अर्घाखाँचीका खड्का राष्ट्रिय सभा सदस्यबाट पदमुक्त

काठमाडौं : नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्का पदमुक्त भएमा छन्। खड्काले दल परित्याग गरेको भन्दै संसदीय दलका नेता दीनानाथ शर्माले उनको राष्ट्रिय सभा सदस्य पद रिक्त गर्न पत्र पठाएका थिए।

वैशाख १० गते सांसद खड्कालाई निष्काशन गर्न राष्ट्रिय सभा सचिवालयमा पत्र पुगेको थियो। सोहीअनुसार खड्काको पद रिक्त भएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले जारी गरेको सूचनामा उल्लेख छ।

अर्घाखाँचीका खड्का नेकपा एमाले प्रवेश गरेका छन्। यसअघि गृहमन्त्री रामबहादुर थापालाई पनि माओवादी केन्द्रले कारबाही गरेको थियो।

थापाको ठाउँमा जेठ ६ गते चुनाव हुँदैछ। राष्ट्रिय सभा सदस्य रिक्त भएको ३५ दिनभित्र अर्को चुनाव गर्नुपर्छ।

जलेर सात महिने शिशुको मत्यु

जलेश्वर : महोत्तरीको पिपरा गाउँपालिका(५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ। मृत्यु हुनेमा पिपरा गाउँपालिका-५ बस्ने श्रवण यादवको सात महिने छोरा आकाशकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।

गएराति ९ बजेको समयमा श्रवणको घरमै रहेको भुइँमा लगाइएको ओछ्यानमा बालक आकाश सुतिरहेको अवस्थामा ओछ्यान नजिकै बालेर राखिएको दीयो बालकले हातगोडा चलाउँदा लडेर ओछ्यानमा आगो सल्किन गई बालकको शरीरको दाहिने भाग जलेर गम्भीर घाइते भएका थिए।

घाइते बालकलाई उपचारका लागि गए राति नै प्रादेशिक अस्पताल जनकपुर लगिएकामा आज बिहान उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

गण्डकीका तीन सांसद र एक कर्मचारीलाई कोरोना संक्रमण

काठमाडौं : गण्डकी प्रदेशका तीन सांसद र एक कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । चालु विशेष अधिवेशनको दोस्रो दिन सत्तापक्षका सांसदले कोरोना परिक्षणको माग गर्दै सदन अवरुद्ध गरेपछि सांसद, सचिवालयका कर्मचारी, प्रहरी, मर्यादापालक गरि एक सय ५३ जनाको स्वाब संकलन गरि परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टी भएको हो ।

उनीहरुको मंगलवार स्वाब संकलन गरिएको थियो भने रिपोर्ट बुधवार आएको थियो । संक्रमण पुष्टी हुनेहरुमा सत्ता पक्ष एमालेका सांसद प्रभा कोइराला र राजीव पहारी एवं प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद मनकुमारी गुरुङ रहेकी छिन् । सांसदहरुलाई कोरोना देखिएप नि संसद बैठक भने सुचारु हुने भएको छ ।

कोरोना देखिएका सांसदहरुले बैठकमा बोल्न नपाउने तर अविश्वास प्रस्ताव छिनोफानोको लागि हुने मतदानमा भने मत हाल्न पाउने सचिव पोखरेलले जानकारी दिए ।

केन्द्रीय सदस्य र कर्मचारीमा कोरोना पुष्टि भएपछि कांग्रेस बैठक स्थगित

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। बुधबारका लागि तय भएको बैठक तयारीका क्रममा गरिएको पीसीआर परीक्षणमा केन्द्रीय कार्यसमिति सदस्य र कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि बैठक स्थगित गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

‘बैठक तयारीका क्रममा गरिएको पीसीआर परीक्षणमा केन्द्रीय कार्यसमितिका केही साथीहरु एवं केन्द्रीय कार्यालयकै कर्मचारीहरुसमेतमा कोरोना पोजेटिभ देखिएको छ।’पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘यस्तो स्थितिमा कोरोनाको तिब्र संक्रमण बढिरहेको बेला ठुलो संख्यामा उपस्थित भइ बैठक गर्नु अनुपयुक्त देखिएकाले निर्देशानुसार बैठक स्थगन गरिएको छ।’

बैठकमा मुलुकको समसामयिक राजनीति र पार्टीको १४ औँ महाधिवेशनलगायत विषयमा छलफल गर्ने तयारी थियो। कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको छ। महाधिवेशनका लागि पार्टीको गाउँ-नगर वडा अधिवेशन आगामी असार २० गते, गाउँ-नगरपालिका अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते निर्धारण गरिएको छ।

प्रधानमन्‍त्री केपी ओलीको विकल्प खोज्‍ने संस्थागत निर्णय गरेको कांग्रेस अझै पनि पर्ख र हेरको रणनीतिमा छ। कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार अपरान्ह बोलाएको पदाधिकारी बैठकले वैकल्पिक सरकार निर्माणका लागि अझै परिस्थिति अनुकुल र परिपक्क भइनसकेको निश्कर्ष निकालेको छ।

शिवराजका स्वास्थ्यकर्मी पौडेललाई कारबाही गर्न नेपाल पत्रकार महासघंको माग

कपिलवस्तु : पत्रकारलाई कुटपिटको धम्की दिएका स्वास्थ्यकर्मीलाई कार्वाही गर्न नेपाल पत्रकार महासघंले माग गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको स्वास्थ्य चौकी प्रमुख लेखनाथ पौडेलले पत्रकारलाई कुटपिट गर्ने भन्दै सामाजिक संजालमा लेखेपछी नेपाल पत्रकार महासघं लुम्बिनी प्रदेश र कपिलवस्तु शाखाको ध्यानाकर्षण भएको छ ।

