कोरोना संकट : २३ जिल्लामा निषेधाज्ञा, चार जिल्लामा शनिबारपछि

सरकारले कोभिड–१९ को संक्रमणावस्था हेरेर निषेधको आदेश जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा जारी गरिएको छ । गृह मन्त्रालयका अनुसार आजसम्मको प्राप्त विवरणमा कुल २३ जिल्लामा निषेधको आदेश जारी गरिएको छ । त्यसमध्ये आजसम्म १९ जिल्लामा आदेश कार्यान्वयनमा आएको छ ।

केही जिल्लामा आंशिक र कतिपय जिल्लामा आवश्यकता हेरी फरकफरक आदेश जारी गरिएको छ । आदेश जारी भएका जिल्लामध्ये एक जिल्लामा यही वैशाख १८  र अन्य तीन जिल्लामा १९ गतेदेखि कार्यान्वयन गरिने जनाइएको छ ।

सरकारले संक्रमक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौं उपत्यका तथा तराईमा ५०० सक्रिय संक्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी प्रजिअलाई निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको थियो ।

सोही अधिकार प्रयोग गर्दै बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान  र सुनसरीमा आदेश कार्यान्वयनमा छ । कालीकोट, बागलुङ, बर्दिया र  दार्चुलामा आंशिक आदेश जारी भएको छ ।

यता जाजरकोटमा यही वैशाख १८ गते रातिदेखि तथा सल्यान र  डडेलधुरामा १९ गते बिहान ६ बजेदेखि र झापामा १९ गते राति १२ बजेदेखि आदेश कार्यान्वयन हुने गृह मन्त्रालयले जनाएको छ ।

रोल्पामा चट्याङले एक बालकको मृत्यु : दुई घर जले

रोल्पा : रोल्पामा चट्याङले एक बालकको मृत्यु भएको छ भने दुईवटा घर जलेका छन्।

बिहीवार दिउँसो वर्षातसँगै परेको चट्याङमा परेर पुर्वी रोल्पाको सुनछहरी गाउँपालिका-७ जेलबाङका ९ वर्षीय अभिशेख पुनको ज्यान गएको हो।

जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीका अनुसार चट्याङमा परेका पुनको उपचारका लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। आमासँगै बहिनीको पोबाङ बैंकमा पोषण भत्ताका लागि खाता खोलेर घर फर्किने क्रममा याबाङ जंगलमा चट्याङमा परेका थिए। सँगै रहेका आमा र मामालाई चट्याङको धमाकाले सामान्य चोट लागेको गाउँलेले बताएका छन्।

पश्चिमी र दक्षिणी रोल्पाका दुई अलग स्थानका दुई घर चट्याङले जलेर नष्ट भएका छन्। परिवर्तन गाउँपालिका-२ बागमारा टाईबाङमा अमन कुमारी रानाको घर जलेको हो। प्रनाउ सुवेदीका अनुसार त्रिवेणी गाउँपालिका-२ दहवनका कृष्ण केसीको घर पनि चट्याङले जलेको हो। घरसहित लत्ताकपडा, धनमाल र अन्नपात सबै जलेका छन्। दुवै घर जलेपनि मानवीय क्षति हुन पाएन। चट्याङले बागमाराको घरमा लागेको आगो प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका छन् ।

दिउँसोदेखि जिल्लामा असिनासहित भारी वर्षा भइरहेको छ। चार दिनदेखि नुवागाउँ र गुनाम क्षेत्रमा लागेको आगो वर्षाले निभवेको छ भने घर गोठ जलेका अग्नि पीडितलाई भने समस्या परेको छ।

यस्तो छ संसारकै लामो झोलुंगे पुल (तस्बिरहरू)

पोर्चुगलमा संसारकै लामो झोलुंगे पुल सर्वसाधारणका लागि खुला गरिएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार  उत्तरी पोर्चुगलको अरौका जिओपार्कमा बनेको उक्त पुल ५ सय १६ मिटर लामो छ भने पैभा नदीको सतहभन्दा १७५ मिटरमाथि बनेको छ।

पुलको औपचारिक उद्घाटन आइतबारमात्रै हुने भए पनि बिहीबारदेखि स्थानीय सर्वसाधारणलाई पुलबाट आवातजावत गर्न दिइएको हो।

२८ लाख अमेरिकी डलर खर्चेर दुई वर्षमा निर्माण सकिएको उक्त पुलले अरौकाको पर्यटन विकासमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ।

यसअघि स्वीट्जरल्यान्डको  ४९४ मिटर लामो झोलुंगे पुललाई संसारकै लामो झोलुंगे पुल मानिन्थ्यो।

दाङमा निषेधाज्ञा लागू, सरकारी कार्यालय र बैंकसमेत बन्द

१७ वैशाख, काठमाडौं । दाङ जिल्लामा शुक्रबार बिहानबाट निषेधाज्ञा लागू भएको छ । वैशाख १७ गते विहान ६ बजेदेखि वैशाख २५ गते साँझ ६ बजसेसम्म दाङ जिल्लाभरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

दाङ जिल्लामा पनि कोरोना संक्रमितको संख्या र मृत्युदर बढिरहेकाले निषेधाज्ञा अवधिभर अतिआवश्यकीय बाहेकका सेवाहरु पूर्णरुपमा बन्द गरिएको छ । दाङमा सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द गरिएको छ ।

 

अतिआवश्यकीय सामान खरिदबिक्रीका लागि प्रत्येक दिन बिहान ७ बजेदेखि ८ बजेसम्म पसलहरु खुला गर्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अति आवश्यकीय सामान ढुवानी गर्न गाडीको प्रयोग गर्नु पर्ने भएमा पनि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने छ । खानेपानी, दूध, तरकारी, इन्धन, औषधि, विद्युत आपूर्ति, टेलिफोन, फोहोरमैला व्यवस्थापन र पुशपन्छीको दानासँग सम्बन्धी कामलाई अतिआवश्यकीय सेवा अन्तर्गत राखिएको छ ।

