गृहपृष्ठ Featured दार्चुलाको नौगाढमा पहिरो : तीन जनाको मृत्यु

दार्चुलाको नौगाढमा पहिरो : तीन जनाको मृत्यु

दार्चुलामा पहिरोले पुरिएर एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ । नौगाढ गाउँपालिका-३ खार नजिकैको चौखुट्टेमा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिंदा दुई जना र पहिरोमा परेर थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहर भट्टले पहिरोले घर पुरिंदा स्थानीय ७२ वर्षीया गेउली ठगुन्ना र उनकी तीन महिनाकी नातिनी मन्जरी ठगुन्नाको मृत्यु भएको जानकारी दिए ।

यस्तै घट्ट जाने क्रममा आएको पहिरोमा परेर सोही ठाउँका २९ वर्षीय लक्ष्मण सितौलीको पनि मृत्यु भएको डीएसपी भट्टले बताए । उनीहरु तीनै जनाको शव पहिरोबाट निकालिएको छ । पहिरोमा परेर नौगाढ गाउँपालिका-३ कै १८ वर्षीया हरमती ठगुन्ना सामान्य घाइते भएको उनले बताए ।

जलविद्युत आयोजना बाढीले बगायो

नौगाढ गाउँपालिका-३ मा रहेको ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजना पनि बाढीले बगाएको छ । अविरल वर्षापछि खोलामा आएको बाढीले जलविद्युत आयोजनाका सबै संरचना बगाएको एसपी भट्टले जानकारी दिए ।

बाढीले खार र जामिर जोड्ने झोलुङ्गे पुल, तीनवटा निर्माणाधीन आरसीसी पुल, तीन वटा घट्ट र तीन वटा पानीको मुहान पनि बगाएको उनले बताए ।

सम्बन्धित् समाचार