नेपाल पत्रकार महासघं लुम्बिनी प्रदेशका सचिव जयसिहं केसी र नेपाल पत्रकार महासघं कपिलवस्तु शाखाका अध्यक्ष किरणमान बज्राचार्यले प्रमुख जिल्ला अधिकारी चक्रपाणी पान्डेलाई ध्यानाकर्षण पत्र बुझाउनु भएको हो । प्रजिअलाई ध्यानाकर्षण पत्र बुझाउदै पत्रकारलाई कुटपिटको धम्की दिएका स्वास्थ्यकर्मी पौडेललाई कार्वाही गर्न माग गरिएको नेपाल पत्रकार महासघं कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले बताउनु भयो ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रजिअ पान्डेले यस विषयमा प्रक्रिया आगाडी बढाउने जानकारी दिनु भयो । कोरोना कहरको बेला कपिलवस्तु शिवराजका स्वास्थ्य चौकी प्रमुखहरु भ्रमण गर्न इलाम गएपछि स्वास्थ्यसेवा प्रभावित भएको छ ।

स्वास्थ्यकर्मी पौडेलले सामाजिक संजाल फेसबुकमा ब्यक्तिगत संस्थागत राजनीतिक रुपमा चरित्र हत्या गर्ने उद्देश्यले समाचार सम्प्रेषण गर्ने पत्रुकार वा सहयोगी स्थानीय वा बह्य सबैलाई रामधुलाई गर्ने धम्की दिएका हुन । उनले लेखेका छन झोले, फिपार्ते, धुपौरेहरु समयमै सचेत हौ भनेर लेखेका छन ।

पत्रकारलाई इंकित गरि धम्किपुर्ण भाषामा सामाजिक सन्जालमा लेखिनु गलत भएको भन्दै चारैतिर विरोध भएको छ ।
भ्रमणमा शिवपुर स्वास्थ्य चौकी प्रमुख लेखनाथ पौडेल, विसनपुर स्वास्थ्य चौकी प्रमुख प्रकाश पोख्रेल, चनई स्वास्थ्य चौकी हनुमान प्रसाद कोहार , खरेन्द्रपुर स्वास्थ चौकी जित बहादुर विसि, थुन्हियाका प्रमुख राजेश कुवार, जवाभारीका बिष्णु बहादुर क्षेत्री, शिवगढिका प्रमुख बिरेन्द्र कुमार मिश्र लगायत कार्यालय छोडेर भ्रमणमा गएका छन ।

राष्ट्रियसभाको उपनिर्वाचनका लागि आयोगद्धारा १ करोड ६१ लाख माग

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रियसभाको जेठ ६ गते हुने उपनिर्वाचनका लागि १ करोड ६१ लाख ३० हजार रुपैयाँ माग गर्ने निर्णय गरेको हो । आयोगले उक्त रकम अर्थ मन्त्रालयसँग माग गर्ने निर्णय गरेको हो ।

नेकपा एकता भङ्ग भएर माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापा ‘बादल’ एमालेमा लागेपछि उनको पार्टीले पद खारेज गरेपछि उपनिर्वाचन हुन लागेको हो । राष्ट्रियसभाको निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्यहरूले मतदान गर्न पाउनेछन् ।

यस्तै आयोगले न्याय सेवा आयोगको समन्वयनमा मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठलाई प्रमुख निर्वाचन अधिकृत नियुक्त गरेको जनाएको छ ।

माओवादीको प्रस्ताव : केन्द्रदेखि वडा तहसम्मका कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य

काठमाडौं : नेकपा (माओवादी केन्द्र) ले पार्टीको विधान संशोधन प्रस्तावलाई केन्द्रीय कमिटीमा पठाएको छ। मंगलबारको स्थायी कमिटी बैठकले तत्कालीन एमाले र माओवादी केन्द्र फरक फरक दल हुने सर्वोच्चको फैसलापछि विधान संशोधन प्रक्रिया अघि बढाएको थियो। स्थायी कमिटीबाट अनुमोदन भएको विधान केन्द्रीय कमिटी पठाएको हो। केन्द्रीय कमिटीबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा पठाउने निर्णय भएको बताए।

श्रेष्ठका अनुसार अब केन्द्रीय कमिटीदेखि वडा तहसम्मका सबै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य हुनेगरि प्रस्ताव गरिएको छ। केन्द्रीय कमिटीमा उत्पीडित दलित समुदायबाट कम्तीमा १५ प्रतिनिधित्व हुनेछ। साथै, प्रदेश जिल्ला र पालिका समितिमा त्यहाँको जनसंख्यामा दुई प्रतिशत थप गरी दलित समुदायको अनिवार्य प्रतिनिधित्व गराउने व्यवस्था संशोधित विधानमा रहेको प्रवक्ता श्रेष्ठको भनाई छ।

यस्तै, पार्टीका सबै समितिमा ४० वर्षका उमेर समूहका युवाको २० प्रतिशत सहभागिता हुनेछ। पार्टीका सबै समितिका पदाधिकारी तहमा एक जना महिला अनिवार्य गरिएको छ।

कुनै पनि समितिको कार्यकारी पदमा उमेर हद र कार्यकारी सीमा राख्ने वा नराख्ने विषयमा पनि सबैसँग सुझाव माग गर्ने निर्णय बैठकले गरेको छ। हालको जिल्ला समितिलाई जिल्ला समन्वय समितिका रुपमा अघि बढाउनेबारे पनि छलफल अघि बढाउने निर्णय भएको छ। यसबारेमा सबैसँग सुझाव समेत माग गरिएको छ।

बैठकले कोभिड–१९ का विषयमा पनि छलफल गरेको छ। निजी अस्पतालसँगको समेत परामर्शमा कोभिडको डेडिकेटेड अस्पतलाको व्यवस्थ गर्न सरकारसँग माओवादीले केन्द्रले माग गरेको छ। कोरोना नियन्त्रणका लागि आवश्यक सामाग्रीको व्यवस्थापनका लागि पनि बैठकले माग गरेको छ। कोरोनाबाट दैनिकी चलाउन कठिन हुने निम्न आय भएका व्यक्तिलाई राहतको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ। कोभिडलाई जनता आतंकित बनाउने र राजनीतिक उदेश्य पूर्ति गर्नेतर्फ नलगाउन पनि माओवादीले चेतावनी दिएको छ। कोरोनासँग जुध्न सर्वदलीय राजनीतिक संयन्त्रणको प्रस्ताव पनि माओवादीले गरेको छ।