पूर्वपश्चिम राजमार्ग भएर दाङ हुँदै गुड्ने गाडीहरुलाई यात्रु उठाउन र झार्न निषेध गरिएको छ ।

जिल्लामा रहेका सम्पूर्ण विद्यालय एवम् कलेजहरुको पठनपाठन र विद्यालयको परीक्षा पूर्णरुपमा बन्द गरेर अनलाइन क्लास सन्चालन गर्न पाउने व्यवस्था गरिएको छ ।

भारतसँगका २२ सीमा नाका बन्द गर्न सिफारिस, कृष्णनगर नाका भने खुल्ने

काठमाडौं : सरकारले भारतसँग सीमाना जोडिएका नेपालका २२ नाका बन्द गरेको छ। शुक्रबार सिंहदरवारमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को वैठकले नेपाल भारतका ३५ मध्ये २२ वटा नाका बन्द गर्न सिफारिस गर्ने निर्णय भएको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए।

उनका अनुसार अब १३ नाका मात्रै खुल्ने भएका हुन्।

पशुपतिनगर,काँकडभिट्टा, जोगवनी, भिट्टामोड,गौर,वीरगञ्ज,कृष्णनगर,बेलहिया, जमुनाह, गौरीफन्टा, गड्डाचौकी, कुलघाट र झुलाघाट मात्रै सञ्चालन गर्न सिफारिस भएको हो।

रोल्पाको गंगादेवमा ४३ जनाको पीसीआर परीक्षणमा ४२ जनामा संक्रमण पुष्टि

वैशाख : रोल्पाको गंगादेव गाउँपालिकाका ४३ जनाको पीसीआर जाँच गर्दा ४२ जनालाई कोरोना पोजिटिभ देखिएको छ । एकैपटक गरिएको परीक्षणमा यति धेरै संख्यामा कोरोना देखिएको जिल्लामा यो पहिलो हो ।

स्वाब संकलन गरी भैरहवा पठाइएको पीसीआर जाँच गर्दा शुक्रबार पोजिटिभ देखिएको हो । पोजिटिभ हुनेहरुमा गाउँपालिकाका कर्मचारी, केही जनप्रतिनिधि र पालिका अवस्थित स्थानीय छन् । गंगादेव गाउँपालिकाका अध्यक्ष बीरबहादुर खत्रीका अनुसार सुरुमा लेखा अधिकृत र एक स्थानीय टेलरलाई कोरोना देखिएको थियो ।

सुरुमा कोरोना पोजिटिभ देखिएकाको कन्ट्याक्टमा रहेका पालिका जनप्रतिनिधि, कर्मचारी र स्थानीय गरी ४३ जनाको स्वाब संकलन गरिएको थियो । स्वाब परीक्षणबाट सबैजसोलाई पोजेटिभ देखिएपछि गाउँमा त्रास फैलिएको छ ।

गाउँपालिका उपाध्यक्ष, ३ नं. वडाअध्यक्ष, विभिन्न विषयगत शाखाका कर्मचारी र स्थानीयको स्वाब परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ । पालिकामा कोरोना पोजेटिभ देखिएपछि गाउँपालिकाको कार्यालय र २ नं. वडा कार्यालय वैशाख १२ गतेदेखि नै सिल गरिएको थियो ।

अध्यक्ष खत्रीका अनुसार पछिल्लो समय गाउँपालिका, सबै वडा कार्यालय र विद्यालय बन्द गरिएका छन् । कोरोना पोजेटिभ देखिएकाहरु मध्ये कतिपयमा रुघाखोकी, हाछ्यू र ज्वोरो आउने लक्षण देखिएपनि कतिपयमा कुनै लक्षण देखिएको छैन् ।

गाउँपालिकाका प्रवक्ता एवं ७ नं. वडा अध्यक्ष तुलबहादुर घर्तीमगरका अनुसार दुई चरणका खोप लगाएकामा पनि कोरोना पोजिटिभ देखिएको छ । कोरोना पोजिटिभ देखिएका सबै आ–आफ्नो घर, कोठा र क्वार्टरमा आइसोलेसनमा बसिरहेका छन् ।

कोरोनाको खोप लगाइदिन खटिएका स्वास्थ्यकर्मीमा पनि कोरोना पोजिटिभ देखिएको जनाएको छ । ‘दोस्रो चरणको खोप लगाई दिन खटिएका स्वास्थ्यकर्मीलाई पनि पोजेटिभ देखिएको छ । एक जनप्रतिनिधिले भने, ‘समुदायमै कोरोना फैलिसकेको देखिन्छ ।’

कोरोना पोजेटिभ देखिएका ४३ जनासँग गाउँपालिकाका धेरै सेवाग्राही समेत कन्ट्याक्टमा रहेका छन् । उनीहरुबाट समुदायमा कोरोना व्यापक फैलिएको आंकलन गरिएको छ । “४२ जनाको कन्ट्याक्ट ट्रेसिङ गरेर स्वाब परीक्षण गर्नेतर्फ पहल गर्छौं ,’ गाउँपालिका अध्यक्ष खत्रीले भने ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) ले संक्रमणबाट जोगाउन सूचना जारी गरेको छ । जिल्ला प्रवेश नाका खुंग्री र होलेरीमा हेल्थ डेस्क खडा गरिएको छ । प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले भीडभाड नगर्न र स्वास्थ्यको मापदण्ड पालना गर्ने गरी निर्णय सार्वजनिक गरेका छन् । जिल्लाका सबै विद्यालय बन्द छन् । पूर्व निर्धारित सबै परीक्षा स्थगित गरिएका छन् । दशवटा पालिकामा कम्तिमा एउटा आइसोलेसन केन्द्र संचालन गर्न भनिएपनि त्यस अनुरुप कार्य हुन सकिरहेको छैन् ।

