गृहपृष्ठ Featured राजनीतिमा ‘साली’को चर्चा !

राजनीतिमा ‘साली’को चर्चा !

प्रकाशित मिति:

काठमाडौँ। अहिले सरकारले इजरायलका लागि राजदूतमा नियुक्त गरेकी डा. अन्जना शाक्यको चर्चा छ। उनको चर्चा अहिले नयाँ राजदूतभन्दा पनि प्रधानमन्त्रीकी साली भनेर भएको छ। पछिल्लो समयमा सामाजिक संजालको बढ्दो प्रयोगसँगै एक समयमा एक विषय समाजमा तरंगित हुने गरेको छ। एक समय मार्सी चामल, अरिंगालजस्ता विषयको मिडियादेखि सामाजिक संजालमा निकै चर्चा भएको थियो। अहिले आएर सालीको चर्चा पनि त्यतिकै भइरहेको छ।

मिडिया र सामाजिक सञ्जालमा सरकारको आलोचना हुनुलाई अहिलेको समयमा सामान्यरुपमा लिन सकिन्छ तर अहिले हाम्रो समाज हरेक विषयमा जसरी विभाजित हुँदै छ त्यो भने डरलाग्दो देखिन्छ। अहिले विषय र प्रसंगभन्दा पनि दलगत रुपमा हाम्रो विचार विभाजित भएको छ। सत्य र असत्य, सही र गलत भन्दा पनि पक्षको कि विपक्षको भन्ने विषय अहिले प्रधान हुनथालेको छ। यसले समाजलाई त विभाजित गरेकै छ नै सँगसँगै विचार कुन हो र सही विश्लेषण के हो भन्ने विषय नै अन्योलमा परेको छ।

अहिले सर्वाधिक चर्चामा रहेको साली प्रसंग पनि यस्तै बहस र चर्चाको एउटा श्रृंखला हो। नाताले प्रधानमन्त्रीको नजिकको साली पर्ने डा. शाक्यको नियुक्ति आफैँमा ठीक हो या बेठीक हो, यसको सही उत्तर के हो भन्ने कुरा भन्न सकिन्न तर एउटा कुरा के चाहिँ हो भने उनी प्रधानमन्त्रीको नजिक भएकाले नै राजदूतको नियुक्ति पाएकी हुन्। सरकारका परराष्ट्रमन्त्रीले मापदण्ड बनाएर राजदूतको नियुक्ति हुन्छ भनिरहँदा डा. शाक्यको नियुक्तिले उनलाई गिज्याइरहेको भए पनि नेपाली राजनीतिमा उनको नियुक्तिले हाम्रा नेताहरुमा रहेको पुरानो सोच र कार्यशैलीमा कुनै परिवर्तन नआएको प्रष्ट देख्न सकिन्छ।

हिजो प्रधानमन्त्री शेरबहादुर देउवा हुँदा सासुलाई राजदूत बनाए, अहिले प्रधानमन्त्री ओलीले सालीलाई। व्यक्तिको योग्यता र क्षमता छ वा छैन त्यसलाई हेरिन छोडेजस्तो देखिएको छ । लोकतान्त्रिक चरित्रअनुसार यस्ता गहन जिम्मेवारी दिँदा मापदण्ड, प्रणाली, नियमअनुसार हुनुपर्ने हो तर राजनीतिक नियुक्तिहरुमा सालासाली, ज्वाइँ, ससुरा र सम्धी प्राथमिकतामा पर्नु गणतान्त्रिक देशको विडम्बना हो ।

जनताको अपार जनमत पाएको सरकारले परिवर्तनको आभास आम जनतालाई गराउनुपर्थ्यो। दुई तिहाइ जनमत भएको सरकार ‘साली’ मा अल्झिनुभन्दा पहिला प्रष्ट र पारदर्शी मापदण्ड बनाएर नियुक्ति प्रक्रिया अगाडि बढाएर भविष्यमा आउने सरकारलाई बलियो सिस्टम दिन सक्नुपर्थ्यो। विकास र समृद्धिको मन्त्र जपिरहँदा सरकारले आउँदो पिँढीलाई पनि  साला, ज्वाइँ, ससुरा र सम्धीकै नियुक्ति गर्ने परम्पराले निरन्तरता पाउनुले परिवर्तनको आभास कत्ति पनि दिँदैन ।

सरकार बनेको १० महिना अब पुगेको छ। प्रधानमन्त्री केपी ओलीको सार्वजनिक अभिव्यक्ति जति सुन्दर र सुनौं सुनौं लाग्छ काम त्यति नै बिर्सौं बिर्सौं जस्तो लाग्ने देखिएको छ । जनताको आशालाई निराशामा बदलेर यतिधेरै मत पाएको सरकार अलोकप्रिय बनेको छ, जसले आन्दोलनका उपलब्धिलाई संस्थागत गर्ने विषयमा व्यापक आशंका पैदा गरेको छ।

