गृहपृष्ठ Featured बदलिएको विरोधशैली -वैखरी

बदलिएको विरोधशैली -वैखरी

प्रकाशित मिति:
फिचर फोटो -Covid-19 Nepal: Enough Is Enough! को कभर फोटो साभार गरिएको https://www.facebook.com/groups/288476912201244/

पछिलो साता सरकारले गरेको लकडाउन खुकुलो पार्ने निर्णय सँग जोडिएर आए कोरोना संक्रमणका थप डरलाग्दा घटना । राष्ट्रिय स्तरका पत्रपत्रिकाले कोरोना प्रकोपको फेहरिस्त सार्वजनिक गरे । शुरुको संक्रमित भेटिएको मिति देखि बन्दाबन्दी शुरु भएसम्मको चित्र आमजनताको पहुँचमा मिडियाले पुर्‍याए । त्यसैबीच सरकारले कोरोना प्रकोपको लागि गरिएको भनिएको करिब १० अर्वको खर्च विवरण सार्वजनिक भए लगत्तै सडकमा स्वतन्त्र विद्रोह शुरु भयो ।
हालसम्मको अचम्मको दृश्य त्यहाँ के थियो भनें विद्रोहको शैली झन्डै युरोपेली वा विकसित देशको जस्तो थियो । न कुनै नारावाजी, न कुनै उच्छृङ्खलता । न कुनै तोडफोड न कुनै आगजनी । न कुनै हानिनोक्सानी न कुनै अभद्र दृश्य । आन्दोलन भन्ने बित्तिकै इँटा हान्नुपर्ने, टायर बाल्नुपर्ने, सडक किनारका रेलिङ भाँच्नुपर्ने सवारी साधन जलाउनुपर्ने, सुरक्षाकर्मीमाथी हातपात र ढुङ्गामुडा गर्नुपर्ने पुरानो राष्ट्रिय प्रवृत्ति कहिँ कतै देखिन । न कुनै प्रदर्शनकारीको हातमा इँटा टायर छ, न कुनै होहल्ला । कोरोना प्रकोपमा अपनाउनुपर्ने सामाजिक दूरी समेत कायम राखेर हातमा कुनै दलको नभए देशको झण्डा र सानोतिनो पम्प्लेट बोकेका अधिकांश युवाहरूको जुलुस् जो कसैलाई एकपटक त्यतातिर हेर्न प्रेरित गर्ने खालको थियो ।

राजधानीका अधिकांश ठाउँमा त एक हिसाबले सामान्य नै मान्न सकिन्थ्यो, तर युवा जमात देशव्यापी तर अनुशासित ढंगले सरकारलाई विद्यमान संकट बारे घच्घच्याइरहेको थियो जस्तो देखिन्थ्यो । कतै सरकारको विरोध थिएन, न थियो कतै प्रधानमन्त्री वा अन्य कुनै मन्त्रीको राजीनामा मागिएको । जुत्ताको माला लगाइएका र जल्दै गरेका पुत्ला पनि यो ‘मुभमेन्ट’ मा कतै देख्न पाइँदैन थ्यो ।

मागहरू सामान्य र अति सामान्य थिए – ‘आरसिडी परिक्षण पूर्णरूपमा बन्द गरेर पिसिआर परिक्षणलाई द्रुत बनाउ’ एकाध दिनमा सार्वजनिक सरकारी खर्चको विवरणले आन्दोलनमा नयाँ नारालाई प्रवेश गराइदियो – ‘१० अर्व खोइ ?’

प्रायः अङ्ग्रेजीमा लेखिएका चुस्त नाराहरूले कोरोना प्रतिरक्षार्थको पहिरन बनेको मास्कले मौन बनाइदिएका मुखभन्दा धेरै र धेरै सभ्य भाषाको प्रतिनिधित्व गर्दै थिए । एउटा आम युवा यति भद्र रूपमा यति बलियो बनेर सरकारलाई खबरदारी गर्न निस्केको राजधानीको सडकले पहिलोपटक देखेको हुँदो हो र सिङ्गो देशले समेत ।

७० बर्षे राजनीतिमा ठूला घमासान, रस्साकस्सी, भागदौड र विशृङ्खलित मानवलहर भोगेका राजधानीका भरिया जस्ता सडक सायद माहोलको आचरणले एकफेर गर्व गर्न सकेका हुँदा हुन् । हजारौं मान्छेको भीड जम्मा पारेर घन्टौं अरुको आलोचना गर्ने गरेको परिवेशलाई एकएक थान पमप्लेटले यसरी हल्लाइदियो मानौं कि सत्ताको कुर्सीको ठीक मुन्तीर केन्द्र बनाएर भर्खर सय रेक्टरको भुकम्प गएको छ । सत्ता बोल्न समेत सकेन । के बोल्ने ?

