
वैखरी अनलाईन : स्थानीय तहले विभिन्न ऐन नियम निर्माण गरेता पनि छाडा पशुचौपाया नियन्त्रणका लागी कुनै ठोस कदम भने चाल्न सकेका छैनन् । सडकमा छरिएर रहेका पशुचौपायाका लागी वधशाला निर्माण गर्ने योजना बनाए पनि समस्या भने जस्ताको त्यस्तै छ । जिल्लाको विकसित भनेर चिनिने बाणगंगा नगरपालिका पनि छाडा पशुचौपाया व्यस्थापनमा चुकेको छ ।
केही महिनादेखि नगरपालिकाभित्र छाडा पशुचौपायाको व्यवस्थापन हुन नसक्दा विभिन्न समस्या निम्तिएका छन् । दिनभर राजमार्गमा गुड्ने सवारी साधन, साईकल तथा पैदल यात्री सर्वसाधारण समेत यस समस्याबाट आजित भएका छन् । विशेष गरि वाणगंगाका कोईली वनगाई, घेरवा वनगाई, चप्परगाउँ, बोडगाउँ, चार नम्बर जीतपुर चोक लगायतका मुख्य बजार क्षेत्रमा छाडा पशुचौपायाले समस्या निम्त्याई रहदां नगरपालिका भने मुखदर्शक बनेको छ ।

दैनिक जसो नगरपालिकाका जनप्रतिनिधि सवार हुने स्थानमा यो समस्या देखि रहदां नगरपालिकाले कुनै ठोस कदम चाल्न नसकेको स्थानीयले गुनासो गरेका छन् ।
सडकमा छाडा पशुचौपायाले गर्दा सवारी साधन दुर्घट्ना, व्यापारीहरुको तरकारी खाने, सर्वसाधारणलाई आवतजावतमा सास्ती जस्ता समस्या देखा परेका छन् । नगरपालिका भने कोरोनाको जोखिम नियन्त्रणमै व्यस्त देखिन्छ ।








