सागर वि.क. (वैखरी अनलाइन) : सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि. को घोषणा तथा संयुक्त कारोवार शुभाराम्भ समारोह सम्पन्न भएको छ । कपिलवस्तु उद्योग वाणिज्य संघ जीतपुरको सभाहलमा मंगलबार(आज) सो समारोह सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका मेयर मंगलप्रसाद थारुले बाणगंगा नगरपालिकाभित्रका ६ वटा सहकारीलाई एकीकरण गरि बनाईएको यस सिनर्जी बहुउद्देश्यीय सहकारी संस्थाले देशमा मात्र नभएर अन्तराष्ट्रिय जगतमा पनि नाम उज्जल गर्न सफल होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मेयर थारुले सहकारीका मुल्य मान्यतासंगै आफ्ना निति, उद्देश्य लक्ष्य प्राप्त गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
आफुले यहाँ भएका सम्पूर्ण संघसंस्थालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा नगरमा पटकपटक छलफल गरि कार्यविधि समेत तयार गरेको र सोही कार्यविधि अनुुसार सहकारीहरु एकीकृत हुनु सकारात्मक पक्ष भएको बताउनुभयो । सहकारीमा आवद्ध सबैको आर्थिक स्तर एकनास नभएकाले सबैको मुल मर्मलाई स्मरण गर्दै अघि बढेमात्र सहकारीको लक्ष्य, उद्देश्य प्राप्ति गर्न सकिने बताउनुभयो । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले नगरका ६ वटा सहकारी एकीकरण भई समायोजन हुनु एक ऐतिहासिक क्षण भएको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथिसमेत रहनुभएका उपमेयर अर्यालले नगरभित्र ६४ वटा सहकारी भएको र ति सहकारीहरु कानुनी रुपमा स्थानीय सरकारको मातहतमा आएकाले यसको स्तरोन्नतिकाका लागी नियमन अनुगमन कार्यक्रम संचालन गर्दै आएको बताउनुभयो । नियमन अनुगमन गर्दा आफुहरुले सहकारीका समस्या, सम्भावना, अवसर र चुनौतिहरुलाई राम्रोसंग केलाएरको र वित्तीय संस्थाहरुसंग प्रतिस्पर्दा गर्न ससाना सहकारीहरु एकीकृत भएर अघिबढ्नु पर्ने आश्यकता देखेको उहाँले बताउनुभयो । सोही आवश्यकता लागी आज यस सिनर्जीले पुरा गरेको उहाँको भनाई छ । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले यस सहकारीले विश्वव्यापी सिद्धान्त, मुल्य र मान्यतालाई आत्मासाथ गर्दै आफ्ना निति, कार्यक्रम र योजनालाई अगाडि बढाउँदै भावनात्मक एकता कायम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
साथै उहाँले सहकारीले व्यवसाय उद्यमशीलताको विकास, सहकारी मुलक संस्कार, सहकारी मुलक कार्यशैलीको विकास गर्ने बताउनुभयो । प्रशासकीय अधिकृत खनालले ६ वटै सहकारीका पूर्व सम्पूर्ण पदाधिकारीलाई बधाई दिदैं सहकारीले राखेका उद्देश्य प्राप्तिमा सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कुनै पनि संस्था स्थापना गर्नु, विकास गर्नु, मर्ज गर्नु आफैमा एउटा ठुलो उपलब्धि भएको बताउदैं त्यसभन्दा ठूलो कुरा त्यसको दिगोपना, सहकारी कार्यशैलीगत संस्कारलाई स्थापना गरि उदाहरणीय सहकारी बन्नेमा आफु विश्वस्त रहेको बताउनुभयो । यस सहकारीले भावनात्मक एकतालाई बजबुद बनाउने उहाँको भनाई छ ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं. ८ का वडाध्यक्ष गुणनिधि भूसालले एकिकरण पहिलेका सहकारि संस्थाहरु, एकिकरणको औचित्य, एकिकरण प्रकृया र मुख्य कार्यसम्पादन, एकिकृत सहकारीको परिचय, भावि योजना, मुख्य संरचनाहरु लगायतको बारेमा प्रष्ट पार्नुभएको थियो । वडाध्यक्ष भूसालले समायोजन पछि सदस्य तथा श्रोत संरचनाको बारेमा जानकारी दिदैं शेयर सदस्य संख्या ८ हजार रहेको जसमा ४ हजार ३ सय जना महिला रहेको जानकारी गराउनुभयो ।








