भारतीय ओभरलोड गाडीमा कडाई

ओभर लोड लिएर नेपाल भित्रिएका भारतीय गाडीलाई ट्राफिक प्रहरीले कडाई गरेको छ । गत केही दिनबाट ओभर लोड लिएर नेपाल आउने भारतीय गाडीलाई ट्राफिक प्रहरीले बढि लोड भएको क्लीकंर पल्टी गराउन सुरु  गरेको हो ।  कृष्णनगर नाकाबाट मात्र दैनिक करिव ४ सय बढि भारतीय गाडी नेपाल भित्रने गरेका छन । जरिमाना काट्दै ‘ओभरलोड’ छाड्दै आएको कपिलवस्तु ट्राफिक प्रहरीले केही दिनबाट क्षमताभन्दा बढी बोक्ने ट्रकको सामान खन्याई अर्को ट्रकमा लानुपर्ने प्रावधान सुरु गरेको हो । क्षमताभन्दा बढी भार लिएर आउने भारतीय मालवाहक ट्रकलाई सीमामै रोकेर बढी भएका मालसामान अर्को गाडीमा पठाउन थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । ट्राफिक प्रहरी कार्यालय गोरुसिङ्गे अगाडीनै उतm ओभर लोड खन्याइएको छ । यद्यपि अव्यावहारिक हुने भन्दै ठूला मेसिनरी सामान र करिडोरका औद्योगिक कच्चा पदार्थ लिएर आउने ट्रकलाई भने छाडिएको छ । करिव ५ दिन खडा गरी ती गाडीहरुलाई पल्टी गरी छाडीएको हो । यसअघि भैरहवास्थित बेलहिया नाका हुँदै नेपाल भित्रने भारतीय गाडीको अत्याधिक भार नियन्त्रण गर्न ट्राफिक प्रहरी, भन्सार एजेन्ट संघ र ट्रक समितिबीच पनि सहमती भएको थियो । सडक डिभिजनले निर्धारण गरेको बाटोको बनावट र क्षमताअनुसार ६ चक्के ट्रकले १० टन, १० चक्के ट्रकले १७ टन, १२ चक्के ट्रकले २१ टन र १४ चक्के ट्रकले २५ टनसम्म सामान लिएर हिँडे मात्र नेपालका बाटोले भार थेग्न सक्छ । तर कपिलवस्तुको कृष्णनगर नाका हुँदै नेपाल भित्रने मार्वल, क्लिकंर, फलामलगायतका समान बोकेर आउने भारतीय ट्रकले अत्याधिक भार लिएर आउने गरेका छन् । भार बढी भएका ट्रकलाई भन्सार बिन्दुबाटै नेपाल प्रवेश गर्न नदिने र अर्को गाडीमा भार खन्याएर मात्र लैजाने व्यवस्था ऐनमा भए पनि त्यसको कार्यान्वयन नहुँदा नेपालका सडक तथा पुल मर्मत समय नहुँदै भत्कने र सवारी दुर्घटना बढ्ने गरेका छन् ।

बाणगंगा यातायात ब्यवसायी समितिका अध्यक्ष बिष्णु प्रसाद न्यौपानेले ट्राफिक प्रहरीले चालेको पछिल्लो कदमले निरन्तरता पाए ‘ओभरलोड’ नियन्त्रण हुने र यसबाट नेपालका सडक तथा पुलमा परेको क्षति तथा दुर्घटनासमेत कम हुने बताएका छन । भारतीय ट्रकको ‘ओभरलोड’ नियन्त्रण गर्दा सडक, पुलमा क्षति नपुग्ने, दुर्घटनाको सम्भावना कम हुन्छ । सीमाबाट क्षमताभन्दा बढीको सामान ‘पोल्टी’ गराउँदा नेपाली ट्रक व्यावसायीलाई प्रत्यक्ष फाइदा पुग्छ । तर अहिले ‘ओभरलोड’ बोकेर आएका भारतीय ट्रकले ‘पल्टी’ गराउँदा पनि भारतीय गाडीमै गराउँदै आएका छन् । भारतबाट ओभर लोड लिएर नेपाल भित्रने गाडीलाई कडाई गरेसगै नेपाली ट्रक ब्यवसायी खुशी भएका छन । भारतीय गाडीले ओभर लोड बोकी रहदा नेपाली ट्रकले मालसामान नपाएर खढा हुनु पर्ने अवस्था रहेकोमा अव बिस्तारै यो कडाई फाइदा हुने बाणगंगा यातायात ब्यवसायी समितिका महासचिव लक्ष्मण भुसालले बताए ।

अनौठो बजार जहाँ मुसाको मासु बिक्री हुन्छ : प्रतिकिलो २ सय

भारतको उत्तर–पूर्वी क्षेत्रमा पछिल्लो समयमा एउटा नयाँ परिकार निकै लोकप्रिय बनिरहेको छ । यस्तो परिकार जुन भोजन गर्नका लागि सायद धेरैजना तयार नहोलान् ।

भारतको असमस्थित बक्सा जिल्लामा रहेको कुमारिकता गाउँमा मानिसहरु खेतीपाती गरेर जीविका चलाउँदछन् । आफ्नो खेतीबाली रातमा मुसाले खाएर सखाप पार्ने भएपछि किसानहरु हैरान भए । त्यसपछि किसानहरुले नयाँ उपाय निकाले । अनि रातमा समयमा मुसाको सिकार गर्ने फैसला गरे ।

त्यसरी समाइएका मुसाको मासुलाई उनीहरुले बजारमा बेच्न लैजान थाले । त्यहाँ हरेक आइतबार एउटा हाटबजार लाग्छ, जहाँ मुसाको मासु बेचिन्छ । पछिल्लो समयमा मुसाको मासुको माग बढिरहेको छ । मुसाको मासु किन्नका लागि ग्राहकहरु निकै लालायित हुने गर्दछन् । स्थानीय मानिसहरुका लागि मुसाको मासु एउटा पारम्परिक भोजन बन्न थालेको छ ।

स्थानीय हाटबजारमा मुसाको मासु प्रतिकिलो २ सय भारु सम्ममा बिक्ने गरेको छ । किसानहरुले रातमा १० देखि २० किलोसम्म मुसा समाउने गरेका छन् र त्यसरी समाएको मुसाको मासु बेचेर जीविका चलाउन थालेका छन् ।

कांग्रेसले सरकारविरोधी र पार्टी अभियान एकसाथ चलाउने

काठमाडौँ / कांग्रेसले एकसाथ सरकारविरोधी र पार्टी अभियान सञ्चालन गर्ने भएको छ । माघ लागेपछि सदस्यता वितरण, प्रशिक्षणसहित सरकारविरोधी अभियान सुरु गर्ने कांग्रेसको तयारी छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले आन्तरिक रूपमा कार्यतालिका बनाएर माघमा पार्टीले अभियान सुरु गर्ने जानकारी दिए । साथै, सुरुको अभियानमा पार्टीका संरचनालाई व्यवस्थित गर्नेदेखि सरकार संस्थागत रूपमा भ्रष्टाचारमा लागेको भन्दै यसविरुद्ध नागरिक तहमा जाने तयारी पनि कांग्रेसको छ ।

‘हामीले महासमिति बैठकबाट समसामयिक प्रस्ताव पारित गर्दै सरकार संस्थागत भ्रष्टाचारमा लागेकोसहितका १५ बुँदा पास गरेका छौँ । अब संसद् र पार्टी संरचनामा सरकारका यी गलत काम र कमजोरीविरुद्ध प्रभावशाली ढंगले आवाज उठाउँछौँ,’ महतले नयाँ पत्रिकासँग भने, ‘यो अभियानसँगै पार्टी संरचनाका काम पनि अब माघ लागेपछि अघि बढ्छन् ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

नेपाल प्रहरीको हाइटी मिसन बन्द हुँदै

काठमाडौँ । नेपाल प्रहरीको हाइटीस्थित राष्ट्रसंघीय शान्ति मिसन आगामी अप्रिलदेखि बन्द हुने भएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

