गृहपृष्ठ कला/साहित्य कथा: रिमाल्नी दिदी र कर्केनी भाउजु

कथा: रिमाल्नी दिदी र कर्केनी भाउजु

प्रकाशित मिति:

कर्केनी भाऊजुका दुई छोरी थिए, रिमाल्नी दिदीका दुई छोरा । 

ऊनिहरू छिमेकी छिमेकी थिए । 

रिमाल्नी दिदीलाई आफ्ना दुई छोरा भएकोमा बडो गर्ब मात्र थिएन, घमन्ड नै थियो । ती बेलाबखत घुमाई फिराई कुरा गरेर कर्केनी भाउजुलाई छोरा नभएकोमा चोट पुर्याइ रहन मन पराऊँथिन् । 

घरी बुढेसकालमा एक्लै हुने त्रास त घरी छोरीलाई फटाह केटाले बलत्कार गरिदिने त्रास देखाइ रहन्थिन् ।  घरी विहे गरेर घर जाँदा पनि राम्रो केटा पर्छ भन्ने के ग्यारेन्टी छ ? मान्छेका छोरीहरू रूँदै रूँदै हिंडेका छन्  – भन्थिन् ।

घरी ‘कुन चाहिंले कुन बेला भुडी बोकाइ दिन्छ , छोरी मान्छेको जात त हो’ भन्दै कर्केनी भाउजुको प्रतिक्रिया कुर्थिन् । कर्केनी भाउजुको अनुहार कालो भयो भने उनको आत्मालाई शान्ती मिल्थ्यो । सकेसम्म कर्केनी भाउजु दु:खी भएको हेर्न चाहन्थिन् रिमाल्नी दिदी । ऊनी कर्केनी भाउजुलाई छोरीहरूले भोग्नुपरेका र हुँदै नभएका दु:खका कथाहरू पनि सबै हो जस्तै बनाएर सुनाऊँथिन् । आज यस्तो सुने, उस्तो सुने, रेडियोले भनेको, समाचारमा थ्यो रे ! हुन चाहि हो, तर हल्ला नगर्नु , आदि आदि । 

सँधै झै एक दिन रिमाल्नी दिदी हाँसको पोथी झैं बहुत शानका साथ कर्केनी दिदीको घर तर्फ लागिन् । कर्केनी भाउजु भर्खर बजारबाट आएकी थिइन् । ऊनले आफ्ना नौ बर्षे र बाह्र बर्षे छोरीको निम्ति कानमा लाउने सुन्दर कुन्डलहरू र नयाँ जामाहरू ल्याएकी रहिछन् । हल्का गुलाबी रंगका जामामा सुहाउने एक एक जोर बैजनी रंगका जुत्ताहरू पनि । कर्केनी भाऊजुका छोरीहरू भर्खर स्वर्गबाट झरेका एन्जेल जस्ता सुन्दर देखिन्थे । यो देखेर रिमाल्नी दिदी भित्र ईर्स्याले सीमा नाघ्यो । 

रिमाल्नी दिदीले कर्केनी भाऊजुलाई भनिन् – तिम्रा दुई दुई छोरीहरू छन् । छोरीहरूलाई  हुर्काउन सजिलो छैन । परी परीका जामाहरू, गरगहनाहरू, अनेक किसिमका शृंगारहरू-बहुत खर्चीला हुन्छन् छोरीहरू । तिमी कसरी हुर्काऊँछौ या दुई दुईवटी छोरीहरू ? 

