मास्कविना सार्वजनिक सवारीमा चढ्न निषेध, २५ जनाभन्दा बढी भेला हुन नपाइने

काठमाडौं : सरकारले कोभिड– १९ संक्रमणकोे अत्यधिक जोखिम भएका स्थानका शैक्षिक संस्थाहरूको भौतिक पठनपाठन वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्र र भारतीय सीमा जोडिएका सहरका शैक्षिक संस्थामा भौतिक उपस्थितिसहितको पठनपाठनमा रोक लगाएको हो ।

संक्रामक रोग ऐन, २०२० को दफा २ अनुसार सरकारले जोखिमको सम्भावना उच्च रहेका क्षेत्र घोषणा गरी ती क्षेत्रका लागि विशेष व्यवस्थासहितको मापदण्ड जारी गरेको छ । मन्त्रिपरिषद्ले गरेका निर्णयबारे जानकारी दिन सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड– १९ संक्रमण रोकथाम, पहिचान तथा उपचारका लागि सरकारले जारी गरेको आदेशबारे जानकारी गराएका हुन् ।

उनका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर जिल्लाका सबै महानगरपालिका तथा नगरपालिकाहरू, विराटनगर, वीरगन्ज, भरतपुर, पोखरा महानगरपालिका, इटहरी, धरान, जनकपुर, हेटौँडा, बुटवल, घोराही, तुलसीपुर, नेपालगन्ज तथा धनगढी उपमहानगरपालिका, मेचीनगर, बिर्तामोड, दमक, राजविराज, बनेपा, धुलिखेल, सिद्धार्थनगर, वीरेन्द्रनगर तथा भीमदत्तनगर नगरपालिकाभित्रका विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र वैशाख मसान्तसम्म भौतिक रूपमा उपस्थित नभई भर्चुअल रूपमा वा वैकल्पिक विधि अपनाई शैक्षिक गतिविधि सञ्चालन गर्न भनिएको छ ।

विद्यालय र कलेजका पूर्वनिर्धारित परीक्षा, चिकित्सा शिक्षालगायतका सबै परीक्षा जनस्वास्थ्य मापदण्ड अपनाई सञ्चालन गर्न पाइने भएको छ ।

सिनेमा हल, पार्टी प्यालेस, दोहोरी नाचघर, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल, फुटसल, आमसभा, जुलुस वा हाटबजार, रंगशालामा हुने दर्शकसहितको खेदकुद र मानिसको भिडभाड हुने सबै प्रकारका कार्यक्रमहरू वैशाख मसान्तसम्म बन्द गर्न भनिएको छ ।

मठमन्दिर, गुम्बा, मस्जिदजस्ता धार्मिक स्थानमा जनस्वास्थ्यका मापदण्ड पालना गरी वैशाख मसान्तसम्म नित्य पूजा, ध्यान, प्रार्थना गर्ने–गराउने व्यवस्था मिलाउन भनिएको छ ।

कलेज बन्द भए पनि त्रिविका परीक्षा नरोकिने

काठमाडौं : सरकारले स्कुल बन्द गर्ने निर्णय गरेपनि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षा नरोक्ने भएको छ। त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले आइतबारबाट परीक्षा सञ्चालन गरिसकेकोले नरोक्ने जानकारी दिए।

उनका अनुसार अहिले मानविकी,व्यवस्थापन र शिक्षा संकायको दोस्रो वर्षको वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। ‘यो वार्षिक परीक्षा हो त्यसैले परीक्षा रोकिँदैन’ उनले भने,‘पढाइ भने अब रोकिन सक्छ।’

सोमबार बिहान बसेको मन्त्रिपरिषद्‌ बैठकले वैशाखभर अति प्रभावित जिल्लाहरु काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङका सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

लुम्विनी प्रदेश : ४ मन्त्रीलाई सरकारबाट फिर्ता हुन जसपाको निर्देशन

बुटवल : लुम्बिनी प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीलाई जनता समाजवादी पार्टिले स्पष्टीकरण माग गरेको छ ।
मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अबिस्वास प्रस्तावमा हस्ताक्षर गरेको उक्त पार्टिले आफ्नै पार्टिका ४ जना सांसदहरु मन्त्री बन्न गएपछि मंगलबार सम्म फिर्ता हुन निर्देशन दिएको छ ।

पार्टिका लुम्विनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले बिज्ञप्ती जारी गरी पार्टिको सोमवार बिहान बसेको बैठकले मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध अविश्वास प्रस्ताव लैजाने निर्णय बिपरीत मन्त्रीपरिषदमा सहभागी भएको भन्दै फिर्ता हुन निर्देशन दिएको हो ।

बिज्ञप्तीमा सरकारबाट फिर्ता भई २४ घण्टा भित्र चित्तबुझ्दो स्पष्टीकरण दिन निर्देशन दिदै त्यतिन्जेल सम्मका लागि सम्पुर्ण जिम्मेवारी बाट हटाउने निर्णय गरेको उल्लेख छ ।

नव नियुक्त मन्त्री सन्तोष पाण्डेले भने आईतवार संसदीय दलका उपनेताको अध्यक्षतामा सम्पन्न बैठकले आफुलाई संसदीय दलको नेता चयन गरेको र सरकार बिरुद्ध अबिश्वस प्रस्तावमा जाने कुनै निर्णय नगरेको बताए ।
जनता समाजबादी पार्टिले मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने कुनै निर्णय गरेको छैन बरु मलाई ससदीय दलको नेता बनाएको हो पाण्डेले भने ।

सामाजिक बिकास मन्त्री कल्पना पाण्डेले लुम्विनी प्रदेशमा संघिय समाजवादी र राजपा बिच एकिकरणको प्रक्रिया टुगो नलागेकोले आफुलाई जनता समाजवादीको कुनै प्रकारको निर्देशन मान्य नहुने बताईन ।

लुम्विनी प्रदेशमा पार्टि एकिकरण प्रक्रिया अगाडी बढेको छैन त्यसैले जनता समाजबादीका नाममा हुने कुनै पनि स्पष्टिकरण र निर्देशन लागु हुन सक्दैन पाण्डेले भनिन ।

नेपाली कांग्रेसको अगुवाईमा नेकपा माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध अविश्वास हस्ताक्षर गरी दर्ता गरेको एक घण्टा नबित्दै जनता समाजवादी पार्टीका सांसदहरु पोखरेल नेतृत्वकै सरकारमा सहभागी भएका थिए ।
त्यसैगरी जसपाका ४ जना सासद मन्त्री बनेको १ घण्टा नबित्दै उनीहरुलाई सरकारबाट फिर्ता हुने निर्देशन आएको छ ।

देउवाको आरोप- ओली भारतको टाङमुनि छिरिसके

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन्। ओली भारतको टाङमुनि छिरेको आरोप देउवाको छ।

उनले यो कुरा देउवाले आज नेविसंघको ५२ औं स्थापना दिवसका अवसरमा काठमाडौंको बालमिकी क्याम्पसमा नेविसंघ केन्द्रीय समितिले गरेको कार्यक्रममा भनेका हुन्। राष्ट्रवादी बनेर चुनाव जितेका ओली अहिले भारतको टाङमुनि छिरेको देउवाको आरोप छ।

‘हिजो सबैभन्दा राष्ट्रवादी भन्ने ओली आज इन्डियाको तुमशरणम् भइसक्यो,’ देउवाले भने, ‘भारतविरोधी नाराबाट जितेको ओली अहिले भारतको टाङमुनि छिरिसक्यो, कहाँ छ त्यो राष्ट्रवादरु त्यसकारण यिनीहरू राष्ट्रवादी होइनन्, अवसरवादी हुन्।’

ओली सरकार अहिले पनि बहुमतमा रहेको देउवाले बताए।

नेकपा माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता नगरेको उनको भनाइ छ। ‘प्रचण्डले समर्थन फिर्ता लिएका छैनन्। ओलीलाई जसपाले साथ दिन खोजिरहेको छ,’ उनले भने।

आफूले ओली सरकार हटाउन खोजेको उनले बताए। कोरोना महामारीबीच पार्टीको महाधिवेशन गर्ने चुनौती रहेको देउवाको भनाइ थियो।

बाणगंगामा नगर बुलेटिन, वालमैत्री नगर घोषणा देखि औद्योगिक ग्रमका लागि बोलपत्र आह्वान सम्मका निर्णय


हरि घिमिरे
कपिलवस्तु, बैशाख ६
कपिलवस्तुको बाणगंगा नगरपालिकाको कार्यपालिका बैठकले महत्वपुर्ण निर्णय गरेको छ । बैठकले २०७७ चैत मसान्तसम्मको आम्दानी र खर्चको समिक्षा गरेको छ । जसमा चालु आर्थिक बर्षको १ अर्ब २३ करोड ३० लाख बजेट मध्ये ३७ दशमलव २९ प्रतिशत बजेट खर्च भईसकेको नगरपालिकाले जनाएको छ । आन्तरिक आय ९ करोड लक्ष्य राखेकोमा १२ करोड आय संकलन हुने आधार तयार भएको छ ।