हाल हाइटीमा खटिएको फम्र्ड पुलिस युनिट (एफपियू) को टोली नै अन्तिम हुने जानकारी राष्ट्रसंघले नेपाल प्रहरीलाई गराएको छ ।

प्रहरीले बन्दोबस्तीका सामान फिर्ताको लागि तयारीसमेत थालिसकेको छ । साथै हाइटी मिसनका लागि अघि बढाइएको नाम छनोट प्रक्रियासमेत रोकिएको छ ।

विप्लव माओवादीको अदालती फैसला : जग्गा फिर्ता नगरे ‘सफाया’ गरिने

काभ्रे । अर्धभूमिगत रुपमा गतिविधि संचालन गर्दै आएको नेकपा माओवादी (विप्लब माओवादी)को ताम्सालिङ्ग जनपरिषद्ले जग्गा फिर्ता गर्न १५ दिने म्याद जारी गरेको छ ।

जिल्लाको रोशी गाउँपालिका– ८ नार्के निवासी तर्कबहादुर तामाङको नाममा रहेको २१ रोपनी ८ आना १ पैसा ३ दाम बराबरको जग्गा दृष्टिबन्धक राखिएको भन्दै झुक्याएर रोशी गाउँपालिका – ९ मंगलटारका बहादुर सिं तामाङको श्रीमती सानुमाया तामाङको नाममा राजिनामा पास नै गरेको भन्दै फिर्ता गर्न १५ दिने म्याद जारी गरेको जिल्ला इन्चार्ज शरद रसाईलीले बताए ।

जिल्ला अदालत काभ्रेमा मुद्दा दर्ता भई अदालतलाई समेत प्रभावित पारी गलत फैसला गराईएको भन्दै माओवादीले ध्यानाकर्षण भएको बताएको छ । अदालतको गलत फैसला बदर नभए शशक्त प्रतिरोध तथा भाैतिक कारबाही गर्ने चेतावनी दिएको छ ।

कित्ता नम्वर २२९० को ०–१५–०–० र कित्ता नम्वर ७५९ को ६–८–१–३ को जग्गा बहादुर सिं तामाङको श्रीमती सानुमाया तामाङको नामबाट पुनः तेमाल गाउँपालिका – ५ निवासी सुर्यलालको श्रीमती कृष्णमाया तामाङ र सोहि ठाउँ बस्ने पुर्णबहादुर तामाङको श्रीमती दावा डोल्मा तामाङको नाममा जालसाजीपूर्ण तरिकाले पास गरिएको माओवादीले जारी गरेको म्यादमा उल्लेख गरिएको छ । याे खबर नेपाल समाचारपत्रमा छ।

चीनसँगको सीमाक्षेत्रमा थपिँदै सशस्त्र प्रहरीको सुरक्षा

काठमाडाैं । उत्तरी छिमेकी चीनसँगको सीमाक्षेत्रमा तस्करीलगायत सुरक्षा चुनौती बढेपछि सशस्त्र प्रहरी बलको उपस्थिति बढाइँदै छ । आठ हिमाली जिल्लाका सीमाक्षेत्रमा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गर्न लागिएको हो । उत्तरी नाकाहरूमा बिओपी स्थापनाका लागि प्रक्रिया अघि बढेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी सुरज श्रेष्ठले बताए ।

‘संखुवासभाको किमाथांकामा बिओपी स्थापनाका लागि जग्गाको पनि लगभग टुंगो लागेको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘अन्य उत्तरी जिल्लामा पनि जिल्ला सुरक्षा समितिबाट निर्णय भई कार्यालय राख्ने ठाउँबारे अध्ययन भइरहेको छ ।’

किमाथांकाबाहेक ताप्लेजुङको ओलाङचुङगोला, गोरखाको सामागाउँ, मुस्ताङको कोरला, हुम्लाको हिल्सा, मुगुको नाम्चेला, दार्चुलाको लिपुलेक र ताप्लेजुङको हिङसाङचुलीमा सशस्त्रले बिओपी स्थापनाको प्रक्रिया अघि बढाएको हो । हाल रसुवाको रसुवागढी नाका र सिन्धुपाल्चोकको तातोपानी नाकामा मात्र सशस्त्र प्रहरीको कार्यालय छ । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

वाइडबडीमा भ्रष्टाचार भएको ठहर, को–को पर्लान् निलम्बन र कारबाहीमा ?

काठमाडौँ । संसदीय उपसमितिले नेपाल वायुसेवा निगमको वाइडबडीमा भ्रष्टाचार भएको ठहर भएको समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकले छापेकाे छ ।

उपसमितिले विमानको लागत मूल्य, बोलपत्र सिफारिस तथा स्वीकृत गर्ने अधिकारीलाई निलम्बन गरी कारबाही गर्न भनेको छ । विमानबारे अध्ययन गर्न कठिन प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले वाइडबडीमा ‘गम्भीर त्रुटि’ औँल्याउँदै आइतबार प्रतिवेदन तयार गरको हो ।

कांग्रेस सांसद राजन केसी संयोजकत्वको उपसमितिले वाइडबडीमा संलग्नलाई निलम्बन गरी कारबाही गर्न अख्तियारलाई सिफारिस गरेको छ । तोकिएको १५ दिनमै उपसमितिले प्रतिवेदन तयार पारेको हो।

विमानको ‘एमओयू’ मा खरिद–बिक्री सम्झौता गर्दा विमानको प्रस्तावित अधिकतम ‘टेक अफ’ भार क्षमताभन्दा प्रतिविमान १२ मेट्रिक टन कम भएकाले निगमलाई कुल १ अर्ब ३ करोड ३३ लाख रुपैयाँ क्षति पुगेको उपसमितिको ठहर छ। यो क्षति असुलउपर गर्न पनि निर्देशन दिएको छ। ‘बहाल रहेका तत्कालीन पदाधिकारी निलम्बन गरी अख्तियार दुरूपयोग गरेकोमा थप अनुसन्धान गर्न निर्देशन दिने’ पनि प्रतिवेदनमा उल्लेख छ।

प्रथम देवचुली उपमेयर तथा २४ औँ जिल्लास्तरीय भलिबल प्रतियोगिताको उद्घाटन सम्पन्न

पौष-१५,आदर्श सुशिल,देवचुली

देवचुली नगरपालिकामा प्रथम देवचुली उपमेयर तथा २४ औँ जिल्लास्तरीय भलिबल प्रतियोगिता आइतबार उद्घाटन गरिएको छ । देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना तथा देवचुली ९ बिशालटारमा रहेको जनजागृत युवा क्लवको सह-आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगिताको आज एक समारोहका बीच देवचुली नगरपालिकाका नगरप्रमुख पूर्ण कुमार श्रेष्ठले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा बिशेष अतिथिका रुपमा नगर उपप्रमुख पार्वता तिवारी,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विकास केसी,जिल्ला भलिबल संघका अध्यक्ष तिलक खण्डलुक,बिभिन्न वडाध्यक्ष,सामाजिक,राजनैतिक व्यक्तित्व र खेलप्रेमीको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले नगरपालिकाले खेलकुदको बिकासको लागी सधै लागिपर्ने साथै नगरमा पुरुष खेलका लागी मात्रै नभई महिला खेलको पनि बिकास गरिने बताउनु भयो ।

यसैगरी आफ्ना शुभकामना मन्तब्य राख्दै जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बिकास केसीले नगरपालिकाले प्रतियोगिता आयोजना गर्दा जिल्ला खेलकुद विकास समितिसँग समन्वय नगरेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । कार्यक्रममा देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारी,प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटा,वडा नं ९ का अध्यक्ष मेख बहादुर सारु लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

प्रतियोगिता पौष १५ गते देखि १८ गते सम्म सन्चालन हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ५० हजार, मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी दोश्रो हुने टिमले नगद रु २५ हजार,मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने सेमिफाइनल पुग्ने टिमले नगर ७ हजार ५ सय प्राप्त गर्नेछ । उद्घाटनको दिनमा भएको पहिलो खेलमा शान्तिदीप युवा क्लवले सहआयोजक जनजागृत युवा क्लवलाई २-० को सोझो सेटमा हराएको छ । प्रतियोगितामा जम्मा १८ ओटा टिमको सहभागिता रहेको छ ।