एमसीसीका विषयमा कांग्रेस र माओवादी केन्द्रबीच सहमति भएको भन्ने विषय भ्रमपूर्ण रहेको भन्दै बैठकमा खण्डन गरिएको पनि प्रवक्ता श्रेष्ठले बताए। बैठकले क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण प्रक्रियालाई अघि बढाउन व्यापक छलफलको निर्णय पनि गरेको छ। सोमबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक परिस्थिति र विकसित घटनाक्रमबारे बैठकमा जानकारी गराएका थिए।

कोरोना भयावह बन्दै : एकैदिन ४ हजार ५ सय २४ मा संक्रमण, १८ को मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप चार हजार ५ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १४ हजार ६ सय ७२ नमूनाको पिसिआर परीक्षण र १ हजार ९ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट ४ हजार ३ सय ६४ जना र एन्टिजेन विधिबाट १६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

काठमाडौं उपत्यकामा भक्तपुरमा १२४, ललितपुरमा २४० र काठमाडौंमा १६०२ जना गरी १९६६ संक्रमित थपिएका छन्।

यो कोरोनाबाट निको हुनेको दर ९०.५ प्रतिशत छ। पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१९४ पुगेको छ।

योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ७ हजार ९ सय २५ पुगेको छ। गत २४ घण्टामा ५५५ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७८ हजार ५०६ पुगेको मन्त्रालयले जनाएको छ।

पिसिआर शुल्क बढी नलिन स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकिएको पिसिआर शुल्क भन्दा बढी शुल्क लिने निजी प्रयोगशालाहरुलाई परीक्षणको सूचीबाट हटाउने चेतावनी दिएको छ।

प्रयोगशालाले बढी शुल्क लिएको भन्ने गुनासो आएको भन्दै मन्त्रालयले मंगलबार एक सूचना जारी गरी यस्तो चेतावनी दिएको हो। बढी शुल्क लिएको पाइएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत परीक्षणको सूचीबाट हटाउने मन्त्रालयको चेतावनी छ।

सरकारले सिसिआर परीक्षणको लागि सरकारी प्रयोगशालामा एक हजार र निजी प्रयोगशालामा दुई हजार शुल्क तोकेको छ।

अर्घाखाँचीमा ६० वर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु

अर्घाखाँची : जिल्ला अस्पताल अर्घाखाँचीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय अर्घाखाँचीका अनुसार मालारानी गाउँपालिका–७ का ६० वर्षिय पुरुषको मृत्यु भएको हो ।

गत चैत २७ गते भारत बाट घरमा आएका वृद्ध ९ गते बुटवलको कोरोना अस्पतालमा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

बुटवलमा बेड अभाव भएपछि घरमै आइसोलेशनमा बसेका वृद्धका स्वास्थ्यमा समस्या आएपछि मंगलबार उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको थियो ।

अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय विक ले जानकारी दिनुभयो ।

सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन वैशाख १६ गतेदेखि बन्द हुने

काठमाडौं : यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ। वैशाख १६ गतेदेखि लागु हुने गरी अनलाइन आवेदन प्रणाली बन्द गरिएको हो।

कोरोना महामारी फैलिएको भन्दै विभागले आज सूचना निकालेर अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द गरेको हो।

विभागका प्रवक्ता लोकनाथ भुसालले अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द गरिएको बताए।

परीक्षा दिन जाने क्रममा बाटोमै लडेर बालिकाको मृत्यु

सल्यान : परीक्षा दिन हिँडेकी सल्यानकी एक बालिकाको बाटोमै लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ अत्तरकाँडाकी चन्द्रकला सार्की छन्।

छत्रेश्वरी – १ स्थित भानुभक्त मावि दमाचौरमा कक्षा १० मा अध्ययनरत सार्कीको मंगलबार बिहान गणित विषयको परीक्षा दिन जाने क्रममा लडेर मृत्यु भएको हो।

जंगलको बाटो हुँदै परीक्षा दिन जाँदा सल्ली कुसुम (पिरोल)मा चिप्लिएर लडेपछि चन्द्रकलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए।

काठमाण्डौबाट घर फर्किनेको भिड बढ्यो

काठमाण्डौ : सरकारले काठमाडौ उपत्यकामा बिहीवारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेपछि उपत्यका छाडेर घर फर्किनेको भिड लागेको छ । सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले काठमाण्डौ उपत्यकामा वैशाख १६ गतेदेखि १५ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

 

मन्त्रिपरिषद् बैठक बस्नुभन्दा अघि काठमाण्डौ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सात दिनको अवधि तोकेर बिहीवारदेखि निषेधाज्ञा गर्ने घोषणा गरेको थियो । जिल्ला प्रशासन कार्यालयहरूले सात दिन निषेधाज्ञा गर्ने भने पनि सरकारले त्यो अवधि बढाएर १५ दिन पुर्‍याएको हो ।

त्यसैले मङ्गलबार बिहानैदेखि काठमाण्डौ उपत्यका छाडेर घर फर्किनेको भिड लागेको छ । खासगरी कोटेश्वर नाका र थानकोट नाकाबाट उपत्यका छाड्नेहरूको भिड बढेको छ । त्यसबाहेक बालाजुतर्फको नाका र बल्खु नाकामा समेत उपत्यका छाड्ने मानिसको भिड लागेको छ ।

केही समय अघिसम्म यात्रुविहीन गुडेका सवारीसाधनले बसभरि यात्रु लिएर उपत्यका छाडेका छन् ।

कोरोनाको ‘हटस्पट’ बन्दै रुपन्देही : ४ दिनमा करिब १ हजार जनामा संक्रमण

भैरहवा : कोरोनाको ‘हटस्पट’ बनेको रुपन्देहीमा पछिल्लो चार दिनमा मात्र ९ सय ९५ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमण नियन्त्रणका लागि सरकारी स्तरबाट कुनै ठोस कदम नचाल्दा र सर्वसाधरणको लापरवाहीका कारण संक्रमण दिनहुँ बढ्दै गएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीले उपलब्ध गराएको तथ्यांक अनुसार शुक्रबार २ सय २७ जना, शनिबार ३ सय एक, आइतबार २ सय ४ जना र सोमबार २ सय ६३ जनामा संक्रमण देखिएको छ ।

