प्रहरी चौकीमा आगजनी गर्ने कपिलवस्तुका ७ सहित १२०को मुद्धा फिर्ता

कपिलवस्तु १५ बैशाख । सरकारले १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको छ । १२० जना प्रतिवादी मध्ये कपिलवस्तुका मात्रै ७ जना रहेका छन् । मन्त्रिपरिषद्को बैठकले मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।मुद्धा फिर्ता सम्बन्धमा आफूहरुलाई हालसम्म कुनै निर्देशन नआइसकेको भएपनि सरकार र जसपा विच यस अघिका वैठकहरुमा मधेस आन्दोलनका राजनीतिक प्रकृतिका मुद्धा फिर्ता लिने समझदारी भएकोले मधेस आन्दोलन सम्बन्धि मुद्धा फिर्ता गरिएको हुन सक्ने सरकारी वकिल कार्यालय कपिलवस्तुले जनाएको छ ।

यसरी मुद्धा फिर्ता भएका कपिलवस्तुका प्रतिवादीहरुमा साविक विठुवा गाविस वडा नम्बर ८ का तत्कालिन संघिय समाजबादी फोरम नेपालका क्षेत्रीय सदस्य राम नयन यादव, सोहि ठाउँका जुम्मन मुसलवान, छोटकी गनौरियाका इस्तखार मुसलवान, साविक लबनी गाविस वडा नम्बर १ बस्ने भू.पू. प्रहरी हवल्दार गणेश संकर पाण्डे, हथिहवा ९ शिवलवाका ओम प्रकाश चौधरी रहेको बताइएको छ ।अन्य दुई जना प्रतिवादीको भने मृत्यु भैसकेको छ । सोहि ठाउँ बस्ने दिपेन्द्र कुमार चौधरी र रेखा यादवको मृत्यु भएको हो ।

राम नयन यादव सहितका व्यक्तिहरुलाई मधेश आन्दोलनका बेला हालको शुद्धोधन गाउँपालिका अन्र्तगत रहेको लबनी र जमुनी प्रहरी चौकीमा आगजनी गरेको विषयमा ७ जनालाई मद्धा चलाइएको थियो ।उनिहरु विरुद्ध मुद्धा परेको भए पनि अदालतमा गएर तारिख लिई घरमै बस्दै आएको बताइएको छ ।

६३ बर्ष पहिले राजा महेन्द्रले वनाएको गेट भत्काउन शुरु

कपिलवस्तु -हुलाकी सडक आयोजना अन्तर्गत तौलिहवामा १५ मिटर चौडा सडक बन्ने क्रम तीव्र भएसंगै यसले एकातिर तौलिहवाको मुहार फेरिदैछ भने अर्को तर्फ कपिलवस्तुमा तत्कालिन राजा महेन्द्रले बनाएको महेन्द्र गेट भत्कीने भएको छ ।करिव ७ मिटर चौडाईमा रहेको उक्त गेट बीचमा छाड्दा मापदण्ड अनुसारको सडक नबन्ने भएपछि हुलाकी सडक आयोजनाले अव छिटटै उक्त गेट भत्काउने तयारी गरेको हो ।

यता अधिकारर्मी रवि ठाकुरले उक्त गेट तौलिहवाको एक पहिचान बनेको भएपनि सडक मापदण्ड भित्र परेपछि भत्काउने काम अघि बढ्ने जानकारी तौलिहवावासीलाई भएको वताउनु भयो । सो गेट ६३ बर्ष अघि बनेको हो । ६०० भन्दा धेरैका घरपसल भत्किरहेको अवस्थामा महेन्द्र गेट नभत्काऔ भनेर अगुवाई कसले गर्ने उहाले प्रश्न गर्नु भयो ।

कपिलवस्तुमा सक्रिय संक्रमितको संख्या ३ सय पुग्यो, बुधबार मात्र ४१ संक्रमित थपिए

कपिलवस्तुमा दिनहुँ कोरोनाभाइरसका संक्रमित बढिरहेका छन् । बुधबार मात्र जिल्लामा ४१ जना कोरोना भाइरसका संक्रमित बढेसंगै सक्रिय संक्रमितको संख्या ३ सय ३ पुगेको छ ।

बुधबार थपिएका ४१ संक्रमित मध्ये कपिलवस्तु नगरपालिकाका मात्र १२ जना रहेका छन् । विजयनगर गाउँपालिका र शिवराज नगरपालिकाका ८/८ जना, वाणगंगा नगरपालिकाका ५ जना, कृष्णनगर नगरपालिकाका ४ जना, महाराजगञ्ज नगरपालिकाका २ जना, शुद्धोधन गाउँपालिका र बुद्धभूमि नगरपालिकाका १/१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

देशभर कोरोनाको दोस्रो लहर सुरु भएसंगै जिल्लामा पनि संक्रमितको संख्या बढीरहेको हो । जिल्लामा पहिलो र दोस्रो चरण गरेर २ हजार ३ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २ हजार ५७ जना निको भएका छन् ।

यस्तै जिल्लामा अहिलेसम्म ३८ जनाको कोरोनाको कारण ज्यान गैसकेको छ ।

टी २० वरीयतामा कुशलको छलाङ, कप्तान मल्ल ९४ औं स्थानमा

काठमाडौं : नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले टी २० वरीयतामा छलाङ मारेका छन्। अघिल्लो हप्ता सम्पन्न नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीचको टी २० सिरिजबाट सिनियर टोलीमा डेब्यु गरेका कुशलले वरीयता सुधार्दै ६१ औं नम्बरमा उक्लिएका हुन्।