रोटा क्वीज – बुटवल र सेन्ट्रल बुटवल अर्को चरणमा

विष्णु खत्री , सैनामैना ।

देशभर जोनल लेभल नेशनवाईड रोटा क्वीज वर्ष २०१८/१९ सम्पन्न भएको छ । रोट्रयाक्ट क्लव अफ पर्वतका रो.सन्तोष पौडेलको स्मृतिमा पहिलो चरणमा जोनल लेभल नेशनवाईड रोटा क्वीज सम्पन्न भएको हो । नेपालमा रहेका १३ जोन अन्तर्गत जोन ११ मा सम्पन्न रोटा क्वीजमा रोट्रयाक्ट क्ल्व अफ बुटवल अर्को चरणमा प्रवेश गरेको कार्यक्रम संयोजक प्रकाश खनालले जानकारी दिनुभएको छ । ६ टिम सहभागी रहेको कार्यक्रममा ५ टिमलाई पछि पार्दै बुटवल अर्को चरणमा प्रवेश गरेकोे उहाले बताउनुभयो ।

बुटवल एम्स कलेजमा भएको कार्यक्रम रोट्रयाक्ट क्लव अफ तिनाउ सिटिका अध्यक्ष प्रकाश पराजुलीको अध्यक्षता,रोटरियन किशु शर्माको प्रमुख आतिथ्यता,जोन ११ का जेड.आर.आर दिप सुबेदी तथा रोट्रयाक्ट क्ल्व अफ तिलोत्तमा रुपन्देहीका पुर्व अध्यक्ष विक्रम क्षेत्रीको आतिथ्यता भएको हो । कार्यक्रम सचिव अनुप पाण्डेको संचालनमा सम्पन्न भएको हो । यसैबिच जोन १२ मा रोट्रयाक्ट क्ल्व अफ सेन्ट्रल बुटवल अघिल्लो चरणका लागि छनोट भएको छ ।

१० टिम सहभागी रहेको कार्यक्रममा ९ टिमलाई पछि पार्दै सेन्ट्रल बुटवल छनोट भएको कार्यक्रम संयोजक मिलन भणडारीले जानकारी दिनुभयो । तिलोत्तमा मणिग्रामको ई गार्डेन रेष्टुरेण्टमा भएको कार्यक्रम रोट्रयाक्ट क्लव अफ रुपन्देहीका अध्यक्ष शुरेश भण्डारीको अध्यक्षता,जोन १२ का जेड.आर.आर रमेश नेपालको प्रमुख आतिथ्यता तथा रोटरी क्ल्व अफ रुपन्देहीका अध्यक्ष हरी न्यौपानेको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रम राजेश खरेलको स्वागत तथा सचिव बिनोद सुबेदीको संचालनमा सम्पन्न भएको हो । १३ वटा जोनबाट उत्कृष्ट बनेका १३ टिमले आगामी माघ ४ र ५ गते हुन गईरहेको रोट्रयाक्ट नेपालको ११ औँ राष्ट्रिय सम्मेलनमा प्रतिस्पर्धा गर्नेछन् । सम्मेलन रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मणिग्राममा रहेको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा सम्पन्न हुनेछ

रोट्रयाक्ट क्लव अफ सैनामैनाद्धारा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

विष्णु खत्री,पौष १४ सैनामैना
बढ्दो ट्राफिक दुर्घटना न्युनिकरण गर्ने उद्धेश्यले शनिबार रुपन्देहीको सैनामैनामा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । रोट्रयाक्ट क्लव अफ सैनामैनाको आयोजना तथा ईलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाको समन्वयमा सैनामैनाको मुर्गिया चोकमा कार्यक्रम सम्पन्न भएको हो ।
सो क्रममा राजमार्गमा गुडिरहेका सवारी साधनमा ट्राफिक नियमको पालना गरौ भन्दै स्टीकर टाँस्नुका साथै ट्राफिक प्रहरीहरुले सबारी चालकहरुलाई ट्राफिक नियमबारे जानकारी गराएको कार्यक्रम संयोजक प्रज्जवल भुसालले जानकारी दिनुभयो ।

सो अवसरमा बोल्दै ईलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाका प्रमुख केशव बहादुर बस्नेतले सवारी दुर्घटना न्युनिकरणका लागि सचेतना कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । साथै उहाँले दुर्घटना न्युनिकरण गर्न चालक स्वयं सचेत र गम्भिर हुनुपर्ने भन्दै सबै पक्षको सहयोगबाट मात्र दुर्घटना न्युनिकरण गर्न सकिने बताउनुभयो । सबारी चालकको लापरबाही तथा बढिरहेको सबारी साधनको चापँले दुर्घटना बढेको भन्दै सबारी चालक तथा सह चालकलाई समेत सचेतना प्रदान गरिएको थियो ।

सैनामैनामा सम्भाबित दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरी सँगै विभिन्न संघ संस्थाको आयोजनामा सचेतनामुलक कार्यक्रम भईरहेका छन् ।

चितवन मेडिकल कलेजको लुट, विद्यार्थीबाट अवैध रुपमा करोडौं असुल्दै

चितवन । भरतपुरको चितवन मेडिकल कलेजले विद्यार्थीबाट वार्षिक करोडौं रुपैयाँ अवैध शुल्क असुल्दै आएको छ । समाचारकाे अनुसार एमबीबीएस अध्ययनका लागि त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले तोकेको ४२ लाख ४५ हजारसँगै कलेजले प्रत्येक विद्यार्थीबाट थप १२ लाख ५० हजार रुपैंयाँ अवैध असुलेको हो । नेपाल सरकारको असोज २६ गतेको निर्णय अनुसार उपत्यका बाहिर ४२ लाख ४५ हजार रुपैयाँ शुल्क मात्रै लिन पाउने ब्यवस्था छ । तर, चितवन मेडिकल कलेजले सरकारको निर्णय अवज्ञा गर्दै एक विद्यार्थीबाटै लाखौं रुपैयाँ असुल गरिरहेको छ ।

 

‘१२ लाख ५० हजारको ५० प्रतिशत ६ लाख २५ हजार रुपैयाँ पहिलो किस्ता स्वरुप कलेजले मागिरहेको छ’, एक अभिभावकले नाम नबताउने शर्तमा भने, ‘अतिरिक्त शुल्क नबुझाए विद्यार्थीलाई कक्षा कोठामा बस्न नदिने र पढ्न नचाहेको भनेर निकालिदिने चेतावनी दिएको छ ।’ अधिकांश अभिभावकबाट कलेजले शुल्क लिएको छ भने नदिने अभिभावकलाई पटक–पटक फोन गरेर टर्चर दिने गरेको छ ।

विद्यार्थीबाट अवैध असुलेको पैसाको रिसिभ दिइएको छैन भने चेक मार्फत रकम लिन पनि अस्वीकार गरिएको छ । नगद पैसा दिन र चितवन मेडिकल कलेजको नाममा चेक नकाट्न आग्रह गर्दै कलेजको नामको चेक नलिएको अभिभावकको गुनासो छ । कुन शीर्षकमा केका लागि रकम मागिएको हो, त्यसको जानकारी समेत कलेजले विद्यार्थी र अभिभावकलाई दिएको छैन । एमबिबिएस संगै कलेजले अन्य फयाकेल्टिको पनि अबैध शुल्क लिइरहेको छ । आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

साप्ताहिक राशिफल पौष १४ गतेदेखी पौष २० गते सम्म

 

युवा ज्योतिषी राजकुमार आचार्य
ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्र
पोखरा-१७ बिरौटा
9846514305

