पाल्पा : पाल्पामा अविरल वर्षासँगै खसेको पहिरोले तीन दिनदेखि अवरुद्ध उत्तरदक्षिण जोड्ने सिद्धार्थ राजमार्ग बिहीबार दिउँसोबाट एकतर्फी खुलेको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको गौडेपुल नजिकै अविरल वर्षासँगै खसेको पहिरोले झण्डै ५० मिटर सडक बगाएपछि यातायात सेवा अवरुद्ध भएको हो । सडकको तल्लो भागबाट खोलाले कटान र पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । जगबाटै राजमार्ग बगाएपछि पुनस् डाइभर्सन गरेर सडक सुचारु गरिएको सडक डिभिजनले जनाएको छ । पहाडी भेगबाट तराई झर्ने छोटो दूरीको सडक अवरुद्ध हुँदा सवारीसाधन अलपत्र परेका थिए । पहिरोमा वारपार गर्नसमेत समस्या भएको थियो ।
तीन दिनदेखि सडकमा अलपत्र परेका अत्यावश्यक खाद्यान्न लगायत अन्य सामाग्री बोकेका मालवाहक ट्रकका साथै अन्य सवारी साधन गन्तव्यतर्फ पठाइएको ट्राफिक प्रहरीेले जनाएको छ । सडकको जगबाटै भासिएकाले डायभर्सनको काम बुधबार बेलुकी सकिनै लाग्दा पुनस् पहिरो खसेपछि एकतर्फी खुलाउन नसकिएको र बिहीबार बिहानैदेखि काम गरेर सडक सुरु गरिएको सडक डिभिजन पाल्पाका सूचना अधिकारी शिवु खत्रीले बताए ।
सडक एकतर्फी खुलेपछि पालैपालो दुई साइडबाट सडकमा अलपत्र सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको छ । माथिल्लो क्षेत्रबाट लामो पहिरो खसेकाले वर्षा हुनासाथ पुनस् सडक अवरुद्ध हुन सक्ने सडक डिभिजनले जनाएको छ । पाल्पाकै आर्यभन्ज्याङ रामपुर सडकमा खसेको पहिरो नहटाउँदा पूर्वबाट सदरमुकाम आवातजावत तीन दिनदेखि अवरुद्ध भएको छ । पाल्पाकै रामपुर जाने ६५ किलोमिटर सडकको दर्जन बढी स्थानमा पहिरो खसेको छ ।








