कपिलवस्तुको बाणगंगा नगरपालिका–२ गोबडिहवामा रहेको नव जागृति सामुदायिक वन उपभोक्ता समूहको कार्यसमिति विघटन गरिएको छ। लामो समयदेखि पदाधिकारीहरूबीच देखिएको आन्तरिक विवाद र तिक्तताका कारण समूहको नियमित कार्यसम्पादन प्रभावित बन्दै आएको थियो।
विवादका कारण अधिकांश पदाधिकारी तथा सदस्यहरूले यसअघि नै राजीनामा दिइसकेका थिए। उपभोक्ताहरूको गुनासो र समूहको कामकारबाही प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै अध्यक्ष हेमनाथ पौडेलले नेतृत्वमा रहेको कार्यसमिति विघटन गर्ने निर्णय लिनुभएको हो।
नयाँ कार्यसमिति चयनका लागि हरि अधिकारीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ। समितिका सदस्यहरूमा ओम बहादुर गाहा र सारदा थापा रहेका छन्। स्थानीय विष्णु घिमिरेका अनुसार अब छिट्टै नयाँ नेतृत्व चयन प्रक्रिया अगाडि बढाइने तयारी गरिएको छ।