त्रिदेशीय सिरिजमा लगतार तीन अर्धशतक प्रहार गरेका भुर्तेल अघिल्लो साता पहिलो पटक टी २० वरीयताको शीर्ष सयभित्र परेका थिए। उक्त वरीयतामा ९३ औं स्थानमा रहेका रुपन्देहीका २४ वर्षे भुर्तेल आईसीसीले जारी गरेको नयाँ वरीयतामा ६१ नम्बरमा उक्लिएका हुन्।

सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध ६२ रन बनाएका भुर्तेलले दोस्रो खेलमा मलेसियाविरुद्ध अभिजित ६१ रन बनाएका थिए। त्यस्तै नेदरल्याण्ड्ससँगकै अर्को खेलमा ६२ रन बनाएका उनी यसअघिको मलेसिया विरुद्धको खेलमा भने अर्धशतक बनाउन चुकेका थिए। उनले मलेसियाविरुद्ध १६ रन बनाएका थिए। त्यस्तै नेदरल्याण्ड्स विरुद्धको फाइनल खेलमा उनले ७७ रन बनाएका थिए।

उनी बाहेक अर्का नेपाली ब्याट्सम्यान पारस खड्का वरीयताको ८८ औं स्थानमा छन् भने ज्ञानेन्द्र मल्ल पनि शीर्ष सयमा अटाएका छन्। कप्तान मल्ल ९४ औं स्थानमा छन्। त्यस्तै बलिङतर्फ सन्दीप लामिछाने ७७ औं स्थानमा छन्।

बागमती प्रदेशका नवनियुक्त मन्त्रीले लिए सपथ

काठमाडौं : बागमती प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन्। नवनियुक्त मन्त्रीहरू सुरेश नेपाल, केशवराज पाण्डे, सरस्वती बस्नेत, रामकुमार अधिकारीले सपथ लिएका हुन्।

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले उनीहरूलाई पद र गोपनीयताको सपथ खुवाएका हुन्।

मुख्यमन्त्री पौडेलले सुरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा। रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि सिफारिस गरेका थिए।

भारतमा कोरोनाबाट मर्नेको संख्या २ लाख नाघ्यो, एकैदिन तीन हजारभन्दा बढीले गुमाए ज्यान

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । गएको २४ घण्टायता ३ हजार २२९ कोरोना संक्रमितको ज्यान गएपछि मृत्यु हुनेको संख्या २ लाख १ हजार १८७ पुगेको यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

एकैदिनमा कोरोनाबाट ठूलो संख्यामा मृत्यु भएको यस वर्ष सुरु भएयताकै यो सबैभन्दा धेरै भएको समाचारमा जनाइएको छ । मंगलबार एकैदिनमा ३ लाख ६० हजार ९६० जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि भारतमा अहिलेसम्ममा १ करोड ७९ लाख ९७ हजारभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेका बताइएको छ ।

एकैदिन ३ लाखभन्दा बढी कोरोना संक्रमित भेटिएका यो सातौँ दिन भएको बताइएको छ । कोरोना महामारी सुरु भएयता विश्वमा भएका संक्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्यांकले देखाएको छ ।

भारतमा हाल २९ लाख ७८ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । भारतमा हालसम्म १ करोड ४८ लाख १७ हजारभन्दा बढी कोरोनामुक्त भएका छन् । भारतमा गत १६ जनवरीदेखि कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १४ करोड ५५ लाखभन्दा बढी व्यक्तिले खोप लगाएका छन् ।

कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोना भाइरसविरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ । भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सिन र स्पुट्निक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्ली सबैभन्दा धेरै कोरोना प्रभावित राज्यका रूपमा रहेको छ । यहाँ गत सोमबार एकैदिनमा २० हजार २०१ जना थप व्यक्ति कोरोना संक्रमित देखिएको र ३८० जनाको मृत्यु भएको छ । दिल्ली कोरोना सुरु भएदेखि हालसम्म यसको संक्रमणका कारण १५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

महँगो बस भाडा तिर्दै उभिएरै पनि उपत्यका छाड्दैं यात्रु

काठमाडौं : टीकापुरका पदम मल्ल सामान्य अवस्थामा एक हजार चार सय रूपैयाँ बस भाडा तिरेर काठमाडौंबाट धनगढी जान्थे। तर बुधबार मल्लले दुई हजार तिर्नुपर्‍यो। काठमाडौं उपत्यकामा बिहीबारबाट निषेधाज्ञा हुने भएपछि बाहिर जाने बस टिकट अभाव भएसँगै उनी साविकभन्दा बढी भाडा तिर्न बाध्य भएका हुन्।

‘दुई हजार तिरेर पनि मुश्किल मात्रै गाडी पाइयो। त्यो पनि सिटमा होइन, क्याबिनमा भनेको छ। उभिएर जानुपर्ने होला, मल्लले सुनाए। सरकारले उपत्यकामा निषेधाज्ञा घोषणा गरेपछि बर्दियास्थित गुलरिया पुग्न टिकट काटेका अनिल थारूले पनि चर्को भाडा तिर्नुपरेको छ।

‘पहिले ११ सयमा लैजान्थ्यो, अहिले १६ सय लिएको छ,’उनले भने, ‘भाडा महँगो भए पनि जसरी गाउँ जानै पर्ने छ।’