मेष (चु चे चो ला ली लु ले ओ aries )
– प्रारम्भमा बोलीको प्रभाव देखिनेछ तर धेरै बोल्ने बानीले भने विवाद निम्त्याउन सक्छ। नयाँ अवसरहरू जुट्नेछन्। घरेलु समस्यामा अलि सावधान रहनुहोला। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ। साताको मध्यबाट भने प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। साताको अन्त्यदेखि आफन्तहरूको सहयोग प्राप्त हुनेछ भने धेरै काम हरू पनि सहज हुनेछन्। बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला। मिहिनेतले भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। जोस पराक्रम बढ्नुको साथै नेत्रित्वदायिक भूमिका थपिनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
– विशिष्ट व्यक्तिहरूसँग पनि मित्रता बढ्नेछ। तारिफयोग्य काम हुनेछन्। प्रारम्भको दिनमा नयाँ सोच एवं जिम्मेवारीले सताउन सक्छ भने केही मनमा चिन्ताहरू पनि बढ्न सक्छन्। व्यक्तित्व विकाशको लागि शुभ समय रहेको छ भने साताको मध्ये देखि जोस जागिर हरू पनि बढ्दै जानेछन्। इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। आँटले लक्ष्यमा पुर्‍याउन सक्छ। व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। आम्दानीका स्रोत बढ्नुका साथै आर्थिक अभाव सुल्झनेछ। सहयोगीहरूले पनि राम्रो साथ दिनेछन्।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
– रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने हुनेछ। प्रारम्भमा केही चुनौती देखिए पनि प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ तर आलोचकहरूले आत्मसम्मानमा चोट पुर्‍याउन सक्छन्। आफ्नो कामबाट अरूले लाभ उठाउने चेष्टा गर्नेछन्। साताको अन्तिमतिर भने लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ। एकाग्रतामा भने कमी आउन्न सक्छ । छिट्टै बिर्सिने समस्याले केही तनावमय गराउन सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डी, डु, डे, डो (Cancer)
– साताको प्रारम्भ भने उत्साहवर्द्धक नै रहनेछ। कर्मयोगले समाजमा स्थापित गराउन सक्छ। सञ्चित कर्मको प्रतिफल प्राप्त हुनेछ। आम्दानीले विभिन्न आवश्यकता पूरा हुनेछन्। बौद्धिक व्यक्तिहरू सँग भेटघाट रहला। सोमवारपछि आयस्रोत कमजोर हुनेछ भने खर्चको मात्रा बढ्नेछ। चिताएका काम पूरा गर्न कर्जा वा सरसापट लिनुपर्ने अवस्था आउन सक्छ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। साताको मध्यदेखि भने समय राम्रै रहला। बौद्धिक व्यक्तिहरू सँग भेटघाट रहला। मान सम्मान को योग रहेको छ भने अन्त्यतिर प्रशस्त धन लाभ पनि हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
– नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने अवसर मिल्नेछ। मध्येदेखि पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। धार्मिक वा मांगलिक कार्यमा सहभागी बहिएला। व्यापार व्यवसाय वा कार्यालयको कामले केही अप्ठ्यारोपनको महसुस गराउनेछ। मनग्गे आम्दानी हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले समस्याको समाधान हुनेछ। तर खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। पराक्रम र जोस जागिर बढ्नेछ भने दिगो कामको थालनी पनि हुनेछ, अनावश्यक विवाद मा भने समय खेर नाफाल्नुहोला। तर्क शक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। सप्ताहान्तमा चिताएका काम बन्नाले नाम, दाम र इनाम प्राप्त हुने देखिन्छ।

कन्या – टो, प, पी, पु, ष, ण, ठ, पे, पो (Virgo)
– प्रारम्भमा स्वास्थ्य चिन्ताले सताउन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्न सक्छन्। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। जिम्मेवारी प्राप्त भए पनि अरूका लागि समय खर्चनुपर्ला। परिस्थितिले सङ्घर्षको पथमा हिँडाउन सक्छ। केही अप्रत्याशित उपहारहरू प्राप्त हुनेछन्। अध्ययनमा बाधा पुग्नेछ भने वादविवादले समस्या निम्त्याउन सक्छ। परिस्थिति सङ्घर्षमाया रहे पनि दिगो काममा हात हाल्न भने सकिनेछ। सप्ताहान्तमा यात्रा हुन सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ती, तु, ते (Libra)
– अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने देखिन्छ भने केही चुनौती हरू पनि देखिनेछन्। कार्यहरूमा अवरोध सिर्जना हुन सक्छन् भने अनावश्यक झनझटहरु आईलाउनेछन। स्वास्थ्यका लागि सजग रहनुहोला। रमाइलो यात्राका बिचमा आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। साताको मध्यदेखि स्थितिमा सुधार आउनेछ। सानो अवसरले उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। सामाजिक प्रतिष्ठा एवं पदीय जिम्मेवारी प्राप्त हुनेछ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि भने सजग रहनुहोला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यी, यु (Scorpio)
– प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। साताको मध्यदेखि भने अस्वस्थ ताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। विवाद तथा मुद्दाहरूमा पनि आफ्नो पक्ष बलियो रहनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। सप्ताहान्तमा स्थितिमा सुधार आउनेछ। भाग्यले पनि साथ दिनेछ र शुभचिन्तकहरूको साथले लक्ष्य प्राप्ति हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
– आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ। घरायसी कामबाट अरूले फाइदा उठाउने प्रयत्न होला। सतर्कता अपनाउनुहोला। साझेदारीबाट केही अप्ठ्यारो महसुस हुन् सक्नेछ। रमाइलो यात्रा गर्ने असवर प्राप्त हुनेछ। रमाइलो परिस्थितिलाई वादविवादले असर पुर्‍याउने देखिन्छ। काम बिग्रने भयले सताउनेछ। परिबन्धले समस्या उब्जाए पनि सप्ताहान्तमा शुभचिन्तकहरूले साथ दिनेछन्।

मकर – भो, ज, जी, खि, खु, खे, खो, गा, गि (Capricorn)
– आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। स्रोत–साधन जुट्नाले छोटो समयमा उपलब्धि हुनेछ। पढाइलेखाइया सोचेजस्तो प्रगति गर्न नसकिएला। सप्ताहको मध्ये देखि यात्राको प्रक्रियामा समय र धन खर्च हुन सक्छ तर पनि व्यापार र उद्योगमा भने केही लाभ नै हुनेछ। मिहिनेत गर्दा धेरैलाई उछिन्ने मौका छ। उत्तरार्द्धमा प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। व्यवसायमा प्रगति हुनेछ। मिहिनेतले चिताएको काम बन्नेछ। साताको अन्त्य तिर भने पेट को समस्याले सताउन सक्छ, खानपिनमा ध्यान पुर्‍याउनुहोला।

कुम्भ – गु, गे, गो, सा, सी, सु, से, सो, द (Aquarius)
– अध्ययनमा प्रगति हुनेछ भने बुद्धिले लक्ष्यमा पुर्‍याउनेछ। व्यवसायका लागि रमाइलो यात्रा गर्नुपर्ला। बुद्धिको उपयोगले लाभ उठाउन सफल भइनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठुलो काम बन्नेछ। प्रियजनसँगकाे भेटघाटले साता रमाइलो रहनेछ। प्रेम र मित्रताको बन्धन कसिने बलियो सम्भावना देखिन्छ। दिगो फाइदा हुने काम सुरु होला। बिहीबारदेखि परिस्थिति अलि कमजोर रहनाले केही झमेला आइलाग्न सक्छन्। जोगिएर काममा जुट्नुपर्ला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
– जोस र जागिर बढ्नेछ भने ठुलै काममा हिम्मत दिलाउनेछ। धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। पारिवारिक जिम्मेवारी बढ्नेछ भने कुनै मांगलिक कार्य वा समारोहमा सहभागी हुने अवसर जुट्नेछन्। आफ़न्तसगको भेटघाटले मन आनन्द तुल्याउनेछ। जोस जागर सहित नयाँ कार्यको सुरुवात हुनेछ। व्यापार व्यवसायबाट राम्रै लाभ प्राप्त गर्न सकिन्छ। केही अवसरहरू पनि जुट्नेछन्। तारिफयोग्य कामको चर्चा हुनेछ। वादविबादाले भने समय नष्ट गर्न सक्छ, बोलीमा नियन्त्रण राख्नुहोला।

