बुटवल : बुटवल उपमहानगरपालिकाले आर्थिक बर्ष २०७८/७९ का लागि २ अर्ब ५३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगरप्रमुख शिवराज सुवेदीको अध्यक्षतामा आज विहीबार बसेको नगरसभाको नवौं अधिवेशनमा योजना तर्जुमा समितिका संयोजक समेत रहेकी उपप्रमुख गुमादेवी आचार्यले उक्त अङ्क बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
बजेटको चालुतर्फ ३९.७७ प्रतिशत र पूँजिगत खर्च ५९.९८ प्रतिशत हुनेगरी विनियोजन गरिएको छ । बजेटको स्रोतका रुपमा आन्तरिक स्रोतबाट ७१ करोड २५ लाख, राजस्व बाँडफाँडबाट २५ करोड ५७ लाख ६८ हजार, ऋणबाट ५ करोड, गत आवको अ.ल्या.५० करोड, संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, शसर्त अनुदान, विशेष र समपुरक अनुदानबाट ७८ करोड ९७ लाख, प्रदेश सरकारबाट प्राप्त हुने शसर्त, समानीकरण, समपूरक तथा विशेष अनुदानबाट १३ करोड, १३ लाख, १६ हजार रहने उपप्रमुखको भनाई छ ।
सामाजिक विकास,पूर्वाधार,आर्थिक विकास,विपत व्यवस्थापन तथा वातावरण तथा सुशासन एवम् अन्तर सम्बन्ध र कार्यालय सञ्चालन तथा प्रशासनिक कार्यलगायतका विषयगत क्षेत्रमा बजेट विनियोजन गरिएको उपप्रमुख आचार्यले बताइन् ।
कोभिड(१९ को महामारीले तात्कालिक प्राथमिकता अचानक परिवर्तन गरेका कारण स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको उनको भनाइ छ । सोही कारण दीर्घकालीन तथा ठूला योजनाहरु समेट्न नसिकएको उनले बताइन् ।
ुजीवन रहे समृद्धि पछि पनि हासिल गर्न सकिन्छु भन्ने कुरालाई आत्मसात गर्दै महामारी विरुद्धको मोर्चामा उपलब्ध साधन स्रोतलाई अधिकतम, मितव्ययी र पारदर्शी ढंगले परिचालन गरिएको उपप्रमुखको भनाई छ ।








