमा विकासका प्राथमिकताहरुको निर्धारण र गरी सोही आधारमा आगामी नीति तथा कार्यक्रमहरु एवं विकासका योजना कार्यान्वयन गर्ने निर्णय गरे।
उनीहरुले विकास रणनीतिको पहिलो प्राथामीकतामा जनशक्तिको सिर्जना, सामाजिक तथा राजनीतिक विकासलाई निर्धारण गरे भने दोश्रोमा प्राकृतिक श्रोत र साधनहरुको व्यवस्थापन भएको ठहर गरे। तेश्रोमा पूँजीको बद्धि तथा प्रविधि विकास र चौँथोमा वातावरण मैत्री एवं समावेशी–भौतिक पूर्वाधार तथा संरचनालाई ठहर्याए।
नगरपालिकाभित्र भएका ग्राभेल सडकलाई आगामी पाँच बर्षभित्र पिच नगर्ने निर्णय पनि बैठकले गर्यो। यस्तो निर्णय भएपछि ‘किन बाटो पिच नगर्ने? भन्ने प्रश्न स्वभाविक रुपमा उठ्ने नै भयो । मेयर मेयर घननारायण श्रेष्ठको उत्तर थियो, ‘यो नगरपालिकाभित्र बसोबास गर्ने ९८ प्रतिशत जनता साइकलमा यात्रा गर्छन्। यदि हामीले सडक पिच गर्न थाल्यौँ भने नगरको सबै बजेट बाटोलाई पिच गर्दैमा सकिन्छ। त्यो पिच दुई वर्षमा भत्किन्छ, बिग्रिन्छ। भएको बजेट जति सबै बाटोमा लगायौँ भने हामीले अरु काम गर्न सक्दैनौँ। बाटो पिच गर्दा लाग्ने खर्च जनताको आर्थिक अवस्थामा परिवर्तन ल्याउन खर्च गर्यौँ भने त्यसपछि कस्तो बाटो बनाउने हो, त्यस्तै बनाउन सक्छौँ। त्यसकारण यहाँ जनताहरुको लागि आयआर्जन र रोजगारीका अवसर बृद्धि गर्ने, सामाजिक विभेद हटाउने कार्यक्रममा केन्द्रित भएर कार्यक्रम सञ्चालन गर्न सकियोस् भनेर यो निर्णय गरिएको हो।’
मेयर श्रेष्ठको यो भनाइले यस देश–विकासका प्राथामिकता के हुनु पर्दछ भन्ने कुरालाई स्पष्ट पारेको छ। यदि संघीय सरकारले पनि ठाकुर बाबा नगरपालिकाबाट समयमै सिक्यो भने गुम्दै गरेको साख जोगाउन सक्दछ। सदियौँ देखि हेपिएका र पिल्सिएका जनताहरुलाई परिवर्तनको आभाष दिलाएर दैनिक जनजीवनमा परिवर्तन ल्याउनका लागि सामाजिक विकास, शैक्षिक गुणस्तरको सुनिश्चितता, स्वास्थ्यमा सहज पहुँच, कृषि प्रविधि एवम् सिपको विकास, वन व्यवस्थापन जस्ता कुरा निकै महत्वपूर्ण छन्।
जनतामा केन्द्रित भएर गरिने यस्ता विकासका योजनाहरुले नगरपालिकालाई र जनताहरुलाई सदैव जोडी रहनेछ, जनताले पनि नगरपालिकालाई भरोसायोग्य अविभावकको रुपमा ग्रहण गर्नेछन्। यस प्रकारका कार्यक्रमबाट आगामी ५ वर्षमा जनताको जीवनमा आउने सकारात्मक परिवर्तन प्रष्ट देख्न सकिन्छ।
यतिबेला चारैतिरबाट आलोचना र तिरष्कार खेपेको सरकारले सुशासन र जनताका दैनिक जनजीवनलाई सम्बोधन गर्न नेपालको सामाजिक संरचनामा आधारित विकासका प्राथामिकता र कार्यक्रम तर्जुमा गरेर सञ्चालन गर्न सकेमा सरकारको गिर्दो साख बचाउन सकिन्छ भने नेपालमा राजनीतिक विकासको प्रक्रिया पनि शुरु हुन सक्छ।