वैदेशिक मुलुक, भारत र सहरी क्षेत्रबाट गाउँ फर्किएका समेत क्वारेन्टाइनमा बसेका छैनन् । कोरोना लक्षण सहितका विरामी स्वास्थ्य संस्थामा पुगेपनि स्वाब संकलन गर्ने व्यवस्था मिलाइएको छैन ।

कोरोना संक्रमण बढेपछि बर्दियामा निषेधाज्ञा थप

बर्दिया : बर्दिया जिल्लाभर जारी निषेधाज्ञा बैशाख मसान्त सम्मका लागि थप गरिएको छ । कोरोना संक्रमित बढेसँगै एक साता जारी गरिएको निषेधाज्ञा संक्रमण झन् बढेपछि बैशाख मसान्तसम्म निषेधाज्ञा लम्ब्याइएको हो । निषेधाज्ञामा दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल सञ्चालन हुने बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार जानकारी दिनुभयो ।

आदेशको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुरयाउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिने सुनारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधि पसल, बैंकको एटीएम निर्माण सेवाजस्ता अत्यावश्यक सेवा एवं सार्वजनिक निर्माण कार्य सञ्चालन गर्न पाइनेछ ।

कर्णालीमा २४ घण्टाभित्र ९ संक्रमितको मृत्यु

१७ वैशाख, सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट प्रदेश अस्पताल सुर्खेतमा थप एक जनाको मृत्यु भएको छ ।

वीरेन्द्रनगर नगरपालिका १० कि ३२ वर्षीया महिलाको उपचारका क्रममा शुक्रबार साँझ ७ बजे मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए ।

 

योसँगै पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

इजरायलमा भागदौड : कम्तीमा पनि ४५ जनाको मृत्यु

एजेन्सी : इजरायलमा धार्मिक कार्यक्रम मनाउन निस्किएका दशौं हजारबीच भागदौड मच्चिँदा कम्तीमा पनि ४५ जनाको मृत्यु भएको छ। ‘लाग बाओमेर’ नामक धार्मिक कार्यक्रम मनाउन बिहीबार राति हजारौं मानिस उत्तरपूर्वी इजरायलस्थित माउन्ट मेरोनमा पुगेका थिए। त्यसैक्रममा भागदौड मच्चिँदा कम्तीमा पनि ४५ जनाले ज्यान गुमाएको समाचार संस्था एपीले शुक्रबार जनाएको छ।

त्यसमा परी करिब एक सय ५० जना घाइते समेत भएका छन्। यसलाई इजरायलको सबैभन्दा घातक नागरिक प्रकोप मानिएको छ।

ठूलो संख्यामा मानिसहरू साँघुरो सुरूङबाट प्रवेश गरेपछि भागदौड मच्चिएको हो। भागदौड मच्चिएको भिडिओ पनि सार्वजनिक भएका छन्। त्यसक्रममा मानिस एकअर्का माथि लड्न थालेका थिए।

इजरायली सरकारले कोरोना भाइरसको महामारी नियन्त्रण गर्न लगाइएका सबै खाले प्रतिबन्धहरू हटाएपछि इजरायली जनता लाग बाओमेर मनाउन निस्किएका थिए।

दोस्रो शताब्दीका रब्बी सिमोन बार एचाईको सम्झनामा हरेक वर्ष हजारौं अर्थोडक्स यहुदीहरू उक्त ठाउँमा भेला हुने गर्छन्। भेलामा आगो बालेर नाचगान गरिन्छ। यसवर्ष मिडियाले अनुमान गरेअनुसार अन्दाजी एक लाख मानिस जम्मा भएका थिए।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहू शुक्रबार दिउँसो घटनास्थल पुगेका थिए। उनले आइतबार राष्ट्रिय शोकको घोषणा गरेका छन्।

शवहरूको पहिचानका लागि इजरायली सेन्ट्रल फोरेन्सिक प्याथोलोजी इन्स्चिट्युटमा लगिएको थियो। सबै मृतकको पहिचान खुलिसकेको छैन।

अधिकारीहरूले मृतकहरूको पहिचान खुलाउने प्रयास गरिरहेका छन्।

गुल्मीमा एक हप्ता निषेधाज्ञा

गुल्मी : गुल्मीमा शनिवार मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ । कोरोना भाइरसको दोस्रो लहर फैलिने क्रम बढेसँगै जिल्ला प्रशासन कार्यालयले शनिवार राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयमा शुक्रवार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले यही वैशाख १८ गते राति १२ बजेदेखि २५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभएको छ ।

निषेधाज्ञाको समयमा औषधि लगायतका पसल चौबीसै घण्टा खुल्ला रहनेछन् भने अत्यावश्यक उपभोग्य वस्तुको बिक्रीरवितरणका लागि बिहान ७ देखि नौ बजेसम्म समय तोकिएको छ ।

कपिलवस्तु अस्पतालले २२ बेडको कोरोना अस्थायी अस्पताल संचालन गर्दै

कपिलवस्तु : कपिलवसतु अस्पतालको मातहतमा रहने गरी तौलिहवा स्थित तत्कालीन महिला तथा बालबालिका कार्यालयमा संचालनमा ल्याउन लागिएको कोरोना अस्थायी अस्पतालको तयारी तीब्र पारिएको छ । कोरोना अस्पताल संचालनकालागि कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले बिशेष पहल गरेका हुन । अस्पतालमा २२ जना बिरामी राख्ने बेड, अक्सिजनका सिलिन्डर लगायतका अन्य आवश्यक सामाग्रीहरु धमाधम ल्याइएका छन ।