सरकार एउटा नियम, मापदण्ड, प्रक्रियाअनुसार काम गर्ने हुनुपर्छ । सरकारको स्वभाव भनेकै पारदर्शिता हो । सरकारले सही ट्रयाक नसमातेकै कारण दुई तिहाइको सरकारको विकल्प सत्तारुढ दलभित्रै खोजिन थालिएको छ। यसले न हाम्री गणतन्त्रलाई राम्रो गर्छ, न त हामी विकासको बाटोमा नै हिँड्न सक्छौँ। अहिलेको विकल्प यही सरकार नै हो। यो सरकार पाँच वर्ष चल्नैपर्छ। तर त्यसका लागि सरकार ‘साली’ संस्कारबाट बाहिर आउनु जरुरी छ।

अघिल्ला सरकारले गरेका राजनीतिक नियुक्तिलाई जसरी वर्तमान सरकारले अन्त्य गरेर जनतामा पारदर्शिताको संस्कार देखाउने छनक देखाएको थियो, त्यसरी ओली सरकार आफैँ आफ्नो स्वच्छताको बाटोमा हिँड्न नसकेको पछिल्लो प्रकरणले पुष्टि गर्छ । त्यसरी हटाएको त अहिले आफ्नालाई नियुक्ति दिन पो रहेछ भन्ने देखिएको छ । संस्कार बसाल्नै गरेको थियो भने त महत्वपूर्ण कूटनीतिक पदहरुमा हाम्रालाई भन्दा राम्रालाई लैजाने थियो नि ।

  – नाताले शाक्य ओलीकी ‘साली’ हुन् । निकटस्थहरूका अनुसार ओलीले उनलाई ‘साली’ भनेर सम्बोधन गर्छन् । तर, प्रधानमन्त्री पत्नी राधिका शाक्यको आफ्नै बहिनी भने होइनन् । शाक्य संखुवासभाकी हुन्।”””

माथिका वाक्यहरु आँफै प्रमाण दिईरहेका छन कि त्यो हेडलाइन केवल एउटा सन्सनी मच्चाउने प्रोपागान्डा थियो। मलाई ओली, देउवा, सरकार या राजनितीका बारेमा कुनै प्रतिकृया दिनु छैन। तर कुनै अमूक नेता या पार्टीप्रतीको इगो राखेर यस्तो सनसनी पूर्ण अफवाह फैलिरहदा म सिफारिस भएकी डाक्टर अज्जान शाक्यको बारेमा सोच्दै छु। एक मिनेटमा लेखिएको एउटा इगोमा लपेटिएको समाचारका कारण एउटा व्यक्तिले जिन्दगीभर सँघर्ष गरेर आर्जन गरेको वौद्दिकता र अनुभव कसरी पलभरमै धुमिल हुन जाँदो रहेछ।

पत्रकार महोदय, तपाँईको पहिलो समाचार हुनु पर्थ्यो कि सिफारिस गरिएको व्यक्ति सो पदका लागि योग्य छ या छैन? उसले कार्य सम्पादन गर्ने ल्याकत राख्छ कि राख्दैन? र उसको व्यक्तिगत आचरण कस्तो छ?

१) अज्जान शाक्यले व्यवस्थापन विषयमा विद्यावारिधी गरेकी छन्।
२) शाक्यसँग परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा निमित्त कार्यकारी निर्देशक भएर काम गरेको अनुभव छ।
३) उनले अन्तराष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष भएर काम गरेकी छन्।
४) परराष्ट्र मामिलामा सक्रिय शाक्य नेपाल ओमेन च्याम्बरको अध्यक्ष भएरसमेत काम गरेकी छन्।
५) उनले ‘नेपाल चाइना रिलेशन’, ‘नेपाल इण्डिया रिलेशनल’लगायत पुस्तकको सम्पादन गरेकी छन्।
६) शाक्यसँग लामो समय पद्मकन्याा कलेजमा प्राध्याापन गरेको अनुभवसमेत छ।

तपाँईले कसैप्रती इगो राखेर या आफ्नो पत्रिकाको पपुलारिटीका लागि एक मिनेटमा जस्तो हेड्लाइन छाप्नु भयो त्यसले डाक्टर अज्जान शाक्यले जिन्दगीको अमुल्य समय खर्चेर कमाएको माथि उल्लेखित व्यक्तित्वलाई राजनितिकरण मात्रै गरिदियो। आम मानिसले उनको व्यक्तिगत योग्यता, क्षमता के-कती छ भनेर जाँचेनन केवल ओलीकी सालीको ट्याग लगाइदिए।के तपाँईलाई त्यसो गर्ने अधिकार छ?

व्यक्तिगत रुपमा मैले अज्जान शाक्यलाई चिन्दिन। माथि उल्लेखित बुँदाहरु पनि अन्नपूर्ण पोष्टबाट लिएको हुँ। मलाई लाग्यो अज्जान शाक्य जो कोही पनि हुन सक्छ। हातमा पत्रकारिताको सलाई बोक्नेहरुले के ख्याल गर्नु पर्छ भने उनिहरुले कोर्ने “गलत” झिल्कोले कसैको संसार जलेर खरानी हुन सक्छ। पत्रकारिता संवेदनशिल बिषय हो।

सम्बन्धित् समाचार