सोमबार ४ सय ७६ जनाको कोरोना संक्रमण परिक्षण गर्दा २ सय ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए । संक्रमणका कारण पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको उनको दावी छ ।

जिल्लामा गाउँ क्षेत्रभन्दा शहरी क्षेत्रमा संक्रमणको ग्राफ बढ्दो अवस्थामा छ । रुपन्देहीको शहरी क्षेत्र बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका ९भैरहवा० र तिलोत्तमा नगरपालिकामा संक्रमण बढ्दै गएको छ ।

संक्रमण नियन्त्रणका लागि स्थानीय प्रशासन र स्थानीय तहको प्रमुखहरुको आइतबार बसेको बैठकले सबै शिक्षण संस्था बन्द गर्ने र यातायातमा जोर विजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ ।यति गरेर मात्रै नभइ जिल्लामा लकडाउन गर्नुपर्ने अवस्थामा आएको सरोकारवालाहरुको भनाइ छ । जिल्लामा कुल एक हजार चार सय ७० जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीमा १५ दिन लकडाउन हुने

बुटवल : कोरोना संक्रमण उच्च भएपछि रुपन्देहीमा १५ दिन निषेधाज्ञा लगाउन सिफारिस गरिएको छ। जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख १६ गतेदेखि सिफारिश गरेको हो।

बैठकले १६ गते बिहान १ बजेदेखि वैशाख २९ गतेसम्म निषेधाज्ञा लगाउने सिफारिश गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए। यसको औपचारिक निर्णय भने बुधबार हुनेछ। उद्योगी व्यवसायी, स्थानीय तह, राजनीतिक दलहरुसँग चरणबद्ध रुपमा छलफल गरेर निष्कर्ष निकालेको उनले बताए।

निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन नदिने भएको छ। अति आवश्यक सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइने छ।

जसमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन फोहर मैला व्यवस्थापन इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसारपसार गर्ने ढुवानीका साधनहरु रहेका छन्। त्यसै गरी आवश्यक बाहेकका पसल व्यवसाय बन्द गरिने भएको छ।

ऊर्जा मन्त्री रायमाझीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं नेकपा एमालेका नेता टोपबहादुर रायमाझी लाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार टेकु अस्पतालमा गरिएको परीक्षणमा पीसीआर रिपोर्ट पोजेटिभ आएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका प्रेस सल्लाकार लिला जिसीले जानकारी दिनुभयो ।

उहाँले मन्त्रीसँग सम्पर्कमा आएका सबैलाई सजक रहन र परीक्षण गर्न पनि आग्रह गर्नुभएको छ । उहाँको अहिले वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचार भइरहेको उहाँको सचिवालयले जनाएको छ ।

सामाजिक दुरी कायम गर्दै कपिलवस्तु उद्योग बाणिज्य सघंको तर्जुमा गोष्ठी सुरु


वैखरी अनलाइन
सामाजिक दुरी कायम गर्दै कपिलवस्तु उद्योग बाणिज्य सघंको तर्जुमा गोष्ठी सुरु भएको छ । बाणगंगाको चार नः जितपुरमा रहेको आफनै भवनमा आजबाट योजना तर्जुमा गोष्ठी सुरु भएको हो ।

आगामी ३ बर्षका लागी सघंलाई मार्गदर्शन गर्न तर्जुमा गोष्ठी गरिएको कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले बताए । साथै घिमिरेले कोभिड १९ को नियन्त्रणका लागी पनि लगत्तै निरन्तर बिभिन्न क्षेत्रमा काम गर्ने बताए ।
गोष्ठीको सहजीकरण कपिलवस्तु उद्योग बाणिज्य सघंका कानुनी सल्लाहकार गुणनिधि भुसालले गरेका छन । गोष्ठी भोलीसम्म सञ्चालन हुने छ ।
यसैबिच आज बिभिन्न पदमा निर्वाचित तथा मनोनित भएका र शपथ नलिएकालाई अध्यक्ष डोलकराम घिमिरेले शपथ खुवाएको कपिलवस्तु उद्योग बाणिज्य सघंका महासचिव मनोज पौडेलले जानकारी दिए । गोष्ठीले सघंलाई नयाँ उचाइँ दिन महत्वपुर्ण भुमिका खेल्ने बिश्वास रहेको महासचिव पौडेलले वैखरी अनलाइनलाई बताए ।

बाँकेमा एकैदिन ५ कोरोना संक्रमितको मृत्यु

काठमाडौं : बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट सोमबार एकैदिन ५ जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका चार जना र एक जना बर्दियाका कोरोना संक्रमितको मृत्यु भएको हो ।

नेपालगञ्जस्थित मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना, भेरी अस्पतालमा एकजना, नेपालगञ्ज नर्सिङहोम प्रि-आइसोलेसन एकजना र होम आइसोलेसनमा बसेका एक जना गरी ५ जनाको मृत्यु भएको उनले बताए ।

शिक्षण अस्पतालमा कोहलपुर-५ बाँकेकी ४५ वर्षीय महिला र कोहलपुर-२ की ५० वर्षीय महिलाको मृत्यु भएको उनले बताए । ४५ वर्षीया महिलाको उपचारको क्रममा सोमबार बिहान ७ बजे मृत्यु भएको हो । उनीमा शनिबार संक्रमण पुष्टि भएकोमा त्यसको भोलिपल्ट अस्पताल भर्ना भएकी थिइन् ।

कोहलपुर(२ कि ५० वर्षीया महिलाको उपचारको क्रममा सोमबार ४ बजे मृत्यु भएको ओलीले बताए । आइतबार गरिएको पीसीआर परीक्षणमा उनीमा संक्रमण पुष्टि भएकोमा सोही दिन अस्पताल भर्ना भएकी थिइन् ।