कहिल्यै बचन नफर्काऊने कर्केनी भाउजुलाई अति नै भइसकेको रहेछ । कर्केनी भाउजुले भनिन् – बरू तिमी पो भनन कसरी हुर्काऊँछौ तिम्रा दुई दुई छोराहरू ? मेरा छोरीहरूलाई त मैले हुर्काउनु पर्ने समय अब त्यस्तै आठ दश बर्ष होला । त्यसपछि त विहे गरेर ज्वाईँको घर गइहाल्छन् । तर तिमी पो भनन- “तिम्रा छोराले विहे गरेर ल्याएपछि तिम्रा दुई दुई वुहारी सँधै तिम्रै छोरासँग हुन्छन् क्यारे । कसरी सम्हाल्छौ दुई दुई बुहारी जिन्दगी भर ? कि गाह्रो हुन्छ छोरी मान्छे सम्हाल्न भनेर तिम्रा छोरालाई छोरा मान्छे नै विहे गरेर ल्याऊँछौ ? तिमी मेरो चिन्ता नगर । आफ्नो बारेमा सोच । भन त तिम्रा छोरालाई विहे गरेर त छोरी मान्छे नै ल्याऊँछौ होला नि ? कि के गर्छौ ? 

सँधै जित्न पल्केकी रिमाल्नी दिदी एकाएक तातोपानीमा चोबेको सिस्नो जस्ती भइन् । ऊनी एक शब्द पनि नबोली फटाफट आँगनबाट बाहिरिइन् । 

रिमाल्नी दिदी घरमा पुगिन् । लज्जास्पद हार र ग्लानीले ऊनको मुटु एक तमासाले उफ्रिरहेको छ । ऊनी रातभर सुत्न सकिनन् । ऊनले आजसम्मको कर्केनी भाऊजु माथिको उनको व्यबहार सबै सम्झेर ल्याइन् । कहिल्यै बचन नफर्काउने सोझी जस्ती लागेकी कर्केनी भाउजुको बचन वाणले निक्कै दिनसम्म रिमाल्नी दिदी घाइते भइन् । ऊनको गाऊँमा देखिने चुरूफुरू पनि क्रमश: घट्दै गयो । 

धेरै बर्ष पछिको घटना । शरदको विहानी थियो । गाऊँमा कोही रोइरहेको आवाज आयो । कर्केनी भाउजुको घरमा कोही रोइरहेको थियो । गाऊँलेहरू भेला भइरहेका थिए । तर त्यहाँ त  रिमाल्नी दिदी कर्केनी भाउजुलाई अँगालो हालेर रोइरहेकी थिइन् । कर्केनी भाउजु भने रिमाल्नी दिदीलाई सम्झाइ रहेकी थिइन् । बर्षौ पछि कर्केनी भाउजुको आँगनमा एउटा अनौठो दृष्य खडा भएको थियो । 

रिमाल्नी दिदीको जेठो छोराले एक बर्ष अघि विहे गरेको थियो । केही महिना पछि नै ऊनको बुहारीसँग झगडा पर्न सुरू गरिहाल्यो । अक्सर साँझको समय गाऊँमा हल्लीखल्ली हुन्थ्यो त रिमाल्नी दिदीकै घरमा बढी हुन्थ्यो । 

अस्ती असारदेखि रिमाल्नी दिदी खुट्टो खेच्याएर हिंड्न थालेकी थिइन् । मान्छेहरू कुरा काट्थे – बुहारीले चिर्पटले हानेकी रे ! अरूले कुरा काट्छन् भनेर मात्रै रिमाल्नी दिदीले लिस्नाबाट खसेको भनेकी हुन् रे ! रिमाल्नी दिदी दिन दिनै उनको उमेर भन्दा अलि बढी नै बुढी देखिन थालेकी थिइन् । पन्ध्र बर्षदेखि मलेसियामा काम गर्दै आएका ऊनका श्रीमान् तीन बर्ष अघिबाट एकाएक हराएका थिए । कसैले भन्थे फिलिपिनी विहे गरेर बस्यो होला । कसैले भन्थे – पाकिस्तानी फटाहा हुन्छन्, मारेर कतै फालिदिए होला । कसैले भन्थे-कुनैले जाली अपराधमा फँसाएर पुलिसले कुट्दा कुट्दै मान्छे मर्यो भने पनि पुलिसले नै दबाऊँछन् । जस्ले जे जे भने पनि रिमाल्नी दिदीले सुनिदिनु थियो । जुन कथा सुने पनि ऊनलाई आफूमाथि पहरो खसेजस्तो हुन्थ्यो । केही समयदेखि त ऊनले कसैका कुरा सुन्नै छाडेकी थिइन् । अली झर्केर बोल्ने र बोल्दा पनि फटाहा शब्दहरू प्रयोग गर्ने आदत ऊनमा बढ्दै गएको थियो ।

