गृहपृष्ठ Featured बाणगंगा– ३ राजापानीमा एकिकृत घुम्ती शिविर : ७ सय बढी सेवाग्राहीले लिए सेवा

बाणगंगा– ३ राजापानीमा एकिकृत घुम्ती शिविर : ७ सय बढी सेवाग्राहीले लिए सेवा

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बाणगंगा नगरपालिका− ३ राजापानीमा भएको एकिकृत घुम्ती शिविरबाट ७ सय भन्दा बढी सेवाग्राहीहरु लाभान्वित भएका छन् । बाणगंगा नगरपालिकाको आयोजना र वडा नं.३ को समन्वयमा भएको उक्त घुम्ती शिविरबाट ७ सय ४ जना सेवाग्राहीहरु लाभान्वित भएको नगरप्रमुख चक्रपाणी अर्यालले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिनुभएको छ ।

उहाँका अनुसार १७५ जनाले पशु सम्बन्धी सेवा, ५२ जनाले कृषि विकास सम्बन्धी सेवा, २१७ जनाले आयुर्वेद सम्बन्धी सेवा, १८३ जनाले स्वास्थ्य सम्बन्धी सेवा, ७ जनाले फर्म तथा व्यवसाय दर्ता नविकरण सम्बन्धी परामर्श सेवा, ७ जनाले ज्येष्ठ नागरिक परिचय पत्र सम्बन्धी सेवा, ६० जनाले सुरक्षित आप्रवासन (सामी) तथा रोजगार परामर्श सेवा र ३ जनाले योजना परामर्श सम्बन्धि सेवा लिएका छन् ।

नगरप्रमुख अर्यालले सिंहदरबारको अधिकार गाउँ गाउँमा भन्ने नारालाई सार्थकता दिन र नगरबासीको आवश्यकता तथा सेवा सहजताका लागि शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँले नगरले आयोजना गरेको निशुल्क घुम्ती सेवा शिविरमा स्थानीयको उत्साहजनक उपस्थिति देखिएको बताउँदै यस उपस्थितिले आगामी दिनमा नगरलाई घुम्ती सेवा संचालनको लागि थप ऊर्जा मिलेको बताउनुभयो ।

उपप्रमुख रिता कुमारी चौधरीले सेवा पहुँचमा टाढा रहेका बस्ती तथा समुदायलाई लक्षित गरी एकीकृत घुम्ती सेवा प्रदान गर्न नगर प्रतिबद्ध रहेको बताउनुभयो । ‘पालिकाबासीको सहजताका लागि विगतका बर्षदेखि नै विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याएका छौँ । वृद्धवृद्धा तथा असक्तलाई समेत गाउँमै सेवा उपलब्ध गराउने गरेका छौँ । यो कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने योजनामा छौँ,’ उहाँले भन्नुभयो ।

यता सेवाग्राहीहरुले स्थानीय स्तरमै सेवा प्राप्त भएको भन्दै खुशी व्यक्त गरेका छन् ।

उक्त शिविरमा प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीसहितका कर्मचारी तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार