सातकिलो सुनकाण्डमा पाँच पक्राउ

काठमाडौं,१५ भदौ – केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, न्युरोडको साढे सात किलो सुन गायव प्रकरणमा जोडिएका पाँचजनालाई पक्राउ गरेको छ ।

ऋणीलाई ऋण प्रवाह गर्ने क्रममा गायव भएको ७ हजार ४ सय ९७ दशमलव २८ ग्राम सुन प्रकरणमा जोडिएका दुई बैंकका कर्मचारी र ऋणी पक्राउ परेका हुन् । यो प्रकरणमा बैंकलाई २ करोड २८ लाख ३८ हजार ४ सय १ रुपैयाँ ५२ पैसा हानी भएको छ ।

प्रहरीले बैंकका वरिष्ठ सुन परीक्षकसहितका ऋणीलाई पक्राउ गरी उच्च अदालत पाटनबाट ७ दिन म्याद थपी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान गरिरहेको छ ।

कविता-पण्डित र दमिनी

कविता
पण्डित र दमिनी

एउटी नानी , 
कतै पोखिरहेकी छिन्, वेदनाका पोकाहरू
अश्रुभेल बर्सिरहेको छ, त्यो बगरको पत्थरहरूमा ।
अस्मिता छोपी हिँड्दै छिन् उनी, कर्कलाका पातहरूले

उ पा......री पट्टिबाट,
एक बटुवा नियाली रहेछ,
उनको जवानी ,

उनी निस्सासिरहेकी छिन् 
आफ्नै घरभित्रको आगोको धुवाँमा
उनी चिच्चाईरहेकी छिन्, 
मुठीभरको श्वास,
गगाँसरी आफ्नो जवानी,
अनि आफ्नै अस्मिता
जोगाउनु छ उनलाई ।

ती रावणहरू लखेटीरहेछन्,
आफ्नै बाका अनुहारहरूले सताई रहेका छन्
आफ्नै दाइ-भाइ जस्ता अनुहारहरूले लुछिरहेका छन्
आफूजस्तै नारीका रूपहरूले नङ्गाईदिएका छन्
एक बालिकालाई ।

अहो !
कस्तो तकदिर लेखिदिएछ भावीले पनि
एउटा अँध्यारो कुनामा बर्सिन थाल्छ 
आशुका ढिक्काहरु,
मनभित्रका रहरहरू,
त्यही अँध्यारो कोठीबाट निस्कन थाल्छ,
वेदनाका स्वासहररु

यत्तिकैमा वित्दैछ 
पल्लो घरकी दमीनी कान्छीको दिन
दिनहुँ जस्तो ओल्लो घरे पण्डितले,
लुछिरहेको छ उनलाई
चुँडिरहेको छ उनका रहरहरू,
च्यातिरहेको छ कोपिलालाई
र बनाउँदै छ गुडिया
एक दमीनी बालिकालाई ।

म सोची रहेको छु
लाग्छ यो त वर्षौँ देखिको
परम्परा नै बनिसकेको छ ।

यो समाज यस्तै रहेछ
सुखमा सबै रमाई दिन्छन्
दुखमा गलत्ताईदिन्छन् ।

त्यही पण्डितलाई 
उसले छोएको पानी चल्दैन
देवताले श्राप्छ उसलाई
तर उसैलाई कलकलाउदो जवानी
मज्जाले चली रहेछ ।
हरे !


परिवर्तन देवकोटा

रानीपोखरीमा डुब्दै ३ करोड !

काठमाडौं,१५ भदौ –काठमाडौं महानगरपालिकाले रानीपोखरी निर्माणमा संलग्न ठेकेदारलाई भुक्तानी रकम दिएपछि सर्वोच्च अदालतमा मुद्धा दायर गरेका छन् ।

रानीपोखरीलाई प्रताप मल्ले बनाएको शैलीमा निर्मा गर्न हालका विभिन्न संरचना भत्काउनुपर्छ ।

मेयर विद्यासुन्दर शाक्यले आफ्नो चुनावी प्रतिबद्धता पालना गरे रोनीपोखरी बनाइएका संरचना  भत्काउनुपर्ने हुन्छ ।

संरचना भत्कउँदा ३ करोड रुपैयाँ बालुवामा पानी सरह हुने भएको छ ।
महानगरले ठेकेदारलाई निर्माणका लागि २० प्रतिशत रकम दिईसकेको छ ।

त्यस बाहेक थप रकम माग गर्दै ठेकेदार अदालत गएका हुन् ।
महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार रानीपोखरी पुननिर्माणको लागत ६ करोड ३१ लाख रपैयाँमा ठेक्का दिएको हो ।, आजकोकान्तिपुर दैनिकमा यो खबर छ ।

गोरूले दुध दिन थाले पछी सबै आश्चर्यचकित

सिन्धुलीपाल्चोक / भनाई नै छ — गोरु ब्याउँदैने, दुध पनि दिँदैन । तर, यति बेला हेलम्बु गाउँपालिकाको इचोक, पुरानागाउँका सोनाम तामाङको घर पुग्ने जोकसैलाई यो भनाई झुटो लाग्न सक्छ । तामाङ दिनहुँ गोरु दुहुन्छन्, त्यसको दुध गाउँलेलाइ प्रसाद बाँड्छन् । भन्छन् — विहान बेलुकी गरेर एक मानाजति दिन्छ पहिले कहीकतै नदेखेको नसुनेको यो घटनाले स्थानीय छक्क परेका छन ।

अनि तामाङचाहिँ दँग । उनको घरमा गोरुले दुध दिएको हेर्न आउनेको भीडै लाग्न थालेको छ । सुरुमा तामाङ पनि कम्ती चकित परेका होईनन् । उनका अनुसार गत जेठदेखि गोरुको अण्डकोषछेउको थुनबाट दुधको थोपा खस्न थाल्यो । गोरुको तन्तुबाट सेतो पदार्थ झर्न थालेपछि दुध हो कि भनेर दुहेको त हो रहेछ, चार थुन मध्ये दुई वटा बिहान बेलुकै दुहुने गरेको छु, उनले भने, सबैले भगवान शिवजीको साढे नन्दी भनेर पुजा गर्न थालेका छन् ।, आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

अनुमति बिनै सरकारले किन टाँग्यो तस्बिर ?