सामाजिक संजाल फेसबुकमा रहेको एउटा समूह – ‘कोभिड १९ नेपाल : इन अफ इज इन अफ’ बाट शुरु भएको भनिएको ‘मुभमेन्ट’ ले अहिले सिङ्गै देशलाई ‘उठ र बोल’ भन्ने नैतिक बल प्रदान गरिरहेको छ । तर उक्त सामाजिक संजालको समुहमा कसैले आन्दोलनलाई निर्देशित गरेको तथ्य हालसम्म भेटिएको छैन । भलै त्यसका निर्माता र योजनाकार कुनै दल वा अन्य कुनै संगठन सँग नजिक होलान् तर यो प्रदर्शन नितान्त मौलिक छ भिन्न छ र स्वत:स्फुर्त रूपमा जागरुक युवाहरूमा अधिनस्थ छ ।

आन्दोलनको उठान सँगै त्यससँग सम्बन्धित अन्य पक्षहरूमा विश्लेषण हुनु आवश्यक र स्वाभाविक हो । त्यसमा पनि यो मुभमेन्टलाई विदेशीले प्रयोग गरेको हो भन्ने तर्क बाहिरिए सँगै यसमा थप विश्लेषण र सावधानी आवश्यक छ । नैतिक रूपमा साझा पार्टी र समाजवादी जनता पार्टीले समर्थन गर्नु, प्रमुख प्रतिपक्षी समेतले दिएको साथले यो तथ्यलाई धेरैहसम्म खण्डन गरेको छ ।

बन्दाबन्दीको फितलोपन प्रति सरकारी कदम र यो मुभमेन्ट जति संयोगजनक घटनाक्रम हुन् त्यो भन्दा बढी संयोग संसदमा दर्ता गरिएको नयाँ राष्ट्रिय नक्सा पारित गर्ने कार्यविधि र कोरोना प्रकोप नियन्त्रणमा देखा परेको घटना हुन गएको छ । घटनालाई बहुतर्क दिएर सत्तासीन दल र यसका शुभचिन्तक आन्दोलनकारीलाई पुरानै शैलीमा उत्रेर गाली गर्न उद्धत छन् । सरकारका स्वास्थ मन्त्री स्वयं हैसियतबाट ओर्लेर ‘कोरोनामा राजनीति प्रवेश गरेको’ भन्ने अभिव्यक्ती दिन तल्लीन छन् । कमसेकम यसको अलिकति पनि इच्छाशक्ति प्रकोप नियन्त्रणमा लगाएको भए देशले आहतमा राहत महसुस गर्थ्यो तर सरकार यहाँनेर समेत चुक्यो ।

सरकार निर्माण भएयता जनताका आशा अपेक्षा नबढेका होइनन्, त्यसैमाथी स्वयं सरकारमा आसिन सत्तासीन दलका नेताले नै जनतामा आशा अभिलाषाको थप भारी बोकाइदिए, जनताका आँखामा त्यस्ता भ्रमलाई सपनामा रूपान्तरण गरिदिए जसले उनीहरूको सत्तासम्म पुग्ने भर्‍याङको काम त गर्यो, तर यसको अनिवार्यता भनेको प्रतिवद्धताको पूर्ण पालन हुनुपर्छ भन्ने सत्ताका मुखियाहरूले बिर्से । त्यतिसम्म पनि ठीकै थियो तर जब कोरोनाको विश्वव्यापी महामारी शुरु भयो विश्वका अन्य देश यसको दूरगामी प्रभाव बारे अध्यन अनुसन्धानमा लागे । तर नेपालका प्रधानमन्त्री देखि मन्त्री सम्म नेपाललाई कोरोना मुक्त देश घोषणा गरेर विदेशी पर्यटक भित्र्याउने हाँस्यास्पदमा लागिरहे ।