सल्यानका कमल बस्नेतले रूकुमको थामारेसम्म जाने गाडी मात्रै पाए। त्यो पनि अलिकति महँगै भाडामा। उनीसहित पाँच जना साथीका लागि काटिएको टिकटमा चार हजार पाँच सय रूपैयाँ बुझाएको देखिन्छ। सामान्य अवस्थामा प्रतिव्यक्ति आठ सय रूपैयाँ लाग्ने उनले बताए। सोही स्थानका लागि हेमराज सुनार र उनका साथीलाई भने प्रतिव्यक्ति एक हजारका दरले टिकट उपलब्ध गराएको भेटिएको छ।

सानी नानी च्यापेर बसपार्कमा उभिइरहेकी रोल्पाकी रमिला बिक उभिएरै भए पनि गाउँ फर्कन तयार थिइन्।

अमेरिकामा खोप लगाएका मानिसले मास्क लगाउन नपर्ने

अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडिसी)ले पूर्ण खोप लगाइसकेका अमेरिकीहरूले बाहिर खुला क्षेत्रमा हिँडडुल गर्दा मास्क लगाउन नपर्ने घोषणा गरेको छ । खोपका आवश्यक मात्रा लगाइसकेकाहरूले एक्लै हुँदा वा खोप लगाइसकेका अन्य व्यक्तिहरूको सानो समूहमा अनुहार ढाक्न नपर्ने उसले नयाँ मापदण्डमा उल्लेख गरेको छ । तर कोठाभित्र वा भिडभाडयुक्त स्थलहरूमा अझै पनि मास्क लगाउन उसले भनेको छ।

हालसम्म ९ करोड ५० लाख अमेरिकीले खोपको पूर्ण मात्रा लगाइसकेका छन् । सीडिसीको नयाँ मापदण्डप्रति राष्ट्रपति जो बाइडनले खुसी व्यक्त गरेका छन् । उनले कोरोना भाइरस खोपका पूर्ण मात्रा लगाइसकेका मानिसहरूलाई अब बाहिर मास्क लगाउन नपर्ने बताएका छन् । उक्त घोषणापछि उनी ह्वाइट हाउसमा मास्कविना केहीबेर हिँडेका थिए।

महामारीविरुद्ध लडाइँमा अमेरिकाले चमत्कारी प्रगति हासिल गरेको भन्दै उनले ज्यानवरीमा कार्यभार सम्हालेयता संक्रमण तथा मृत्यु नाटकीय ढङ्गले घटिरहेको बताए ।

‘आजदेखि साथीभाइसँग पार्कमा भेट्दा वा पिकनिकमा जाँदा यदि तपाईँले खोप लगाइसकेको हो भने र यदि बाहिर खुला हावामा हुने हो भने मास्क लगाउनु पर्दैन,’ उनले भने। ‘उपलब्ध आँकडा हेरेर हाम्रा वैज्ञानिकहरू यसरी खुला हावामा खोप लगाइसकेकाहरू भेट्दा भाइरस संक्रमण हुने सम्भावना अत्यन्त कम रहेकोमा विश्वस्त भएका छन्।’

राष्ट्रपति बाइडनले खोप नलगाएका अमेरिकीहरूलाई खोप लिएर देशभक्तिपूर्ण कार्य गर्न पनि आह्वान गरे।

‘खोपले बिल्कुल तपाईँको ज्यान जोगाउने काम गर्छ र साथै यसले तपाईँ वरपरका अरू मानिसलाई पनि जोगाउँछ-अनि यसले हामीलाई सामान्य जीवनशैलीमा फर्कन मद्दत गर्छ,’ उनले भने।

‘स्वास्थ्य अधिकारीहरूले मङ्गलवार ह्वाइट हाउसमा नयाँ सुरक्षा मापदण्ड प्रस्तुत गरेका थिए। बाहिरी खुलास्थलमा हुने साना तथा मध्यमस्तरका जमघटमा खोप लगाएका मानिसहरूले मास्क नलगाएर पनि सुरक्षित हुन सकिन्छ,’ सीडिसीकी निर्देशक डा. रोसेल वालेन्स्कीले भनिन्। तर बाहिरै भएको जमघट पनि यदि ठूलो छ भने त्यहाँ मास्क लगाउने कि नलगाउने भन्ने विषय सो ठाउँमा हावाको ओहोरदोहोर कत्तिको राम्रो छ अनि मानिसहरूबीच कति दूरी हुन्छ भन्ने जस्ता कुरामा भर पर्ने उनले बताइन्।

यी मापदण्ड अनुसार पूर्ण खोप लगाएको भन्नाले कुनै व्यक्तिले खोपको निर्धारित मात्रा पूरा गरेको दुई सातापश्चात् भन्ने बुझ्नुपर्छ।

हराएका भनिएका जनमोर्चाका सांसद शाही अस्पतालमा !

