उच्च शिक्षा हासिल गरेर पनि गाउँमा नै कृषिकर्ममा रमाउने मानिस हिजोआज विरलै पाइन्छन्। व्यवस्थापनमा स्नातकोत्तर गरेका पाल्पा रामपुर नगरपालिका–८ आँपचौरका भुवन अर्याल कुखुरापालन गरेर समाजमा उदाहरणीय बनेका छन्।
उनको व्यवसाय पाल्पामा नमूना बनेको छ। उद्यमी अर्यालले रामपुर–८ खैरेनीमा प्रशस्त धान उत्पादन हुने खेतमा संरचना बनाएर रामपुर एग्रो तथा कृषि फार्म सञ्चालन गरेका छन्।
‘गाउँका युवा साथी रोजगारीको क्रममा सहर, बजार तथा वैदेशिक रोजगारीमा पुगेका छन्, गाउँ नै युवा नरहने अवस्था आयो, यहीँ केही गरौँ भनेर कुखुरापालनमा लागेको छु,’ उनले भने, ‘यो व्यवसाय देखेर अरुले पनि केही सिको गरुन् भन्ने मेरो चाहना छ।’
उनी विगत सात वर्षदेखि यो व्यवसायमा आबद्ध छन्।
पाँच रोपनी जग्गामा चारैतिर घेराबार गरी उनले कुखुरापालन गरेका छन्।
उनको फार्ममा हाल एक हजार ७५० बोइलर कुखुरा छन्। सुरुमा अण्डा उत्पादन र मासुका लागि कुखुरा पालेका अर्यालले हाल मासुका लागि मात्र कुखुरापालन गरेका छन्।
उनको फार्ममा हाल एक हजार बेच्न लायकका कुखुरा छन् भने ७५० हुर्कदै गरेका चल्ला छन्।
कुखुरा बिक्रीका लागि बजारको समस्या छैन। रामपुर बजारमा सहजै बिक्री हुने गरेको अर्यालले बताए।