रुपन्देहीको देवदहमा पिस लुम्बिनी कलेज अफ टेक्निकल एजुकेसनको व्यवस्थापन र देवदह नगरपालिकाको आर्थिक सहयोगमा महिलाहरूको लागि १ महिने पुरुषको कपाल काट्ने तालिम शुरु भएको छ । उक्त तालिम देवदह नगरपालिकाको उपमेयर संग महिला कार्यक्रम अन्तरगत बिहिबार देखि शुरु भएको हो ।
तालिम देवदह नगरपालिका वडा नं ७ स्थित अपाङ्ग समाज सेवाको सभा हलमा हुने छ भने तालिममा ४५ जना प्रशिक्षार्थी रहेका छन् । तालिममा रबि ठाकुरले प्रशिक्षण दिनुहुनेछ ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका देवदह नगरपालिका प्रमुख हिरा केसिले आफ्नै गाउँठाउँमा बेरोजगार महिला दिदिबहिनीलाई रोजगारीको राम्रो अवसरको सिर्जना गर्ने बताउनु भयो । आफ्नो सीप र क्षमतालाई सही सदुपयोग गर्दै उत्कृष्ट कपाल काट्ने पेसालाई व्यवसायिकको रुपमा सफल बन्न अनुरोध गर्नु भयो । सीप र क्षमता नै रोजगारीको उपयुक्त अवसर भएको कुरामा केसिले जोड दिनु भयो । सीप लिएर घरमा बस्नलाई तालिममा नआउन आग्रह गर्दै तालिमबाट आए मुलक काममा लाग्न आग्रह गरे ।
साथै कार्यक्रमको अध्यक्ष तथा देवदह नगरपालिकाको उप(प्रमुख बिद्या लक्ष्मी गुरुङले कपाल काट्ने पेसाले सीप र क्षमताको विकास हुनुको साथै कपाल काट्ने पेसालाई व्यवसायिक रुपमा अगाडी बढाउन प्रोत्साहन मिलोस् र महिला दिदी बहिनीलाई रोजगारको अवसर मिलोस भन्ने उद्धेश्यले उक्त तालिम सञ्चालनमा ल्याइएको बताउनु भयो ।
कार्यक्रम देवदह नगरपालिका महिला समिती सदस्य देबु भट्टराईको स्वागत र देवदह नगरपालिका महिला समिति सदस्य सर्स्वती पोख्रेलको संचालनमा भएको थियो ।