काठमाडौं / बिमस्टेक सम्मेलनमा आउने पाहुनालाई देखाउन ठाउँ ठाउँमा राखिएका ब्यानरमा प्रयोग भएका तस्बिर फोटो पत्रकारको अनुमतिबिनै प्रिन्ट गरेर टाँगेको छ । आफूले खिचेको फोटो अनुमति बिनै सडक छेवैको ब्यानरमा टाँसेको देखेपछि फोटो पत्रकारले त्यसबारे गुनासो गरेका छन् । उनीहरुले आफूले दुख गरेर खिचेको फोटो सरकारी निकायले अनुमतिबिनै प्रयोग गरेको आरोप लगाएका छन् ।

‘तीनकुने पार्कको वरिपरि केही कुमारीका तस्बिर राखिएका छन् । ती तस्बिर मैले खिचेको हुँ ।’ फोटो पत्रकार स्कन्द गौतमले ट्विटमा लेखेका छन् । ‘त्यो फोटो ब्यानरमा अचानक देख्दा छक्क परेँ ।’ अर्का फोटोग्राफर सुदन दोङले पनि आफूले खिचेको फोटो अनुमतिबिनै प्रयोग गरेको गुनासो गरेका छन् । उनले भने, ‘प्रयोग गर्दा एकपल्ट सोधेको भए राम्रो हुने थियो, सरकारी निकाय हो भन्दैमा व्यक्तिगत सम्पत्ति चोर्न पाइन्न, त्यो फोटोमा मेरो पूर्ण हक छ ।’ त्यस्तै दिपेश श्रेष्ठले खिचेको गोसाइकुण्डको फोटो तथा केशव थोकर र चन्द्रशेखर कार्कीको फोटो पनि अनुमति वेगर फ्लेक्स ब्यानरमा प्रयोग भएको छ । आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

कक्षा १० पास नगरेकाे कपिलवस्तु बाणगंगाकाे गाउकाे कथा

अशोक पौडेल जितपर(कपिलवस्तु) १५ भदौ ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा एउटा यस्तो गाउ छ, जहाँ हालसम्म त्यो गाउबाट कसैले कक्षा १० पास गरेका छैनन । सुन्दा पत्याउन निकै गाह्रो हुने यो घटना बाणगंगा वडा नः ८ सिसेनी गाउको हो । करिव ४० घरधुरी रहेको गाउमा कक्षा १० पास गर्न कसैले नसकेर भने होइन । गाउका प्राय सबै कक्षा ७-८ सम्म पढेर छोडने गरेका छन । मुस्लिम समुदायको बाहुल्यता रहेको उक्त गाउमा कसैले कक्षा १० पास गरे बाजागाज र फुलमाला सहित निकाल्ने योजना गाउको बुढापाकाहरुको छ ।

गरिविका कारण धेरै पढन गाह्रो हुने भएकाले कक्षा ७÷८ सम्म पढेर घर खर्च जुटाउने काममा त्यहाका बालबालिका लाग्ने गरेका छन । बाणगंगा नदी नजिक भएकाले कोही त्यहाँ त कोही ज्याला मजदुरी गरी जिविका पार्जन गर्नुपर्ने गाउको बाध्यता रहेको छ । उतm गाउमा करिव ६० जना बालबालिका बिद्यालय जाने उमेरका रहेको छन । जसमध्य १५ जना बालबालिकाले हाल कक्षा ६,७, र आठमा अध्ययन गर्दै आएको भएपनि गाउले समाजसेविहरुकै दवाव र आग्रहमा बिद्यालय गई पठनपाठन गर्न लगाइएको छ ।

बिस्तारै पढनुपर्छ भन्ने महशुस गाउकाले गरेकाले हाल कक्षा ७-८ मा पढेका बालबालिकालाई कक्षा १० पढाउने चाहाना रहेकाले सोही बमोजिम सल्लाह सुझाव तथा सहयोग गरेको गाउका समाजसेवि सौकत अलीले बताए । छोरीलाई नपढाउने र छोराहरुलाई १२-१३ बर्षको उमेरपछि घर खर्च जुटाउन खोलामा काम गर्न पठाउने परम्परा रहेको अली बताउछन ।सो गाउबाट हाल तीन जना बिदेश गएका छन भने पुरुष प्राय सबै जाने क्रममा समेत छन । गाउबाट जस्ले सबैभन्दा पहिला कक्षा १० पास गर्छ , उसलाई अबिर माला सँङै स्थानिय वजार परिक्रमा गराउने चाहाना आफनो रहेको उनी बताउछन ।

वडाका अन्य गाउ भन्दा सिशेनि गाउपछि परेको स्वीकार गर्दै वडा नः ८ का वडा अध्यक्ष गुणनिधि भुसालले अवका बिकासका योजना सोही गाउमा केन्द्रीत गरिने बताए । सोही गाउमा मदरसा शिक्षा र कक्षा तीनसम्म प्रावि सञ्चालनमा रहेको छ । त्यहँका बालबालिका वडाको लागी गहना भएकाले सबै बालबालिकालाई बिद्यालयसम्म पुर्याई उच्च शिक्षाका लागी वडाले समेत पहल गर्नुका साथै सहयोग गर्न तयार रहेको अध्यक्ष भुसालले बताए । सडक छेउको बिकास लाई आधार मानेर बिकास भएको मान्नु मुर्खता भएको बताउदै उनले गाउघर भित्रको बिकासलाई प्राथमिकता दिन आवश्यक रहेको उनको भनाई छ । बिकासका दृष्टीले समेत वडाका अन्य गाउभन्दा पछि परेको उतm गाउमा सडकको बिस्तार गर्न ब्यवस्थित गर्न आवश्यक रहको उनी बताउछन । बासका पोल बनाई गाउमा बिद्युत त आयो तर पोल हालसम्म आएको छैन । उक्त गाउमध्य २ घरको मात्र नम्बरी जग्गा रहेको छ भने अन्य सबै बाणगंगा नदी किनारको एेलानी  जग्गामा बसोबास गर्दै आएका छन ।