सो स्थानमा एक महिना अघि नै पिसिआर मेशीन जडान गरी परिक्षण सूरु भई सकेको छ । कोरोना अस्पताल संचालन र ब्यवस्थापनकालागि लुम्बिनी प्रदेश सरकारले २५ लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको अस्पतालका मेशु किशोर बन्जाडेले बताए । ६ महिना अघि पिसिआर मेशीन संचालन र ब्यवस्थापनकालागि पालिकाका प्रमुखले ६÷६ लाख दिने लिखित प्रतिबद्धता गरे पनि कपिलवसतु नगरपालिका बाहेक अहिले सम्म कसैले नदिएको मुेसु बन्जाडेले बताए । मेयर सिंहले कोरानाका कारण बिरामीहरु उपचारबाट बंचित भएको बेला आफुले कोरोना अस्पाल संचालनकालागि अघि बढन मेसु बन्जाडेलाई निर्देशन दिएको बताए ।

उनले यो अस्पताल संचालनमा आए पछि कोरोनाका बिरामीको उपचारमा केही भए पनि सहजता आउने बताए । रकम अभाव भएका बेला प्रदेश सरकारले २५ लाख रकम बिनियोजन गरी पठाउने निर्णय गरे पछि आफुहरु उत्साही भएको मेसु बन्जाडेले बताए । अस्पतालमा केही दिन मै कोरोनाका बिरामीहरुलाइृ राखेर उपचार सुरु गरिने उनले बताए ।

कपिलवस्तुमा पनि लकडाउन गर्नु पर्नेमा अध्यक्ष घिमिरेको जोेड

वैखरी अनलाइन

कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले कोरोनाका कारण अवस्था दिनानुदिनभयावह हुन लागेको भन्दै कपिलवस्तुमा पनि लकडाउन गर्नुपर्नेमा जोड दिएका छन । बढदो कोरोना प्रभावलाई मध्यनजर गर्दै तत्काल लकडाउन गर्नुपर्ने अध्यक्ष घिमिरेले बताए ।
साझ र बिहान वा समय अनुकुल सुरक्षाका मापदण्ड अपनाउदै ब्यवसाय सञ्चालन गर्नपर्ने बताउदै कम्तीमा १ हप्ता लकडाउन गर्न आवश्यक रहेकोमा अध्यक्ष घिमिरेले जोड दिएका हुन ।

सरकारले कपिलवस्तु पनि उच्च जोखिम र धान्नै नसकिने अवस्थामा रहीँ रहेको भनेको अवस्थामा अव संक्रमितको सख्या हेरेर वा गनेर लकडाउन गर्ने तर्फ नलागेर तत्काल कडा लकडाउन गनुपर्ने उनको भनाई छ ।
वैखरी अनलाइनसगं कुराकानी अध्यक्ष घिमिरेले आवश्यक परे आइसोलेशनका लागी कपिलवस्तु उद्योग बाणिज्य सघंको भवन दिन तयार रहेको बताउदै सबै सरोकारवाला पक्ष यसको रोकथाममा लाग्नु पर्ने बताए ।

कपिलवस्तुमा तत्काल लकडाउन गरौँ ः कांग्रेस सभापति आर्चाय

वैखरी अनलाइन
नेपाली कांग्रेस जिल्ला कार्य समिति कपिलवस्तुका सभापति सुरेन्द्रराज आर्चायले तत्काल कपिलवस्तुमा पनि लकडाउन गर्नुपर्ने बताएका छन । बढदो कोरोना प्रभावलाई मध्यनजर गर्दै तत्काल लकडाउन गर्नुपर्ने सभापति आर्चायले बताए ।

सरकारले कपिलवस्तु पनि उच्च जोखिम र धान्नै नसकिने अवस्थामा रहीँ रहेको भनेको अवस्थामा अव संक्रमितको सख्या हेरेर वा गनेर लकडाउन गर्ने तर्फ नलागेर तत्काल कडा लकडाउन गनुपर्ने आर्चायको भनाई छ ।

वैखरी अनलाइनसगं कुराकानी गर्दै सभापति आर्चायले सरकार आफैले अस्पतालका शैया खाली नरहेको बताइ सकेकाले लकडाउन गर्नुको बिक्लप नरहेको बताए । साथै उनले स्थानिय सरकारलाई अक्सीजन सहितको आइसोलेसन बेड तत्काल तयार गर्न समेत आग्रह गरेका छन ।

राजनराज र वियोन्सेले ल्याए ‘ल्यासी पाउँ’

गायक तथा संगीतकार राजनराज शिवाकोटी र युगाण्डाकी गायिका बियोन्से फाम्सीको सहकार्यमा तयार ‘ल्यासी पाउँ’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मन्दिरा ढुंगेलले शब्द तथा राजनराजको संगीत सुन्न सकिन्छ ।

बियोन्सो राजनराजको ‘फूलबुट्टे सारी’ गीतको कभर गाएर चर्चामा आएकी थिइन् । नेपाल घुम्न आएको बेला ट्रेन्डिङ गीतको रूपमा रहेर ‘फूलबुट्टे सारी’ मन परेपछि बियोन्सेले कभर गाएको बताउँछिन् ।

बियोन्सेले गाएको कभर हिट भएपछि राजनराजले उनीसँग सहकार्य गर्ने रहर गरेका थिए । अन्तत: उनीहरूले ‘ल्यासी पाउँ’मा सहकार्य गरेका छन् ।

