कपिलवस्तु ,असार १६ ।
जिल्लाभरि ट्राफिक चेक बिट हटाएपनि कृष्णनगरको भन्नसार नाकामा रहेको बिट हटेको छैन । कृष्णनगर भन्सार नाकाबाट निस्कने बित्तिकै मालवाहक भारतीय गाडीलाई ट्राफिक नियम उलंघन , ओभर लोड लगायतका शीर्षकमा राजस्वका नाममा रकम असुली हुदै आएको स्रोतले बताएको छ ।
जिल्ला ट्राफिक कार्यालयका कार्यालय प्रमुख प्रहरी निरिक्षक योगेन्द्र तिमिल्सिनाले नाका मै ट्राफिक बिट राजस्व उठाउनका लागि राखिएको बताउनुभयो । महेन्द्र राजमार्गमा पर्ने ट्राफिक बिटहरु हटाइएको छ तर कृष्णनगर नाकाको बिट हटाउन नसकिने तिमिल्सिनाले बताए । जबकि जिल्लाको दोस्रो नाका सौठौलीमा ट्राफिक बिट राखि राजस्व असुली गरिएको छैन ।
कृष्णनगर नाका हुदै दिनहुं सैयौं मालवाहक तथा फ्याक्ट्रीका गाडी भित्रिने गरेका छन । ओभरलोड अथवा कुनै पनि बहानामा मालवाहक गाडीको प्रज्ञापन रोक्न नसकिने भन्सार प्रमुख गगन बिकले बताउनुभयो ।
तर नाका कट्ने बित्तिकै कृष्णनगर ट्राफिक प्रहरीको एउटा टोली चेकबिटमा चेकिङ्ग गरि राजस्व काट्छन र त्यसपछि इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीसंग चन्द्रौटा– कृष्णनगर सडकखण्डको सुरई अथवा घोराही खोला पुल नजिक चेकिङ्ग लगाई राजस्वका नाममा रकम असुली गर्ने गरेको भारतीय गाडी चालक सुखविन्दर सिंहले बताएका छन ।