कास्की : राष्ट्रिय जनमोर्चाका एक सांसद अनुपस्थित भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधवार (आज) हुने भनिएको मतदान स्थगित भएको छ ।

प्रदेश सभा सचिवालयले आज चार बजेका लागि मतदानको कार्यसूची राखे पनि जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएपछि बैठक नै चल्न सकेन । दिउँसो चार बजे बैठक सुरु हुने तालिका भए पनि साढे चार बजेसम्म शाही नपुगेपछि खोजी भएको थियो । कतैबाट पनि उहाँको अवस्था थाहा हुन नसकेपछि उहाँलाई एमालेले बेपत्ता बनाएको नेपाली कांग्रेस र माओवादीका सांसदले आरोप लगाएका थिए ।

तर हराएका भनिएका सांसद शाही पोखराकै चरक अस्पतालमा भर्ना भएको अवस्थामा भेटिनुभएको छ । उहाँले कोरोना पोजेटिभ भएको रिपोर्ट देखाएपछि भर्ना गरेर उपचार चलिरहेको अस्पतालले जनाएको छ । तर गण्डकी प्रदेश प्रयोगशालाले मङ्गलवार ९हिजो० स्वाब सङ्कलन गर्दा सांसद खिमविक्रम शाहीको रिपोर्ट पनि नेगेटिभ नै आएको थियो ।

नेपाली कांग्रेसले जनमोर्चाका सांसद शाहीलाई अविश्वासको प्रस्तावमा मत दिन रोक्नकै लागि षड्यन्त्र भएको आरोप लगाएको छ ।

यसअघि राष्ट्रिय जनमोर्चाले पनि आफ्ना सांसद खिमविक्रम शाहीको जीवनरक्षाको माग गरेको थियो । सचेतक पियारी थापाले सांसद शाहीको अवस्था अज्ञात रहेको र उहाँको जीवन रक्षा गर्न सभामुखलाई पत्र लेखेपछि सभामुख नेत्रनाथ अधिकारीले अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभएको छ ।

गण्डकीमा एमाले र जनमोर्चाको सरकार रहेकोमा जनमोर्चाले समर्थन फिर्ता लिएपछि २८ सांसदसहित एमालेको सरकार अल्पमतमा परेको छ । ६० सदस्यीय प्रदेश सभामा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ र राष्ट्रिय जनमोर्चाका तीन सांसद छन् ।

चार दल मिलेर नयाँ सरकार गठनको लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

माक्स प्रयोग नगरे बाणगंगामा कारबाही ः उप प्रमुख अर्याल

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगामा नगरपालिकामा भोलीबाट अनिवार्य रुपमा माक्स लगाउन नगरपालिकाले आग्रह गरेको छ । नगरपालिकाभित्र माक्स प्रयोग नगरी सार्वजनिक स्थालमा पाइएमा कारबाही गरिने निर्णय भएको बाणगंगा नगरपालिकाका उप प्रमुख चक्र अर्यालले बताए ।

कोरोनाको बढदो प्रभावलाई मध्यनजर गरेर यस्तो निर्णय गरिएको र जसका लागी प्रशासनसगं समेत समन्वय भई सकेको उनले बताए । साथै अर्यालले भोलीबाट नगरपालिकाले सबै स्थानमा जनचेतना जगाउन प्रचार प्रसार गर्ने र भावी दिनमा आईपर्न सक्ने समस्या समाधानका लागी निरन्तर लाग्ने बताए ।

नेपाल सुपर लिग : चितवन र लुम्बिनीको २-२ को बराबरी

काठमाडौं : नेपाल सुपर लिग ९एनएसएल० फुटबलमा एफसी चितवन र बुटवल लुम्बिनी एफसीले २(२ को बराबरी खेलेका छन्। बुधबार दशरथ रंगशालामा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा चितवन बुटवलसँग बराबरीमा रोकिएको हो।

चितवले खेलको १५ औं मिनेटमा जर्ज प्रिन्स कार्कीको गोलबाट अग्रता लिएको थियो। खेलको १९ औं मिनेटमा टेकबहादुर बुढाथोकीले बुटवलमाथि अर्को गोल गर्दै टिमलाई २-० को अग्रता दिलाएका थिए।

खेलको ३२ औं मिनेटमा बुटवलका आशिष लामाले गोल गर्दै खेल २-१ मा फर्काए। पहिलो हाफ २(१ गोल अन्तरमा सकियो। दोस्रो हाफको ६५ औं मिनेटमा बुटवलका लागि लक्ष्मण रुचालले एक गोल गरेपछि खेल बराबरीमा पुगेको थियो। त्यसपछि गोल गर्न नसक्दा चितवन सुरुवाती अग्रता गुमाउँदै अंक बाँड्न बाध्य भएको हो।

खेलमा चितवनका कार्की प्लेयर अफ दि म्याच चुनिए भने बुटवलका लक्ष्मण रुचाल प्लेयर अफ दि म्याच चुनिए। कार्कीले २५ हजार पाए भने रुचालले १० हजार रुपैयाँ पाए।

बुधबार बराबरीमा रोकिएको चितवनले दुई खेलमा २ अंक जोडेको छ। चितवनले पहिलो खेलमा ललितपुर सिटीसँग १(१ को बराबरी खेलेको थियो।

बुटवल पहिलो खेलमा पोरखा थन्डर्सलाई २-० ले पराजित गरेको थियो। चितवनसँग बराबरी खेलेसँगै उसले दुई खेलबाट चार अंक जोडेको छ।

कर्मचारीमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय अर्घाखाँची बन्द

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालसहितका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको छ ।

प्रशासनबाट हुने नागरिकता, राहदानी वितरणसहित दैनिक प्रदान गरिने सेवा एक साताका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिए । शान्ति–सुरक्षा, विपद्, उद्धारलगायत अत्यावश्यक सेवा बाहेकका अन्य सेवा वैशाख २२ गतेसम्मका लागि स्थगित गरिएको प्रजिअ पौडेलले बताए ।

