नेपालमा आर्थिक वर्षको अन्त्यतिर अर्थात् असार महिनाको सेरोफेरोमा विकासको काम धमाधम गर्ने चलन पुरानै हो । बजेट खर्च गरिसक्नुपर्ने बाध्यतालाई मात्र ध्यानमा राखेर गरिने यस्ता कामले देश र जनतालाई प्रतिफल नहुने भएर नै यस्ता कामलाई ‘असारे विकास’ संज्ञा दिइएको हो ।
प्रदेशका ५ मा स्थानीय तह, प्रदेश र संघीय सरकार गरी तीनै तहका सरकारले सञ्चालन गरेका विकास योजनामा यतिबेला धमाधम काम भइरहेको छ ।
बजेट सिध्याउने उद्देश्यले मात्र हतारमा विकासे काम गर्दा गुणस्तरमा ध्यान नदिएको, पारदर्शिता नभएका घटनाहरु पनि बेला बेला बाहिर आउने गरेको छ । ठेकेदार, उपभोक्ता समिति र कर्मचारीको मिलेमतोमा ‘असारे विकास’ को प्रवृत्ति मौलाउँदै गएको गुनासो बारम्बार सुनिने गरेको छ ।
त्यसैले प्रदेश ५का प्रदेश सभामा रहेका बिभिन्न समितिहरु अहिले ‘असारे विकास’को अनुगमन गर्न हिँडेका छन् ।
प्रदेश सभाका प्रदेश मामिला तथा कानुन समिति, सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति, भौतिक पूर्वधार तथा विकास समिति र कृषि समितिले विभिन्न जिल्लामा भएका विकास निर्माणका कामहरु आ–आफ्नो ढङ्गले अनुगमन गर्न थालेका छन् ।
ती समितिहरुले घोषित रुपमा ‘असारे विकासको अनुगमन’ नभने पनि आर्थिक वर्षको अन्त्यतिर भइरहेका विकासे कामको गुणस्तर अनुगमनका लागि हिँडेको बताउँछन् ।
अधिकांश समितिले दुई समूह बनाएर जिल्लाहरुमा आ–आफ्नो क्षेत्राधिकार भित्रको योजना अनुगमन गरिरहेका छन् ।
प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरले विभिन्न समितिहरुले विकास योजनाको अनुगमन गरिरहेको बताए । अनुगमनपछि सभामुख समक्ष प्रतिवेदन बुझाउने उनले बताए ।
साभार