यसैगरी भेरी अस्पतालमा उपचाररत बर्दियाको बढैयाताल-८ का ४३ वर्षीय पुरुषको सोमबार दिउँसो १२ बजे मृत्यु भएको ओलीले बताए । नेपालगञ्ज मेडिकल कलेजमा आइतबार गरिएको पीसीआर परीक्षणमा उनीमा संक्रमण पुष्टि भएकोमा थप उपचारका लागि भेरी अस्पताल पुर्‍याउने बित्तिकै उनको मृत्यु भएको ओलीले बताए ।

नेपालगञ्ज नर्सिङहोम प्रि आइसोलेसनमा नेपालगञ्ज-४ कि ५५ वर्षीया महिलाको सोमबार दिउँसो २स्३५ बजे मृत्यु भएको ओलीले बताए । उनीमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी बाँकेको खजुरा-२ स्थित होम आइसोलेसनमा बसेका ८८ वर्षीय पुरुषको सोमबार दिउँसो ४ बजे मृत्यु भएको उनले बताए । वैशाख ४ गते गरिएको परीक्षणमा त्यसको भोलिपल्ट उनीमा संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिए पनि उनको आफन्तले उनलाई होमआइसोलेसनमा राख्ने गरी अस्पतालको अनुमतिमा वैशाख १२ गते घर लगेका ओलीले जानकारी दिए ।

रुपन्देहीमा होस्टेलकी छात्राको मृत्यु : परिवारलाई विद्यालयले १० लाख क्षतिपूर्ति दिने

रुपन्देही : रुपन्देहीको तिलोत्तमा–१ नयाँ मिलमा रहेको प्यारामन्ट बोर्डिङ हाई स्कूलको होस्टलमा गत शनिबार ज्यान गुमाएकी छात्राको परिवारलाई विद्यालयले १० लाख क्षतिपूर्ति दिने भएको छ । ज्यान गुमाउने १५ वर्षीया प्रतिभा सापकोटा गुल्मीको चन्द्रकोट गाउँपालिका–८ साबिक तुराङ्ग गाबिसको धुर्मु घर भएकी कक्षा १० मा अध्ययनरत थिइन् ।

बोर्डिङका सह–प्रिन्सिपललिलाधर किरातेका अनुसार विद्यालयमा परीक्षा सञ्चालन भइरहेकाले सापकोटा होस्टेलमा नै थिइन् । उनको छाती दुख्ने समस्या भएपछि उनको दाजुलाई लिन बोलाएर घर पठाइएको तर उपचारका क्रममा मणिग्रामको क्रिमशन अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको थियो ।

क्रिमशन अस्पतालले सापकोटाको बाटोमा नै मृत्यु भएको बताएको थियो ।

दाङमा झाडापखालाबाट एकै परिवारका दुई बालिकाको मृत्यु

दाङ : दाङको राजपुर गाउँपालिका–६ मा झाडापखालाबाट एकै परिवारका दुई बालिकाको मृत्यु भएको छ । प्रेम बुढाकी छोरीहरू १३ वर्षीय विनिता बुढा र ११ वर्षीय रिता बुढाको झाडापखालाका कारण मृत्यु भएको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिए ।

उनीहरुले शनिबार दिउँसो स्थानीय खोलामा माछा मारेर ल्याएका थिए । साँझ माछा पकाएर खाएका उनीहरुलाई रातिदेखि झाडापखाला लागेको थियो । आइतबार उपचारकै क्रममा उनीहरुको मृत्यु भएको बताइएको छ ।

प्रहरी प्रमुख चन्दका अनुसार उनीहरुको शव परीक्षणका लागि लमही अस्पतालमा पठाइएको छ ।

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

गुल्मी : गुल्मीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इस्मा गाउँपालिका–२ ताल्तुङ्गमा बिजुलीको काम गर्ने क्रममा १८ वर्षीय प्रकाश मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

बिजुलीको पोलमा चढेर काम गरिरहेको अवस्थामा करेन्ट लागेर घाइते भएका मुखियाको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौंमा १६ वैशाखदेखि एक हप्ता अत्यावश्यकबाहेक सबै सेवा बन्द

काठमाडौं : काठमाडौं उपत्यकामा आगामी १६ वैशाखदेखि एक हप्ता अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले सोमबार साँझ एकै प्रकृतिको छुट्टाछुट्टै आदेश जारी गरी १६ वैशाखको बिहान ६ बजेदेखि २२ वैशाखको राति १२ बजेसम्म अत्यावश्यकबाहेक सेवा बन्द गरिएको जानकारी दिएका हुन् ।

कांग्रेस बैठक वैशाख १५ गते

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १५ गते दिउँसो २ बजे बस्ने भएको छ । वैशाख १३ गते बस्ने भनिएको बैठक पिसिआर परीक्षणका कारण स्थगित भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा पार्टीको १४औँ महाधिवेशनको तयारी र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने कार्यतालिका निर्धारण गरेको छ ।

एउटै बेडमा तीन संक्रमितको उपचार

वीरगन्ज : कोरोना संक्रमणको हटस्पट बनेको वीरगन्जमा संक्रमितको उपचारका लागि अस्पतालमा बेड र अक्सिजन दुवैको अभाव हुन थालेको छ। बेड र अक्सिजनको अभाव हुँदा संक्रमितको उपचार नै प्रभावित भएको उपचारमा संलग्न चिकित्सकले गुनासो गरेका छन्।

वीरगन्जस्थित नारायणी अस्पतालमा सोमबार बिहान बेडको अभाव हुँदा एउटै बेडमा ३ जनासम्म संक्रमितलाई राखेर उपचार गर्नुपरेको अस्पतालका चिकित्सक डाक्टर नीरज सिंह बताए। सोमबार सामाजिक सञ्जाल फेसबुक पेजमा अस्पतालमा उपचार गराइरहेका संक्रमितहरुको तस्बिर राख्दै उनले लेखेका छन्,‘यो तस्बिर भारत दिल्लीको होइन, वीरगन्जकै नारायणी अस्पतालको आकस्मिक विभागको हो, एउटै बेडमा २र३ जना संक्रमितलाई राखेर उपचार गरिरहेका छौँ।’

