गृहपृष्ठ बिचार ” देश को रङ ” गन्थन

” देश को रङ ” गन्थन

प्रकाशित मिति:

(देश दुख्दा सायदै नेपाली हरु नदुख्लान ! देश भित्र रहदा  अझ थोरै त्यो दुखाइ  कम होला, जब मन एतै छोडेर तनावी तन सहित परदेसिन्छ एउटा युवा अनि पोखिन्छन, आर्तनाद हरु एसरी !!)

जापान बाट  हेमन्त गिरी लेख्नुहुन्छ :

देश हो । अनेक रंगको हुन्छ । हाम्रोमा चाहिं हरेक रंग ट्वाक्कै देखिन्छ । कारण,देश सानो छ,समस्या ठूला छन । सेतो कपडामा दाग ट्वाक्कै देखिए झैं । ठमेलको हिलोमा पर्यटक लडेर पर्यटन नै कुरुप भएको रंग पनि देखिन्छ,शिंहदरबार भित्र म्याक-प्रो को चम्किलो अस्वाभाविक रंग पनि देखिन्छ, जुम्लामा अनशन भित्र आस अडेको रंग पनि देखिन्छ, विमानस्थलमा रातो बाकस भित्र लास बसेको रंग पनि देखिन्छ, किशानको धानलाई माला बनाई गलामा झुन्ड्याएको हरियो रंगको मजाक पनि देखिन्छ, तिनै किसानका खेतहरूले पानी नपाइ पहेंलपुर विजोग पनि देखिन्छ । देश हो, रंग अनेक देखिन्छ ।

एस. एल. सी. दिएर काठमाडौं घुम्न आउँदा दश रुपियाँको टिकट काटी विमानस्थलको बार्दलीमा बसेर मैले घन्टौं सम्म जहाज उडेको र उत्रेको दृश्य हेरेको थिएँ । जहाजमा उड्न मन लागे पनि जहाजमा उडेर परदेशी बन्न मन कैलै लागेन ! त्यसैले तीन दशक सम्म पनि कुनै लोभमा देश छोड्न सकिएन !
तर समय उस्तै रहेन । मलाई आखिर परदेशी बन्न उड्नै पर्यो । ती कारणहरुको रंग यहाँ बयान गरिसाध्य नहोला ! खैर, म उड्ने बेला मलाई छोड्न आएका केही आफन्तलाई एअरपोर्ट छिर्ने चक्रपथको मूल गेटमा रोकियो । दश रूपियाँको टिकट काटेर जहाज उडेको-उत्रेको हेर्ने समय धेरै पर छुटिसकेको थियो । सायद जहाजमा कुइन्टलका-कुइन्टल सुन र चरेश उड्ने जमाना आइसकेका भएर होला ! देशको रंग फेरिएको थियो !

जापान उत्रिएँ । विमानस्थलको सौन्दर्य,कर्मचारीको व्यवहार,सुरक्षाकर्मीको तैनाथी,प्रविधिको विकास सबले लोभ्याइरहे । म विकसित देशहरू संग हाम्रो देशलाई तुलना गर्ने धृष्टता कैलै गर्दिन ! तर म मानिसलाई मानिस संग चाहिं तुलना गर्छु । आखिर अमेरिका देखि लिएर अफ्रिका सम्म,जापान देखि लिएर नेपाल सम्म सबै मानिसले उनै अंग,उस्तै मगज र उस्तै मुटु बोक्छन भने तिनै मानिसले बनाउने देश किन फरक छन ?! देशहरूको रंग किन फरक छ ?

टोकियोको अति व्यस्त ‘हानेडा तथा नारीता विमानस्थलमा’ बोर्डिंग पास लिने ठाउँ सम्म जति पनि आफन्त गएर ‘लगेज’ सर-सामान चेक गराएर अन्तिम ‘इमिग्रेससन गेट’ बाट ‘बाइ बाइ!’ भनेर फर्किन सकिन्छ । अरु सुविधाका कुरा नगरौं,तुलना गरे जस्तो हुन्छ । तर हामी सुरक्षाका कुरा त गर्न सक्छौं । सुरक्षाकै रंग किन फरक होला देश-देशमा ?!

