गृहपृष्ठ खबर ६८ वर्षअघिको त्यो महामारी जसले आईसीयु जन्मायो

६८ वर्षअघिको त्यो महामारी जसले आईसीयु जन्मायो

प्रकाशित मिति:

अहिले जब कुनै स्वास्थ आपतकाल हुन्छ, तब गम्भीर बिरामीहरुको जीवन एउटा मेसिनले बचाउँछ । आज संसारभरका अस्पतालमा यसको प्रयोग हुन्छ र कोरोना भाइरसबाट फैलिएको कोभीड–१९ को महामारीमा उपचारका लागि यसको भूमिका महत्त्वपूर्ण छ । कुनै जमानमा यस्तै एक महामारी फैलिएपछि संसारमा इन्टेन्सिभ केयर युनिट (आईसीयु) र मेकानिकल भेन्टिलेशन मेसिनको सुरुवात भएको थियो । कोरोना संकटको यो दौरमा आईसीयु र भेन्टिलेटर्सको नाम खुबै लिइएको छ, तर ६८ वर्षअघि यो मेसिन उपलब्ध थिएन । सन् १९५२ को अगस्ट महिनामा कोरोना भाइरसजस्तै एक महामारी फैलिएको थियो, श्वासप्रश्वासले काम गर्न छाडेपछि  हजारौँ मानिसको ज्यान गयो । त्यो रोग थियो – पोलियो ।

६८ वर्षअघि

डेनमार्कको कोपेनहेगनमा ५ सय शैयायुक्त ब्लेगडैम अस्पतालमा बिरामीको बाढी आएपछि डाक्टर र नर्स उनीहरुको उपचार गर्न नसक्ने लाचार अवस्थामा पुगे । यी बिरामीमध्ये अधिकांश बालबालिका थिए । त्यस जमानामा पोलियो एक गम्भीर भाइरल इन्फेक्सन (किटाणुबाट हुने संक्रमण) थियो, जसको कुनै उपचार थिएन ।

धेरै मानिस कुनै लक्षण बिना नै यस भाइरसबाट संक्रमित भइरहेका थिए, केही मामिलामा यो भाइरसले मेरुदण्डमा रहेका नशा र मस्तिस्कमा हमला गरिरहेको थियो । यसले मानिसमा पक्षघात  बनाउने खतरा थियो, विशेषगरी खुट्टामा ।

बेलायतको स्वास्थ सेवाका अनुसार स्वासप्रस्वास प्रणालीको माशंपेशी र पक्षघातको स्थितीमा यो रोगले ज्यान लिने खतरा थियो । पछिल्लो शताब्दीको मध्यमा कोपेनहेगन पोलियको महामारीबाट सबैभन्दा धेरै प्रभावित इलाकामध्ये एक थियो ।

पोलियोको महामारी

साइन्स जर्नल ‘नेचर’ मा छापिएको एक लेखका अनुसार ‘ब्लेगडैम अस्पतालमा हरेक बिहान पोलियबाट संक्रमित ५० मानिस आइरहेका थिए । त्यसमध्ये ६ देखि १२ जना मानिसले दैनिक श्वासप्रश्वासमा समस्या सामना गरिरहेका थिए ।

‘महामारीको पहिलो हप्तामा आएका धेरैजसो बिरामीमध्ये ८७ प्रतिशत पोलियो संक्रमणको अवस्था नाजुक थियो । यतिबेला पोलियोले या त संक्रमित व्यक्तिको दिमागमा वा त्यस स्नायु (तन्त्रिका) माथि हमला गरिरहेको थियो । जसले शरीरले श्वासमाथि नियन्त्रण राख्ने काम गर्थ्यो । यी बिरामीमध्ये आधाभन्दा बढी बच्चा थिए,’ जर्नलमा लेखिएको छ ।

तर एक डाक्टरले यस समस्याको निकास निकाले । उनले आधुनिक विज्ञानको इतिहासमा एक महत्त्वपूर्ण अध्याय लेखिदिए ।

डेनमार्कका डाक्टर बजाँर्न आजे इब्सेन पेशाले एनेस्थेसिया विशेषज्ञ थिए र उनले आफ्नो करियरको लामो समय अमेरिकाको बोस्टनमा बिताएका थिए । आफ्नो देशको स्वास्थ्य संकटलाई नियालेर उनले यसको निकास निकाले, हजारौँ मानिसको जिन्दगी बचाए ।

आईसीयु यति महत्त्वपूर्ण किन छ ?

स्विजरल्यान्डको सबैभन्दा ठूलो अस्पतालमध्ये एकमा कोरोना भाइरस संक्रमित मानिसहरुको उपचार गरिरहेका डाक्टर फिलिप जेन्ट भन्छन् – ‘ती बिरामी जसको महत्त्वपूर्ण अंगले काम गर्न छोडिदिन्छ, उनीहरुलाई जीवन रक्षा प्रणालीको साथ जरुरी हुन्छ । किनकी बिरामीको ज्यान खतरामा हुन्छ ।’

उनी भन्छन्, ‘आईसीयुमा बिरामीको स्थितीलाई नजिकबाट निगरानी गर्न सकिन्छ र आवश्यकताअनुसार उपचार पनि परिवर्तन गर्न सकिन्छ । त्यस्ता बिरामीको खास ख्याल केवल आईसीयूमै हुनसक्छ । अस्पतालको यो युनिटमा प्रति बिरामी बराबर नर्स र डाक्टरको अनुपात सबैभन्दा बढी हुन्छ ।

सम्बन्धित् समाचार