त्यस्तै वडा नं. ९ मा औद्योगिक ग्राम निर्माणका लागि प्रारम्भिक कामका बोलपत्र आह्वान गर्ने निर्णय गरिएको छ । त्यस्तै नगरपालिकालाई २०७८ जेठ मसान्त भित्र वालमैत्री नगर घोषणा गर्र्नेे, बैशाख महिनाबाट नगरपालिकाका महत्वपुर्ण गतिविधिहरु मासिक रुपमा वेवसाईट मार्फत नगर बुलेटिन प्रसारण गर्ने निर्णय गरिएको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले बताए ।

त्यस्तै रोकिएको पुरानो घरहरुको अभिलेखिकरणलाई पुनः सुचारु गर्ने र विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट आफु पनि बच्ने र अरुलाई पनि बचाउनका लागि सम्पुर्ण स्वास्थ्य मापदण्ड अपनाउनका लागि नगरवासीमा आग्रह गरिएको छ ।

नगर प्रमुख मंगल प्रसाद थारुको अध्यक्षता रहेको बैठकमा उप प्रमुख चक्रपाणि अर्याल, प्रमुह प्रशासकिय अधिकृत बासुदेव खनाल, ११ वटै वडाध्यक्ष, कार्यपालिका सदस्य, नगरका शाखा प्रमुख लगाएतको उपस्थिती रहेको थियो ।

मदनकृष्णसहित छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना संक्रमण

काठमाडौँ : मदनकृष्ण श्रेष्ठको परिवारलाई कोरोना संक्रमण भएको छ । श्रेष्ठसँगै उनका छोराछोरी, बुहारी र नातिनीलाई कोरोना भएको श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् ।

उनले लेखेका छन्,’म लगायत मेरा छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना देखिएको छ । कोरोना भइसकेपछि सास्तीचाहिँ हुने रहेछ त्यसैले यो भाइरसलाइ खेलाँची नगर्नु होला १ जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला ।’

श्रेष्ठको आज जन्मदिन हो । उनले पोस्टमार्फत जन्मदिनको शुभकामना दिनेलाई पनि धन्यवाद दिएका छन् । यसअघि उनका मित्र हरिवंश आचार्यलाई पनि कोरोना भएको थियो ।

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुद्धारा सपथ ग्रहण

बुटवल : लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा नियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख धर्म नाथ प्रसाद यादवले सपथ ग्रहण गराएका हुन । मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक बिकास मन्त्रालय,भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन बन तथा बाताबरण मन्त्रालयलाई बिभाजन गरेर थपिएका ४ मन्त्री र हेरफेर भएका ३ जना मन्त्रीलाई प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा सपथ ग्रहण गराईएको हो ।

थपिएका मन्त्रीमध्ये भौतिक पुर्वाधारमा सन्तोष पाण्डे ल्याएईएको छ भने सरकारका प्रवक्ता समेत रहेका भौतिक पुर्वाधार मन्त्री बैजनाथ चौधरी थारु आर्थिक मामिला तथा योजना मन्त्री बनाईएको छ ।

उद्योग मन्त्री लिला गिरि आन्तरिक मामिला तथा कानुन तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका छन भने कृषि मन्त्री आरती पौडेललाई उद्योग बन बाताबरण मन्त्री बनाईएको छ । त्यसैगरी कल्पना पाण्डे सामाजिक भुमि ब्यवस्थामा बिजय बहादुर यादव र सुमन शर्मा रायमाझी लाई भौतिक पुर्वाधार राज्य मन्त्री बनाईएको छ ।

 

माधव नेपालसहित २० नेतालाई अन्तिम चेतावनी सहित स्पष्टीकरण

काठमाडौं : नेकपा एमालेले पार्टीको विधान विपरित लागेको भन्दै माधव नेपाल समूहको नेताहरुलाई अन्तिम चेतावनी सहितको २ दिने अन्तिम चेतावनी युक्त स्पष्टिकरण सोध्ने भएको छ।

बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो।

माधव नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, प्रकाश ज्वालालगायत पार्टी विपरित कार्य गर्न लगाउने थप २० जनालाई दुई दिनको अन्तिम चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले जानकारी दिए।

चित्तबुझ्दो स्पष्टीकरण नदिए नेताहरुलाई बैशाख १० गते बस्ने बैठकले कारवाही गर्ने निर्णय समेत गरेको छ।

एकैदिन १२८१ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २ सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर सात हजार १ नमूनाको पिसिआर परीक्षण र ५४७ जनाको एन्टिजेन परीक्षण भएको थियो। यसमध्ये पिसिआर विधिबाट एक हजार २ सय २७ जना र एन्टिजेन विधिबाट ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

गत २४ घण्टामा २५५ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७५ हजार ५५५ पुगेको मन्त्रालयले जनाएको छ। यस्तै देशभर ८१ जना क्वारेन्टाइनमा रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा आठ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ९१ जना पुगेको छ ।

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ८५ हजार ९०० पुगेको छ ।

कुशल र आसिफको शतकीय साझेदारीमा नेपालको शानदार जित

काठमाडौँ : कुशल भुर्तेल र आसिफ शेखले लगातार दोस्रो खेलमा सानदार ब्याटिङ गरेपछि नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखला क्रिकेटमा सोमबार मलेसियालाई ९ विकेटले पराजित गरेको छ । कुशल र आसिफले पहिलो विकेटमा १ सय २ रनको साझेदारी गरेपछि मलेसियाले छाडेको १ सय १० रनको मध्यम चुनौतीलाई १२.१ ओभरमै पुरा गर्यो ।

नेपाललाई लगातार दोस्रो जित दिलाउनेक्रममा कुशलले अविजित ६१ र आसिफले ४२ रन बनाए । नेपाल विजयको नजिक पुगेपछि आउट भएका आसिफले २९ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । कुशलले ४१ बल खेली ३ चौका र ५ छक्का प्रहार गरे । दीपेन्द्र ६ रनमा अविजित रहे ।

यसअघि टस हारेपछि ब्याटिङमा आएको मलेसिया १६।५ ओभरमै अलआउट भएको थियो । करण केसीले ३ विकेट लिँदै मलेसियालाई धरासायी बनाए । करणले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानेले ३।५ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल र शाहब आलमको नाममा १–१ विकेट रहयो ।

मलेसियाबाट ओपनर सैयद अजिजले सर्वाधिक २७ रन बनाए । उनले २४ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । कप्तान अहमद फेज ३ रनमा रनआउट हुनु मलेसियाको दुर्भाग्य रहयो । उनलाई विकेटकिपर विनोद भण्डारी र करणले मिलेर रनआउट गरे ।

सर्भिन मनिआन्डीले २० र सफिक सरिफले १५ रन बनाए । दोस्रो जितेपछि नेपालको फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ । राउन्ड रोबिनमा एकले अर्को टोलीसँग २–२ खेल खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्ने छ ।

नेपालले मंगलबार नेदरल्यान्ड्ससँग खेल्ने छ । मलेसियाले दुबै खेल हारेको छ । नेदरल्यान्ड्सले २ खेलमा १ मा विजय र १ मा पराजय भोगेको छ ।

लुम्बिनी प्रदेश : अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने ४ जनालाई मन्त्रीको सपथ खुवाउने

बुटवल : लुम्बिनी प्रदेश सरकार विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएलगत्तै मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । सोमबार आफुविरुद्ध ४१ जना सांसदले हस्ताक्षर गरेर अविश्वास प्रस्ताव दर्ता गरेको केही बेरमै मुख्यमन्त्री पोखरेलले जसपाका सांसदहरुलाई मन्त्रीमा समेटेका हुन् ।

अविश्वास प्रस्ताव दर्ता भएपछि माओवादीका दुई जना मन्त्रीले सोमबारै राजीनामा गरेका थिए । माओवादीका कुलबहादुर केसी र सुदर्शन बरालले मन्त्रीबाट राजीनामा दिएपछि मुख्यमन्त्रीले जसपाका सांसदलाई मन्त्री बनाएका हुन् । उनीहरुको चार बजे सपथ हुदैछ ।

जसपाका तर्फबाट सांसदहरु विजय यादव, सन्तोष पाण्डे, सुमन रायमाझी, कल्पना पाण्डेले मन्त्रीको सपथ लिदै छन् । विजय,सन्तोष र सुमनले अविश्वास प्रस्तावमा समेत हस्ताक्षर गरेका छन् ।