अन्य ५ जना कर्मचारी पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि होम आइसोलेसनमा बसेको र उनीहरुको पीसीआर रिपोर्ट आइनसकेको प्रजिअ पौडेलको भनाइ छ ।सहायक प्रमुख जिल्ला अधिकारी खनालसहित २८ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

अर्घाखाँचीमा अहिलेसम्म ८ सय ६१ जनामा कोरोना संक्रमण देखिएकोमा हाल ४९ जना सक्रिय संक्रमित छन् । जिल्लामा १९ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।

काठमाडौं केन्द्रविन्दु भएर भूकम्प

काठमाडौंको कलंकीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १ : ५९ बजे भूकम्प गएको हो ।

केन्द्रले ३.५ रेक्टर स्केलको भूकम्प मापन गरिएको बताएको छ ।

भूकम्प २०७२ को गोरखा भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ । विनाशकारी गोरखा भूकम्पले ठुलो धनजनको क्षति गरेको थियो ।

खोलाबाट ल्याएको माछा खाएर झाडापखाला : दिदीबहिनीको निधन

झाडापखालाबाट एकै घरका दिदीबहिनीको मृत्यु भएको छ। शनिबार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर गाउँपालिका–६ का प्रेम बुढाका ११ वर्षीया रीता बुढा र १३ वर्षीया विनिता बुढाको निधन भएको हो।

दिदी विनिताको आइतबार बिहान २ बजेतिर र बहिनी रीताको बिहान ६ बजेतिर निधन भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिए। उपचारका क्रममा निधन भएका उनीहरुको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ।

कपिलवस्तु पनि कोरोनाको हटस्पट हुने संकेत, भिडभाडजन्य गतिविधि रोकमा बेवास्ता

कपिलवस्तु : कोरोना संक्रमणको दोस्रो लहरले कपिलवस्तुमा पनि संकट ल्याउने सम्भावना बढेको छ । लुम्बिनी प्रदेशका बाँके, रुपन्देही दाङ लगायतका जिल्लामा कोरोनाले संकट निम्ताएका बेला कपिलवस्तुमा संकट ल्याउने सम्भावना बढेको हो । नागरीकहरुले कोरोनालाई विपतको रुप नलिदाँ दिन प्रति दिन समस्या बढ्दै गएको छ । केही साता अगाडी शुन्य बाट ५ जना संक्रमितको संख्या हुँदै उक्लिको ग्राफ २५५ जना सम्म पुगेको छ ।

यस पटक आधा भन्दा वढी संक्रमितलाई नयाँ प्रकारको कोरोना भाईरसमा देखिने लक्षण देखा परेका छन् । शरिर दुख्ने, उच्च ज्वरो आउने, स्वाद थाहा नपाउने, खाना मिठो नहुने जस्ता लक्षण देखिने गरेको अधिकारीहरुले बताएका छन् । जिल्लाका सवै स्थानीय तहमा कोरोना संक्रमित फेला परेको अवस्था रहेको छ । अहिले संक्रमित हुनेमा अधिकांश सरकारी कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी रहेका जिल्ला स्वस्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेशचन्द्र घिमिरेले बताउनुभयो ।

जिल्लामा हालसम्म ३८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । यस पटक हट्टाकट्टा संक्रमितको समेत मृत्यु भएको तथ्याङक रहेको छ । कोरोनाको दोस्रो लहर फैलिए पनि स्थानीय सरकार भने सुस्ताएका छन् । विपतको क्षति न्यूनीकरण गर्न योजना बनाएर काम गर्ने बेलामा पर्ख र हेरको निति लिए जस्तो गरेको देखिएको छ । जिल्लाका १० मध्ये ६ पालिकाले तत्काल योजना बनाई कोरोनाको प्रभाव कम गर्ने लक्ष्य लिएको छ । तर काम भने अझै सुरु भएको छैन ।

यता यशोधरा, शुद्धोदन, मायादेवी गाउँपालिका र महाराजगंज नगरपालिकामा भने योजना बनाउने संकेत समेत नभएको नाम नखुलाउने शर्तमा एक कर्मचारीले बताएका छन् । जिल्ला प्रशासन कार्यलयले भिडभाडजन्य गतिविधि नगर्न भने पनि आम नागरिकले त्यसलाई वेवास्ता गरेको देखिएको छ । तत्काल भिँडभाँड बढी हुने गतिविधी रोकिएन भने कपिलवस्तु पनि कोरोनाको हटस्पट हुने संकेत देखिएको छ ।

सरकारले फिर्ता लियो जसपाका १२० कार्यकर्ताको मुद्दा [सूचीसहित]

सरकारले जनता समाजवादी पार्टीका १२० कार्यकर्ताको मुद्दा फिर्ता लिएको छ ।मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले १२० जनाको मुद्दा फिर्ता लिएको बताएका हुन् ।

नेपाल सरकार वादी भई परेका मधेस आन्दोलनसँग सम्बन्धित १५ वटा मुद्दा फिर्ता लिएको उनले बताए । ‘कानुनी हिसाबमा फिर्ता लिन सकिने नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरू फिर्ता लिने निर्देशिका २०७७ बमोजिम १५ वटा मुद्दा फिर्ता लिने निर्णय गरेको हो,’ उनले भने ।