‘युवराज लामिछाने प्रदीप’का केही मुक्तकहरु

रुपन्देहीको देवदहमा स्थायी बसोबास गर्दै आएका स्रस्टा ‘युवराज लामिछाने प्रदीप’ युवा पुस्ता माझ लोकप्रिय मुक्तककारका रुपमा परिचित छन २०७२ असारमा उन्को पहिलो मुक्तक सङ्ग्रह  ‘कात्रोमा खल्ती‘  सार्वजनिक भएको थियो l
केही मुक्तकहरु 

१)

राजनीतिक पार्टीका नेताहरु भेटेर आउँछ मेरो साथी 

चाकडी र चाप्लुसी गर्न पनि बहुत रुचाउँछ मेरो साथी 

पहिले सोर्स फोर्स लगाएर जागिर खायो बल्लतल्ल 

अहिले तलब थोरै भयो भन्दै गनगनाउछ मेरो साथी ।




२)

हट्ने भने भ्रष्टाचारी  देश कस्तो बन्थ्यो होला

घट्ने भने बेरोजगारी देश कस्तो बन्थ्यो होला

निजी क्षेत्रमा जस्तै सरकारी क्षेत्रहरुमा पनि

खट्ने भने कर्मचारी देश कस्तो बन्थ्यो होला।




३)

एक अर्काको साथ छुटे मर्नैपर्छ भन्ने छ र?

कि बाँच्न कसैको भर पर्नैपर्छ भन्ने छ र?

ए पागल प्रेमी प्रेमीका हो,प्रेम गर्दैमा

खुलेयाम बाटोमा चाटाचाट गर्नैपर्छ भन्ने छ र ?




४)अचम्मका निर्णयहरु गरिन्छ के गर्न सकियो र

आफ्नै कारणले आफै मरिन्छ के गर्न सकियो र

समाजमा गोरु व्याउछ भन्नेहरुको बहुमत जुटेछ 

व्याउदैन भन्ने दोषी ठहरिन्छ के गर्न सकियो र ।




५)

कैले शान्ति छाउँछ मनमा कैले तोडफोड भैदिन्छ 

छिनमै घट्छ प्रेमकहानी, छिनमै जोड भैदिन्छ

खै कस्तो प्यार गर्छन् अचेलका युवायुवतीहरु?

बिहान माया बस्छ, साँझमा बिछोड भैदिन्छ   ।




© युवराज लामिछाने प्रदीप

uvarajlamichhane@gmail.com

देवदह , रुपन्देही

हत्याको अनुसन्धानका लागि बम दिदी बहिनी अझै एक हप्ता थुनामा

१४ भदौ-निर्मला पन्तको हत्याको अनुसन्धानका लागि नियन्त्रणमा लिएका रोशनी बम र बबिता बमलाई आज एक साताको म्याद थप गरिएको छ।

जिल्ला अदालत कञ्चनपुरले थप सोधपुछ र अनुसन्धानका लागि एक साताको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए।

कञ्चनपुर भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको गत साउन १० गत हत्या भएको थियो। घटनाको सोधपुछका लागि नियन्त्रणमा लिइएका रोशनी बम हत्या गरिका निर्मलाका स्कूले साथी हुन्।

उनकै घरबाट फर्किने क्रममा गत साउन १० गते निर्मलाको हत्या गरी उखुबारीमा शव फालिएको थियो।

यसअघि सोही घटनाको अनुसन्धानका लागि भनी सोमबार जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरिएको थियो।

म्याद थप गरिएसँंगै उनीहरुको बयान लिने र अन्य अनुसन्धानको कामका लागि थप समय मिलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।घटनामा यसअघि संलग्न भनिएका भीमदत्तनगरपालिका–१९ बागफाटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई स्वास्थ्य जाँचका लागि काठमाडौँ पठाएको छ। रासस

पायल्स हुने कारण र अपनाउनुपर्ने सावधानी

काठमाडौं,१४ भदौ-दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम मानिसमा सुनिन्छ। कसैको त पीप बग्छ, अंगुरका झुप्पाजस्तो पलाएको छ, रातो डल्लो छ भन्ने सुनिन्छ। यही रोग नै पायल्स हो। कसैलाई यो रोग लाग्दा रगत आउछ भने कसैलाई आउदैन।

पायल्स हुनुको कारण

पायल्स हुनुको मुख्य कारण खानपान र जीवनशैली नै हो। पानी कम खाने, हरियो सागपात नखाने, शारीरिक व्यायाम कम गर्ने, धेरै व्रत बस्ने, चिया बढी पिउने, माछामासु तथा सुख्खा चीज जस्तै चाउचाउ, बिस्कुट, चाउमिन बढी खाने, अनियमित खानपान, अनिद्रा, धेरै तनाव लिने, रक्सी, चुरोट, सूर्तिको अत्यधिक प्रयोग, कलेजोको खराबी, तथा  तारेका कुरा बढी खाने गर्नाले पायल्स तथा दिसाबाट रगत आउने, मासु पलाउनेजस्ता समस्या बढी हुन्छ।

दिसा कब्जियत, वा दिसा थोरै आउनु, गोटा पर्नु, नियमित दिसा नहुनु, दिसा तथा पाद रोक्नु, दिसा पिसाब लागेको बेलामा नगर्नु, अत्यधिक गर्मी वातावरणमा बस्नु, चिल्लो तथा तेलको प्रयोग बढी हुनु, पायल्स रोगको कारण हो। शरीरलाई आवश्यकभन्दा बढी खानु, तनाव लिनु तथा जीवनशैली एकनासको नभएका कारण पायल्स हुन्छ।

पाइल्सका लागि खानुपर्ने

पानी प्रशस्त पिउने, हरियो सागपात काँचै खाने, फलफुल खाने, चोकरसहितको गहुँको पिठो, रोटी, जौ, ब्राउन राइस, रहर तथा मुगको दाल खाने।