नारायणी अस्पतालमा कोरोना संक्रमितका लागि छुट्याइएको आइसोलन वार्ड सोमबार बिहान संक्रमितले भरिएपछि आकस्मिक उपचार कक्षमै आइशोलेसन वार्ड बनाएर अन्य रोगका बिरामीसँगै कोरोनाका संक्रमितलाई पनि राखेर उपचार गरिएको छ। त्यसमा पनि बेड अभाव हुँदा एउटै बेडमा तीन जनासम्म संक्रमितलाई राखेर उपचार गर्नुपरेको डाक्टर सिंहले जानकारी दिए।

अस्पतालमा संक्रमितका उपचारका लागि सञ्चालन गरिएको ३७ बेडको आइसोलेसन वार्ड भरिभराउ भएपछि थप आएका संक्रमितलाई आकस्मिक कक्षको अब्जरबेशन वार्डमा अन्य रोगका बिरामीसँगै राख्नु परेको उनको भनाई छ।

अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासका अनुसार सोमबार अपरान्हसम्म अस्पतालमा ५४ संक्रमित उपचाररत छन्। ती सबैको अवस्था जटिल रहेकाले सबैलाई अक्सिजन लगाएर राखिएको कोभिड कोर्डिनेटर डाक्टर दासले बताए।

सोमबार बिहान बेड अभाव हुँदा इमरजेन्सीको अब्जरबेसन वार्डमै आइशोलेसन वार्ड बनाएर कोरोनाका संक्रमितलाई राखेर उपचार गर्नुपरेको डाक्टर दासले जानकारी दिए। सोमबार साँझ थप ४८ बेडको आइसोलेसन वार्ड बनाएर संक्रमितहरुलाई नयाँ वार्डमा सारिने उनी बताउँछन्।

नेपाल समूहको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

काठमाडौं : सर्वोच्च अदालतले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का माधव नेपाललगायत नेताहरूले आफूमाथि हुन लागेको कारबाही रोकी पाऊँ भन्दै दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

एमाले नेता माधवकुमार नेपाललगायत नेताहरूले सर्वोच्चमा हालेको रिटमा सोमबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाश ढुंगानाको इजलासले स्पष्टीकरणमात्र सोधेको कारबाही भइनसकेको अहिलेको अवस्थामा माग अनुसारको अन्तरिम आदेश दिन नपर्ने भनेको हो।

‘हालको प्रारम्भिक अवस्थामा पार्टीको आन्तरिक कार्य व्यवस्थाको शिलशिलामा स्पष्टीकरण सोधिएकै भरमा मात्र माग गरेबमोजिमको अन्तरिम आदेश जारी गर्नुपर्ने देखिएन’, उक्त इजलासको आदेशमा भनिएको छ।

यसैगरी उनीहरूलाई किन स्पष्टीकरण सोधिएको हो उनीहरूले मागरेअनुसारको अन्तरिम आदेश किन नदिनेलगायत प्रश्नको जवाफ १५ दिनभित्र दिन विपक्षीहरूलाई आदेश दिएको छ।

माधव नेपाललगायतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतलाई विपक्षी बनाएर रिट हालेका थिए।

नेपाललगायत नेताहरूले आफूहरूलाई संसदीय दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेर सांसदबाट हटाउन लागेकाले त्यसरी नहटाउन अन्तरिम आदेश माग गरेका थिए।

सर्वोच्चले यो कुरा अन्तिम सुनुवाइका क्रममा पनि सम्बोधन हुनसक्ने बताएको छ।

कोरोना खोप ल्याउन सरकारले कुटनीतिक पहल गरोस्- देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाविरूद्ध आवश्यक मात्रामा खोप ल्याउन सरकारले कुटनीतिक पहल गर्नुपर्ने बताएका छन्। सोमबार विज्ञप्ति जारी गरेर देउवाले यसअघि खोप उपलब्ध गराएका भारत र चीनलाई धन्यवादसमेत दिएका छन्।

थप खोप ल्याउनेबारे सरकारले ठोस योजनासहित कुटनीतिक पहल गर्नुपर्ने देउवाको भनाइ छ। उनले कोरोना संक्रमित संख्या वृद्धि भइरहेकोले देशको स्वास्थ्य संरचनाले धान्न नसक्ने अवस्था आउन सक्ने पनि बताएका छन्।

आइसियू र भेन्टिलेटरको संख्या थप गर्न उनले सरकारसँग मागसमेत गरेका छन्। साथै कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीको मनोवल उच्च बनाइराख्न पनि देउवाले सरकारको ध्यानाकर्षण गराएका छन्।

थप संक्रमण फैलन नदिन सरकारले हरसम्भव उपाय लगाउनुपर्ने देउवाको भनाइ छ।

बाणगंगाको मधौलिया सामुदायिक वनमा आगलागी


हरि घिमिरे, बैशाख १३
कपिलवस्तुको बााणगंगा नगरपालिका वडा न. ५मा पर्ने मधौलिया सामुदायिक वनमा आगालागी भएको छ । बाणगंगा नगरपालिकाले जम्मा गरेको बन छेउको फोहोरमा आगो लगाउदाँ त्यहाँको आगो हावाका कारण वनमा फैलिएको हो । बाणगंगा नगरपालिका समयमा सचेत हुन नसक्नु को कारण के हो ? प्रश्न गर्दै मधैलिया सामुदायिक वनका अध्यक्ष खडानन्द गौतमले भन्नु भयो “समुदायक वन तथा रजमार्ग छेउमा फोहोर डम्पिङ्ग साईडले नगर पालिकाको इजत्तमा दाग लागेको छ” । नगरपालिका भित्र बाट निस्केको फोहोरले प्रदुषण बढाउनुको साथै बर्षेनि आगलागीको समस्या विकराल भएको उहाँको भनाई छ ।