बुहारीसँगको ऊनको झगडाको कारण पनि रिमाल्नी दिदीमा बढ्दै गएको डिप्रेशन प्रमुख कारण हो भन्ने धेरैको अनुमान थियो । तर आज त छोरा बुहारीले घरै छोडेर हिडेछन् । रिमाल्नी दिदी भक्कानिएर रूँदै थिइन् । मैले जति गाली गरे पनि म त आमा हुँ नि ! तिनीहरूकै भलाई सोचेर मैले … ऊनी रूँदा रूँदै रोकिए जस्ती भइन् । कर्केनी भाऊजु भने रिमाल्नी दिदीलाई सम्झाऊँदै ….खै ! के सोचेर हो कुन्नि  बेला बेला आफू पनि रोइरहेकी थिइन् । 

रिमाल्नी दिदीको कान्छो छोरो छ महिना अघि कामको शिलशिलामा दुबही पुगेको थियो । हेर्दा गाऊँभरीकै सुन्दर, सलक्क परेको लक्का जवान थियो ऊ । गाऊँका विहे, जागृत, चाडबाडहरूमा उसकै कारण एउटा रौनकता जम्थ्यो । पढाइमा भने ऊ खास सफल हुन सकेन । खेल जगतमा उसको विशेष रूची थियो । तर खेल खेलेर जीविका चल्ने नबुझेर ऊ पनि भर्खर विदेसिएको थियो । यता कर्केनी भाऊजु अठार बर्ष पहिले देखिकी एकल महिला । ऊनले छोरीहरूलाई साह्रै राम्रो शिक्षा दिक्षा दिइन् । ऊनका छोरीहरूले एकदमै पढेलेखेका ज्वाईहरूसँग विवहा गरे, तर छोरीहरू जतिसुकै असल र ज्ञानी भए पनि कर्केनी भाऊजुका ज्वाईंहरू भने त्यस्ता आइ लागेनन् । जति नै पढेलेखेका भए पनि अत्यान्तै रूखो स्वभाव भएका ज्वाईहरूको कारण छोरीहरूले पटक पटक सँगै बस्न अनुरोध गरे पनि कर्केनी भाऊजु आफ्नै घरमा एक्लै बस्दै आएकी थिइन् । 

रिमाल्नी दिदीको अनुहार उठाएर कर्केनी भाउजुले भनिन्- आजदेखि म र तिमी दिदी बहिनी । नरोऊ । जिन्दगी भनेकै यस्तै हो । भगवानले सँधै कठिन कठिन प्रश्नहरू खडा गरेर हाम्रो परिक्षा लिइरहनुहुन्छ । हामीले त्यसको जवाफ मुस्कुराएर दिनसक्नुपर्छ, रोएर होइन । 

कर्केनी भाउजुका कुरा सुनेर रिमाल्नी दिदी भने झन् डाको छोडेर रोइरहिन् । कर्केनी भाउजु भने उनलाई झन् झन् अँगालोमा बाधेर भनिरहेकी थिइन् – हो मलाई तिमी साँच्चिकै मेरी आफ्नै बहिनी झैं लाग्छ । तिमी मेरी बहिनी हौ । आज तिमी धेरै बर्ष पछि तिम्रो दिदीको घरमा आएकी छौ, अब तिम्रा आँसुहरू पुछ्ने जिम्मा तिम्री दिदीको भयो । क्रमश: रिमाल्नी दिदीको सुँक्क सुँक्क कम हुँदै गइरहेको थियो । गाऊँलेहरू सबैका अनुहार उज्याला देखिंदै गएका थिए । 

लेखक: मणि भट्टराई 

सम्बन्धित् समाचार