मनोज पौडेल(लुम्बिनी) : मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनी घुम्न आउने विदेशी पर्यटक/तीर्थयात्री घटेका छन् । स्वदेशी र भारतीय पर्यटक भने बढेका छन् । सन् २०२० को तुलनामा २०२१ मा कोरोना संक्रमणको दोस्रो लहरको बढ्दो प्रभाव थियो । स्थलमार्ग र हवाई मार्गबाट आवागमन सहज नहुँदा विदेशी पर्यटक घटेका हुन् ।
सन् २०२१ मा ६८ मुलुकका १ हजार २ सय ९७ विदेशी पर्यटक आएका छन् । नेपालबाट सबैभन्दा टाढा १७ हजार ७ सय ६५ किमि पर रहेको चिलीका ४ पर्यटक आएका थिए भने नजिकको चीनबाट १ सय ३९ पर्यटक यहाँ आएका हुन् । सन् २०१९ मा लुम्बिनीमा धेरै पर्यटक आउने मुलुकमा चीन चौथो स्थानमा रहेकामा सन् २०२१ मा दोस्रो स्थानमा उक्लिएको छ । २०२१ मा सबैभन्दा बढी अमेरिकाबाट १ सय ४० जना पर्यटक आएका थिए । जर्मनीका १ सय ८ जना, फ्रान्सका ९४ जना र रुसका ८१ जना पर्यटक आएका थिए । मुस्लिम मुलुक इरान, द्वन्द्वग्रस्त मुलुक इराकदेखि लिबियासम्मका पर्यटक पनि यहाँ आएका छन् । इजिप्ट, इजरायल, जोडन, लात्भिया, लुथुवानिया, हंग्रेरी र दक्षिण अफ्रिकाका पर्यटक पनि यहाँ आएका छन् । सुडान, उत्तर कोरिया, क्यामरुन, लेबनान र कजाकिस्तानका पर्यटक पनि यहाँ आएका छन् ।
२०२० मा भने ८४ मुलुकका ४५ हजार ३ सय २९ विदेशी पर्यटक आएका थिए । २०१९ मा १ सय २० मुलुकका १ लाख ७४ हजार विदेशी पर्यटक आएका थिए । ‘२०२० मा कोरोना संक्रमण सुरु भएपछि विदेशी पर्यटक, तीर्थयात्री, उपासक–उपासिकाको आगमन ह्वात्तै घट्यो,’ लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले भने, ‘अहिले पनि खासै उल्लेख्य संख्यामा छैनन् ।’ २०२१ को मे, जुन र जुलाईमा एक जना पनि विदेशी आएनन् । अन्य महिना पनि २४ देखि ३ सय ४० भन्दा बढी आएनन् । नौ मुलुकका एकरएक जना मात्र आएका थिए । विदेशीभन्दा नेपाली र भारतीय पर्यटक र तीर्थयात्रीको संख्या उल्लेख्य छ । कोरोना संक्रमणको डर त्रास रहे पनि नेपालीहरू घुम्न पछि नपरेको तथ्यांकले देखाएको छ । ‘कोरोनाको माहामारीकै बेला त आएनन्,’ कोषका पथ प्रर्दशक अधिकृत मुकुन्द गौतमले भने, ‘तर, थोरै मत्थर हुनासाथ घुम्न आएको देखिन्छ ।’ चार्डपर्व, बिदा, दसैं र तिहारका बेला पनि नेपाली मुलुकभित्र घुम्न निस्किएको उनले बताए ।
त्यस्तै २०२१ मा ४ लाख ६३ हजार ९ सय ६३ नेपाली पर्यटक आएका थिए । २०२० मा २ लाख १० हजार ३३ नेपाली पर्यटक लुम्बिनी घुम्न आएका थिए । त्यस्तै सन् २०२१ मा ४३ हजार ३२ भारतीय पर्यटक आएका थिए । २०२० मा ३७ हजार २ सय ६ भारतीय पर्यटक आएका थिए । संक्रमणको प्रभाव कम हुँदा पनि नेपालतिर सीमा बन्द हुँदा भारतीय पर्यटक भने आउन समस्या भयो । त्यही भएर भारतीय पर्यटकको संख्या कम भएको देखिन्छ । अवस्था सहज हुँदा पनि सन् २०१६ देखि २०१९ सम्म बर्सेनि १० लाख बढी नेपाली लुम्बिनी घुम्न आएका थिए ।