मधेसवादी आन्दोलनमा सहभागी भएका कारण मुद्दा खेपिरहेका जसपा पार्टीका कार्यकर्ताहरूको मुद्दा फिर्ता गरेको उनको भनाइ छ । उनले विप्लव र अन्य राजनीतिक दलका कार्यकर्ताहरूका विरुद्ध परेका मुद्दा फिर्ता हुने बताए । कानुन र संविधानबमोजिम फिर्ता लिन सक्ने मुद्दाहरूलाई मन्त्रिपरिषद्ले निरन्तर फिर्ता लिँदै जाने उनले बताए ।

मुद्दा फिर्ता भएकाहरूको सूची :

 

लायन्स क्लव अफ बाणगंगाको “ तपाइँको माक्स खै ” अभियान जारी

वैखरी अनलाइन
लायन्स क्लव अफ बाणगंगाको “ तपाइँको माक्स खै ” अभियानलाई जारी राखेको छ । पछिल्लो समय बढदो कोरोनाको महामारीमा जनचेतना जगाउन लायन्स क्लव अफ बाणगंगाले अभियान जारी राखेको हो ।

सो क्रममा आज बाणगंगा नगरपालिकाको ओदारी र गजेहडामा आज बिहान माक्स बितरणसहित सबैलाई कोरोनाबाट बच्न र बचाउन बारे क्लवले प्रचार गरेर अभियानलाई जारी राखीएको लायन्स क्लव अफ बाणगंगाका अध्यक्ष रमेशचन्द्र भुसालले वैखरी अनलाइनलाई बताए ।

 

हाससम्म नगरभित्रका ६ क्षेत्रमा गरी अभियानमा १० हजार बढि माक्स बितरण गरिएको सचिव कृष्ण प्रसाद भट्टराईले वैखरी अनलाइनलाई जानकारी दिए । साथै यस अभियान अझ निरन्तरता दिने प्रथम उपाध्यक्ष खुमानन्द घिमिरेले बताए ।

सामाजिक दुरी कायम गर्दै कपिलवस्तु उद्योग बाणिज्य सघंको योजना तर्जुमा गोष्ठी सकियो

वैखरी अनलाइन
सामाजिक दुरी कायम गर्दै कपिलवस्तु उद्योग बाणिज्य सघंको योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । बाणगंगा नगरपालिकाको चार नः जितपुरमा रहेको आफनै भवनमा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो ।

आगामी ३ बर्षका लागी सघंलाई मार्गदर्शन गर्न तर्जुमा गोष्ठी गरिएको कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले बताए । साथै घिमिरेले कोभिड १९ को नियन्त्रणका लागी पनि लगत्तै निरन्तर बिभिन्न क्षेत्रमा काम गर्ने बताए । आसन ग्रहणका लागी चुनाव जितेको होइन, काम गर्न लागी हो भन्दै बाहिर भन्दा पनि सघंमै आएर कुरा राख्न अनुरोध गर्दै बाहिर अनावश्यक हल्ला नफैलाउन समेत अध्यक्ष घिमिरेले आग्रह गरेका छन ।

गोष्ठीले सघंलाई नयाँ उचाइँ दिन महत्वपुर्ण भुमिका खेल्ने बिश्वास रहेको महासचिव मनोज पौडेलले वैखरी अनलाइनलाई बताए । समापन कार्यक्रममा कानुनी सल्लाहकार गुणनिधि भुसाल, पुर्व अध्यक्ष तथा बरिष्ठ सदस्य बिष्णु पसाद न्यौपाने, महिला उपाध्यक्ष इन्द्रीरा तिमिल्सीना, क्षेत्रगत सदस्य राजेन्द्र बिक्रम शाह, महिला सदस्य मिना पौडेल लगायतले आआफनो धारणा राखेका थिए । गोष्ठीले अवको ३ बर्ष कुन कुन कार्य के कसरी गर्ने भन्ने रणनिति तयार पारेको छ ।

सुरक्षा निकायमा पनि फैलियो कोरोना, एक सातामा १ सय ८० जना संक्रमित

कोरोना भाइरसको दोस्रो लहरको मारमा फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीसमेत पर्न थालेका छन् । पछिल्लो एक सातामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका गरी १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर कोरोनाबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको नेपाल प्रहरीका ८० जनाभन्दा बढी सुरक्षाकर्मी संक्रमित भएको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए ।

‘नागरिकस्तरमै  जुन प्रकारको संक्रमण दर फैलिएको छ । हाम्रो सुरक्षाकर्मीमा पनि त्यही देखिएको छ,’ उनले शिलापत्रसँग भने, ‘उपत्यका र लुम्बिनी प्रदेशमा संक्रमित हुने प्रहरीको संख्या बढी छ ।’

यस्तै, सशस्त्र प्रहरी बलका ३९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डीआईजी राजु अर्यालले बताए । नेपाली सेनाका समेत ६१ जना संक्रमित भएका छन् ।

तीनवटै सुरक्षा निकायले सकेसम्म कम जनशक्ति परिचालन र सिफ्टअनुसार ड्युटी खटाएर काम गर्न थालेका छन् । हाललाई घर बिदा बसेर फर्किनेको हकमा १४ दिन क्वारेन्टाइनको व्यवस्था मिलाएको छ ।

अर्घाखाँचीमा कोरोनाबाट १ जनाको मृत्यु

अर्घाखाँची। अर्घाखाँची  जिल्ला अस्पतालमा एकजना कोरोना संक्रमितको मंगलवार उपचारको क्रममा मृत्यु भएको छ । मालारानी गाउँपालिका वडा नं ७ बामरुक लेवसे निवासी राम प्रसाद भुसालको उपचारको क्रममा मृत्यु  भएको डाक्टर कपिल गौतमले जानकारी दिए ।