देश यतिबेला अनियन्त्रित भ्रष्टाचारको सिकार वनेको छ भने विकास प्राथामिकताको अभावमा जनताका समस्या दिन प्रतिदिन बढेर गएका छन्।
सत्तारुढ नेकपाले अहिले जुन शक्ति आर्जन गरेको छ, यो शक्ति कसैको चाहना वा कामनाका कारण यो शक्ति आर्जन गरेको होइन। यो शक्ति आर्जन गर्दासम्म प्रधानमन्त्री केपी शर्मा ओली लगायत लाखौँ जनताको त्याग, बलिदान र करोडौँको चाहना र भावना सहभागी भएको छ। यो शान र सौकात बचाउनु मात्रै होइन, बढाउनु पनि वर्तमान सरकारको कर्तव्य हो। सरकारको मुख्य कर्तव्य सुशासनको हो। छिमेकीसँगको सम्बन्ध जति नै समुधुर बनाएपनि र जति नै ठूलाठूला ट्रेड एण्ड ट्रान्जिट सन्धि गरेपनि यसको बदलामा भ्रष्ट, तस्कर, ठगहरुलाई पुरस्कृत गरेर सरकारको विरोध गर्नु भएन भन्नुको कुनै पनि हालतमा सकारात्मक अर्थ लाग्दैन।
कम्युनिष्ट सरकारले गनुपर्ने अनुकरणीय कार्य मार्फत् बर्षाैँदेखिका जोरीपरि र बैरीहरुलाई झापड हान्नुपर्नेमा त्यो केही हुन नसकेपछि हामीजस्ता निरीह बबुराहरुले अब के भनेर कम्युनिष्ट सरकारको प्रतिवाद गर्ने हो? बालुवाटार, पुल्चोक र सिँहदरवारबाट हेर्दा कलंकी, कालीमाटी, रिङ्गरोड, चिल्लो देखिएला, नेता र मन्त्रीहरु चढ्ने गाडीमा बज्ने साइरनका कारण उनीहरु हिँड्दा सडकमा जामपनि नहोला। उनीहरुका नातेदारहरुले उपचार गर्ने अस्पताल र यातायात नियमित होलान्। तर हामी निरिह जनताले हिड्ने बाटाभरि खाल्डा खुल्डी छन्, अस्पतालहरु सुविधाविहीन छन्, विद्यालयहरु गुणस्तरहीन छन्।
ट्रान्सपरेन्सी इन्टरनेसनलले पनि नेपालमा भ्रष्टाचार चरम रुपमा बढेको छ भन्छ। तर शक्तिशाली सरकारले ८ महिना बिताइसक्दा समेत एउटा पनि भ्रष्टाचारी भेट्टाउँदैन। तर जन्ममिति ढाँटेर सम्बैधानिक निकायको उच्च तहमा पुगेकै आधारमा तक्माले विभूषित गर्छ।
कुनै दिन वीरगञ्जबाट काठमाडौँ आउन रात्रीबसको टिकट काट्न नसक्नेहरुको सुरक्षाका लागि अगाडि–पछाडि आज सुरक्षाकर्मीको लर्को छ, जति भीड भएपनि चारैतिर मान सम्मानको ओइरो छ, हाछ्युँ आउँदापनि मिडियाको केन्द्रविन्दुमा उनीहरुले आफूलाई पाउँछन्। तिनीहरुले आफू सत्तामा भएका बेला देशमा भयंकर प्रगति भएको अनुभव गर्नु जायजै होला।
तर, मेचीदेखि महाकाली, हिमालदेखि तराइसम्मका भोका नांगाहरु जनताले नलगाएको चश्माले हिजो र आजमा कुनै फरक देख्न सकेका छैनन्। राम्रो हुँदैछ भन्ने कुराको महसुसपनि गर्न सकेका छैनन्। राम्रो भएको अनुभूति व्यवहारमा पनि गर्न सकेका छैनन्।
समय अझै छ, बाँकी समयको सदुपयोग गर्न ढिला नहोस्। शुभकामना!
– डा. रामचन्द्र लामिछाने इस्टर्न रिसर्च इन्स्टिच्युट अफ पोजेटिभ साइन्सका प्रमुख कार्यकारी अधिकृत हुन्