लुम्बिनीको मायादेवी मन्दिर प्रवेश शुल्कमा मनपरी वृद्धि : फिर्ता लिन चौतर्फी दबाब

लुम्बिनी : विश्वसम्पदामा सूचीकृत बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर प्रवेश शुल्कमा मनपरी वृद्धि गरिएपछि चौतर्फी विरोध भएको छ । कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा राहत दिनुपर्ने बेलामा लुम्बिनी विकास कोषले चर्को शुल्क वृद्धि गरेपछि स्थानीय, नागरिक अगुवा, पर्यटन व्यवसायी र भिक्षु–भिक्षुणीले विरोध जनाउँदै फिर्ता लिन माग गरेका हुन् ।

मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनी बन्दै गएका बेला शुल्क वृद्धिले नकारात्मक असर पुर्‍याउने उनीहरूको भनाइ छ । कोषले यही वैशाख १ गतेबाट शुल्क बढाएर असुल्न थालेको छ । गत साउन १७ गते कोषका अध्यक्ष तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको बैठकले नेपाली र भारतीय पर्यटकको प्रवेश शुल्कमा १ सय ५० प्रतिशतसम्म बढाएको हो । त्यस्तै सार्क राष्ट्रका लागि ५० प्रतिशत र तेस्रो मुलुकका लागि २० प्रतिशत शुल्क बढाइएको छ ।

नेपाली र भारतीयले अहिलेसम्म मायादेवी मन्दिर प्रवेश शुल्क २० र ४० रुपैयाँ तिर्दै आएकामा अहिले बढाएर ५० र एक सय रुपैयाँ पुर्‍याइएको छ । नेपाल र भारतका विद्यार्थीलाई ५० प्रतिशत छुट दिइएको छ । त्यस्तै सार्क राष्ट्र र तेस्रो मुलुकका पर्यटकलाई दुई सय र पाँच सय लिंदै आएकामा बढाएर ३ सय र ६ सय पुर्‍याइएको छ । नेपालीलाई क्यामरा, भिडियो क्यामरा र छायांकनको शुल्क बढाएर क्रमशः एक सय, एक हजार र १० हजार पुर्‍याइएको छ । यही शीर्षकमा भारतीयलाई एक सय, एक हजार र सात सय यूएस डलर पुर्‍याइएको छ । सार्क र तेस्रो मुलुकका लागि क्यामरा, भिडियो क्यामरा र छायांकनको शुल्क बढाएर क्रमशः ३ डलर, २५ डलर र ७ सय यूएस डलर पुर्‍याइएको छ । भिक्षु, भिक्षुणीका अतिरिक्त कपिलवस्तु, रूपन्देही र नवलपरासीका नागरिकलाई भने शुल्क नलाग्ने जनाइएको छ । तर, उनीहरूले आफ्नो परिचयपत्र देखाउनु पर्नेछ ।

लुम्बिनी सबै नेपालीको भएकाले कसैलाई प्रवेशमा शुल्क लाग्ने र कसैलाई नलाग्ने नीति विभेदकारी भएको मायादेवी मन्दिरमा पूजाआजा गराउने भिक्षु विवेकानन्दले बताए । ‘सरोकारवालासँग छलफल नै नगरी एक्कासि शुल्क बढाइएको छ,’ उनले भने, ‘हामीलाई यो मान्य छैन । यस निर्णयका विरुद्ध अदालत जाने तयारी गरेका छौं ।’ लुम्बिनीका नागरिक समाज, होटल र पर्यटन व्यवसायी, पथप्रदर्शक र भिक्षु भिक्षुणीले ज्ञापनपत्र बुझाई शुल्क वृद्धि खारेजीको माग गरिसकेका छन् । ‘विश्व सम्पदास्थल हो, यहाँ नेपालीबाट शुल्क उठाउनु राम्रो होइन,’ लुम्बिनी संरक्षण नागरिक समाजका संयोजक मेघनाथ आचार्यले भने, ‘शुल्क उठाउँदा आफ्नो ठाउँ आफैं पराई बनाएजस्तो भयो ।’ भारतमा रहेका बौद्धस्थलमा पनि आफ्नै मुलुकका नागरिकसँग शुल्क नलिइने उनले बताए । यहाँ लिइँदा लुम्बिनीप्रति नकारात्मक धारणा बन्ने उनको भनाइ छ ।

०६५ सालमा पनि कोषले मन्दिर प्रवेश शुल्क लगाएको थियो । तर, स्थानीय पर्यटन व्यवसायी दिलीप बानियाँले सर्वोच्च अदालयमा मुद्दा दायर गरेका थिए । अदालतले कुनै पनि किसिमको शुल्क नलिनु भन्ने आदेश गरेको थियो । उक्त आदेश पनि कोषले आंशिक मात्रै लागू गरेको छ । नेपालीबाट शुल्क नलिए पनि विदेशीबाट असुल्दै आएको थियो । एक दशकपछि फेरि कोषले अदालतको आदेशको अवहेलना गर्दै शुल्क लिन सुरु गर्नु दुःखद भएको बानियाँले बताए । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको अध्यक्षतामा ०७५ जेठ १ गते बसेको बैठकले भदौ १ गतेदेखि नेपालीबाट पनि शुल्क लिने निर्णय गरेको थियो । पहिले एउटा टिकटको ३ दिनसम्म मान्यता हुन्थ्यो । अहिले २४ घण्टा मात्र मान्य हुन्छ । ‘श्रद्धाले आउनेलाई श्रद्धाले नै पैसा दिने वातावरण बनाउनुपर्छ,’ अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले भने, ‘पैसा लिएर पूजाआजा गर्न दिनुले राम्रो सन्देश जाँदैन ।’

काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा प्रवेश निःशुल्क छ तर मायादेवी मन्दिरमा शुल्क लाग्नु एउटै देशमा संस्कृति र सम्पदामा दोधारे नीति भएको अध्यक्ष महास्थवीरले सुनाए । ‘शान्ति र प्रेरणाका लागि टाढाटाढादेखि नेपाली यहाँसम्म आउँछन् तर दर्शनार्थीबाट पैसा लिनु राम्रो होइन,’ उनले भने, ‘यसले लुम्बिनीप्रति नराम्रो सन्देश जान्छ । प्रवेशमा पैसा लाग्ने भएपछि मन्दिर प्रवेश नगरी टाढैबाट हेरेर फर्किने अवस्था आउन सक्छ ।’ सरकारले लुम्बिनी विकास कोषलाई प्रशासनिक र चालु खर्चका लागि बजेट नदिई आत्मनिर्भर बन्न भनेकाले बाध्य भएर शुल्क वृद्धि गर्नुपरेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यले बताए । ‘शुल्क वृद्धि नगरी नहुने अवस्था आयो,’ उनले भने, ‘रकम अभावमा अहिले कतिपय कर्मचारीले एक महिना काम गरेर १५ दिनको मात्रै पारिश्रमिक लिएर चित्त बुझाएका छन् ।’

लुम्बिनीको प्रशासनिक र चालु खर्च वार्षिक १८ करोडको हाराहारीमा छ । प्रवेश शुल्कबाट मात्रै अहिले कोषले वार्षिक १४ करोडभन्दा बढी आम्दानी गर्दै आएको छ । कोषले तलबभत्ता, सुरक्षा, सरसफाइ, विद्युत्, सञ्चार र इन्धनलगायतको खर्च आफ्नै बजेटबाट गर्नुपर्छ । शुल्क वृद्धि अशोभनीय र लज्जाजनक भएको लुम्बिनी होटल संघका महासचिव लीलामणि शर्माले बताए । ‘लुम्बिनीमा आउने पर्यटक अहिले २२ देखि २८ मिनेट मात्रै यहाँ रोकिने तथ्यांक छ,’ उनले भने, ‘यस्तोमा लुम्बिनीमा बसाइ कसरी लम्ब्याउने भन्नेबारे कोषको कुनै योजना छैन ।’ लुम्बिनीमा संग्रहालय र बगैंचालगायत आकर्षक र जीवन्त स्थल बनाएर पैसा उठाउनुपर्ने उनको सुझाव छ ।

नेपालमा सबैभन्दा बढी विदेशी र स्वदेशीले भ्रमण गर्ने पर्यटकीय स्थल लुम्बिनी हो । सन् २०१९ मा १ लाख ७४ हजार विदेशी र ११ लाखभन्दा बढी स्वदेशीले लुम्बिनीको भ्रमण गरेका थिए ।

स्थापना दिवसमा नेविसंघ क्षेत्र नं. १ कपिलवस्तुद्धारा मृगौला पिडित रेश्मीलाई सहयोग

 

कपिलवस्तु, बैशाख ६

नेपाल विद्यार्थी संघ (नेविसंघ) को स्थापना दिवसको अवसरमा मृगौला पिडितलाई सहयोग गरिएको छ । संघको ५२ औँ स्थापना दिवसको अवसर पारि नेविसंघ क्षेत्र नं. १ कपिलवस्तुले बाणगंगा नगरपालिका वडा नं. ८ पुल्चोक निवासी मृगौला पिडित शिवकला रेश्मीलाई खाद्यान्न, लत्ताकपडा, झुल लगायतका सामग्रीहरु प्रदान गरेको हो ।