गठनको मितीदेखी नै सरकार जगत हँसाउने काममा तल्लीन भएर लाग्यो । विगतको तीन बर्षमा सरकारले सबैभन्दा बढी कुनै काम गर्यो भनें जनता र जगत हँसाउने काम नै गर्यो । वाइडबडी प्रकरण देखि निर्मला हत्याकाण्ड प्रकरण सम्म । सञ्चारमन्त्री देखि सभामुखसम्म काण्डै काण्डमा मुछिने र जगत हँसाउने भन्दा अरु कुनै राजकिय कामकाज सरकारबाट भएको जनताले महसुस गर्न नपाएको आक्रोश पनि हो विद्यमान मुभमेन्ट ।

पम्प्लेटमा लेखिएका नारा पचाउन नसकेर सरकार हवाइ फायर गर्ने अनुमती दिन्छ, पानीको फोहोराले प्रदर्शनकारी लखेट्ने आदेश दिन्छ, आन्दोलन गरे जरिवाना र कैद गर्ने उर्दी जारी गर्छ । त्यो सब गर्ने अलिकति पनि बौद्धिकता ती युवाको मनोवृत्ति बुझ्नको लागि प्रयोग गर्न सकेको भए न सरकार थप आलोचित हुनुपर्थ्यो, न हल्लिन्थ्यो कुर्सी र न डर रहन्थ्यो लुटको स्वर्ग भत्कने । दुर्भाग्यलाई समेत दुर्भाग्यले छोएपछि विधि विधानको समेत केही जोर लाग्दैन भन्ने तथ्य त कमसेकम १०/१२ बर्ष अघिकै नेपाली राजसंस्थालाई हेरेर पनि स्वयं घोषित राजनेताले बुझ्नुपर्ने हो ।

आज संसदमा एकस्वरमा नयाँ नक्सा पारितको उद्घोष भए झै भोलि सडकमा सरकारको विकल्प खोजियो भनें के हुन्छ ? को जिम्मेवार हुन्छ ? भनेर सत्तासीन दलले सोच्न जरुरी छ । राज्य कसैको पेवा होइन । जनताको प्रत्यक्ष आवाज सुन्न नसकेकोले साढे दुई सय बर्षको विरासत बोकेको राजसंस्था त ढल्यो भनें जरा समेत नहालेको अहिलेको राज्य व्यवस्था कति दिन यो संस्कारले चल्न सक्ला – सामान्य मान्छेले समेत यसलाई बुझ्न सक्छ ।

तिव्र व्यक्तिवादी मनोचिन्तनको तुस बोकेर हिँडेका सत्ताका मुखियाहरूले तत्कालै आफ्नो रवैया बदल्न जरुरी छ । लोकतन्त्रले झुपडीबाट सिंहासनमा पुर्‍याइएकाहरूलाई जनताको आक्रोशको लहरले बढारेर इतिहासको रसातलमा पुर्‍याउनु अघि नै सत्ता र संसदमा बस्ने सवैले एकपटक गम्भीर भएर जनताका पक्षमा सोच्न बोल्न र गर्न आवश्यक छ ।

अरु जे भएपनि सत्तालाई गम्भीर बनाउन सके पनि वा नसके पनि अहिलेको आन्दोलनले आगामी दिनमा हुनसक्ने आन्दोलनको रूपरेखालाई बदलिदिएको छ भनेर मान्नुपर्छ । अबका आन्दोलनमा सडकमा टायर बल्ने छैनन् । एम्बुलेन्स भित्रै बिरामी जल्ने छैनन् । सरकारी कार्यालय र गाडी फुटाइने छैनन् । यो नैतिक संस्कार स्थापित गर्नु नै यो आन्दोलनको सफलता हो ।

लेखक -रेशम अधिकारी https://www.facebook.com/officaial.resham

लेखक मार्फत थप

किन रहस्यमयी ? मोना लिजाको चित्राकृती-https://www.waikhari.com/2020/05/22622/

किन दुख्छ सधैं लिपुलेक, लिम्पियाधुरा ?https://www.waikhari.com/2020/05/22991/

अध्यादेशको ‘नेगेटिभ टेष्ट’ मा ओलिवाद –  https://www.waikhari.com/2020/05/22486/

राजनीति र रविन्द्र मिश्रhttps://www.waikhari.com/2020/04/22021/

सम्बन्धित् समाचार