नगरपालिका भित्रका घरपालुवा जनावरहरु चर्न जादाँ फोहोर खाने र जनावर हरुमा रोग लागेर मर्ने समस्या उत्तिको रहेकोले यसको व्यवस्थापनमा ढिलाई गर्न नहुने बताउनु भयो । नगरपालिकालाई मधौलिया समुदायिक वनले पटक पटक फोहोर व्यवस्थापन गर्न पत्राचार गर्दा पनि नगरपालिकाले अटेरि गरेकोले सामुदायिक वनमा डढेलो लागेर क्षति भएको वनका उपाध्यक्ष तुल्सी प्रसाद अर्यालले हर्ट विट एफ.एम.लाई जानकारी दिनुभयो । आगलागीले करिब चार बिघाह क्षेत्रफल नर्सरीमा रहेका धेरै बोट विरुवाहरु जलेर नष्ट भएको उहाँले बताउनु भयो ।

उपभोत्ता समितिका उपाध्यक्ष तुल्सी प्रसाद अर्यालको नेतृत्वमा वनका पदाधिकारी, ईलाका प्रहरी कार्यलय पिपराका प्रहरी तथा बाणगंगा नगरपालिकाको दमकलको सहयताले आगो नियन्त्रणमा लिएको हो । समयमै आगलागी नियन्त्रण गर्दा ठुलो क्षति हुनबाट जोगिएको बताइएको छ । बाणगंगा नगरपालिका लाई बाणगंगा वडा न.८ पुलचोक, बोडगाँउ, वडा न. ५को मधैलिया सामुदायिक वन लगाएत पुर्व पश्चिम राजमार्गमा हिड्ने सवैले फोहोर व्यवस्थापन गर्न लामो समयदेखि सुझाव दिदै आएका छन् ।

बाणगंगामा नेतृत्व विकास तथा संस्थागत व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

कपिलबस्तु : महिलाहरुका लागि नेतृत्व बिकास तथा सस्थागत ब्यबस्थापन समिती सम्बन्धी एक दिवसीय तालिम सम्पन्न भएको छ । सिद्धार्थ सामाजिक बिकास केन्द्रको सहयोग तथा सिद्धिपुर सामाजिक बिकास महिला संस्था कपिलबस्तुको आयोजनामा सिद्धार्थ सामाजिक बिकास केन्द्रको सभाहलमा सो तालिम सम्पन्न भएको हो ।

तालिममा सहभागि महिलाहरुलाई नेतृत्व बिकासका आयामहरुको बारेमा जानकारी दिने , संस्थागत बिकासका प्रकृया , गर्न पर्ने मुख्य कार्यहरुको बारेमा जानकारी दिनु हो । यस्तैगरि संस्था बिकासको लागि आबश्यक रणनिती तथा कार्ययोजना निर्माण गर्ने तालिमको मुख्य उद्देश्य रहेको आयोजक संस्थाले जानकारी दिएको छ ।

सिद्धिपुर सामाजिक बिकास महिला संस्थाका अध्यक्ष सिता देबी न्यौपानेले महिलाहरुलाई सक्षम बनाउनका लागि संस्था खोलिएको बताईन् । उनले महिलाहरुको क्षमता अभिबृद्धि गर्ने , नेतृत्व बिकास गर्ने खालका तालिमहरु संचालन गर्ने र महिला हिंसा बिरुद्धका कार्यक्रमहरु संचालन गर्ने संस्थाको लक्ष रहेको जानकारी दिईन् ।

तालिमका प्रमुख अतिथी एबं सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुर्य कुमारी शाहीले तालिममा सिकेका कुराहरुलाई ब्यबहारमा ल्याउनकालागि महिलाहरु सक्रिय भएर लाग्न आबश्यक देखिएको बताईन् । संस्थालाई अगाडी बढाउनकालागि संस्थाका पदाधिकारीहरु सल्लाह सुझाव सहित एकजुट भएर लाग्नु पर्नेमा जोड दिंदै सिद्धिपुर सामाजिक बिकास महिला संस्थाले राम्रो कार्य गर्दै जावस भन्ने शुभकामना दिंदै आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाईन् ।

यस्तै सिद्धार्थ सामाजिक बिकास केन्द्रका कार्य समिती सदस्य चेतना अधिकारीले सहभागि महिलाहरुले तालिममा सिकेका कुराहरुलाई ब्यबहारमा ल्याउन सके महिलाहरुको क्षमता बृद्धि हुने बताईन् । उनले समग्र महिला दिदी बहिनीहरुको शसक्ती करणको साथ साथै नेतृत्व बिकास हुनु भनेको स्थानिय तहभित्रका सामाजिक संरचनाको जग भएको बताईन् ।

आयोजक संस्थाका आजिवन सदस्य एबं तालिमका सहभागि अम्रिता पौडेलले तालिममा सिकेका कुराहरुलाई ब्यबहारमा ल्याउने प्रतिबद्धता जनाउदै सहयोगी संस्था सिद्धार्थ सामाजिक बिकास केन्द्रलाई धन्यबाद दिईन् ।
तालिममा सहभागि बाणगंगा नगरपालिका वडा नं. १ , २, ४  र  वडा नं. ५ का २५ जना महिलाहरुलाई सिद्धार्थ सामाजिक बिकास केन्द्रका कार्यक्रम प्रबन्धक प्रकाश घिमिरेले संस्था के हो किन आबश्यक छ, सस्थाले गर्नुपर्ने मुख्य भूमिका के हो , प्रभावकारी संस्थाका सुचकहरु र संस्थागत ब्यबस्थापनका बिषयमा सहजी करण गरेका थिए । यस्तै नेतृत्व बिकास र त्यसका प्रकृयाहरु तथा महिला शसक्तिकरणका चरण र सुचकहरु तथा आगामी दिनको योजनाहरु लगाएतको बिषयमा जानकारी गराएका थिए ।

तालिम सिद्धिपुर सामाजिक बिकास महिला संस्थाका अध्यक्ष सिता देबी न्यौपानेको अध्यक्षता तथा संस्थाका उपाध्यक्ष गिता ज्ञवाली पोख्रेलको संचालनमा तालिम सम्पन्न भएको थियो । सो तालिममा संस्थाका पदाधिकारीहरु , एकल महिला समुहका जिल्ला अध्यक्ष रुपादेबी राई , महिला अधिकारकर्मी रुपा पालुङे मगर , संचारकर्मी लगाएतको सहभागिता रहेको थियो ।