राजेश पुमा राईले निर्देशन गरेको गीतको भिडियोमा राजन र बियोन्से नै फिचर रहेका छन् । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।

कपिलवस्तु अस्पतालले २२ बेडको कोरोना अस्थायी अस्पताल संचालन गर्दै

कपिलवस्तु १७ बैशाख
कपिलवसतु अस्पतालको मातहतमा रहने गरी तौलिहवा स्थित तत्कालीन महिला तथा बालबालिका कार्यालयमा संचालनमा ल्याउन लागिएको कोरोना अस्थायी अस्पतालको तयारी तीब्र पारिएको छ ।

कोरोना अस्पताल संचालनका लागि कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले बिशेष पहल गरेका हुन । अस्पतालमा २२ जना बिरामी राख्ने बेड, अक्सिजनका सिलिन्डर लगायतका अन्य आवश्यक सामाग्रीहरु धमाधम ल्याइएका छन । सो स्थानमा एक महिना अघि नै पिसिआर मेशीन जडान गरी परिक्षण सूरु भई सकेको छ । कोरोना अस्पताल संचालन र ब्यवस्थापनकालागि लुम्बिनी प्रदेश सरकारले २५ लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको अस्पतालका मेशु किशोर बन्जाडेले बताए ।

 

६ महिना अघि पिसिआर मेशीन संचालन र ब्यवस्थापनकालागि पालिकाका प्रमुखले ६÷६ लाख दिने लिखित प्रतिबद्धता गरे पनि कपिलवसतु नगरपालिका बाहेक अहिले सम्म कसैले नदिएको मेसु बन्जाडेले बताए । मेयर सिंहले कोरानाका कारण बिरामीहरु उपचारबाट बंचित भएको बेला आफुले कोरोना अस्पाल संचालनकालागि अघि बढन मेसु बन्जाडेलाई निर्देशन दिएको बताए ।

 

उनले यो अस्पताल संचालनमा आए पछि कोरोनाका बिरामीको उपचारमा केही भए पनि सहजता आउने बताए । रकम अभाव भएका बेला प्रदेश सरकारले २५ लाख रकम बिनियोजन गरी पठाउने निर्णय गरे पछि आफुहरु उत्साही भएको मेसु बन्जाडेले बताए । अस्पतालमा केही दिन मै कोरोनाका बिरामीहरुलाइृ राखेर उपचार सूूरु गर्ने उनले बताए ।

संक्रमित बढेपछि प्युठानमा एक हप्ता लकडाउन

बिमल प्रसाद पाेख्रेल बैशाख १७

प्युठान कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्युठानमा एकसाता सम्म लकडाउन हुने भएको छ । शुक्रबार बसेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रकोे बैठकले शनिबार बिहान ६ बजेदेखि लागू हुने गरी एक सातासम्म लकडाउन गर्ने निर्णय भएको प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो ।

कोरोना संक्रमणको फैलावट तोड्न र कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गर्नु परेको प्रजिअ भुसालले बताउनुभयो। लकडाउनमा अत्यावश्यक सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा सञ्चालनमा रोक लगाइएको छ। अत्यावश्यक काम बाहेकको हिँड्डुलमा समेत निषेध गरिएको छ।

बैठकले फलफूल ,तरकारी दूध, इन्धन र मासु पसल, खाद्यान्नको सवारी भने संचालन गर्न पाउने निर्णय गरेको छ। त्यस्तै,बिबाह ,पार्टी गर्न परेमा जिल्ला प्रशासनको स्वीकृति लिएर बढिमा १५ जना मात्र उपस्थित हुन पाउने, लघुबित्तका गाउँ गाउँ गएर समुह जम्मा गर्ने काम नगर्ने, अति आबश्यक बस्तु बाहेकका सबै पसल बन्द गर्ने, बैंक तथा बित्तीय सस्थाका कर्मचारीलाई अफिसियल कार्ड देखाएर मात्र दुई पाङ्ग्रे सवारि चल्न दिने, औसधि पसल २४ घन्टा खुल्न पाउने निर्णय समेत बैठकले गरेको छ।

स्वास्थ्य मन्त्रालय भन्छ- अस्पतालमा शय्या उपलब्ध गराउन सकिन्‍न

काठमाडौँ — कोभिड १९ को संक्रमण नेपालमा निकै उच्च गतिमा फैलिरहेको बताउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आएको बताएको छ ।

मन्त्रालयले शुक्रबार सार्वजनिक अपील जारी गर्दै काठमाडौं उपत्यकासहित अन्य १९ जिल्लामा संक्रमण फैलने दर डरलाग्दो भएका कारण अस्पतालमा राखेर हेरचाह गर्न शय्या उपलब्ध गराउन नसकिने अवस्था आइसकेको बताएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको अपीलमा संक्रमणको रोकथामका लागि सबैलाई जनस्वास्थ्य मापदण्डहरु कडाईका साथ पालना गर्न अनुरोध गरिएको छ । यस्तै कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि कहि कतै जाने कामहरु पूर्ण रुपमा नगर्नु नगराउनुहुन पनि अपील गरिएको छ ।

‘कुनै पनि सार्वजनिक स्थलहरुमा जाने भीडभाड गर्ने कामहरु बन्द गर्ने गराउने कामहरु गर्न अत्यन्त जरुरी छ । जनस्वास्थ्यका मापदण्डहरुको संवेदनशील भई कडा रुपमा पालना गर्नु गराउनु पर्नेछ,’ अपीलमा भनिएको छ, ‘देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको यो अवस्थामा कृपया सबैजना संवेदनशील बनिदिनुहुन अनुरोध छ ।’

 