पति शोकमा परेकी शिवकलाको दुवै मृगौला फेल भएका कारण नियमित डायलासिस गराउदा आर्थिक स्तर निकै कमजोर भएकोले सहयोग गरिएको नेविसंघ क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले बताएका छन् । आर्थिक स्तर कमजोर भएका कारण मृगौला पिडित शिवकलाका दुवै छोराहरु पढाई छाड्न बाध्य भएका थिए ।

बाणगंगा नदिको किनार छेउमा भाडामा बस्दै आएका उनका छोराहरुले दिनभरी नदीको वालुवा चालेर उपचारमा सघाएको मृगौा पिडित शिवकलाले भावुक बन्दै बताईन् । अब भने दुवै छोराहरुलाई पनि नेविसंघ क्षेत्र नं. १ र नेविसंघ सिद्धार्थ क्याम्पस ईकाई कमिटिले निःशुल्क रुपमा अध्ययन गराउने भएको छ । छोराहरुलाई पढाउने मनहुँदाहुंदै पनि पतीको मृत्यु, आफु मृगौला पिडित र आर्थिक स्तर कमजोर भएका कारण पढाउन नसक्दा आफु निकै चिन्तित रहेको शिवकलाले बताईन् ।

नेपाली कांग्रेस महा समिति सदस्य दुर्गा सेन, तरुण दल जिल्ला सभापति शक्ति सिं. ठकुरी, नेविसंघ क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेल, सिद्धार्थ क्याम्पस ईकाई सभापति दिनेश क्षेत्री, नेविसंघ नेता खिमानन्द घिमिरे, सुवास पौडेल, सुशान्त पोख्रेल, विवेक पौडेल, यमलाल पाण्डे लगायतको टोलीले पिडितको घरमा गई सहयोग गरेको हो ।

लुम्बिनी प्रदेशमा दुई मन्त्रीले दिए राजीनामा, माओवादी केन्द्रद्धारा समर्थन फिर्ता

बुटवल : लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। दुई जना नेकपा माओवादी केन्द्रका सांसदले राजीनामा पनि दिएका छन्। उनीहरूले सोमबार मुख्यमन्त्री कार्यालयमा राजीनामा पत्र दिएका हुन्। दुबै मन्त्रीले संयुक्त रूपमा राजीनामा पत्र बुझाएका छन्।

आजै नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए।

माओवादी केन्द्रका कुलप्रसाद केसी र सुदर्शन बरालले राजीनामा दिएका हुन्। केसीलाई भावी मुख्यमन्त्रीमा प्रस्तावसमेत गरिएको छ। उनी आन्तरिक मामिला मन्त्री थिए। यस्तै सामाजिक विकास मन्त्री बराल थिए।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । उनीहरूले माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका छन् ।

४१ जनाको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरेको जनता समाजवादी पार्टीका संसदीय दलका नेता सहसराम यादवले बताउनुभयो । अविश्वास प्रस्तावमा कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ५ जनाले हस्ताक्षर गरेका छन् । लुम्बिनी प्रदेश सभा ८७ सदस्यीय हो। माओवादी केन्द्र छोडेर एमालेतिर लागेका दुई जना सांसदको पद खारेज भएको छ । यहाँ नेकपा एमालेका ४१ सांसद छन् भने जनमोर्चाका १ जना सांसद छन् ।

एमालेमा पनि ओली र माधव नेपाल पक्षबीच विवाद छ । मुख्यमन्त्री पोखरेललाई माधव समूहबाटै चुनौती छ। यसअघि नेपाल पक्षका सांसदहरूले कर्णाली प्रदेशमा पार्टी ह्वीप नमानेर फ्लोर क्रस गरेका थिए । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध पनि कांग्रेस, माओवादी केन्द्र र जसपाले अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

सिद्धिचरण लोकमार्ग अनिश्चितकालीन बन्द

उदयपुर : जिर्ण सिद्धिचरण लोकमार्ग स्तरोन्नतिमा सम्बन्धित निकायले ध्यान नदिएको भन्दै स्थानीयले सोमबार बिहानैदेखि सडक अवरुद्ध गरेका छन्। सडक अवरुद्ध सँगै माथिल्लो सगरमाथाअन्तरगत ओखलढुंगा, सोलु र खोटाङ्गका लागि छुटेका सवारी साधन अलपत्र छन्।

सिराहा–उदयपुर–ओखलढुंगा जोड्ने लोकमार्गको स्तरोन्नति माग गर्दै आएका स्थानीय उपभोक्ता संघर्ष समितिले सरकार र डिभिजन सडक कार्यालय लाहानलाई ज्ञापनपत्र बुझाउँदा समेत वेवास्ता गरेको भन्दै आन्दोलित भएका हु्न्।

सिरहाको मिर्चैयादेखि उदयपुरको कटारी हुँदै ओखलढुंगा सीमास्थल घुर्मीसम्मको सडक खण्ड तत्काल स्तरोन्नति गर्न उनीहरुको माग छ। उक्त खण्डको सडक जिर्ण भएकाले बारम्बार दुर्घटना हुँदा पनि दीगो मर्मतसम्भार नगर्दा यात्रु, यातायात व्यवसायी र स्थानीयलाई वर्षौंदेखि समस्या भोग्नुपरेको संर्घष समितिका संयोजक दिपक बुढाथोकीले बताए।

पटकपटक स्तरोन्नतिको माग स्थानीयले गरे पनि सम्बन्धित पक्षले कुनै चासो नदिएपछि बाध्य भएर आन्दोलना उत्रिनु परेको उनले बताए। कटारी नगरपालिका ११ का वडाध्यक्षसमेत रहेका बुढाक्षेत्रीका अनुसार सडक मर्मत कार्य तत्काल सुरु गर्न गरिएको माग वेवास्ता गरियो।

उनले भने, ‘हामीले बारम्बार सडक स्तरोन्नतिको माग गर्दै आएका छौं तर, सम्बन्धित निकायले कान थुनेर, आँखामा पट्टी बाँधेर बस्यो।’ संघर्ष समितिले आर्थिक वर्ष २०७८-०७९ को बजेटमा लोकमार्ग सुरक्षित आउजाउ गर्न यसअघिदेखि उठाउँदै आएको दुई लाईन सडक बनाउनुपर्ने मागलाई कार्यान्वयन गर्न पर्याप्त बजेट बिनियोजन गर्न, त्यसको लागत ईस्टीमेट बनाएर काम थाल्ने सुनिश्चित गर्नुपर्ने माग राखेको छ।

दुई लाइन सडक बन्ने निश्चित नभएसम्म आउजाउलाई सहज बनाउनका लागि तत्काल मर्मत गर्न स्काभेटर, जेसिबीजस्ता उपकरण तैनाथ राख्न तथा सडकमा धुलो मार्न पानी छ्याप्ने ट्यांकर तैनाथ गर्न पनि माग गरेको छ। सिद्धिचरण लोकमार्गको कटारी नगरक्षेत्रमा पर्ने कटारीदेखि घुर्मीसम्म ४६ किलोमिटर सडक जीर्ण भएकाले सवारी आउजाउ समस्या पर्दै आएको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए।

उनले सडक समस्याका बारेमा प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक पुर्वाधार मन्त्री लगायत सरोकारवाला निकायको ध्यानाकर्षण गराएको र चाँडै सम्बोधन हुने आश्वसन पाएको बताए। उनले केहि वजेट चालु आर्थिक वर्षमै खर्च गर्ने गरी आएकोसमेत बताए। कटारीका वडा नम्वर ८, ९, १०, ११, १३ र १४ ले छोएको उक्त खण्डको सडक स्तरोन्नतिको माग गर्दै धेरै पटक स्थानीयले सडक कार्यालय, नगरपालिका, सडक डिभिजन हुँदै मन्त्रालयको ध्यानाकर्षण गराइसकेका छन्। दिनरात हजारको संख्यामा बढी भारक्षमताका टिपर चल्ने भएकाले वर्षेनी मर्मत गरे पनि ३ महिनाभित्रै बिग्रेर जस्ताको तस्तै हुने गरेकोले सडकको दिगोपनाको खोजी भइरहेको उपमेयर भिमकुमारी राउतले बताइन्।

सिराहाको चन्द्रोदयपुरस्थित मारुती सिमेन्टका लागि सिन्धुलीको ककरुठाकुरदेखि ओसार्ने चुनढुंगा बोक्ने टिपर यही लोकमार्ग भएर आउजाउ गर्नाले सडकको यो हालत भएको उनको भनाइ छ। पछिल्लो दुई वर्षयता सौर्य र कसमस सिमेन्ट उद्योगका लागि कटारीकै पट्नाभन्ज्याङलगायत दुई ठाउँको चुनढुंगा ओसार्ने रुट पनि यही भएकाले सडकमा थप भार पर्दै आएकाले बैकल्पिक सडक चाहिने उपमेयर राउतले बताइन्।