खानासंग मुला, काँक्रो, गाँजर खाने, नरिबल, अनार, स्याउ, बेलजस्ता फलफुल, करेला, धनिया, लौका खानु राम्रो हुन्छ। कब्जियत हुन नदिने, हरेक दिन शारीरिक व्यायाम गर्ने, आफ्नो पिसाबले गद्द्वार धुने, एक गिलास गाइको दुधमा आधा कागती निचोरेर तुरुन्त खाँदा कसै कसैलाई रगत तथा पिप आउने जस्ता समस्या ठीक भएका छन्। नरिवलको बाहिरको जटा डढाएर एक चिम्टी खरानी र दुबोको २ चम्चा रस घोलेर बिहान बेलुका एक गिलास मनतातो पानीसंग खाँदा सन्चो भएको पाइएको छ।

कसैलाई मुलाको बिउ कुटेर तोरीको तेलमा फिटेर दिसा गरिसकेपछि लगाउँदा निको हुन्छ। कसैलाई फिटकिरी एक टुक्रा राखेर दश लिटर जति पानीमा दिनको दश मिनेट बस्दा धेरै आराम मिल्छ। नियमित रुपमा योग गर्दा पनि सन्चो हुन्छ। यो समस्याको नआत्तिइकन उपचार गर्नुपर्छ। औषधि उपचारबाट निको हुन केही समय लाग्न सक्छ। शल्यक्रिया पनि अन्तिम उपचार भने होइन। कहिलकोही शल्यक्रियापछि पनि समस्या बल्झिएको र निको नभएको पाइन्छ।

पायल्सका बिरामीले के नगर्ने के नखाने ?

पिरो, चिल्लो तथा मसला बढी भएको माछामासु, बासी खानेकुरा, कालो दाल, अदुवा, अमिलो,  बोतलबन्द कुराहरु, पूरानो अचार, रेडिमेड खानेकुरा, चियाकफी, चुरोट रक्सी जस्ता चिज उपभोग नगर्ने, खाली पेट नबस्ने, बिहान अबेरसम्म नसुत्ने लगायतका कुरामा ध्यान दिए पायल्स हुनबाट बचिन्छ। पायल्स भइसकेपछि पनि छिटो निको हुन्छ।

विशेष गर्नुपर्ने कुराहरु

पायल्सका बिरामीले हप्तामा एकपटक वा आवश्यकता अनुसार पेट सफा गराउने, पेट हल्का राखी उपचार गर्नु एकदम राम्रो विधि हो। एकदम कम र हल्का खाने, शरीरले पचाउन सक्ने गरी खानुपर्छ।

पिपलको बोक्रा मसिनो बनाएर सुकाएर पिस्ने, शुद्ध तोरीको तेलमा मिसाएर नियमित बिहानबेलुकी मासु बढेको ठाउमा एकदेखि तीन महिनासम लगाएमा बिस्तारै सुक्दै जान्छ। एजेन्सी

सम्मेलन नसकिँदै स्वदेश फर्कने तयारीमा शेख हसिना

१४ भदौ, काठमाडौं । प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन काठमाडौं आएकी बंगलादेशी प्रधानमन्त्री शेख हसिना सम्मेलन नसकिँदै स्वदेश र्फकने भएकी छन् । उनी शुक्रबार बिहान ११ बजे त्रिभुवन विमानस्थलबाट बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ ।

शिखर सम्मेलनको समापन मध्यान्ह १ः४५ बजे हुने परराष्ट्र मन्त्रालयले तयार पारेको तालिकामा उल्लेख छ। हसिना बिहीबार विहान पौने ९ बजे विशेष विमानबाट नेपाल अवतरण गरेकी थिइन्।

 

बंगलादेशमा चलिरहेको राजनीतिक आन्दोलनका कारण हसिना सम्मेलन नसकिँदै स्वदेश र्फकन लागेको बंगलादेशका सञ्चार माध्यमको भनाई छ। बंगलादेशमा करिब एक महिनायता वद्यार्थी आन्दोलन जारी छ। साथै आम निर्वाचन पनि नजिकिँदै छ ।

यसअघि उनी सम्मेलनमा सहभागी हुन नआउने बताए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आग्रहमा उनी सम्मेलनमा सहभागी हुन नेपाल आएकी थिइन् ।