बाणगंगाको “म सफा गर्छु, मेरो नगर” अभियानमै सिमित । दुर्गन्धित बन्दै नगर…

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले नगरको फोहोर ब्यवस्थित गर्न चासो नदेखाउदा नगरबासीले हैरानी खेप्नु परेको छ । जिल्लाकै स्वच्छ नगरपालिका भनी नगरपालिकाका प्रमुख देखि कर्मचारीले भन्दै आएतापनि एउटा फोहोर फाल्ने डम्पीङ साइड(फोहोर फाल्ने क्षेत्र) बनाउने तर्फ नगरपालिकाले चासो नदेखाउदा नगरपलिका दिनप्रतिदिन दुर्घधित बन्दै गएको हो । नगरपालिकाको पहलमा नगरपालिका भित्र कुनै पनि फोहोर व्यस्थापनका लागी डम्पीङ साइड निमार्ण गर्न नसक्नु सम्पुर्ण नगरबासीका लागी लज्जाको बिषय भएको बाणगंगा नगरपालिका पिपराका मुराउ थारुले बताए । जिल्लाकै सबैभन्दा स्वच्छ र शिक्षित नागरिकहरुको बसोबास भएको क्षेत्र भनी सुनीने कुरा अहिले आएर हासो उठ्ने बिषय बनेको उनले बताए । हाल काम चलाउनका लागी सिद्धार्थ नगर बिकास समितिले अस्थाई रुपमा फोहोर ब्यवस्थापनका लागी बाणगंगा नदी किनारमा सामुदायिक बनको जग्गा प्रयोग गर्दै नदी किनारमा फोहोर फाल्ने ब्यवस्था मिलाएकोमा नगरपालिकाले पनि सोही क्षेत्रमा फोहोर फाल्दै आएको छ ।

“ यस क्षेत्रका समाजसेवि, बुद्धिजिवि, राजनितिज्ञले बारम्बार आफुलाई उतm क्षेत्रमा फोहोर नथुपार्न भनी आग्रह गरेको र नगरपालिकाले चासो नदिदा आफु बाध्य भई त्यस क्षेत्र बाहेक अन्य क्षेत्रमा फोहोर ब्यवस्थापन गर्न नसकीने ”उनले बताए । कोइली पुल पारी डम्पीङ साइड निमार्णका लागी नगरपालिका गत बर्ष एक पटक कुरा मात्र उठाएको र त्यसपछि नगरपालिकाले कुनै चासो नदिएको समाजसेवि दोलकराम घिमिरेले बताए । नगरपालिकाले फोहोर ब्यवस्थापन गर्न यसरी मौन हुनु चासो नदिनु निकै लज्जास्पद र चिन्ताको बिषय भएको उनले बताए । उतm क्षेत्रमा डोजरको प्रयोग गरी ठुलो खाडल खनी फोहोर ब्यवस्थापनका लागी नगर बिकास समितिले तत्परता देखाएको थियो । उता यस बिषयमा बाणगंगा नगरपालिकाका प्रमुख तुल्सीराम मरासिनिले यस बिषयमा गम्भीर भई काम गर्ने बताएका छन । साथै अधिकृत मरासिनिले सिद्धार्थ नगर बिकास समतिले गरेको काम उल्लेखनीय भएको बताउदै नगरपालिकाको काम एउटा समितिले गरेको यहाँ देख्दा खुशी लागेको उनले बताए । सम्बन्धीत सरोकारवालासगं छलफल गरी उपयुतm स्थानमा फोहोर फाल्ने क्षेत्र बनाउन आफुले तत्कालै पहल सुरु गर्ने उनले बताए । साथै उनले नगरपालिकालाई स्वच्छ बनाउन फोहोरलाई घरमै ब्यवस्थापन गर्न नया योजना नगरपालिकाका सबै क्षेत्रमा लैजाने उनले बताए ।

सडक छेउमा फोहोर फाल्ने भएकाले हावाहुरी चल्दा गन्धले त्यस क्षेत्रमा हिडनै नसकिने अवस्था रहेको बाणगंगा बोडगाउ झलक थापाले बताए । “ठुलो हावाहुरी चल्नुपर्छ फोहोरको गन्धले हिडनै सकिदैन ” उनले बताए । यसमा नगरपालिकाले चासो नदेखाएकै कारण फोहोर बाणगंगा पुल आसपास देखि सडकमै फोहोरका बोरा र डब्वा फेला पर्ने उनले बताए । म सफा गछुृ मेरो नगर भन्ने अभियान अहिले आएर अभियानमै सिमित रहेको छ । बढो तामझामका साथ सुरु गरेको यो अभियानमा जनताको पनि निकै उत्साहजनक उपस्तिथि रहेको थियो तर हिजो आज नगरपालिकाले फोहोर निषेधित क्षेत्र भनी बोर्ड नै राखेको ठाउँमा यत्रतत्र फोहोर रहेको छ । नगरपालिकालाई स्वच्छ राख्ने उदेश्यले एक हप्ता दिनहु सरसफाई अभियान चलेको भएतापनि अहिले कुनै पनि गतिविधि नहुदा नगर झन फोहोर हुदै गएको छ । फोहोर ब्यवस्थापनका लागी नगरपालिकाले दिर्घकालिन योजना नबनाउदा समस्या आएको हो । कपिलवस्तु उद्योग बाणिज्य सहितका सघंसस्थाले भने नियमित सरसफाई कार्यक्रम जारी राखेका छन ।

बत्ती काटिनुअघि मोबाइलमा नोटिफिकेसन आउने

काठमाडौँ । हिजोआज लोडसेडिङ खासै हुँदैन । तर, एक्कासी लाइन जाने समस्या भने यदाकदा छ । बिना जानकारी विद्युत् आपूर्ति बन्दा हुँदा आइपर्ने समस्यालाई विद्युत् प्राधिकरणले मोबाइल एप्लिकेसनको सहायताले हटाउने भएको छ ।

प्राधिकरणले अब विद्युत् काटिँदैछ भने त्यससम्बन्धी पूर्व जानकारी मोबाइलमा पठाउने व्यवस्था गरेको छ । प्राधिकरणले सूचना र प्रविधिको क्षेत्रमा देखिएको उपलब्धिलाई प्रयोग गरेर उपभोक्तालाई सहजै सूचना दिने उद्देश्यले नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रधानमन्त्री ओली भन्छन् – ‘जनतामा वाहवाही छु, पार्टीमा किन विरोध’

काठमाडाैं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष  केपी ओली नेकपा स्थायी समिति बैठकमा जवाफ दिँदा नेताहरूले प्रतिवाद गरेका छन् । ओलीको प्रतिवादमा एकपछि अर्को स्थायी समिति सदस्य उत्रिएपछि बिहीबार बैठक समापन हुन सकेन । अचानक स्थगित गरी बैठक शुक्रबार बिहान ८ बजे बोलाइएको छ ।

अध्यक्षद्वय ओली र प्रचण्डले पेस गरेको प्रतिवेदन पास गरेर बिहीबार नै बैठक सक्ने तयारी थियो । तर, ओलीको दुई घन्टा लामो जवाफ सकिएलगत्तै वामदेव गौतम, घनश्याम भुसाल र भीम रावलले प्रतिवाद गरेका थिए ।

स्थायी समिति सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिन उभिएका अध्यक्ष ओलीले दुई घन्टा भाषण गरे । सदस्यहरूले इंगित गरेका एउटै कमजोरी पनि ओलीले स्विकारेनन् । बरु उनले आफ्नो र सरकारको जनताले वाहवाही गरिरहेको, पार्टीभित्र भने विरोध भएकोमा असन्तुष्टि जनाए ।

‘अहिले पार्टीमा आलोचना भएको छ, तर जनतामा वाहवाही नै छ । ०५१ मा गृहमन्त्री हुँदा पनि मेरो कामको जनताले प्रशंसा गरेका थिए, पहिलोपटक प्रधानमन्त्री हुँदा पनि वाहवाही पाएकै थिएँ,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै नेता मणि थापाले भने । याे खबर आजको नयाँ पत्रिका दैनिकले छापको छ ।