मिर्चयादेखि कटारी घुर्मी हुँदै ओखलढुंगा, सोलुखुम्बुसम्म जोड्ने उक्त सडक नेपाली सेनाले ०५८ सालमा अस्फाल्ट प्रविधिको कालोपत्रेसहित निर्माण गरेको थियो। पुरानो प्रविधि, मेसिन उपकरणको अभावले जनशक्तिकै भरमा कोदालो र झम्पलको भरमा खनिएको उक्त सडक पहाडी भेग भएकाले घुम्ती र साँघुरो पनि छ।

एक दशकसम्म कालोपत्रे टिके पनि चुनढुंगा बोक्ने टिपर दिनहुँ चल्न थालेपछि वर्षदिनमै कालोपत्रे उप्किएर सडक धुलाम्य र खाल्डैखाल्डामा परिणत भएको छ। त्यसयता सडकको मर्मत कार्य वर्षेनी हुँदै आए पनि ३–४ महिनामै बिग्रेर जस्ताकोतस्तै हुने गरेकोछ। कटारी र माथिल्लो सगरमाथाको ‘लाईफलाईन’ मानिएको उक्त लोकमार्गको दीगो मर्मत गर्न सकेमा दक्षिणीभेगका पर्यटक तथा तीर्थालुलाई खोटाङको त्रिधार्मिकस्थल हलेसी आउजाउ गर्न सजिलो पर्ने मेयर श्रेष्ठ बताउँछन्। साँघुरो र घुम्ती सडकमा हजारौं संख्याका सवारीसाधन चलाउन टिफरका लागि अलग्गै सडक बनाउन गरेको स्थानीयको माग जायज भएको उनको भनाइ छ।

माओवादीले समर्थन फिर्ता लिएपछि मात्र कांग्रेस मुभ गर्छ : देउवा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी)ले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मात्र कांग्रेस मुभ गर्नसक्‍ने बताएका छन्।

देउवाको निवास बूढानिलकण्ठमा श्रीराम श्रेष्ठ लिखित ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ पुस्तक विमोचन समारोहमा आइतबार सभापति देउवाले भने, माओवादीले समर्थन फिर्ता नलिँदासम्म नयाँ सरकार गठनका लागि कांग्रेस अगाडि बढ्नसक्दैन।’

अहिले ओलीको सरकार बहुमत कै हैसियतमा रहेकाले  समर्थन फिर्ता लिए मात्र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनसक्‍ने बताए। उनले भने, बहुमतको सरकारसँग अहिले कांग्रेसले निहुँ खोज्दैन। देउवाले प्रधानमन्त्री पद आफ्नो प्राथमिकतामा नरहेको स्पस्ट पार्दै भने, तर परिस्थितिले नेतृत्व गर्नैपर्ने अवस्था आए कांग्रेस पछि हट्दैन। मुलुकलाई निकास दिन हामी अग्रसर हुन्छौं।’ देउवाले नेपालको राजनीत यतिबेला निकै महत्वपूर्ण मोडमा उभिएको बताए।

पोखराबाट चार सहरमा उडान गर्दै बुद्ध एयर, यस्तो छ भाडादर

बुद्ध एयरले पोखराबाट पाँच नयाँ गन्तव्यमा उडान गर्ने भएको छ।

हाल  अधिकांस उडान काठमाडौंबाट देशका विभिन्न गन्तव्यमा उडान गर्दै आएको बुद्धले अबदेखि काठमाडौं बाहिरका एक सहरबाट अर्को सहरमा पनि उडान गर्ने योजना बनाएको हो।

पोखरा-भैरहवा, पोखरा-सिमरा, पोखरा-नेपालगञ्‍ज,पोखरा-विराटनगर र भरतपुर-भैरहवा उडान गर्ने बुद्धले घोषणा गरेको छ।

यही मे १ देखि नयाँ गन्तव्यमा  उडान सुरु गर्ने बुद्धले जानकारी दिएको छ।

नयाँ गन्तव्यको उडान बिचक्राफ्टबाट हुने बुद्धले बताएको छ। सुरुमा यी सबै गन्तव्यमा हप्ताको तीन उडान गर्ने र यात्रुको चाप बढ्दै गएपछि दैनिक उडान गर्ने एयरलाइन्सको योजना छ।

यात्रुको माग बढ्दै गएर दैनिक उडान हुने अवस्था आएमा एटिआर-७२ जहाजबाट उडान सुरु गरिने बुद्धका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

अहिलेसम्म काठमाडौंबाट हुने उडानमा मात्र धेरै ट्राफिक देखिएकाले आन्तरिक उडान गर्ने एयरलाइन्सले नयाँ उडान यही रुटमा थपिरहेका छन्।

९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरी १४ जहाजबाट बुद्धले दैनिक सय उडान गर्दै आएको छ।

बुद्धले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ। काठमाडौं, पोखराबाट माउन्टेन फ्लाईट गरिरहेको छ ।

नयाँ गतव्यको न्यूनतम भाडा यसप्रकार हुने छ:

पोखरा-नेपालगञ्ज : रु ४५००
पोखरा-विराटनगर: रु ६०००
पोखरा-सिमरा: रु ४३००
पोखरा- भैरहवा: रु ३१००
भैरहवा-भरतपुर: रु २५००
विराटनगर-तुम्लिङटार: रु ३१००

मन्त्रिपरिषद्को बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्दैछ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको जानकारी दिए । उनका अनुसार आज दिउँसो एमालेको केन्द्रीय कमिटीको बैठक बस्ने भएकाले विहानका लागि मन्त्रिपरिषद्को बैठक डाकिएको हो ।

आजको मन्त्रिपरिषद् बैठकमा कोरोना संक्रमण रोकथामका लागि सरकारका लागि सरकारका आगामी कदमका बारेमा छलफल हुने बताइएको छ ।

बैठकमा सहभागी हुनका लागि मन्त्रीहरू बालुवाटार पुग्न थालेका छन् ।

पूर्व राजाले दिए भारत सरकारलाई धन्यवाद

पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो भारत बसाइलाई सहज बनाएकोमा भारत सरकार र भारतीय जनताप्रति आभार व्यक्त गरेका छन् । आइतबार भारत भ्रमणपछि स्वदेश फर्किएका पूर्व राजाले एक विज्ञप्ति जारी गर्दै आभार व्यक्त गरेका हुन् ।

पूर्व श्री  महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट हार्दिक कृतज्ञता,आभार तथा धन्यवा बक्स

निरन्जन अखाडाका पिठाधिश्वर आचार्य महामण्डलेश्वर श्री कैलाशानन्द गिरीको निमन्त्रणामा हामी पवित्र तीर्थस्थल हरिद्वारमा हरेक १२ बर्षमा सम्पन्न हुने महाकुम्भमेला अनुष्ठानमा सहभागी भएर स्वदेश फर्केका छौँ ।

हाम्रो यो महत्वपूर्ण धार्मिक भ्रमणका क्रममा हरिद्वारमा भएको हाम्रो बिशेष सम्मान, सत्कार र संस्कारयुक्त आदर भावप्रति निरन्जन पीठका पिठाधिश्वर आचार्य महामण्डलेश्वर श्री कैलाशानन्द गिरीमा तथा समस्त सन्त महात्माहरूमा हार्दिक कृतज्ञता ब्यक्त गर्दछौ ।

महाकुम्भमा शाही स्नान र गंगा आरतीको बिशेष प्रबन्ध मिलाउन अखाडा परिषदले लिएको दायित्व आफैमा अविस्मरणीय छ। शाही स्नान अवधिमा सम्पूर्ण हिन्दु धर्मावलम्बीहरूको तर्फबाट हामीलाई गरिएको अभिनन्दन र आर्शिवचनका लागि पनि हामी आभार ब्यक्त गर्दछौ ।

हाम्रो भारत बसाइलाई सरल र सहज बनाउने ब्यबस्थाको लागि हामी भारतीय जनता र भारत सरकार प्रति पनि आभार व्यक्त गर्न चाहन्छौ ।

भारत भ्रमण सम्पन्न गरेर स्वदेश फर्कदा बिभिन्न संघसंस्था तथा  नेपाली जनसमुदायबाट दर्साइएको स्वागत सम्मानका निम्ति हामी सबै शुभ चिन्तक दाजुभाई दिदीबहिनी प्रति दिलैदेखि आभार प्रकट गर्दै धन्यबाद दिन चाहान्छौँ ।

जय नेपाल ।

मिति : २०७८ बैशाख ६ गते

भारतमा कोरोनाको नयाँ रेकर्ड, २ लाख ६१ हजार सङ्क्रमित, १५०० को मृत्यु

नयाँ दिल्ली — भारतमा कोरोनाभाइरसबाट एकै दिनमा दुई लाख ६१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