१६ दिन अघि भारतबाट आएका भुसाललाई एक हप्ताअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

गण्डकीमा जनमोर्चाका एक सांसद ‘हराएपछि’ अविश्वास प्रस्तावमा मतदान हुन सकेन

कास्की : राष्ट्रिय जनमोर्चाका एक जना सांसद अनुपस्थित भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा मतदान हुन सकेको छैन ।

प्रदेश सभा सचिवालयले बुधवार ९आज० चार बजेका लागि मतदानको कार्यसूची राखे पनि जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएपछि मतदान सुरु हुन सकेको छैन । शाहीलाई बारम्बार फोन गर्ने प्रयास गर्दा फोन पनि नलगेको माओवादी केन्द्रका एक सांसदले बताएका छन् ।

गण्डकीमा एमाले र जनमोर्चाको सरकार रहेको छ, जनमोर्चाले समर्थन फिर्ता लिएपछि २८ सांसदसहित एमालेको सरकार अल्पमतमा परेको छ । ६० सदस्यीय प्रदेश सभामा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ र राष्ट्रिय जनमोर्चाका तीन जना सांसद छन् ।

चार दल मिलेर ३१ जना पुगेपछि नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

रुपन्देहीमा भोलि बिहान ६ बजेदेखि निषेधाज्ञा

बुटवल : जिल्ला प्रशासन रुपन्देहीले भोली विहान ६ बजेदेखि लागु हुनेगरी जिल्ला भर निषोधाज्ञा जारी गरेको छ । बैशाख ३० गते विहान ६ बजेसम्मको अवधिका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए ।

निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन नदिने भएको छ । अति आवश्यक सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइने छ ।

जसमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन फोहर मैला व्यवस्थापन इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसारपसार गर्ने ढुवानीका साधनहरु रहेका छन्। त्यसै गरी आवश्यक बाहेकका पसल व्यवसाय बन्द गरिने भएको छ ।

पछिल्लो २४ घण्टामा थप ४८ सय ९७ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३८७९ पीसीआर परीक्षणमा ४७ सय ७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४८ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार २९० पुगेको छ ।

जसमध्ये २३६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८४५ जना होम आइसोलेसनमा रहेका छन् ।

अक्सिजन सिलिन्डरमा कर छुट गर्ने सरकारको निर्णय

काठमाडौं : मन्त्रिपरिषद् बैठकले अक्सिजन सिलिन्डरमा कर छुट दिने निर्णय गरेको छ। कोरोना महामारीका कारण अस्पतालहरुमा आवश्यक अक्सिजन सिलिन्डरको अभाव हुन नदिने उद्देश्यले सरकारले कर छुट दिने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए।

भारतको अस्पतालहरुमा अक्सिजनको अभावमा भएर धेरै मानिसको मृत्यु भइरहेको छ। नेपालमा समेत कोरोना भाइरसको संक्रमित बढ्दै गएको र अस्पतालमा अक्सिजन अभाव हुन सक्ने भन्दै पूर्व तयारी गर्नुपर्ने माग जनस्वास्थ्यविदहरुले उठाइरहेका छन्।

हाल नेपालमा अक्सिजनको अभाव हुने सम्भावना नरहे पनि अक्सिजन सिलिन्डरको भने अभाव रहेको सरोकारवालाहरुले बताएका छन्। उनीहरुले नेपालालाई दैनिक आवश्यक पर्ने अक्सिजन उत्पादन हुने भन्दै सिलिन्डरको व्यवस्थामा जोड दिनुपर्ने बताउँदै आएका छन्।

चितवनमा भोलिदेखि १५ दिन निषेधाज्ञा

काठमाडौं : जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसीएसी) चितवनले १५ दिन लकडाउन गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा बुधवार बसेको बैठकले बढ्दो कोरोना संक्रमणलाई नियन्त्रण गर्न वैशाख १६ देखि ३१ गतेसम्म गरी १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो।

निषेधाज्ञाका क्रममा सार्वजनिक आवागमन, बजार सञ्चालन लगायतका वस्तु वा सेवाको आपूर्तिमा नियन्त्रण तथा नियमन गर्न आदेश जारी गरिएको छ। अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने जनाइएको छ।

पाल्पामा वैशाख १८ गतेदेखि २४ सम्म निषेधाज्ञा

पाल्पा : जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १७ रातिदेखि २४ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । पछिल्लो समय कोरोना संक्रमण बढिरहेको भन्दै प्रशासनले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेका अनुसार निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन पाइने छैन ।

सबै प्रकारका गोष्ठी, तालिम, सभा, सम्मेलन, सेमिनार गर्न, मानिसहरु जम्मा हुन, भीडभाड गर्न, जात्रा महोत्सव गर्न तथा कुनै पनि प्रकारको खेलकुद सञ्चालन गर्न निषेध गरिएको उनले बताए ।

यस्तै, सिनेमा हल, पार्टी प्यालेस, होटल, रेस्टुरेन्ट, नाचघर, क्लब, फुटसल, जिमखाना, ब्युटी पार्लर, सैलुन, सुनचाँदी पसल, टेलरिङ, फुटपाथ पसललगायत नखोल्ने निर्णय भएको छ । विवाह, व्रतबन्ध एवं अन्य संस्कारजन्य कार्यक्रमहरु घरमै सञ्चालन गर्नुपर्ने र त्यस्ता कार्यक्रमम स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर २५ जनाभन्दा बढी सहभागी हुन पाइने छैन ।