जापानमा यो वर्ष बाढी आयो,सयौं मानिस मरे । यो वर्ष उच्च गर्मी भयो जापानमा । केही मानिस मरे । देशमा बस्ने केही साथीहरूले कटाक्ष गरे, “जापान जस्तो देशमा पानी मानिस मर्दा रैछन नि,अब त्याहाँको सरकारलाई दोष दिने कि ?” भनेर ।

प्राकृतिक विपत्तिले यहाँको र त्याहाँको मानिस भन्दैन । प्राकृतिक विपत्तिको अगाडी कसैको जोर पनि चल्दैन । मात्र हामीले प्रकृति संग समन्वय कसरी गर्ने,प्रकृति संग परी आउँदा कसरी जुध्ने र अन्य बेला कसरी प्रकृतिको संरक्षण गर्ने भन्ने बारे सोंचे क्षति न्यूनतम हुन्छ । जापानका मानिस रबरले बनेका मानिस होइनन,मर्छन । जापानको सरकार जादुगर सरकार हैन, उसले प्राकृतिक विपत्ति पुरै रोक्न सक्दैन तर न्यूनिकरण गर्न सक्छ । र त्यो दिशामा जापानी सरकारले देखाउने रंग एकदम स्पष्ट छ । जापानी प्रधानमन्त्रीले श्रमिक पोशाक लगाएर विदेश भ्रमण स्थगित गरेर पीड़ित नागरिकका अगाडी घुँडा टेकेर सांत्वना दिएका तस्वीर त देख्नुभएकै होला ! ती कुनै चलचित्रको सुटिंगका दृश्य हैनन,जिम्मेवारी र जवाफदेहिताका जिउँदो दस्तावेज हुन । रंग क्लीयर छ जापानको ! मैले यहाँका मानिसले रातारात रेलवे स्टेशन फेरेको मेरै नांगा आँखाले देखेको छु ।

यो हप्ता मात्र दर्जन बढ़ी बलात्कारका खबर आए देश बाट । अधिकांश बालिकाहरूको । अधिकांश सुरक्षा निकाय वा सरकारी निकायका मानिसहरू बाट । यो क्रूर रंगको विषयमा सरकार बोलेकै छैन,सदन बोलेकै छैन,प्रतिपक्ष बोलेकै छैन,अधिकारकर्मी बोलेकै छैनन । नागरिकहरू मर्नु,बलात्कृत हुनु,राज्य द्वारा शोषित हुनु हाम्रो देशमा सामान्य लाग्छ । यी विषयमा हामी विदेशमा बस्नेहरू यहाँका नागरिकलाई राज्य द्वारा दिइने महत्व र नागरिक अधिकारका विषयमा केही बोल्यौं भने केही लेख्यौं भने सबै भन्दा बढ़ी देशमा बस्ने साथीलाई नै बिझाउँछ । लेख्ने उनीहरूकै नागरिक अधिकारको लागि हो तर उनीहरू जाती मान्दैनन । साथीहरूको रंग राजनीतिक छ,बोली राजनीतिक छ,शब्द राजनीतिक छन । साथीहरू नागरिक बन्न एकदम सकस मान्नुहुन्छ । सकस पनि छ ,नागरिकले दुःख गर्नुपर्छ,ईमानको कमाई खानु पर्छ । साथीहरूलाई त्यो बाटो अफ्टेरो लाग्दो हो । देशमा धेरै सजिला बाटा छन र ती बाटोको रंग दिनमा रातो र रातमा कालो हुन्छ !

कामनपाका मेयर काठमाडौंलाई गनाउने छोडेर जापान उड्नुभएको छ रे सुटुक्क, परराष्ट्र विभागलाई पनि खबर नदिई । उहाँ जापान आउनुहुन्छ । एक हुल साथीहरू उहाँको खातिरदारीको लागि तँछाड मछाड गर्नेछन जापान तिर ! उहाँसंग ‘‘काठमाडौलाई किन त्यस्तो बनाउनुभयो ? किन यस्तो बनाउनुहुन्न?’’ भनेर जापानका सहर कमै साथीहरूले देखाउने छन ! बरु कोठे बैठक गर्नेछन,गुटे बैठक गर्नेछन,कान भर्नेछन,नजिक नजिक सर्नेछन अनि नेपाल जाँदा एअरपोर्ट देखि निवास सम्म सुन्दर जी कै शरण पर्नेछन । कम्तिमा उहाँलाई जापान यस्तो छ भनेर यहाँको रंग कसैले चिनाइदिए ? यहाँ यस्तो हुन्छ भनेर यहाँको रंग कसैले देखाइदिए ? यहाँ यसरी काम गरिन्छ भनेर काम गर्ने ढंग कसैले बताइदिए ! विद्या आर्जन गरी सुन्दर जी विचारको रंगले साँच्चै सुन्दर बन्नुहुन्थ्यो कि ?!

खैर,उता देशमा चाहिं प्रन्याको कालो प्रमाणपत्रको रंग सेतो कांग्रेसले बोकिरहेको छ,,रातो कम्यूनिष्ट सरकारले चाहिं ढलेको धरहराको लाज हिंजो मात्रै सेतो टालोले छोपिदिएको छ ! मेरो कानमा चाहिं प्रमको ‘कोदालो र डोको भाषण’ गुन्जिरहेको छ !
मेरो देशको रंग होलीको दिनमा जबर्जस्ती गरिएकी एक अवलाको जस्तो देखिन्छ !

सम्बन्धित् समाचार