नयाँ दिल्लीमा उपचाररत कोरोनाका बिरामी । फाइल तस्बिर : रोयटर्स

‘एकै दिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो पटक हो,’ एक सरकारी उच्च अधिकारीले आइतबार भने । अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ६१ हजार ५०० जना नयाँ सङ्क्रमित थपिएका छन् । त्यसैगरी सोही अवधिमा भारतमा एक हजार ५०१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

पछिल्लो विवरणसँगै भारतमा कोरोनाभाइरसबाट कुल मृतकको सङ्ख्या एक लाख ७७ हजार १५० पुगेको देखिएको छ । त्यसैगरी कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ४७ लाख ८८ हजार १०९ पुगेको मन्त्रालयले जनाएको छ ।भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने १८ लाख एक हजार ३१६ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा एक लाख ३८ हजार ४२३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या एक करोड २८ लाख नौ हजार ६४३ पुगेको छ ।

भारतमा शनिबार मात्रै १५ लाख ६६ हजार ३९४ जनाको कोरोना परीक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिलले जनाएको छ । अप्रिल १७ सम्म कुल २६ करोड ६५ लाख ३८ हजार ४१६ जनाको कोरोना परिक्षण गरिएको पनि काउन्सीलले उल्लेख गरेको छ ।

कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्को तर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ । भारतमा अहिलेसम्म १२ करोड २६ लाख २२ हजार ५९० ओटा खोप खपत भएको छ । भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायहरुले जनाएका छन् । रुसले विकास गरेको स्पुतनिक–५ भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

एडोब र पिडिएफका निर्माता चार्ल्स चकको निधन

लस एन्जलस — पोर्टेबल डकुमेन्ट फर्म्याट (पिडिएफ) का निर्माता एवं सफ्टवेयर कम्पनी एडोबका संस्थापक चार्ल्स चक गेस्चेको ८१ वर्षको उमेरमा निधन भएको छ ।

सान फ्रान्सिस्कोमा बस्दै आएका गेस्चेको शुक्रबार निधन भएको कम्पनीले जनाएको छ ।

एडोबका प्रमुख कार्यकारी शान्तनु नारायनले कम्पनीका कर्मचारीलाई लेखेको इमेलमा कम्पनीका हिरोका रुपमा परिचित गेस्चेको निधनले एडोब परिवारमा गहिरो चोट पुगेको उल्लेख छ ।

गेस्चेको निर्देशनमा एडोबले विश्व प्रसिद्ध सफ्टवेयरहरु पिडिएफ, एक्रोब्याट, इलस्ट्रेटर, प्रिमियर प्रो र फोटोसप बनाइसकेको छ । यी सफ्टवेयर निकै लोकप्रिय छन् ।

सन् २००९ मा राष्ट्रपति बाराक ओबामाले गेस्चेलाई प्रविधि क्षेत्रको राष्ट्रिय पदकले सम्मानित गरेका थिए

आजको मौसम : पहाडी क्षेत्रमा हावाहुरीसहित वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाले आज पहाडी भू-भागका केही स्थानमा अपराह्नपछि मेघ गर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षा हुन सक्ने जानकारी दिएको छ । आज दिउँसो पहाडी भू-भागमा बदली रहने पनि महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुका साथसाथै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको छ ।

भोलि सुदूरपश्चिम, कर्णालीलगायतका प्रदेशमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित क्षणिक वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

बुधबार देशभर बदली रही सुदूरपश्चिम, कर्णालीलगायतका प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ तथा हावाहुरीसहित क्षणिक वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी

नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । आज दिउँसो १ बजे बस्ने बैठकले त्यससम्बन्धी निर्णय गर्ने नेताहरूले बताएका छन् ।

अहिलेसम्मको छलफलका आधारमा सरकारलाई दिएको समर्थन फिर्ता लिएर अघि बढ्ने निश्चित भएको र आज बस्ने बैठकले त्यससम्बन्धी निर्णय गर्ने एक नेताले बताए ।

आफूले दिएको समर्थन फिर्ता नलिएसम्म ओलीविरुद्ध कांग्रेसले कुनै कदम अघि नबढाउने संकेत पाएपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी गरेको हो ।

प्रदेशमा ओलीविरुद्ध मोर्चाबन्दी गरे पनि केन्द्रमा प्रधानमन्त्री ओलीको विकल्पका लागि पहिले माओवादी केन्द्रको समर्थन फिर्ता हुनुपर्ने कांग्रेसको अडान छ । कांग्रेसको यो अडानका कारण माओवादीले अब भने समर्थन फिर्ता गरेर अघि बढ्ने निस्कर्ष निकालेको हो ।

आइतबार बूढानीलकण्ठस्थित निवासमा कांग्रेस सभापति शेरबहादुर देउवाले बहुमतको सरकार कायम रहेको अवस्थामा आफूले प्रधानमन्त्री दाबी गर्दै निहुँ खोज्न नमिल्ने बताएका छन् ।

आजको स्थायी कमिटी बैठकमा यो विषयमा छलफल हुने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘राजनीतिक रुपमा यो सरकारलाई हाम्रो समर्थन छैन । हामीले समर्थन फिर्ता लिन नपर्ने भनेका थियौँ । प्राविधिक रुपमा सरकारलाई समर्थन दिएको देखिएको र सबैले फिर्ता लिनुपर्छ भन्ने सल्लाह दिएकाले लिखित रुपमै समर्थन फिर्ता लिने निर्णय हामी गर्दैछौँ,’ श्रेष्ठले भने ।

कस्तो हुनेछ सरकारले बनाउन लागेको उद्योग ग्राम?

नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार देशका विभिन्न क्षेत्रमा औद्योगिक ग्राम बन्ने भएको छ। सरकारले हालसम्म ७४ वटा बनाउने भनेर घोषणा समेत गरिसकेको छ।

invotech

छरिएर रहेका उद्योगलाई एकै स्थानमा समेटेर स्थानीय स्रोत साधन, कच्चापदार्थ, प्रविधि र सीप प्रयोग गरी स्थानीयस्तरमै रोजगारी बढाउने उद्देश्यले औद्योगिक ग्राम सञ्चालन गर्न लागिएको हो।

सबै ठाउँमा एकै प्रकारको उद्योग ग्राम बनाइए पनि क्षेत्रअनुसार संरचना र क्षेत्रफल फरक हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बलराम रिज्यालले जानकारी दिए।

‘मूल बाटो कति फुटको हुने, सहायक बाटो कतिको हुने, प्रशासनिक भवन कस्तो बनाउने, कतापट्टी बनाउने भनेर हामीले हिमाल, पहाड र तराइ तीनै ठाउँका लागि छुट्टाछुट्टै मास्टर प्लान तयार गरेका छौं। सोहीअनुरूप बन्छ,’ उनले भने।

उद्योग ग्राम बनाउँदा हरेक स्थानीय तहले डिपिआर फरक-फरक गरेकाले त्यसको ढाँचा समेत बनाइएको उनको भनाइ छ। सोही ढाँचाका आधारमा स्थानीय तहले डिपिआर तयार गर्नुपर्ने छ।

‘कसैले एकदमै ठूलो, कसैले एकदमै सानो बनाएपछि हामीले हाम्रो स्रोतसाधनले भ्याउने गरी डिपिआरको ढाँचा तोकेका छौं। अब त्यसैगरी बनाउनुपर्छ,’ उनले भने।

भौगोलिक परिवेशका आधारमा फरक–फरक क्षेत्रफलमा औद्योगिक ग्राम बनाइने छ, हिमाली भेगमा २५ रोपनी, पहाडमा ३५ रोपनी र तराइमा ७ बिघामा।

तोकिएको कुल जग्गाको ६० देखि ७० प्रतिशतमा उद्योग स्थापना हुनेछन्। दुईदेखि पाँच प्रतिशतमा प्रशासनिक तथा सेवा केन्द्र बन्ने छ।

त्यस्तै सातदेखि दस प्रतिशतमा हरियाली क्षेत्र, बाह्रदेखि पन्ध्र प्रतिशत मूल सडक तथा सहायता सडक क्षेत्र, तीनदेखि पाँच प्रतिशतमा खाली जग्गा विपद व्यवस्थापन क्षेत्र, दुईदेखि पाँच प्रतिशतमा खुला मैदान तथा पार्क र अन्य सेवा क्षेत्र (पार्किङ, लोड-अनलोड, स्वास्थ्य केन्द्र) का लागि छुट्याइएको छ।

पहुँच मार्ग र ग्रामभित्रको मुख्य तथा सहायक मार्गका दुवै छेउछाउमा बोटविरूवा रोपिनेछ।

उद्योग ग्राम बनाउन जग्गा भने स्थानीय तहले नै खोज्नुपर्छ। जग्गा छनोट गर्दा आर्थिक तथा भौगोलिक दृष्टिले उपयुक्त हुनुका साथै सरकारी जग्गा नै हुनुपर्ने औद्योगिक ग्राम घोषणा तथा सञ्चालनसम्बन्धि कार्यविधि २०७५ मा उल्लेख छ।