जिल्ला मालपोत कार्यालय कपिलबस्तुमा अनाधिकृत ब्यक्ति प्रबेश निषेध ।।

मालपोत कार्यालय कपिलबस्तुले भाद्र ११ गते देखि कार्यालय भित्र अनधिकृत ब्यक्ति लाई प्रबेश निषेध गर्नका लागि कार्यालयले गेट मै ब्यक्तिको नाम थर ठेगाना र के कामका लागि प्रबेश गर्ने हो कार्यालयको रजिष्टरमा दर्ता गराएर मात्र प्रबेश गराइएको मालपोत कार्यालय कपिलबस्तुले जनाएको छ । भूमि ब्यबस्था, सरकारी तथा गरिबी निवारण मन्त्रालयको निर्णय अनुसार भूमि सुधार तथा मालपोत कार्यालय र मालपोत कार्यालयहरुबाट हुने सेबा प्रबाहलाई ब्यबस्थित गरी सुशासन कायम गर्न नेपाल सरकारको मन्त्रि स्तरिय निर्णय र निर्देशन बमोजिम उक्त कार्यको शुरुवात गरिएको हो । नियम र निर्देशन अनुसार मालपोत कार्यलयमा लेखापढि गर्ने लेखापढि कानुन ब्यबसायीहरुले परिचय पत्र लगाएर मात्र कार्यलयको शुरु बिन्दु सम्म प्रबेश गर्न पाउने र अन्य लेखापढि गर्ने सहायक कर्मचारीहरुको प्रबेशलाई तुरुन्तै बन्द गर्ने निर्देशन रहेको छ । यता कार्यालयमा दरबन्दी अनुसार कर्मचारी नहुदा सेबाग्राहि हरुको काम समयमा गर्न नसकिएको मालपोत कार्यलयका प्रमुख भोज बहादुर भन्डारीले बताएका छन् । कार्यालयमा सेबा ग्राहि भन्दा बाहिरी ब्यक्तिहरु प्रबेश गर्ने र कार्यकक्षहरुमा एकदमै भिड हुने हुंदा लाइनमा बसेका सेबाग्राहि हरुले धेरै समय खर्चिनु पर्ने , सेबाग्राहि हरुले काम छिट्टो हुन्छ भनेर बिचौलियाहरुलाई अगाडि सारी काम गराउने हुदा सेबाग्राहि हरु मर्कामा परेका हुन् । बिचौलियाहरुले गर्दा कर्मचारीहरुले बिभिन्न आरोपहरु खेप्नु परेको प्रमुख भन्डारीको भनाइ छ ।
त्यस्तै कार्यलयमा भिडभाड हुंदा पाकेट मारको बढि डर हुन्थ्यो अब भने जुन काम लिएर सेबा ग्राहिहरु आएका छन् उनिहरु मात्र प्रबेश गर्दा काममा अलमल नपर्ने र सेबाग्राहिहरुको काम टोक्कनको आधारमा गरिने भएको हुदा सेबाग्राहिहरु लाई सहज हुने मालपोत अधिकृत ऋषि राम पौडेलले बताए । नेपाल लेखापढि कानुन ब्यबसायी एशोसिएशन इकाइ समितिका अध्यक्ष बिष्णु प्रसाद मौर्यले बिचौलियाहरुलाई नियन्त्रण गर्नका लागि लेखापढि समिति लागि परेको बताएका छन् । मालपोत कार्यलयमा कर्मचारीको अभाब भएका बेला बिभागले केन्द्र बिन्दु सम्म मात्र प्रबेश गर्ने निर्देशन दिएको हुदा अप्ठ्यारो भएको बताएका छन् । बिचौलियाहरुले कर्मचारी र ब्यबसायीहरुको नाम बेचेर छुट्टै रकम लिने गरेको हुंदा यो नियम बिचौलियाहरुका लागि एकदमै राम्रो हो तर सेबा ग्राहिहरुलाई काममा ढिला हुने ब्यबसायिहरु बताउछन् । कार्यलयले कार्यलय संचालन हुने अबधिभर सुरक्षा कर्मीको ब्यबस्था का लागि जिल्ला प्रशासन कार्यलय र प्रहरी कार्यलय संग समन्वय गरको छ । सुरक्षाको ब्यबस्था भएपछि कार्यलयको परिसरमा अनाबश्यक ब्यक्तिहरुको भिड नहुने मालपोत कार्यलयले जनाएको छ ।

कपिलवस्तु नगरपालिकामा एक पुरुषको वेवारीसे शव फेला ।।

कपिलवस्तु जिल्लाका मुख्य बजार क्षेत्रका सडक र बजारमा मागेर जिवन विताइरहेका मानिसहरु विभिन्न कारणले बेवारिसे अवस्थामै ज्यान गुमाउने गरेका छन् । बजारका पसल र मानिसहरुसँग दैनिक मागेर आफ्नो दुई छाक गुजारी रहेका सडक मानिसहरु आकासलाई छानो र सडकलाई विस्तारा बनाउदा बनाउदै अकालमै ज्यान गुमाउने गर्दछन् । जिल्लाका विभिन्न स्थानहरुमा उनीहरुका मृत्युका खबरहरु समेत सार्वजनिक भईरहेका छन् । सोहि अनुसार आज कपिलबस्तु नगरपालिकामा एक सडक मानिसको शव फेला परेको छ । कपिलवस्तु नगरपालिकाको हाटबजार स्थितमा मागी खाई हिड्ने नामथर नखुलेका अन्दाजी २५÷२६ वर्षको पुरुष व्यक्तिको शव वेवारिसे अवस्थामा प्रहरीले फेला पारेको थियो । प्रहरीले शवको मुचुल्का कार्य पश्चात पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवामा पठाईएको छ । शवको सनाखतको लागी प्रहरीले हुलिया परिपत्र गरेको जानकारी गराएको छ ।

वाणगंगा नगरपालिकाद्धारा अवैध नदिजन्य पदार्थ बरामद ।।

वाणगंगा नगरपालिका वडा नं. ६ भक्लापुरमा अवैध रुपमा नदिबाट चोरि निकासि गरिएको नदिजन्य पदार्थ बरामद गरिएको छ ।
उक्त नदिजन्य पदार्थ डम्पिङ गरेको पाईएको हो । करिव ३० ट्रालि नदिजन्य पदार्थ नगरपालिका र प्रहरि टोलिले नियन्त्रणमा लिएको नगर प्रवक्ता विष्णु पौडेलले जानकारि दिए । त्यसबारे अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ ।

वाणगंगा नगरकार्यपालिकाको विभिन्न शाखाहरुको बैठक आज सम्पन्न भएको छ ।                                                          बैठकले विभिन्न महत्वपुर्ण निर्णयहरु गरेको छ । जसमा नगरपालिकाको तिन पाङग्रे सवारि ब्यबस्थापन समितको बैठक सम्पन्न भएको छ ।
उक्त बैठकले तीन पाङ्ग्रे सवारि साधनहरुको रुट, भाडादर तथा स्टेशन तोकि नगरकार्यपालिकामा प्रस्ताव पेश गर्ने निर्णय गरेको छ । जसको ब्यबस्थापन समितका संयोजकमा नगर प्रवक्ता विष्णु पौडेल रहनुभएको छ । त्यस्तै वाणगंगा नगरपालिकाको पुर्वाधार समितको बैठक पनि बसेको छ । वडा नं. ४ का वडाअध्यक्ष गणेश ब क्षेत्रीको संयोजकत्वमा बैठक बसिएको हो । उक्त बैठकले आर्थिक बर्ष २०७५÷७६ मा प्रदेश र संघिय सरकारर संग माग गरिने योजाहरु छनौट गरेको छ । बैठकमा ११ वटा वडाका वडाअध्यक्षहरु, नगर कार्यकारि निम्त्ति प्रमुख प्रशासकिय अधिकृत मधु कृष्ण पौडेल, राजश्व शाखा प्रमुख शान्तराज आचार्य को सहभागिता उपस्थिती रहेको थियो ।

पत्रकार महासंघ कपिलवस्तु शाखाको आयोजनामा मुलुकी संहिता र अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तरक्रिया ।।