अध्यक्षद्वय ओली र प्रचण्डको राजनीतिक प्रतिवेदन अस्वीकृत

काठमाडाैं । पार्टी एकीकरणपछि तेस्रोपटक बसेको नेपाल कम्युनिस्ट पार्टी स्थायी समितिको बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदन अस्वीकृत भएको छ।

स्थायी समिति बैठकमा राजनीतिक प्रतिवेदन अपूर्ण भएको भन्दै स्थायी कमिटीका सदस्यहरूले असहमति जनाएपछि अध्यक्षद्वयले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन अस्वीकृत भएको हो ।

नेपाल समाचारपत्र दैनिकका अनुसार, स्थायी समिति बैठकमा नेताहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पास गर्न आद्ववान गर्नुभएको थियो। तर बिहीबार बसेको स्थायी समिति बैठकमा सदस्यहरूले जवाफ चित्त बुझ्दो नभएको भन्दै असन्तुष्टि जनाएपछि पुनः बैठक बस्ने भएको छ।

स्थायी समितिका सदस्यहरूले राजनीतिक प्रतिवेदन परिमार्जन गरेर मात्र पारित गर्नुपर्ने माग राखेपछि राजनीतिक प्रतिवेदन परिमार्जनको गृहकार्य अगाडि बढेको बताइएको छ।

त्यस्तै, नागरिक दैनिकका अनुसार, २९ मंसिरदेखि जारी स्थायी कमिटी बैठकमा प्रस्तुत दुवै अध्यक्षकाे राजनीतिक प्रतिवेदनमाथि व्यापक छलफल नभएकाे, बहुदलीय प्रतिस्पर्धामा रहेकाे लाेकतान्त्रिक पार्टीकाे दृष्टिकाेण स्पस्ट नभएकाे भन्दै सचिवालय सदस्य वामदेव गाैतमलगायत नेताहरुले आपत्ति जनाएपछि प्रतिवेदन पास हुन नसकेकाे हाे।

प्रधानमन्त्री ओली भन्छन् – ‘जनतामा वाहवाही छु, पार्टीमा किन विरोध’

काठमाडाैं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष  केपी ओली नेकपा स्थायी समिति बैठकमा जवाफ दिँदा नेताहरूले प्रतिवाद गरेका छन् । ओलीको प्रतिवादमा एकपछि अर्को स्थायी समिति सदस्य उत्रिएपछि बिहीबार बैठक समापन हुन सकेन । अचानक स्थगित गरी बैठक शुक्रबार बिहान ८ बजे बोलाइएको छ ।

अध्यक्षद्वय ओली र प्रचण्डले पेस गरेको प्रतिवेदन पास गरेर बिहीबार नै बैठक सक्ने तयारी थियो । तर, ओलीको दुई घन्टा लामो जवाफ सकिएलगत्तै वामदेव गौतम, घनश्याम भुसाल र भीम रावलले प्रतिवाद गरेका थिए ।

स्थायी समिति सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिन उभिएका अध्यक्ष ओलीले दुई घन्टा भाषण गरे । सदस्यहरूले इंगित गरेका एउटै कमजोरी पनि ओलीले स्विकारेनन् । बरु उनले आफ्नो र सरकारको जनताले वाहवाही गरिरहेको, पार्टीभित्र भने विरोध भएकोमा असन्तुष्टि जनाए ।

‘अहिले पार्टीमा आलोचना भएको छ, तर जनतामा वाहवाही नै छ । ०५१ मा गृहमन्त्री हुँदा पनि मेरो कामको जनताले प्रशंसा गरेका थिए, पहिलोपटक प्रधानमन्त्री हुँदा पनि वाहवाही पाएकै थिएँ,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै नेता मणि थापाले भने । याे खबर आजको नयाँ पत्रिका दैनिकले छापको छ ।

कांग्रेसमा ‘अर्ली’ महाधिवेशनको माग

काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले ‘अर्ली’ महाधिवेशनको माग गरेका छन् ।

पौडेलले पार्टी महासमिति बैठकमा ४ पुसमा कार्यतालिकासहितको अर्ली महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेस गरेका थिए । सिटौला समूहले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘अर्ली महाधिवेशन’ माग गरेको हो ।

पौडेलले १६ पुसदेखि ०७६ असार मसान्तसम्म राष्ट्रव्यापी जागरण अभियान, पदयात्रा, टोलटोलमा वैचारिक र सांगठनिक प्रशिक्षणसहित ‘सदस्यता वितरण अभियान’ सुरु गरेर ७ फागुन ०७६ मा केन्द्रीय महाधिवेशन उद्घाटन गर्ने कार्यतालिका पेस गरेका थिए । त्यस विषयमा महासमितिमा छलफल भए पनि निर्णय भने भएन । याे खबर नयाँ पत्रिका दैनिकमा छ ।

१६औँ सत्याग्रह सुरु गर्ने केसीको चेतावनी

काठमाडाैं । चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका प्रा.डा. गोविन्द केसीले विगतको सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक आगामी १७ पुसअघि पारित नभएर अनशन थाल्ने चेतावनी दिएकाे खबर आजको नयाँ पत्रिका दैनिकले छापको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै केसीले विधेयक ६ दिनभित्र संसद्बाट पारित नगरे १६औँ सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् । उनले सम्झौताविपरीत स्वास्थ्य शिक्षाका सिटिइभिटीअन्तर्गतका कार्यक्रम चिकित्सा शिक्षा आयोगको कार्यक्षेत्रबाट हटाउन, रेसिडेन्सियल डाक्टरहरूलाई हतोत्साही गर्न तथा माफियाका अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिनेलगायतका अनुचित कार्यमा शिक्षामन्त्री लागिरहेको आरोप लगाएका छन् ।

मालारानी गाउँपालिकाका वडा अध्यक्ष बेपत्ता ,खोजी कार्यमा सहयोग गर्न परिवार द्वारा आग्रह

सहयोगी बि. सि.  अर्घाखाँची
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष बिष्णु प्रसाद भुसाल ( बिनोद ) बिगत १० दिन देखि सम्पर्क बाहिर रहेको परिबारले आज पत्रकार सम्मेलन गरि जानाकारी गराएको छ।पौष २ गते सन्धिखर्क काम छ भनी हिंडेका निज भुसाल सोही दिन नै बस मार्फत गोरुसिंगे सम्म पुगेको बताइएको छ।

भुसाल बेपत्ता भएको कुरा अर्को ३ गते नै प्रहरी, प्रशासन मा जानाकारी गराई खोजबिन गरेपनी आधिकारिक रूपमा आज पत्रकार सम्मेलन गरि निज बेपत्ता भएको जानाकारी गाउँ,पालिका अध्यक्ष बालकृष्ण आचार्य ,प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र मरासिनी ,निजका दाजु जिबलाल भुसालले बेपत्ता भएका दिन देखि १० दिन सम्म गरिएको खोजी र पहलका बारेमा जानाकारी दिनु भएको थियो ।( जुन भिडियो फेसबुक र युवटुबमा राखिएको छ)निज बिनोदले चलाउने गरेको मोटरसाइकल सन्धिखर्क ग्यारेजमा बनाउन दिएर त्यसतर्फ लागेका र मोबाइल समेत बसमा खसालेकोले मोबाईल चालक मार्फत घर ल्याई सकिएको छ।

सन्धिखर्क देखि गोरुसिंगे सम्मको झन्डै ३ घण्टाको समयमा पालिका अध्यक्ष बालकृष्ण आचार्य ,वडा सदस्य लिल बहादुर पाण्डे र श्रीमती समेतले फोन गर्दासम्म फोन नउठाउनु भएको समेत बुझिएको छ।उहाँ फर्निचर उद्योगको लागि चाहिने सामान लिन हिडेको आशंका गरेपनी एकपटक पनि हराएको मोबाईल नम्बरमा न कोहि अर्को नम्बर बाट कोहि संग पनि सम्पर्क भएको छैन।