१५ वर्षअघि दुर्घटनामा परेको हेलिकप्टर र दुई शव सेनाको टोलीले धौलागिरिमा भेटायो

काठमाडौं,बैसाख१७-

सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टी हेलिकप्टर धौलागिरि हिमालमा भेटिएको छ।  नेपाली सेनाको टोलीले दुई वटा शवसहित हेलिकप्टर फेला पारेको हो।

सेनाको टोलीले  बिहीबार धौलागिरी बेस क्याम्पनजिकै हेलिकप्टर र दुई वटा शव भेटाएको हो।

हिमाल सफाइमा निस्केको सेनाको टोलीले दुर्घटनाग्रस्त हेलिकप्टर र दुई शव फेला पारेको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए।

एकैदिन कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु, ५७ सय बढी संक्रमित थपिए

काठमाडौं : बितेको २४ घण्टामा ५७ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७ सय २७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै २४ घण्टामा ३३ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १५ हजार ३९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ हजार ६५७ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ५२५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ भने निको हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ९२८ जना निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ भने मृतकको कुल संख्या ३ हजार २८९ पुगेको छ ।

हालसम्म २४ लाख ७३ हजार ९५६ जनाको पीसीआर परीक्षण भइसकेको छ ।

वैकल्पिक सरकार गठनका लागि संख्या नै पुग्दैन्- देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकार गठनका लागि आफ्नो पार्टीमा संख्या नपुग्ने दोहोर्‍याएका छन्। आज आफ्नै निवास बुढानिलकण्ठमा कोरोना संक्रमण रोकथामका लागि सरकारसँग ११ बुँदे माग प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

देउवाले सरकार गठनका लागि कांग्रेसले चाहेर मात्र नहुने अडान दोहोर्‍याएका थिए। ‘संख्या पुग्नुपर्‍यो नि। संख्या पुगेको छैन। चाहेर हुन्छ?’ सभापति देउवाले भने।

‘अविश्वासको प्रस्ताव दर्ता गर्न पनि संख्या पुगेन ?’ सम्मेलनमा सञ्चारकर्मीको भनाई सुन्नसाथ देउवाले उल्टै प्रश्न गरे, ‘अविश्वासको प्रस्ताव केका लागि गर्ने हो ?’

अविश्वासको प्रस्ताव पास हुने सुनिश्चितता नभई कांग्रेस अघि नबढ्ने उनको भनाई थियो। ‘दर्ता गरिहाले फेल भयो भने एक वर्षसम्म दर्ता गर्नै पाउँदैन नि,’ देउवाले भने।

जसपासँगको कुराकानी जारी रहेको उल्लेख गर्दै देउवाले यसबारे सहमति भएपछि सबैले जानकारी पाउने बताए। ‘छलफल भइरहेको छ, के के कुरा भइरहेको भन्नेबारे त सबै कहाँ भन्छु यार, पछि निश्चित भएपछि भनौंला, तपाईँहरू सबैलाई बोलाएरै भनौँला नि,’ उनले भने।

कपिलवस्तु लगायतका जिल्लामा सङ्क्रमण धान्नै नसक्ने अवस्था आयो- स्वास्थ्य मन्त्रालय

काठमाडौं : सरकारले कोरोना सङ्क्रमणबाट अति प्रभावित जिल्लाहरूमा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आएको बताएको छ । स्वास्थ्य मन्त्रालयले सर्वसाधारणका लागि अपिल जारी गर्दै मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा बिरामीको सङ्ख्या धान्नै नसक्ने अवस्थामा पुगेको बताएको हो ।

सङ्क्रमणका विरामीका लागि अस्पतालमा शय्या उपलब्ध गराउनै नसक्ने अवस्था आएको र सङ्क्रमण डरलाग्दो गरी बढिरहेको भन्दै मन्त्रालयले स्वास्थ्यका मापदण्ड पालना गर्न सबैसँग अनुरोध गरेको छ ।

भारतका वरिष्ठ टिभी पत्रकारको निधन

काठमाडौं(एजेन्सी) : लोकप्रिय टिभी पत्रकार तथा कार्यक्रम प्रस्तोता रोहित सारदानको निधन भएको छ । ४२ वर्षका रोहित सारदानले ६ दिन अघि अर्थात् २४ अप्रिलमा सिटी स्क्यानमा आफू कोरोनाद्वारा संक्रमित भएको पाइएको जानकारी ट्वीटरमार्फत् दिए ।

त्यतिबेला उनले आफ्नो स्थिति राम्रो भइरहेको बताएका थिए । उनको मृत्यु हृदयगति रोकिएका कारण भएको च्यानलले जानकारी दिएको छ ।

जसपा फुटको संघारमा : उपेन्द्र यादवको निर्णयविरुद्ध महन्थ ठाकुर निर्वाचन आयोगमा

काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लुम्बिनी प्रदेशका चारजना प्रदेशसभा सदस्यलाई कारवाही गरेपछि सोही पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् । प्रदेशसभा सदस्यलाई हटाउने अधिकार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई नरहेको भन्दै अध्यक्ष ठाकुरले आयोगलाई ध्यानाकर्षण गराएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले लुम्बिनी प्रदेशमा सांसदलाई पार्टीबाट निष्काशन गरेको बारेमा पार्टीका अध्यक्ष महन्थ ठाकुरले ध्यानाकर्षण गराएको बताए । ध्यानाकर्षण गराएपनि आयोगले तत्काल त्यसमा केही गर्न नसकिने जवाफ दिएको छ । उनले भने, पार्टीले गरेको कारवाहीमा निर्वाचन आयोगले केही गर्न सक्दैन ।’

​जसपा नेपालको १४ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चारजना सांसदलाई बिहीबार कारवाही गरेको हो । तर अर्का अध्यक्ष महन्थ ठाकुरले भने कारवाही ‘भएको छैन’ भन्दै प्रदेशसभाका सभामुखलाई पत्र पठाएका छन् ।