सार्वजनिक जग्गामा बनाउँदा पाटी, पौवा, गौचरन मासिने भएकाले सरकारी जग्गामा मात्र बनाउने प्रावधान राखिएको रिज्याल बताउँछन्।

कार्यविधि अनुसार औद्योगिक ग्राम मानव वस्तीभन्दा कम्तीमा पाँच सय मिटरभन्दा पर हुनुपर्छ। त्यस्तै अन्तर्राष्ट्रिय सीमादेखि न्यूनतम दुई किलोमिटर टाढा हुनुपर्नेछ। अन्यत्र जग्गा उपलब्ध नभई सीमा क्षेत्रनजिक मात्र उपलब्ध भए, पाँच सय मिटर दुरीमा पनि स्थापना गर्न सकिने छ।

ग्रामभित्र प्रशासनिक भवन, बैंक तथा वित्तीय संस्था, दिवा शिशु स्याहार केन्द्र, अग्नि नियन्त्रण व्यवस्था, सामान प्रदर्शनी तथा बिक्री कक्ष, शौचालय तथा स्नान गृह, पार्किङ, क्यान्टिन र प्राथमिक स्वास्थ्य केन्द्र बनाउने पनि योजनामा छ।

औद्योगिक ग्राम बनिसकेपछि स्थानीय तह वा निजी तथा साझेदारीमा सञ्चालन गर्न सकिने कार्यविधिले व्यवस्था गरेको छ। उद्योग ग्रामभित्र कृषि तथा वनजन्य, ऊर्जामूलक र सेवामूलक लगायत स्थानीय तहले उपयुक्त ठानेका उद्योग रहने छन्।

ग्राममा तीनै तहको लागत सहभागितामा रहने छ।

स्थापनाका लागि कुल परियोजना लागतको चालीस प्रतिशत अर्थात् तीन करोड रूपैयाँसम्म केन्द्रले दिनेछ भने बाँकी स्थानीय र प्रदेश सरकारले हाल्नुपर्ने मन्त्रालयका सहसचिव रिज्यालले बताए।

आर्थिक वर्ष २०७६/०७७ मा ४५ र चालू आर्थिक वर्ष ०७७/०७८ को हालसम्म २९ वटा गरी जम्मा ७४ वटा औद्योगिक ग्राम सरकार तथा मन्त्रिपरिषदबाट घोषणा भएको छ। यीमध्ये ७१ वटा ग्रामका लागि ९२/९२ लाख रूपैयाँ हस्तान्तरण गरिसकिएको र तीन वटालाई पनि दिने तयारीमा रहेको उनले जानकारी दिए।

केन्द्र सरकारले पूर्वाधार बनाउन सघाए पनि ग्रामको सम्पूर्ण जिम्मेवारी स्थानीय तहको हुने उनले जानकारी दिए।

‘औद्योगिक ग्रामलाई प्राथमिकता दिने, उद्योगको सम्भावना, कसरी चलाउने भन्ने कुरा स्थानीय सरकारले हेर्छ,’ उनले भने।

कुन स्थानीय तहले औद्योगिक ग्रामको काम कहाँ पुर्‍याए भन्ने केन्द्रले निरन्तर अनुगमन गरिरहेको रिज्याल बताउँछन्।

कांग्रेस केन्द्रिय समिति सोमबार : फेरि महाधिवेशन सार्ने तयारी !

काठमाडौं : नेपाली कांग्रेसको आइतबार निर्धारित केन्द्रिय समितिको बैठक सोमबारका लागि सारिएको छ। बैठकका एजेन्डाबारे आन्तरिक छलफल र गृहकार्य गर्नुपर्ने भन्दै सोमबार सारिएको हो।

सोमबारको बैठक महाधिवेशको कार्यतालिकामा बढी केन्द्रित हुनेछ। १४ महाधिवेशनका लागि पूर्व निर्धारित आगामी भदौं ७ देखि १० सम्मको कार्यतालिका फेरबदल गर्नेबारेमा छलफल हुने भएको छ। आन्तरिक तयारी तथा व्यवस्थापकीय दृष्टिकोणले पनि पूर्व निर्धारित मितिमा महाधिवेशन गर्न व्यवहारिक रुपमा कठिनाइ भएको भन्दै सभापति शेरबहादुर देउवाले  संवैधानिक जटिलता फुकाउनेबारे परामर्श थालेका छन्। शनिबार बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा प्रधानमन्‍त्री केपी ओलीले कांग्रेसलाई भदौंमा महाधिवेश गर्न कठिनाइ भए संवैधानिक जटिलता फुकाउन  आफू तयार रहेको बताएका थिए।

नियमिति चार वर्षे अवधि सकिएर विधानअनुसार थपिएको एक वर्ष पनि गत फागुन ७ मा समाप्त भएपछि संविधानले दिएको विशेष सहुलियत उपयोग गर्दै भदौंमा सारिएको थियो। अब महाधिवेशन सार्नका लागि अध्यदेशबाट संविधान संशोधन गरेर संवैधानिक प्रावधान नै परिवर्तन गर्नुपर्ने हुन्छ।

ओलीले महाधिवेशन सार्न सघाएर देउवाको साथ र सद्‌भाव बटुल्दै सत्ता टिकाउने नयाँ रणनीति अपनाएको र  त्यसबाट देउवा पनि प्रभावित भएको आरोप संस्थापन इतरपक्षले लगाएको छ। दिउँसो २ बजेका लागि बोलाइएको बैठक शुरु हुनुअघि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच करिब दुई घण्टा छलफल भएको थियो।छलफलपछि तयारी नपुगको भन्दै सोमवार दिउँसो ४ बजेसम्मका लागि बैठक स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सञ्चारकर्मीलाई जानकारी दिए ।

देउवासहितको संस्थापन पक्ष बरु ओलीलाई अध्यादेश जारी गर्न लगाएर महाधिशेन सार्ने रणनीतिमा छ भने पौडेलसहितका असन्तुष्ट पक्ष तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएको छ।

गत फागुन ५ गते बसेको  केन्द्रीय समितिको बैठकले आगामी भदौं ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने  निर्णय थियो। पूर्व निर्धारित तालिकाअनुसार गत फागुन ७ देखि १० गतेसम्म पार्टीको १४औं महाधिवेशन काठमाडौंमा हुनुपर्ने थियो। तर कोरोना संक्रमणलगायतका कारणले त्यो संभव नभएपछि दुई दिनअघि मात्र कांग्रेसले महाधिवेशन फेरि छ महिना सार्ने निर्णय गरेको हो। निर्वाचित नेतृत्वको नियमित चार वर्षे अवधि  एक वर्षअघि नै सकिएकोमा पार्टीको विधानअनुसार एक वर्ष थपिएको थियो। थपिएको त्यो अवधिमा पनि संभव नभएपछि संवैधानको विशेष प्रावधानको सुविधा उपयोग गर्दै छ महिनामा थपिएको हो।

आन्तरिक विवादका कारण महाधिवेशनको क्यालेन्डअनुसार  क्रियाशिल सदस्यता वितरण तथा नेतृत्व चयनको प्रकृया अघि बढ्न सकेको छैन। गाउँ तथा  नगर वडा अधिवेशनदेखि नगर, क्षेत्र, जिल्ला, प्रदेश स्तरीयअधिवेशनको तयारी अझै अघि बढ्न सकेको छैन। अहिले सबैभन्दा अल्झिएको र पेचिलो विषय नै क्रियाशिल सदस्यता हो। वडादेखि केन्द्रसम्म कांग्रेस नेतृत्व चयनको महत्वपूर्ण आधार नै क्रियाशिल सदस्यता हो। अहिले पाँचलाख क्रियाशिल सदस्य छन् र थप पाँच लाख वितरण गर्ने भनिएको छ। तर त्यसको मापदण्ड र विधि निश्‍चित नहुँदा सुरुमै विवाद भएको छ। क्रियाशिल वितरणसँगै सुरु भएको आन्तरिक किचलोले त्यो प्रभावित भएको छ। चुनावी अंकगणितलाई आफू अनुकूल बनाउन नेताहरूले मनपरी ढंगल क्रियाशिल सदस्यता बाँड्न थालेपछि विवाद भएको हो।

ओलीका निर्णय बदर गराउन फेरि निर्वाचन आयोग पुग्यो नेपाल समूह

काठमाडौँ: नेकपा एमाले माधव नेपाल समूहका नेताहरु पार्टीको विवाद समाधानका लागि भन्दै फेरि निर्वाचन आयोग गएका छन् ।

नेपाल समूहका नेता बेदुराम भुसाल र राजेन्द्र पाण्डेसहितको टोली आइतबार दिउँसो आयोगमा पुगेर विवाद निरुपण गराउन भन्दै एक पत्र बुझाएको थियो।

