पाणिनी गाउँपालिका–८ पाली बलेघाँटकी १७ वर्षीया गर्भवतीमा कोरोना संक्रमण पुष्टि भएको छ। पाली स्वास्थ्य चौकीका इन्चार्ज रामप्रसाद घिमिरेका अनुसार उनी जेठ १० मा भारतको हरियाणाबाट परिवारसहित नेपाल आएकी हुन्। करिब तीन महिनाको गर्भवती रहेकी किशोरी पालीमा रहेको अर्बोका आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेकी छन्।
भारत बस्दा स्वास्थ्य जाँच गर्दा गर्भवती भएको रिपोर्ट आएको उनका पतिले बताएका छन्। जेठ २३ मा आरडिटी परीक्षणमा पोजेटिभ देखिएपछि स्वाब संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा स्वाबको नमुना पठाइएको थियो। क्वारेन्टाइनमा पति–पत्नीलाई छुट्टाछुट्टै कोठामा राखिएको छ। उनका पतिको पिसिआर परीक्षणको लागि मंगलबार स्वाब नमुना निकालेर पठाइने पाणिनी गाँउपालिकाका स्वास्थ्य प्रमुख शेषकान्त पोखरेलले बताए।
संक्रमित गर्भवतीलाई सदरमुकाम सन्धिखर्क आइसोलेसनमा लैजाने विषयमा छलफल भइरहेको पोखरेलले बताए। पाणिनी गाँउपालिकामा अहिलेसम्म चार जनामा कोरोना पुष्टि भएको छ। तीनजनाको सन्धिखर्क हटारीको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।