उहाँको खोजिको निम्ति सम्पुर्ण संयत्र प्रयोग गरिएको र अनुसन्धान समेत भै रहेको प्रजिअ लामिछानेले बताउनु भयो।

ओलीले नेकपाका ४३ नेतालाई कुखुराका चल्ला भनेपछि

काठमाडौं । नेकपा संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ४३ नेतालाई कुखुराको चल्लाको संज्ञा दिएकाे आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ । समाचारकाे अनुसार  नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई हटाउन माग गर्दै हस्ताक्षर बुझाउने नेतालाई उनले चल्लाको संज्ञा दिएका हुन्।

‘एउटा चल्लोले भुइँमा ठुगेपछि सबै चल्ला उसको पछि दौडिन्छन्’, प्रधानमन्त्री ओलीले भने, ‘दिगम्बर झाको केसमा मेरो मुखमा चारो पर्नु न नपर्नु, सबै चल्ला मेरो पछाडि कुदेर हैरान खेलाए। चल्ला मेरो अघिपछि लागेको लाग्यै गरे।’ ओलीले सर्वोच्च अदालतमा दायर भएको रिट फिर्ता गरेर फेरि आवेदन दिएपछि उनलाई नियुक्त गरेको प्रष्ट पारे।

मेलम्चीको सुरुङ निर्माणमा संलग्न सबै इटालियन प्राविधिकले नेपाल छाडे

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणमा संलग्न इटालियन कम्पनी कोअपरेटिभ मुरातोरी ई–सेमेन्टेस्टी (सिएमसी दी रेभेन्ना) मा कार्यरत सबै प्राविधिक स्वदेश फर्किएका छन् ।

अध्यागमन विभागका अनुसार ६ जना सोमबार र २१ जना त्यसअघि नै फर्किएका हुन् । मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले ठेकेदार कम्पनीका सबैले नेपाल छाडेको बताए ।

उनले भने, ‘सुरुङ निर्माणमा आबद्ध ठेकेदार कम्पनीका सबैले नेपाल छाडेका छन् । क्रिसमस मनाउन भन्दै उनीहरू जान खोजे । छाडेको काममा पछि फर्किन्छौँ भने । त्यसपछि कसैलाई रोक नलगाउन आदेश दिइएको हो ।’  यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

हिरासतमुक्त भएपछि प्रदीपले भने, ‘निकै दुखेपछि मैले हो भनिदिएको हुँ, त्यसपछि कुट्न छाडे’

काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा तीन साता थुनामा राखिएका प्रदीप रावल पनि छुटेका छन् । उनीविरुद्ध पर्याप्त प्रमाण फेला नपारेपछि बुधबार साधारण तारेखमा छाडिएको हो ।

छुटेपछि रावले प्रहरीले यातना दिएको बताएका छन् । सिआइबीको कार्यालयमा यातना दिएपछि आफू र विशाल चौधरीले मिलेर निर्मलाको हत्या गरको भनेर बयान दिएको उनले बताए ।

‘पैतालामा लाठीले हाने, मेरो तिघ्रामा लाठी राखेर माथिबाट टेके, विशालले तेरै नाम लिएको छ भने, ’ छुटेपछि प्रदीपले भने, ‘निकै दुखेपछि मैले हो भनिदिएको हुँ, त्यसपछि कुट्न छाडे ।’ यो समाचार आजकोनयाँ पत्रिका दैनिकमा छ ।

दोस्रो नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु

दोस्रो नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ।

करेन्ट लागेर घाइते भएकी ओडकी आमा ४५ वर्षिया विस्नालाई उपचारका लागि सेती अञ्चल अस्पताल पुर्याए पनि उनलाई अस्पतालले मृत घोषणा गरेको हो।

सेती अञ्चल अस्पतालका अनुसार अस्पताल पुर्‍याउँदा ओडको मृत्यु भइसकेको थियो।

घटना सम्बन्धीको पूर्ण विवरण आउन भने बाँकी रहेको छ।

बुधबार बिहान करेन्ट लागेपछि घाइते ओडनलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल पुर्‍याको थियो।

रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको थियो।

वाइडबडी खरिद प्रक्रिया : पर्यटनमन्त्रीले ढाँटे कि महालेखापरीक्षकले ?

काठमाडौँ । ‘महालेखापरीक्षकको प्रतिवेदनले वाइडबडी खरिद प्रक्रिया कानुनसम्मत भएन भनेर २०७४ चैतमा देखाएको छ । सच्याउन निर्देशन दिएको छ । मन्त्रीज्यू कानुनको पालक हो । यस्तो देख्दादेख्दै पैसा किन पठाउनुभयो ? यसमा मन्त्रीज्यूलाई थाहा भएन कि ? थाहा भए पनि बलमिच्याइँ गर्न चाहनुभएको हो ? ’

संसद्को सार्वजनिक लेखा समिति वाइडवडी छानबिन उपसमितिको बैठकमा मंगलबार पर्यटनमन्त्री रबीन्द्र अधिकारीलाई सांसदले प्रश्न गरे, ‘तपाईंको दायित्व रोक्नुपर्ने होइन ? ’

‘महालेखाको प्रतिवेदन सार्वजनिक हुने र मेरो मन्त्रालय सम्हाल्ने एकैरएकै समय थियो । भुक्तानीको समय पनि त्यही बेला थियो । मैले त्यतिबेला महालेखासँग छलफल गरें, बोलाएँ । हाम्रा आन्तरिक प्रक्रियाबाट भन्दा पनि मैले बोलाएर नै महालेखापरीक्षकज्यूलाई सोधें– यदि यस्तो हो भने हामी यसमा के गर्न सक्छौं ? पहिलो किस्ता ८ अर्ब रुपैयाँभन्दा बढी गइसकेको छ । हामी के गर्न सक्छौं ? उपयुक्त हुने कुरा के हो ? त्यतिबेला स्वभावैले, धेरै छलफलपछाडि हेर्ने कुरा पछि हुन्छ, अहिले जहाज ल्याउन दिउँ अथवा जहाज आओस् भन्नुभयो’, मन्त्री अधिकारीले जवाफ दिएकाे  समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । ।

पूर्वराजा र नारायणकाजीबीच जम्काभेट, पूर्वराजाले नेता श्रेष्ठलाई नमस्कार गर्दै हालखबर सोधे

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपाका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठबीच मंगलबार पोखरा विमानस्थलमा जम्काभेट भएको भएको खबर आजको नगारिक दैनिकले छापेको छ ।

समाचारकाे अनुसार साहित्य सम्मेलनमा सहभागी भएर काठमाडौं फर्किंदै गरेका श्रेष्ठ र बुहारी हिमानी शाह तथा नातिनीहरूलाई लिन पोखरा विमानस्थल पुगेका शाहबीच भेट भएको हो।

बुहारी र नातिनीहरूको स्वागतका लागि पूर्वराजा विमानस्थलको भिआइपी कक्षमा प्रतीक्षारत थिए। काठमाडाैं फर्किंदै गरेका श्रेष्ठ पनि विमानस्थलको भिआइपी रुममा पुगेपछि दुवैबीच भेट भएको हो।

श्रेष्ठलाई देखेपछि पूर्वराजा शाहले नेता श्रेष्ठलाई नमस्कार गर्दै हालखबर सोधेका थिए। हालखबर सोधपुछपछि श्रेष्ठले पूर्वराजालाई के पढ्दै हुनुहुन्छ भन्दै सोधेका थिए। जबाफमा पूर्वराजा शाहले मनीषा कोइरालाको पुस्तक ‘हिल्ड’ पढिरहेको बताएका थिए। उक्त पुस्तक प्रकाश कोइराला र मनीषाले उपहार दिएको जानकारी पूर्वराजा ज्ञानेन्द्रले दिएका थिए।