फागुन २३ गते सर्वोच्च अदालतको निर्णयसँगै एमाले अध्यक्ष केपी ओलीले गरेका निर्णयहरु अवैध भएकाले ती निर्णय अभिलेखिकरण नगर्ने उनीहरुले आयोग समक्ष माग गरेका छन् । अध्यक्ष ओलीले एकलौटी ढंगले निर्णय गरेकाले ती निर्णय पार्टी विधान विपरीत भएको उनीहरुको तर्क छ ।

आयोगलाई एक पत्र बुझाउँदै ओलीका निर्णय अवैधानिक भएको जानकारी गराएको नेपाल-खनाल समूहका नेताहरुले बताए । पार्टीमा हुँदै नभएको अधिकार प्रयोग गरी अध्यक्ष ओलीले निर्णय गरेकोमा उनीहरु आपत्ती समेत थियो ।

महाधिवेशनबाट पारित विधान संशोधन गर्ने, निर्वाचित कमिटी भंग गर्ने, महाधिवेशन आयोजक कमिटी बनाउने र केन्द्रीय कमिटी विस्तार लगायत ओलीले गरेका निर्णय बदर गरिनुपर्ने नेपाल समूहको तर्क छ ।

आयोगका पदाधिकारीहरुले नेपाल समूहको उक्त पत्र बुझेर अध्ययन गरी जवाफ दिने जनाएका छन् । सर्वोच्च अदालतले गत फागुन २३ गते गरेको फैसलापछि नेकपा स्वत विघटन भइ माओवादी केन्द्र र एमाले पहिलेकै अवस्थामा फर्किएका हुन् ।

कपिलवस्तुका कोरोना संक्रमितको भैरहवामा मृत्यु

कपिलवस्तुको महाराजगन्ज नगरपालिका ९ का कोरोना सक्रमितको मृत्यु भएको छ । दुई हप्ता पहिले कोभीड १९ संक्रमित भइ भैरहवा मेडिकल कलेजमा उपचाररत रहेका ५५ बर्षिय पुरुषको मृत्यु भएको महाराजगन्ज नगरपालिका स्वास्थ शाखाका राधेश्याम कलवारले जानकारी दिनु भयो ।
महाराजगन्ज नगरपालिकाको कोरोना संक्रमित को पहिलो ब्यक्तिको मृत्यु  भएको हो । सबैले स्वास्थ मापदण्ड आपनाउन महाराजगन्ज नगरपालिकाले अहवान समेत गरेको छ ।  नगरपालिकाले मास्क र सामाजिक दुरि कायम गरि कामकाज गर्न सम्पुर्णलाई आग्रह गरेको छ ।

पञ्जावविरुद्ध दिल्ली क्यापिटल्सको रोमाञ्चक जित

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार दोस्रो खेलमा दिल्ली क्यापिटल्सले पञ्जाव किङ्ग्समाथि रोमाञ्चक जित हासिल गर्दै महत्त्वपूर्ण २ अंक जोडेको छ । दिल्लीले १० बल बाँकी छँदै ६ विकेटको जित हासिल गरेको हो । जितसँगै दिल्ली अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ । तीन खेल खेलिसकेको दिल्लीको यो दोस्रो जित हो भने पञ्जावको तीन खेलमा दोस्रो हार हो ।

आइतबार मुम्बईमा भएको खेलमा टस जितेको दिल्लीले पञ्जावलाई ब्याटिङका लागि निम्त्याएको थियो । निर्धारित २० ओभरमा पञ्जावले चार विकेटको क्षतिमा १९५ रन बनाएको थियो । १९६ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ औं ओभरको दोस्रो बलमा चार विकेटको क्षतिमा जित हासिल गरेको हो ।

दिल्लीका लागि शिखर धवनले सर्वाधिक ९२ रनको योगदान गरे । ४९ बल सामना गरेका उनले १३ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै पृथ्वी शाले ३२, रिसभ पन्तले १५, मार्कस स्टोइनिसले २७ र ललित यादवले १२ रन बनाए ।
पञ्जावका लागि प्रारम्भिक ब्याट्सम्यानद्वय मयंक अग्रवाल र केएल राहुलले शानदार प्रदर्शन गर्दै शतकीय साझेदारी गरेका थिए । दुवैले पहिलो विकेटका लागि १२२ रनको साझेदारी गरे । आइतबार नै जन्मदिन सेलिब्रेसन गरेका कप्तान राहुलले ६१ रन बनाए भने अग्रवालले ६९ रन बनाए ।

आजको राशिफल : कुन राशिका लागि आजको दिन शुभ ?

वि.सं.२०७८ साल बैशाख ०६ गते । सोमबार । ईश्वी सन् २०२१ अप्रिल १९ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र शुक्लपक्ष । तिथि–सप्तमी,३४ घडी ०२ पला,बेलुकी ०७ बजेर १५ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–पुनर्वसु,५२ घडी १८ पला,रातको ०२ बजेर ३३ मिनेट उप्रान्त तिष्य । योग– सुकर्मा,२७ घडी ०१ पला,बेलुकी ०४ बजेर २६ मिनेट उप्रान्त धृति । करण–गर,बिहान ०६ बजेर ५२ मिनेट उप्रान्त वणिज,बेलुकी ०७ बजेर १५ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–मिथुन,बेलुकी ०८ बजेर १५ मिनेट उप्रान्त कर्कट ।

काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३० मिनेट । दिनमान ३२ घडी ११ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दाजुभाई तथा छिमेकीसँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादविवाद तथा मुद्दा मामिलामा तपार्ईँकै जित हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । छोटो तथा अर्थपूर्ण भ्रमणको तय हुनेछ । बिद्यामा सोचेजस्तै सफलता पाइनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मिठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाईलो गर्दै दिन कटाउन सकिनेछ । बोलिको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपूर्ण कामहरु फत्ते गर्न सकिनेछ । प्रेमप्रसङमा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउदा मन खुशी हुनेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । फेसेनेवल तथा विलाशी सामानको व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा तपार्ईँकै पोल्टोमा पर्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सामाजिक कामहरु समयमा नै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा बृद्धि हुनेछ । राजनीतिकर्मीले सर्वसाधारणको काम गरी पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । पढाइ लेखाइमा उल्लेख्य प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पती तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने समय रहेकोले मन प्रशन्न हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन खुशी रहनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो समयदेखि थाती रहेको आर्थिक मुद्दाहरु हल भएर जानेछन् । लामो दुरिको विदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्नेछन् । स्वदेश तथा विदेशमा उत्पादित सामानको व्यवसाय फस्टाएर जानेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडी बढ्ने योग रहेकोछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना भएपनि अन्तत एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिने समय रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्तजन तथा दाजुभाईबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । बिद्यामा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) गित संगितमा विषेश रुचि बढ्नेछ भने बिद्यामा तपाईँ अव्वल सावित हुनुहुनेछ । सत्रु परास्त हुनेछन् । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । कृषी तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानी हुनेछ । पति पत्नी बीचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो कसिलो भएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्ययनमा प्रगती भएर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको गतिलो उपस्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाई आर्थिक अवस्था सुदृड बनाउन सकिनेछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समय तथा परिस्थिती अनुशार नचल्नाले दुःख पाइनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । भौतिक सम्पतीको प्रयोग गर्दा वा सवारी साधनको प्रयोग गर्दा तथा चलाउदा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) साझेदारी व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । पर्यटन सम्वन्धी व्यावसायमा सामान्य चहलपहल हुनेछ । पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नी बीचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुलाई पछाडी पारिनेछ । वैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै नतिजा आफूतिर ल्याउन सकिनेछ भने ऋण,रोग तथा सत्रुबाट छुटकारा पाउने समय रहेकोछ । राजनीति गर्नेहरुले सहकर्मीहरुलाई किनारा लगाउदै पद प्रतिष्ठा पाउनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने मामा तथा मावली पक्षबाट सहयोग तथा समर्थन पाइनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बैक तथा वित्तिय क्षेत्रसँग सम्वन्धीत व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाँफा कमाउँन केही समय पर्खनु पर्नेछ । बौद्धिक व्यक्तित्वहरु सामु तपार्ईँले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगी बढि नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तीको योग रहेकोछ । सन्तान तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) जीवनशैलि व्यास्त भएपनि आर्थिक रुपमा पछी नै परिनेछ । आमा तथा आफ्नैबाट टाडिनु पर्ने बाध्यता आउनेछ भने कामको सवालमा देश परदेशको यात्राको तय हुनेछ । अध्ययनमा समय दिन नसक्दा सफलता चुम्न निकै मुस्किल पर्नेछ । मायाप्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ भने साथिभाईले नै धोका दिन सक्छन् । स्थाई सम्पतिमा विवाद आउनेछ । तरपनि कृषि तथा पशुपालन व्यावसाय भने व्यावसाय फस्टाएर जानेछ ।

तपाईँ दिन शुभ रहोस् ।