नेपाल पत्रकार महासंघ केन्दिय कार्यालयको निर्णय अनुसार भाद्र १ गतेबाट लागु भएको मुलुकी संहिता २०७४ तथा गोपनियताको हक विरुद्धको कसुर सम्वन्धी व्यवस्थाका केही प्रावधानहरुको प्रेस तथा अभिव्यक्तिका स्वतन्त्रतामा अंकुश लगाउन देखिएकोले देशका सम्पूर्ण जिल्ला शाखामा बिरोध स्वरुप कानुन व्यवशायीहरुलालाई राखेर अन्तरक्रिया गर्ने कार्यक्रम अनुसार मंगलवार नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको आयोजनामा मुलुकी संहिता देवानी र फौजदारी २०७४ र अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तरक्रिया कार्यक्रम पत्रकार महासंघको भवन तौलिहवामा सम्पन्न गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका पूर्व जिल्ला अध्यक्ष भेषराज पाण्डेले प्रेस स्वतन्त्रताका लागि मुलुकी संहिता २०७४ अभिव्यक्ति स्वतन्त्रतामा भएको व्यवस्थाका वारेमा संक्षिप्त रुपमा प्रकाश पारेका थिए । त्यसैगरी जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख कमल पंथीले यो मुलुकी संहिता मिडिया लक्षित भएर आएको कानून नभई व्यबहार मर्यादित हुनुपर्ने सामाजिक संजाललाई दुरुपयोग गर्नेलाई कसैलाई छुट नभएको वताए ।

माननिय जिल्ला न्यायधिश गिरिराज गौतमले पत्रकार भनेका राज्यका चौथो अंग र समुदायको ऐना भएकोले अदालतबाट फैसला भए गरेका राम्रा नराम्रा गतिविधिलाई बाहिर ल्याउनु सुझाव दिँदै आफूले आफ्नो ठाउँबाट पत्रकारहरुलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । मन्तव्यकै क्रममा नेपाल पत्रकार महासंघ प्रदेश न.५का सदस्य नन्दराम पौडेल पनि आफ्नो धारणा राखे । पत्रकार महासंघका जिल्ला अध्यक्ष डिलाराम भुसालको अध्यक्षता, पत्रकार महासंघका केन्द्रिय सदस्य तथा ५न.का ईन्चार्ज वसन्त गिरीको प्रमुख आतिथ्यता, माननिय जिल्ला न्यायधिश गिरिराज गौतमको विशिष्ट आतिथ्यता जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख कमल पंथीको आतिथ्यता रहेको कार्यकम जिल्ला सह सचिव मोहन वेल्वासेको सञ्चालनमा सम्पन्न भएको थियो । मानव अधिकार कर्मी रवि ठाकुर, नागरीक समाजका प्रतिनिधि, मिडिया सञ्चालक, पत्रकारीता पेशासंग सम्वन्धीत संघ, संगठन, सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कृष्णनगर प्रहरीद्धारा अबैध कुखुराका चल्ला नष्ट ।।

कपिलवस्तुको ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको मोटर साईकल गस्ती टोलीले अबैध कुखुराका चल्ला बरामद गरेको छ । कृष्णनगर नगरपालिका वार्ड नं. १२ स्थित नरेनापुर घाटबाट १५ सय र महाराजगंज नगरपालीका वडा न.९ मुझना नाकामा भारत बाट नेपाल तर्फ चोरी पैठारी गरी ल्याउदै गरेका एक हजार ब्रोईलर कुखुरा चल्ला बरामद गरेको हो । दुवै स्थानबाट बरामद गरीएका २५ सय चल्लाको मुल्य रु.१,लाख ३७ हजार ५०० कायम गरीएको छ । बरामद गरीएका ब्रोईलर कुखुरा चल्ला स्थानिय पत्रकार,पशु क्वारेन्टाईन कृष्णनगरका कर्मचारीहरूको रोहवरमा नष्ट गरीएको कपिलवस्तु प्रहरीले जानकारी गराएको छ ।

कपिलबस्तुमा प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ ।

कपिलवस्तुको मायादेवी गाउपालिकाबाट प्रहरीले नेपालमा अबैध मानिने लागु औषध सहित २ जनालाई नियन्त्रणमा लिएको छ । मायाँदेवि गाउपालिकाको वडा नं.४ चाकरचौडा स्थित भारतको अलिगढवाबाट नेपाल भित्रीएको नम्बर प्लेट नभएको अनटेष्ट मोटरसाईकलमा सवार दुईजनाको साथबाट लागुऔषध भेटिएको हो । प्रहरीले संका लागि चेकजाच गर्दा मोटर साईकल चालक मायादेवी गाउपालिका वडा नं.२ अभिराव बस्ने बर्ष २१ का अदनान सेख र मोटरसाईकल पछाडी बस्ने बर्ष २६ को फिरोज अहमद मुसलमानको साथबाट नेपालमा प्रतिबन्धित औषधी स्पास्मोडन क्याप्सुल २२ वटा फेला परेको थियो । लागुऔषध कारोवारमा संलग्न रहेको आसंकामा उनीहरु दुवै जनालाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिई अनुसन्धान कार्य भै रहेको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ ।

कपिलवस्तुको बुद्धभुमिमा मेरो साथी एफएमद्धारा आधारभुत पत्रकारिता तालिम सुरु

कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा एक हप्ते आधारभुत पत्रकारिता तथा उद्यधोषण तालिम सुरु भएको छ । मेरो साथी एफएमद्धारा आयोजित तालिमको उद्यघाटन कार्यक्रममा बोल्दै पत्रकार महासघं कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले पत्रकारिता क्षेत्र निश्पक्ष भई पिडितलाई न्याय दिदै बिकास पत्रकारितामा जोड दिनुपर्ने बताए । बिकासका हिसावले पछि परेका क्षेत्रका समस्यालाई उजागर गरि सञ्चार माध्ययममा ल्याउन आवश्यक रहेकोमा उनले जोड दिए । कार्यक्रममा मेरो एफएमका प्रवन्ध निर्देशक चिन्ता परियार सञ्चारकर्मी अशोक पौडेल लगायतले आआफनो धारणा राखेका थिए । तालिममा २५ जनाको सहभागिता रहेको छ । यही महिनामा भित्र मेरो साथी एफएम सञ्चालन आउन लागेको छ ।