नेकपामा अध्यक्षविरुद्ध चार शीर्ष नेता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा दुई अध्यक्षविरुद्ध चार शीर्ष नेता उभिएका खबर आजको नगारिक दैनिकले छापेको छ । पार्टी र सरकार सञ्चालनमा अध्यक्षद्वयको भूमिका चित्तबुझ्दो नभएको आरोप लगाउँदै चार शीर्र्ष नेता एक ठाउँमा उभिएका हुन्।

समाचारकाे अनुसार प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टी सञ्चालन एकलौटी ढंगबाट गरेको र अर्का अध्यक्ष पुष्पकमल दाहालले मौन रहेर समर्थन गरेको आरोप चार शीर्ष नेताले लगाएका छन्।

एउटै नेतालाई सरकार र पार्टीको दोहोरो जिम्मेवारी नदिने पूर्वसहमतिविपरीत अध्यक्ष ओलीले आफूनिकटलाई जिम्मेवारी दिएको माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको आरोप  छ।

भुसाल जेसिजको कार्यकारिणि उपाध्यक्षमा निर्वाचित

कपिलवस्तुका रमेशचन्द्र भुसाल नेपाल जेसिजको कार्यकारिणि उपाध्यक्षमा निर्वाचित भएका छन । जनकपुरमा भएको महाधिवेशनबाट भुसाल जेसिजको कार्यकारिणि उपाध्यक्षमा निर्वाचित भएका हुन । कपिलवस्तु जेसिजका पुर्व अध्यक्ष समेत रहेका भुसाल तेस्रो पटकमा बिजयी हुन सफल भएका हुन । युवा ब्यवसायी समेत रहेका भुसाल कपिलवस्तुका दर्जनौ सघंसस्थामा समेत आवद्ध रहेका छन । निर्वाचित भएपछि उनले आफुलाई जिताउन सहयोग गर्ने सबैप्रति आभार ब्यतm गरेका छन । नेपाल जेसिजका सन्र्दभमा केही बर्षयता केन्द्रको नेतृत्वमा नपुगेको कपिलवस्तु भुसालको बिजयीलाई यहाँ निकै उपल्ब्धी मानिएको छ ।

कपिलवस्तुमा आफ्नै अटोरिक्साले लियो एककाे ज्यान

आफैले चलाएको अटोरिक्साले किचेर कपिलवस्तुमा अटोरिक्सा चालकको मृत्यु भएको छ । घटना शिवराज नगरपालिका २, हल्लानगरको मन्दिरदेखि १सय मिटर उत्तरपट्टि भित्री बाटोमा भएको हो । लु१ ह ६५४ नम्बरको अटोरिक्साले किचेर ३० वर्षीय ओमबहादुर नेपालीको ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
छारे (मृगी) रोगका बिरामी रहेका नेपाली मध्यरात श्रीमतीसहित झारफुकका लागि अटोरिक्सा चलाएर हल्लानगर पुगेका थिए । झारफुकपछि फर्किंदै गर्दा आफैंले चलाएको अटोरिक्साबाट उनी खसे । एक्कासी छारे (मृगी) आएपछि गुडिरहेको अटोरिक्साबाट खस्दा पछाडिको चक्काले उनलाई किचेको थियो । अटोरिक्सामा उनकी आफ्नै श्रीमती सन्तोषी नेपाली बसेकी थिइन् । चालकविना अटोरिक्सा अनियन्त्रित भई केही अगाडि बाटो छेउ थुपारेको परालमा अल्झिएर रोकिएको थियो, श्रीमतीको भनाईलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
दुर्घटनामा श्रीमती सन्तोषी भने सकुशल छिन् । दुर्घटना मंगलबार बिहान साढे २ बजेको हो । दुर्घटनालगत्तै श्रीमती रुन कराउन थालेपछि स्थानीय उठेर तुरुन्तै प्रहरीलाई खबर गरे । स्थानीयको खबरले तत्काल वडा प्रहरी कार्यालय चन्द्रौटाका टोली र अस्थायी ट्राफिक प्रहरी पोष्ट चन्द्रौटाका प्रहरी सहायक निरीक्षक रामशरण कुमालसहितको टोली घटनास्थल पुगेको थियो ।
गम्भीर घाइते नेपालीलाई उपचारका लागि चन्द्रौटास्थित संजीवनी सामुदायिक अस्पताल पु¥याइएको थियो । तर चेकजाँच गर्दा नेपालीको ज्यान गइसकेको थियो, उपचारमा संलग्न चिकित्सकले घोषण गरे । मृतक नेपालीको शव पोष्टमार्टमका लागि बिहान ४ बजे नै शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक उपाध्यायले बताउनुभयो ।
मृतक नेपालीको स्थायी घर ढाकाबाङ्ग ६, अर्घाखाँची हो । उनी केही वर्षदेखि कपिलवस्तुको शिवराज नगरपालिका ५, चन्द्रौटामा डेरा लिएर परिवारसहित बस्दै आएका थिए । उनी अटोरिक्सा चलाएर जीविकोपार्जन गर्दै आएका थिए ।

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

नवलपरासी पूर्व गैडाकोटमा भएको सवारी दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ । सोमबार राती करिव ८ बजेको समयमा गैडाकोट नगरपालीका १२ हर्कपुरमा भैरहवा देखि काठमाडौँको लागी छुटेको लु १ ख ८६७७ नं. को बसले बाटो क्रस गर्ने क्रममा ना ५६ प ६५७३ नं. को स्कुटर लाई ठक्कर दिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय नवलपुरका प्रहरी निरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । दुर्घटनामा स्कुटर चालक गैडाकोट नगरपालीका १२ बस्ने बर्ष ४५ कि कमला भण्डारीको मृत्यु भएको र पोष्टमाटमको लागी चितवन भरतुर लगीएको प्रहरीले जानकारी दिएको छ । बस चालक रुपन्देही मायादेबी गाउपालीका ३ बस्ने बर्ष २६ को नवसागर आरख र दुबै सवारी साधन ईलाका प्रहरी कार्यलय गैडाकोटको नियन्त्रणमा रहेको छ ।

श्रीलङ्कामा बाढीका कारण ६० हजार प्रभावित

कोलम्बो / श्रीलङ्कामा आएको अधिक बर्षा र बाढीका कारण ६० हजार भन्दा बढी प्रभावित भएका छन् ।देशको उत्तरी क्षेत्रमा बर्षापछि आएको बाढीले धेरैलाई विस्थापित समेत गराएको प्रकोप व्यवस्थापन केन्द्रका अधिकारीहरुले सोमबार जनाएका छन् ।प्रभावित मध्ये ११ हजार जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ भने अरुलाई पनि खोजी तथा उद्धार गरिएको अधिकारीहरुको भनाई छ ।सोमबार बर्षा रोकिएपछि मौसमी अवस्था सामान्य भएको छ । तर स्थानीयबासिन्दा भने फेरि बर्षा हुनसक्ने र बाढी आउने डरले प्रभावित क्षेत्रमा बस्न मानेका छैनन् ।

बाढीले सवैभन्दा धेरै मुल्लाइतीभु, किल्लीनोच्ची, मान्नार, भाभुनिया र जफ्नामा असर पारेको समाचारमा जनाइएको छ ।खोजी तथा उद्धारमा खटिएका अधिकारीहरुले अहिले सम्म कुनै मानवीय क्षति तथा घाइते भएको खबर नआएको बताएका छन् ।राष्ट्रपति मैत्रीपाला सिरिसेनाको निर्देशनपछि सेना तथा प्रहरीलाई उद्धार तथा राहत वितरणका लागि घटनास्थलमा खटाइएको छ ।प्रभावितहरुलाई पर्याप्त राहत तथा सहयोग प्रदान गर्न कुनै कन्जुस्याई नगर्न पनि राष्ट्रपति सिरिसेनाले निर्देशन दिनुभएको छ ।

प्रकोप व्यवस्थापन अधिकारीहरूले भने बाढीका कारण भौतीक संरचनामा भएको क्षतिको विवरण संकलन भइरहेकाले विवरण सङ्कलन भएपछि उनीहरूलाई दिने राहत तथा क्षतिपूर्तीको व्यवस्था गरिने बताएका छन् ।