अत्यावश्यक दैनिक उपभोगका खाद्य सामग्री, दूध, फलफूल, तरकारी, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ तथा निर्माण सामग्रीका पसलहरु दिनमा एकपटक बिहान ६ बजेबाट १० बजेसम्म सञ्चालन गर्न पाइने छ ।

अति आवश्यक सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइनेछ । निषेधाज्ञामा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन फोहर मैला व्यवस्थापन इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसारपसार गर्ने ढुवानीका साधनहरु सञ्चालन गर्न पाइनेछ ।

सबैखाले सार्वजनिक र निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने पनि प्रशासनले बताएको छ । यस अवधिमा पत्रकार तथा सञ्चारकर्मीहरुले समाचार संकलन लागि हिँडडुल गर्न परेमा सूचना विभाग वा कार्यरत सञ्चारगृहको परिचयपत्र अनिवार्य रुपमा लिएर हिँड्नुपर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्रिकोणात्मक सिरिज जित्ने नेपाली खेलाडीलाई सरकारले जनही ४ लाख रुपैयाँ दिने

काठमाडौं : त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि जितेको नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही ४ लाख रुपैयाँ दिने भएको छ ।

नेपाली टोलीका २३ जना खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

त्यस्तै नेपाली टिमका ३ जना प्रशिक्षकलाई जनही २ लाख रुपैयाँ दिने निर्णय भएको उनले बताए । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा नेपाल, नेदरल्याण्डस् र मलेसियाबीच त्रिकोणात्मक सिरिज भएको थियो ।

मधेशवादी दलसँग सम्बन्धीत १ सय २० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय

काठमाडौं : नेपाल सरकारले जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार वादी भएका र कानुनी हिसाबले फिर्ता लिन मिल्ने १ सय २० जनालाई लागेको १५ वटा मुद्दा फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

देशभरका विद्यालय बन्द गरेर वैकल्पिक माध्यमबाट पठनपाठन गर्ने सरकारको निर्णय

काठमाडौं : नेपाल सरकारले देशभरका विद्यालयमा वैकल्पिक माध्यमबाट पठनपाठन गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भौतिक उपस्थितिमा पठनपाठन नगराई सम्पूर्ण पठनपाठनलाई अनलाइन एवं वैकल्पिक रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

बुधबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले देशभर भौतिक उपस्थितिमा हुने पठनपाठनलाई बन्द गनुपर्ने बताउनुभयो ।

उहाँले कोरोना भाइरसको जोखिम बढेकाले विद्यालयहरू बन्द गरेर वैकल्पिक माध्यमबाट पठनपाठन गनुपर्नेमा जोड दिनुभयो ।

रोल्पामा भीषण आगलागी हुँदा ४१ घरगोठ जलेर नष्ट

रोल्पा : रोल्पाको त्रिवेणी गाउँपालिका–२ का आधा दर्जन गाउँका ४१ घरगोठ जलेर नष्ट भएका छन्। जंगलबाट सल्किएको आगोले २६ घर, १५ गोठ, पशु, चौपाया, लत्ताकपडा र अन्नपात जलेर खरानी भएका छन्।

सोमबार दिउँसो त्रिवेणी गाउँपालिका–२ चैत्रेखोलाको जंगलबाट आगलागी सुरु भएको थियो। सल्लाको घना जंगलमा सल्किएको आगो नियन्त्रणको प्रयास गाउँलेले गरे पनि असफल भएको गाउँले बताउँछन्। हावाहुरीसँगै गाउँमा समेत आगो फैलिएपछि बुधबार बिहानसम्म पिराले, कापडाँडा, भल्लीचौर, धानबाङ, बर्तिबाङ, सानो चेत्रे गाउँका घरगोठ जलेको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले बताए।

आगलागीले क्षति पुगेको सूचनापश्चात् सदरमुकाम लिबाङबाट प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको नेतृत्वमा सेनाका गणपति, प्रनाउ, सशस्त्र प्रहरीको टोली घटना स्थल पुगेको छ। जनपद, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रण प्रयास जारी राखेका छन्। घटनास्थलमा क्षतिको विस्तृत विवरण संकलन गरिरहेको प्रनाउ सुवेदीले बताए। १७ बाख्रा, ७ गाई र एकवटा बंगुर पनि जलेका छन्।

आगलागीबाट लत्ताकपडा, धनसम्पत्ति, अन्न समेत जलेकाले पीडित बारीको पाटा र खुलाचौरमा बसिरहेको छन्। ुपीडितहरु बारीका पाटामा बसिरहेको र घर खरानी बनेको हृदयविदारक अवस्था छु, घटनास्थल पुगेका रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढामगरले भने, ुराहत वितरणको काम थालेका छौं।ु जंगल र गाउँमा लागेको आगोले पिउने पानीको पाइप समेत जलेर नष्ट भएपछि पानीको समस्या देखिएको छ। विद्युत सेवासमेत अवरुद्ध भएको छ।

२ नम्बर वडा कार्यालय, नेपाल रेडक्रस सोसाइटी, गाउँपालिकाले त्रिपाल, चामल, नुन, तेल राहत स्वरुप वितरण गरेका छन्। थप राहत र क्षतिपुर्तिका लागि गाउँपालिका र लुम्बिनी प्रदेश सरकारसँग पहल भइरहेको जनाइएको छ।