‘भिन्नता’ -युवराज लामिछाने प्रदीप

     'भिन्नता' 
     युवराज लामिछाने प्रदीप



फूल ले सधै सुगन्ध दिन्छ

र सुगन्ध  नै देऊ भन्छ अरुलाई 




पत्थर आफू कडा छ

कडा बन्न भन्छ अरुलाई 




हिउँ नरम छ

नरम नै रहनु भन्छ अरुलाई 




पहाड मजबुत छ

सधै ठाडो रहनु भन्छ अरुलाई 




घामले उज्यालो दिन्छ

उज्यालो देऊ भन्छ अरुलाई 




बादल शितल दिन्छ

शितल नै देऊ भन्छ अरुलाई




पानी बग्छ 

र बग्नु तिमी पनि भन्छ अरुलाई




बा जिन्दगी भर सन्तानको लागि घोटिन्छन्

र उसै घोटिन सिकाउँछन् सन्तानलाई 

सन्ततिको लागि ।




संसारका सबै चिजहरु आफू जस्ता छन् 

उस्तै रहन सिकाउँछन् 




तर आमा आफू दुखेर पनि 

सन्तानलाई खुशी हुन सिकाउँछिन्

हास्न सिकाउँछिन् ।

---

“केही नाङ्गा प्रश्नहरु” -सुनिता खनाल

"केही नाङ्गा प्रश्नहरु"
सुनिता खनाल



प्रिय कार्ल मार्क्स

किन हुरीझैँ बहुलाउँदैनन्

तिम्रा योद्धाहरु आज ? 




जबकी–

आमाका कोमल स्तनहरु

र नानीहरुका कोमल शरीर

अझै तानाशाहका बुटमुनि छन् ।




आमाको स्वर्गजस्तो कोखमा 

बन्दुक ताक्ने को हुन् ?

बाबाको देशजस्तो छातीमा  

बम राख्ने को हुन् ?

बहिनीको जाँघभित्र

कसले घुसारेका हुन् 

चित्कारजस्तो हतियार ?

बालकहरुको गीतमा 

कसले भरेको हो क्रूरतम संगीत ?




प्रिय बुद्ध !

यो जीवन चिन्नलाई

केवल तीन प्रश्नले किन पुग्दैन

तिम्रा सिद्धार्थहरुलाई ?




प्रिय गान्धी ! 

संसार पढ्न 

संसार सुन्न

संसार हेर्न

किन पुग्दैन 

तिमीले छोपेका तीन अङ्गले ?




मानिसका सपनाहरु 

कहाँ कहाँ कैद छन् ?

प्रिय कवि !

किन बोल्दैन तिम्रो कविता ?


समय भ्रुण-जीवन युगिन

‘समय भ्रुण’ 

तिमिलाई जहाँ देखें
त्यहीँ देखि,
तिमिलाई जहिले देखें
त्यही क्षणदेखि,
म रित्तिंदै रित्तिदैं 
खाली हुँदै गएँ

एकदम पात जस्तो
एकदमै प्याला जस्तो

तिसौं वसन्त आए,
तिसौं वर्षात आए,
गृष्म, शरद, शिशिर
हिउँद लस्करै आए, गए

र म किनारामा उभिएर हेरिरहें
न पात छुन सकें
न भेलमा हेलिन सकें

समय !
पिरो धुँवा जसरी बित्यो
उरन्ठ्याउलो धुप जसरी गुज्रियो

अहिले
यति मिस गरेको छु
वर्षातका ती एक एक थोपा र तिर्खा
शरदका ती एक एक थूंगा र समय
शिशिरका ती ठीहीरो र घामको न्यानो

एउटै थूंगाभित्रका
पुंकेशर र स्त्रीकेशर
कुनै किरा वा माहुरीको स्पर्शपछि
निषेचित भएझैं
तिम्रो उपस्थीती,
तिम्रो स्पर्शले
म आफैभित्रको परागसंग मिसिएँ
म आफू निहित संसारसंग जोडिएँ
म आफूभित्रको जीवनसंग एकाकार बनेँ

र सारा पूराना कुरासंग अलग्गिएर
एकदम रित्तो भएँ

यो असार
जीवनमा पहिलोपल्ट
असार बनेर आयो

श्रावणका
थोपा र वाछिटा, समय र संवेदना
निर्झरी बनेर आए
म पात बनेर भिजें
म पात्र बनेर भरिएं
म प्याला बनेर
टलपल भएँ

हेर! न
तिम्रो आउनुले
म प्रेमको गर्भादान गरेकी
प्रेमी भएर
व्युँझिएँ

जीवन युगिन

नवलपुर

सबैलाई हसाउने गाईजात्रा ले जितु नेपाल ” मुन्द्रे ” लाइ रूवाइदियो !!!

‘गाईजात्रामा म धेरै रोएको छु’

यसपटक  गाईजात्राको चहलपहल अलि सेलायो नी ? विगतका वर्षहरुमा गाईजात्राको अवसरमा धेरै कार्यक्रम हुन्थे तर यसपाली के भएर कुरा मिलेन ? 

यसमा कुरा नमिलेको भन्दा पनि यो वर्ष प्रज्ञा भवनमा हलको पूर्नमिर्माण हुदैंछ । हामीलाई ठाउँ अभावले पनि समस्या भयो । जुन रुपमा विगतमा कार्यक्रम गर्ने गथ्र्यौं त्यसमा कमी भएकै हो । यस पटक गाईजात्रा कै दिन रेडियो अडियोसँगै मिलेर यही नयाँ बानेश्वरमा एउटा कार्यक्रम गरिंदैछ ।

 

विगतका वर्षमा हरेक पटक गर्दै आएको कार्यक्रम अचानक गर्न नपाउँदा शुन्य शुन्य लागेन ? 

