चप्पल !!
जापान बाट चप्पल शीर्षक मा हेमन्त गिरी को कबिता ,
साइँला दाई निवेदन गर्छन :
भोली सखारै उठेर
खेप हाल्न जानु छ सदरमुक़ाम
सुनिस प्रिय चप्पल
सदरमुक़ाममा चामल आएको छ रे !
कमरेडहरुले
ड्याम्म बन्दूक पड्काएर
ढालेको भनिएको
सामन्तवादको गोडाबाट डराइ डराइ
थुतेर अपनाएको हुँ तँलाई
सदरमुक़ाम पुग्दा चर्को आवाज़मा
प्याट प्याट नपड्केस् प्रिय चप्पल
सुन्लान कुम्भकर्णहरुले
र
जाग्लान जुरुक्क !
डर लाग्छ,
हाम्रो अधिकार तैंले कसरी लगिस भनी
सहरबासी कमरेडहरुले
मेरै छाती छेंड्लान भन्ने !
हाम्रो सत्ताको सिंढी तँ
अझै सास र आस लिएर हिंडेको छस् भन्दै
भीरको बाटो लखेट्लान भन्ने !
मलाई चिन्ता छैन म खस्नु संग
प्रिय चप्पल,
तँ चुँडिइस् भने ?!
अथवा
तँ छोडिइस् भने ?!
गरीबको लागि चप्पल आस हो
चप्पल आधार हो
चप्पल छानो हो
चप्पल मानो हो !
दरिद्र घरका बचेराहरु त देखेकै होलास्
कसरी चप्पल संगै दशैं भित्राउँछन !
चप्पल संगै ज़िन्दगी सिलाउँछन !
तिनै बदमासहरू फेरि
चप्पल काटेर चक्का बनाइ
गाड़ी गुडाउँछन भीरहरुमा
हेर त चप्पल
कलिला आँखाको विज्ञान !
सरकार देख्छन चप्पलमा भूराहरूले !
गरीबको त सपना पनि
चप्पल रहेछ !
रारा माथिको इन्द्रधनुषमा
तैंले पनि त देखिस धेरै पटक
अझै पनि धमिला सपनाहरु परेड खेल्छन
फाटे उध्रेका कंब्याट लगाएर !!
देख्दैन राराको छेवैमा आएर
देशवासीको नाममा सम्बोधन गर्ने सरकार !
चप्पल, तँलाई प्रश्न छ :
कुनै कोण बाट
देशवासी देखिस त आजसम्म हामीलाई ?
बरु
किटिटी दाह्रा किटेर यो बूढो हात
धेरै चोटी मुट्ठी परेर शीरमाथि उठेको
तैंले देखिस् धेरै पटक !
हिंउँले खाएका औंलाहरु
तुइनले चूँडाल्छु भन्दा
कैयौं पटक भीमसेन बनेर सेरिइस तँ
तुइनको डोरीमा !
काठमाडौंको हावा
कुन रेलले बोकेर कर्णाली ल्याऊला भनी
धेरै पटरी बिछछ्याइस् तैंले
जुगल देखि अपी र सैपाल सम्म !
शिंहदरबार जाने जिद्धि गरिरहँदा पनि तैंले
मैले फकाइरहें
गाउँमै आउँछ त्यो भनेर !
आयो शिंहदरवार ?
नापियो सब !
भोली सुन्लास्
चामल थाप्दा पाइने
वचनहरू
भोली देख्लास्
गरीबका सपनालाई चपाइने दाह्राहरू !
दूर दूर सम्म देख्दिन म ती दिनहरू
जुन दिन पूरानो चामल र नयां चप्पल
एकै साथ
आंशु बिना
भित्रिनेछन गरीबको मझेरीमा !
चुपचाप सुत प्रिय चप्पल
भोली सरकार भेट्न सदरमुक़ाम जानुछ !
-हेमन्त गिरी,टोकियो