सरकारी बजेटको दुरुपयोग, शिवराजमा अक्सीजनको व्यवस्था छैन ।

 

वैखरी, चार नम्बर

कपिलवस्तु शिवराज नगरपालिका भित्र रहेका ९ स्वास्थ्य चौकी प्रमुखहरूद्धारा सरकारी बजेटको दुरुपयोग भएको छ । कोरोना कहरका वेला शिवराज नगरपालिकाले बिरामि हरुलाई अक्सीजनको व्यवस्था गर्नुको साटो स्वस्थ्य प्रमुखहरुलाई भ्रमणमा पठाएको छ । यसले शिवराज नगरपालिका भित्र रहेका ९ स्वास्थ्य चौकी हरुमा स्वास्थ्यसेवा प्रभावित भएको हो। कोरोनाको संक्रमण बढेको अवस्थामा स्वास्थ्यकर्मी भ्रमणमा जादा सेवाग्राहीलाई समेत असर गरेको छ । कोभिड संक्रमित बढीरहेको अवस्थामा स्वास्थ्यचौकी प्रमुख भ्रमणमा जानू नागरिक प्रती उत्तरदायी नभएको नगरबासीले बताउछन । शिवराज नगरपालिकाको २ लाखको लागतमा अन्तर प्रदेश अध्ययन अवलोकन शिर्षकमा स्वास्थ्यकर्मीहरु भ्रमण गएको नगरपालिकाले जनाएको छ । भ्रमणमा शिवपुर स्वास्थ्य चौकी प्रमुख लेखनाथ पौडेल, विसनपुर स्वास्थ्य चौकी प्रमुख प्रकाश पोख्रेल, चनई स्वास्थ्य चौकी हनुमान प्रसाद कोहार , खरेन्द्रपुर स्वास्थ चौकी जित बहादुर विसि, थुन्हियाका प्रमुख राजेश कुवार, जवाभारीका बिष्णु बहादुर क्षेत्री, शिवगढिका प्रमुख बिरेन्द्र कुमार मिश्र लगायत कार्यालय छोडेर भ्रमणमा गएको खुल्न आएको छ ।
सेवाग्राहीलाई स्वास्थ्य चौकी गएपछि फर्किने गरेका छन । केहि सुबिधा चौकिमा रहेका अन्य स्वास्थ्यकर्मीले उपचार गर्दै आएको नगरपालिकाले जनाएको छ ।
शिवराज नगरपालिकामा अहिले ३० जना कोरोना संक्रमित रहेका छन । ती मध्ये एक जना स्वास्थ्यकर्मीको अवस्था जटिल रहेको स्वास्थ्य शाखा प्रमुख चुडामाणी भट्टराईले जानकारी दिनु भयो । नगरमा अक्सिजनको थप ब्यस्थापन भैरहेको प्रमुख भट्टराईले बताउनु भयो । संक्रमण बढदै गएकोले स्वास्थका मापदण्ड आपनाउनु पर्ने स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताउनु भयो । मास्कको प्रयोग गर्न र सामाजिक दुरी कायम गरि दैनिक कार्य संचालन गर्न भट्टराईले अनुरोध गर्नु भयो

कोरोना कहरका बेला शिवराजका स्वास्थ्य चौकी प्रमुखहरु भ्रमणमा, स्वास्थ्य सेवा प्रभावित

कपिलवस्तु, बैशाख १३
कपिलवस्तु शिवराज नगरपालिका भित्र रहेका ९ स्वास्थ्य चौकी प्रमुखहरूलाई भ्रमण गएपछि स्वास्थ्यसेवा प्रभावित भएको छ । कोरोनाको संक्रमण बढेको अवस्थामा स्वास्थ्यकर्मी भ्रमणमा जादा सेवाग्राहीलाई समेत असर गरेको छ । कोभिड संक्रमित बढीरहेको अवस्थामा स्वास्थ्यचौकी प्रमुख भ्रमणमा जानू नागरिक प्रती उत्तरदायी नभएको नगरबासीले बताउछन । शिवराज नगरपालिकाको २ लाखको लागतमा अन्तर प्रदेश अध्ययन अवलोकन शिर्षकमा स्वास्थ्यकर्मीहरु भ्रमण गएको नगरपालिकाले जनाएको छ । भ्रमणमा शिवपुर स्वास्थ्य चौकी प्रमुख लेखनाथ पौडेल, विसनपुर स्वास्थ्य चौकी प्रमुख प्रकाश पोख्रेल, चनई स्वास्थ्य चौकी हनुमान प्रसाद कोहार , खरेन्द्रपुर स्वास्थ चौकी जित बहादुर विसि, थुन्हियाका प्रमुख राजेश कुवार, जवाभारीका बिष्णु बहादुर क्षेत्री, शिवगढिका प्रमुख बिरेन्द्र कुमार मिश्र लगायत कार्यालय छोडेर भ्रमणमा गएको खुल्न आएको छ ।
सेवाग्राहीलाई स्वास्थ्य चौकी गएपछि फर्किने गरेका छन । केहि सुबिधा चौकिमा रहेका अन्य स्वास्थ्यकर्मीले उपचार गर्दै आएको नगरपालिकाले जनाएको छ ।
शिवराज नगरपालिकामा अहिले ३० जना कोरोना संक्रमित रहेका छन । ती मध्ये एक जना स्वास्थ्यकर्मीको अवस्था जटिल रहेको स्वास्थ्य शाखा प्रमुख चुडामाणी भट्टराईले जानकारी दिनु भयो । नगरमा अक्सिजनको थप ब्यस्थापन भैरहेको प्रमुख भट्टराईले बताउनु भयो । संक्रमण बढदै गएकोले स्वास्थका मापदण्ड आपनाउनु पर्ने स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताउनु भयो । मास्कको प्रयोग गर्न र सामाजिक दुरी कायम गरि दैनिक कार्य संचालन गर्न भट्टराईले अनुरोध गर्नु भयो ।