गृहपृष्ठ खबर रातभर खोलामा फसेका ९ जनाको एक्साभेटरको सहायताले उद्धार

रातभर खोलामा फसेका ९ जनाको एक्साभेटरको सहायताले उद्धार

प्रकाशित मिति:

लमजुङ : लमजुङको मध्यनेपाल नगरपालिकाअन्तर्गत मिदिम खोलाको बाढीमा फसेका नौजनाको उद्धार गरिएको छ । मध्यनेपाल ६ भोर्लेटारस्थित मिदिम खोला किनारमा खेतमा काम गर्न गएका एकै परिवारका नौजनाको उद्धार गरिएको हो ।

रातभर खोलाको बीचमा फसेका नौजनालाई एक्साभेटरको सहायतामा उद्धार गरिएको मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले बताए । प्रहरी निरीक्षक रेग्मीका अनुसार उद्धार गरिएकाहरूमा मध्यनेपाल–७ का रतिमाया परियार, जमुना परियार, लक्ष्मी परियार, पुष्पा परियार, आइतबहादुर परियार, कृष्ण परियार, अर्जुन परियार र सन्दीप परियार रहेका छन् ।

मंगलबार दिनभर मिदिम खोला–किनारमा रोपाइँमा लागेका परिवार साँझपख एक्कासी खोलामा बाढी आएको र खोलाको पानी दुई भंगालो भएर बगेपछि बीचमा फसेका थिए । उनीहरूको उद्धारका लागि हेलिकोप्टर मगाउने पहल भए पनि मौसम प्रतिकूल हुँदा सम्भव नभएपछि एक्साभेटरको सहायताबाट उद्धार गरिएको मेयर पाण्डेले बताए ।

उनले भने ‘खोलामा पानीको बहाव अत्यधिक बढी भएको र रात परिसकेको हुँदा मंगलबार उनीहरूको उद्धारमा कठिनाइ भएको थियो ।’उद्धारका लागि मेयर पाण्डेसहित इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रमुख एवं प्रहरी निरीक्षक बोधराज रेग्मी, स्थानीय वडाध्यक्षहरूको सक्रियता रहेको थियो ।

सम्बन्धित् समाचार