सागर वि.क., वैखरी अनलाईन ।
बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले बाणगंगामा डरलाग्दो रुपमा लागुऔषध दुर्व्यसनी बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
आईतबार २४ औं अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बाणगंगाका युवावर्गमा लागुऔषध दुर्व्यसनी क्रमश बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका हुन् । ‘हामीले नगरपालिकाबाट हेरिरहेका छौं, युवामा लागुऔषध दुर्व्यसनी डरलाग्दो रुपमा बढिरहेको छ । हामीले खोजी गरेका छौं । प्रहरीसंग हालेमालो गर्दै यसको न्युनीकरणका लागी काम गरेका छौं,’ उनले भने ।
उनले कतिपय व्यक्ति सेवनकर्ता नभई बेचविखनकर्ताका रुपमा लागेको दाबी गरे । युवा उमेरलाई हलुका रुपमा लिने युवा असफलतासंगै नकारात्मकतातर्फ धेकेल्निे उनको भनाई छ । ‘यो उमेर हलुका रुपले लिने विषय होईन् । जसले हलुका रुपमा लियो त्यसको जीवनको टे«न, मोड अलग बाटोमा मोडिन्छ । जसले लगनशिल, अनुशासित रुपमा लियो, त्यसको जीवन सफल रुपमा अगाडि बढेको हुन्छ,’ उनले भने । युवा चरम महत्वाकांक्षा हुने बताउँदै उनले महत्वाकांक्षा नहुने व्यक्तिले केही पनि गर्न नसक्ने बताए ।
अन्तरराष्ट्रिय युवा दिवसको शुभकामना दिदैं उनले सम्पुर्ण युवालाई सकारात्मक बाटोतर्फ लगनशीलताका साथ अघि बढ्न आग्रह गरे । उनले समग्र कपिलवस्तुको एसईईको नतिजा बाणगंगाको नतिजालाई बाहिर राखेर हेर्ने हो भने निकै नाजुक अवस्था देखिने बताए । कपिलवस्तुको साखलाई जोगाईराख्न बाणगंगा नगरपालिकाले महत्वपुर्ण भूमिका निर्वाह गरेको उनको दाबी छ ।
नितिगत व्यवस्थाको कमजोरीले गर्दा दक्ष जशक्ति बाहिरिएको उनले बताए । ‘आज हाम्रो दक्ष जनशक्ति नितिगत व्यवस्थाको कमजोरीका कारण विदशे प्लान भईरहेका छन्,’ उनले भने, ‘जो प्राविधिक, बौद्धिक सबै तवरले दक्ष छन् ।’ सामाजिक संजालमा रुमलिदाँ दिशाविहिन बन्ने खतरा हुने उनले औंल्याए ।
उपप्रमुख रिता कुमारी चौधरीले युवाहरुलाई स्वदेशमै स्वरोजगार बन्नेतर्फ ध्यान दिन आग्रह गरिन् । उनले विदेशमा युवाहरुले गर्ने परिश्रम, लगनशीलता र मेहेनत स्वदेशमै गरे मनग्य आम्दानी गर्न सकिने बताईन् । प्राविधिक शिक्षातर्फ ध्यान दिन आग्रह गर्दै उनले सिप सिक्नेतर्फ अग्रसर हुनुपर्ने बताईन् । उनले पछिल्लो समय विदेशमा जाने युवाहरु अलपत्र परेको घटनाहरु बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरिन् । उपप्रमुख चौधरीले स्थानीय स्तरमा रोजगारीका लागी विज्ञापन गर्दा माग बमोजिमको जनशक्ति नभेटिने अवस्था देखिएको समेत बताईन् ।
सो कार्यक्रममा विभिन्न पेशा व्यवसाय एवम् उद्यम गरेका ३ जना युवालाई नगदसहित सम्मान समेत गरिएको छ । शिवचरण सिंह थारु, सुस्मा कँडेल र अमृता बुढाथोकीलाई सम्मान गरिएको हो । कार्यक्रममा रोमाकान्त घिमिरेले वर्तमानमा युवाहरुको अवस्था, सम्भावना र चुनौतिका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
बाणगंगा नगरयुवा क्लवकाअध्यक्ष मधुसुदन भुसालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडाध्यक्ष, शाखा प्रमुखहरु, किशोरकिशारी संजालका पदाधिकारी तथा सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।