यता, कार्यकारिणी समितिको बहुमत सदस्यको हस्ताक्षरबाट कारवाहीमा परेका लुम्बिनी प्रदेशका सांसदहरु पनि कानुनी उपचारमा जाने तयारी गरिरहेका छन् । स्रोतका अनुसार समय रहेमा आजै नै सर्वोच्च अदालतमा रीट दायर गर्ने उनीहरुको तयारी छ ।

रुपन्देहीमा निषेधाज्ञा अवज्ञा गर्ने ८ जनालाई कारबाही, हजार बढी सवारी साधन नियन्त्रणमा

रुपन्देही : रुपन्देहीमा निषेधाज्ञा कडाइ गर्ने क्रममा निषेधाज्ञा अवज्ञा गर्ने आठजना कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाका अनुसार जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञा अवज्ञा गर्ने एकजना महिलासहित आठजनालाई कारबाही गरिएको हो ।

उनीहरूलाई सम्झाइबुझाई गर्दा प्रहरी अधिकृतसमेतको टोलीलाई ड्युटीमा बाधा–अवरोध पुर्‍याएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । स्वास्थ्य मापदण्डदेखि महामारीबारे जानाकारी गराउँदा प्रहरीको ड्युटीमा अवरोध पुर्‍याएपछि उनीहरूलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ को उपदफा २ बमोजिम आवश्यक कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाइएको थियो ।

निजहरूमध्ये सातजना पुरुषलाई एक महिना कैद वा सोबराबरको जरिवानाअनुरूप जनही नौ हजार एक सय रुपैयाँ र एक महिलालाई जरिवानाबापत ६ सय जरिवाना तोकिएको थियो । तीमध्ये पाँचजना व्यक्तिलाई कैद र जरिवानाबापतको रकम दाखिला गराई छाडिएको र अन्य तीनजना कारागार चलान भएका छन् ।

एक महिना कैद वा सोबराबरको जरिवानाअनुरूपको रकम तिर्न नसकेपछि कारागार चलान भएको प्रहरीले जनाएको छ ।यता जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञा अवज्ञा गर्ने एक हजार २० वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनमध्ये धेरै मोटरसाइकल रहेका छन् ।

कोरोनासँग लड्नु सबैको साझा दायित्व हो- उपप्रधानमन्त्री पोखरेल

काठमाडौं : नेपाल सरकारका उपप्रधानमन्त्री तथा कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले कोरोनासँग लड्नु सबैको साझा दायित्व भएको बताएका छन् । सबैले हातेमालो गर्दै अगाडि बढ्न र जवाफदेही बन्न अपिल गरेका छन् ।

शुक्रबार सञ्चारकर्मीसँगको कुराकानीमा उपप्रधानमन्त्री पोखरेलले कोरोनाको अघिल्लो लहरले धेरै कुरा सिकाएर गएको हुँदा व्यवस्थापनको काम सहज हुने बताए । अहिले लागू भएको निषेधाज्ञाले कोरोना संक्रमणको फैलँदो अवस्थाको चेन ब्रेक गर्न बताए । स्थानीय प्रशासनले आफ्नो आवश्यकता हेरेर कस्तो व्यवस्थापनको विधि अपनाउने हो त्यो गर्न अधिकार दिएको पनि उपप्रधानमन्त्री पोखरेलको भनाइ छ ।

सरकारले लागू गरेको निषेधाज्ञा कुनै राजनीतिक अभिप्रायले नगरिएको पनि स्पष्ट पारे । उपप्रधानमन्त्री पोखरेलले निषेधाज्ञा जनताको स्वास्थ्य सुरक्षा, जीवनरक्षाका लागि भएकोले कुनै राजनीतिक उद्देश्यले नहेर्न पनि आग्रह गरे । अहिले जनता आफैँ सचेत र जिम्मेवार हुनुपर्ने आवश्यकता रहेको पनि पोखरेलले बताए । सरकारले परिस्थितिको गम्भीरतालाई बुझेर अभिभावकीय भूमिका निर्वाह गरेको हुँदा आमनागरिकले आफ्नो जीवनसँग गाँसिएको विषयमा जवाफदेही बन्न पनि आग्रह गरे ।

विप्लवका दाजु धरौटीमा छुटे

परासी : नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द (विरजंग) शुक्रबार पश्चिम नवलपरासी जिल्ला अदालतबाट धरौटीमा छुटेका छन् ।

नवलपरासीको बर्दघाटस्थित धनेवामा रहेको एनसेल टावरमा बम विष्फोट गरेको आरोपमा उनलाई रुपन्देहीबाट २०७७ असोज २१ गते नवलपरासी ल्याइएको थियो । त्यतिबेला अदालतले उनलाई २५ हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

धरौटी नबुझाएपछि उनी कारागार चलान भएका थिए । पछि स्वास्थ्यमा समस्या आएपछि चन्द्रबहादुरलाई असोज २८ गते चितवन अस्पताल पठाइएको थियो । उनी त्यहीको कारागार थिए । चितवनबाट शुक्रबार नवलपरासी ल्याइएका उनले २५ हजार धरौटी बुझाएपछि अदालतले छाडेको हो ।

पहिलो पटक उनी २०७६ असोज ३० मा विप्लवका २१ जना नेता तथा कार्यकर्तासहित दाङबाट पक्राउ परेका थिए । त्यसबेला उनी विप्लव समुहको मध्यपश्चिम कमाण्डका इन्चार्ज थिए ।

कपिलवस्तु शिवराज नगरपालिका–९ शिवपुरगढी घर भएका चन्द्रबहादुर विप्लवका सहोदर जेठा दाजु हुन् । अहिलेसम्म विभिन्न ८ जिल्लामा अड्डा सारगर्दै कारागार पठाइएको चन्द्रबहादुरले बताए ।