बुद्ध जन्मस्थल लुम्बिनी मुलुकमा सबैभन्दा धेरै भ्रमण गरिने पर्यटकीय गन्तव्य हो । सन् २०१९ मा १ लाख ७४ हजार विदेशी, ११ लाख ७८ हजार नेपाली र २ लाख ६ हजार भारतीय पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए । लुम्बिनी विविधतायुक्त बौद्ध संस्कृतिको सानो संसार हो । यहाँ एउटा सानो विश्व नै देख्न सकिन्छ । विभिन्न देशका कला–संस्कृति र परम्परा देख्न पाइने हुँदा स्वदेशी एवं विदेशीको आकर्षणमा पर्छ । त्यसैले २०७६र७७ मा गरिएको आर्थिक सर्वेक्षणमा मुलुकमा सर्वाधिक भ्रमण गरिएको ठाउँमा लुम्बिनी परेको थियो ।
पर्यटकको लुम्बिनी बसाइ लम्ब्याउनेतिर योजना बनाउनु जरुरी भएको पर्यटन व्यवसायी हुसैनी लोधले बताए । नेपालीहरू घुम्न रुचि राख्न थालेका छन् । अक्टोबरदेखि मार्चसम्म पर्यटकीय सिजन हो । त्यही भएर यो समयमा पर्यटकको बसाइँ लम्ब्याउने योजना बनाउन जरुरी भएको लुम्बिनी होटल संघका वरिष्ठ उपाध्यक्ष लीलामणी शर्माले बताए । ‘पर्यटक आउने वातावरण बन्यो,’ उनले भने, ‘टिकाउने समस्या छ ।’ टिकाउन सकिएन भने अंकमा रमाउनु मात्र राम्रो नहुने उनले सुनाए । लुम्बिनी आउने ३० प्रतिशत पर्यटक पनि अर्को बुद्धस्थल तिलौराकोट कपिलवस्तु पुग्दैनन् । त्यस्तै १० प्रतिशत पनि रामग्राम पुगेको देखिंदैन । त्यता पनि आकर्षण गर्ने प्याकेज बनाउनु पर्छ । लुम्बिनीमा पर्यटक बढे पनि उनीहरूलाई भुलाउने योजना र कार्यक्रमको अभाव छ । धेरै पर्यटकको भ्रमणको रोजाइमा लुम्बिनी पर्न थालेको छ । बसाइ अवधि निक्कै कम छ । ‘अहिले पनि लुम्बिनीमा पर्यटक बसाइ अवधि लम्ब्याउन सकेकै छैनौं,’ लुम्बिनी विकास कोष योजना प्रबन्धक सरोज भट्टराईले भने, ‘पर्यटक भुलाउने कार्यक्रम जरुरी छ ।’ यहाँ आउने पर्यटकको बसाइ मुस्किलले एक दिन हुन्छ । त्यो पनि धार्मिक कार्यक्रममा आउनेको, नभए उही दिन फर्किन्छन् ।
पर्यटकलाई बसाइको आकर्षक प्याकेज छैन । विभिन्न बुद्धिष्ट मुलुकबाट भारत हुँदै लुम्बिनी आउने पर्यटक समूहलाई भारतीय टुर गाइडले केहीबेर लुम्बिनी घुमाएर तत्काल भारततिरै फर्काएर लैजाने प्रवृत्ति छ । सरकारी र निजी स्तरबाट पर्यटनमुखी नयाँ आकर्षक कार्यक्रम ल्याउन नसकिएको उनले बताए । यसका लागि सरकार र निजी क्षेत्रको साझेदारी जरुरी रहेको उनले बताए । ‘लुम्बिनी विकास कोष दलीय प्रभाव र हस्तक्षेपले आक्रान्त छ,’ पर्यटन उद्यमी हेमबहादुर विष्टले भने, ‘पर्यटन प्रवद्र्धनका योजना र कार्यक्रममा ध्यान जान सकेको छैन ।’ साना कुरा र व्यक्तिगत लाभले समस्या पारिरहेको छ । लुम्बिनीको पर्यटन प्रवद्र्धनका योजना र कार्यक्रम काठमाडौंमा बसेर बनाइँदा समस्या भएको उनले सुनाए । ‘त्यसको प्रभाव यहाँ देखिन्न,’ विष्टले भने, ‘हामीले हाम्रो आकर्षणको ब्रान्डिङ नै गर्न सकेका छैनौं । स्थानीयसँग हातेमालो गर्ने योजनाको अभाव छ ।’