यसैबीच रिहा भएपछि पत्रकारहरुसँग प्रतिकृया दिदैं चन्द्रबहादुरले पार्टीसँग भएको ३ बुँदे सहमति सरकारले कार्यान्वन नगरेको गुनासो गरे ।

प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं : लोक गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि भएको छ। सपुतले शुक्रबार सामाजिक संजाल मार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन्।

‘धेरै शरिर दुख्नेरगल्ने,छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाइटि फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिएु, उनले भने,’ कोरोनालाई जित्न सकिन्छ भन्ने आत्मबल राख्न तर यसलाई सामान्य नठान्न आग्रह गर्दछु।’

अहिले उनी आफ्नो घरमा आइसोलेट भएको बताएका छन्।

रूपन्देहीमा निषेधाज्ञाको उल्लंघन गर्ने तीन जना जेल चलान, पाँच जनालाई जरिवाना

रूपन्देहीमा निषेधाज्ञाको उल्लंघन गर्ने तीन जना कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले निषेधाज्ञाको उल्लंघन गर्ने आठ जनालाई कैद सजायको माग गरेकोमा पाँच जना भने जरिवाना रकम बुझाएर छुटेका छन् ।

निषेधाज्ञाको अवज्ञा गर्ने ती आठ जनालाई सम्झाई बुझाई गर्दा पनि नमानी काममा बाधा पुर्‍याएको भन्दै प्रहरीले कैद सजाय माग गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाएको थियो ।

उनीहरूलाई नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाइएकोमा सात जना पुरुषलाई एक महिना कैद वा सोबराबरको जरिवाना तोकिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

सात जना पुरुषलाई प्रतिव्यक्ति ९ हजार १ सय र एक जना महिलालाई छ सय जरिवाना तोकिएको थियो । तीमध्ये पाँच जनाले कैद र जरिवानाबापतको रकम दाखिला गरेकाले छाडिएको र तीन जनाले जरिवाना तिर्न नसकेकाले कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सत्यनारायण थापाले बताए ।

कोरोनाको संक्रमण नियन्त्रण गर्न भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले १६ वैशाखदेखि ३० सम्म निषेधाज्ञा जारी गरेको छ ।

बाँकेमा एकैदिन ११ सङ्क्रमितको मृत्यु

बाँकेका अस्पतालमा भर्ना भएका ११ जना कोरोना सङ्क्रमितको बिहीबार एकै दिन उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाँकेका आठ, कैलालीका दुई र बर्दियाका एक जना रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ६० वर्षीय पुरुष, वडा नं ९ निवासी ४२ वर्षीय पुरुष, वडा नं ५ निवासी ५५ वर्षीय पुरुष, वडा नं ८ निवासी ३३ वर्षीय पुरुष, वडा नं १७ निवासी ६८ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–११ निवासी ४३ वर्षीया महिला, वडा नं १३ निवासी ५० वर्षीय पुरुष, खजुरा गाउँपालिका–२ निवासी ६७ वर्षीया महिलाको मृत्यु भएको हो ।

यसैगरी बाँकेमा उपचारका लागि आएका बढैयाताल गाउँपालिका– ८ बर्दिया निवासी ३२ वर्षीय पुरुष, लम्कीचुहा नगरपालिका वडा नं १ कैलाली निवासी ४३ वर्षीय पुरुष र टीकापुर नगरपालिका कैलाली निवासी ५१ वर्षीया महिलाको पनि मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए ।

यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११० पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा उपचारकै क्रममा हालसम्म १११ जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश : मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने दलले मागे सुरक्षा

गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तीन दलले सुरक्षाको माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पछिल्लो घटनाक्रमबारेमा आधिकारिक धारणासमेत व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र जनता समाजवादी पार्टीका संसदीय दलका नेता हरिशरण आचार्यद्वारा संयुक्त रूपमा हस्ताक्षरित विज्ञप्तिमा प्रदेशसभा सदस्यहरूलाई धम्की र प्रलोभन दिने व्यक्ति र समूहलाई कानुनको कठघरामा ल्याई सभामुख र प्रदेशसभामा अविश्वास प्रस्तावका पक्षधर सांसदहरूको सुरक्षाको सुनिश्चितता गर्न माग गरिएको छ ।

दलहरूले प्रदेशसभा सदस्य खिमविक्रम शाहीको पीसीआर रिपोर्टको छानबिन गरी प्रयोगशालाको विश्वसनीयता जाँच गर्न माग गर्दै चरक अस्पतालको सीसीटीभी हार्डवेयरको जाँच गरी सम्पूर्ण फुटेज सार्वजनिक गर्न पनि माग गरेका छन् ।

उनीहरूले पछिल्ला घटनाक्रम सम्बन्धमा आठबुँदे धारणा पनि सार्वजनिक गरेका छन् । मुख्यमन्त्रीमाथि अविश्वासको प्रस्ताव पेस हुने भएपछि विधेयक अधिवेशन हठात अन्त्य गर्नु, कोरोना परीक्षणको माग उठाएर सत्तापक्षले असंसदीय तरिकाले सदन अवरुद्ध गर्नु र प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने दिन माननीय खिमविक्रम शाही अस्वाभाविक र रहस्यमय तरिकाले सदनमा अनुपस्थित हुनु तथा दलको सचेतकले निजलाई सार्वजनिक गर्नुका साथसाथै जीवनरक्षाको समेत आग्रह गरेको शृङ्खलावद्ध घटनाक्रमले आफूहरूलाई दुःखित र आश्चर्यचकित बनाएको जनाएका छन् ।