यसको कुरा के गर्नु यती खल्लो महशुस भएको छ कि म सँग व्यक्त गर्ने शब्द नै छैन । पहिलाका प्रशासनहरुलाई मैले अवश्य नै याद गरिरहेको छु । गाईजात्रामा आर्थिक रुपमा लाभ लिने भन्दा पनि दर्शकको सम्बन्धले पनि भिन्न किसीमको अनुभूति भएको छ । दर्शकमाझ प्रस्तुति दिने त्यो अवसर यसपाली हामीले गुमायौं । म स्टेजमै बढी रमाउने कलाकार भएको नाताले पनि अझ धेरै मिस गर्दैछु । केही छुटेको जस्तो लाग्दै छ ।

 

गाईजात्रालाई तपाई कसरी बुझनु हुन्छ ?

यो मुख्य त एउटा इतिहाससँग जोडिएको घटना हो । यसको सांस्कृतिक अर्थ छ ।  राजा प्रताप मल्लले आफ्नी श्रीमतीको मृत्यूको शोक पछि घरघरबाट जात्रा निकाल्न थालियो । गाईको भेष भुषामा बजार परिकर्मा गर्ने, झाकी निकाल्ने परम्परा चल्दैं आयो भने देशमा भएका सामाजिक कुरुती, देशमा भएको बेथितीलाई व्यङग्य गर्न चाँडको रुपमा यसलाई लिइने गरिएको छ ।

 

गाईजात्रासँग जोडेर त्यस्तो कुनै घटना छ ?

धेरै समय अघि सन्तोष पन्त दाईसँग मिलेर प्रज्ञा भवनमा हामीले पनि प्रहसन गर्ने प्रयास गर्‍यौं । त्यतिबेला म सँग दमन रुपाखेती जी पनि हुनुहुन्थ्यो  । अथक मेहिनत बावजुद हामीलाई ७ मिनेटको समय दिइयो । तत्कालिन समयमा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँ पनि कार्यक्रम हेर्न आउनु भएको थियो । धेरै प्रयास पछि समय पायौं प्रस्तुति पनि राम्रो भयो । तर त्यसपछिका वर्षहरुमा हामीलाई त्यसबाट हटाइयो । कार्यक्रम खासै गर्न दिइएन । त्यसरी हटाउँदा मनमा अनेकन कुराहरु खेल्न थाले धेरै रिस पनि उठ्यो । त्यतिबेला मलाई यी कुराहरुले एकदमै रुवायो पनि  । मलाई आफूलाई सम्हाल्न गाह्रो भएको थियो । मेरो कलाकारिताको क्षेत्रमा प्रवेश गरेपछिको सबै भन्दा दु.ख क्षण त्यहि नै हो जस्तो लाग्छ । त्यसपछि केही बर्षको अन्तरालमा म नै संयोजक भएर यस्ता धेरै कार्यक्रमहरु गर्‍यौं । दमन रुपाखेती शिवहरी पौडल, दिपकराज गिरी हामी सबैले कार्यक्रम गर्दा स्वर्गीय दिपेन्द्र सरकार पनि हाम्रो कार्यक्रम हेर्न आउनुभएको थियो । सरकारलाई हामीले प्रहसन देखायौं । मैले एउटा क्यासेट पनि उहाँलाई दिए । उहाँले म सुन्छु पनि भन्नुभयो । त्यसपछि जानेबेला मा कार्यक्रम सकेर बिदाई गर्ने बेलामा सबै कलाकारहरु लाइन बस्ने  भनेर भनिएको थियो । सरकार हाम्रो कार्यक्रम सकिने बित्तिकै हिड्न लाग्नुभएको थियो हामी सबै हत्त न पत्त गएर लाइन बस्यौं । उहाँलाई अचम्म लागेछ । एकछिन अगाडि मात्र भेट भएको कलाकार फेरी भनेर । त्यसपछि उहाँले अरे तपाईहरु अघि भर्खर भित्र हुनुहुन्थ्यो कसरी अचानक यहाँ भनेर सोध्नुभयो । हामी हजुरलाई बिदाई गर्न आएको सरकार भन्यौं । उहाँँले राम्रो छ तपाईको अभिनय भनेर हिड्नुभयो ।

 

तपाईलाई गाईजात्रामा आफुले गरेको प्रहसन मध्य सबैभन्दा मन परेको प्रहसन कुन थियो ? 

त्यतिबेला मैले र दमनले धेरै राम्रा राम्रा प्रहसनहरु गर्‍यौं । तर त्यतिबेला यस्तो अहिले भएको जस्तो सामाजिक सञ्जालहरु थिएन । खासै प्रचारप्रसार पनि थिएन । र पनि हामीले दर्शकहरुले जुनियर मह जोडी भनेर नाम दिनुभएको थियो । यसमा खुशी लाग्थ्यो । हामीले वान वे, सिल्पिङ ट्याब्लेट लगाएत धेरै प्रहसनहरु गर्‍यौं । यही नै मन पर्ने भनेर तोक्न चाहिँ अलि गाह्रो नै छ ।

 

 

गाईजात्राको प्रहसनहरु गरेर पैसा पनि त टन्नै कमाइयो होला ?

पैसा त्यस्तो टन्नै छैन । पैसाको कुरामा चाहिँ हामीले अघिपछि जुन शो हरु गर्‍यौं त्यो शो अन्र्तगत हामीले ५ प्रतिशत पनि गाईजात्राबाट कमाउँदैनौं । त्यस्तो धेरै आम्दानी हुँदैन किनभने धेरै कलाकार हुन्छौं र सबैले बाडेर लिनुपर्दा र फेरी सिनियरलाई सिनियर कै हिसाबले हेर्नुपर्ने हुँदा पैसा कम नै हो । यसमा पैसा भन्दा हजार गुणा बढि ख्याती र हजार गुणा बढि दर्शकहरुको माया पाउने ठाउँ हो । यसलाई पैसामा तुलना गर्न मिल्दैन । मैले गाईजात्राको २२ शो सम्म कार्यक्रम गर्दा साढे दुईलाख भन्दा पाएको छैन । तर त्यो मेरो लागि साढे दुई करोड नै हो ।

श्रोत : फ़्रेश न्यूज नेपाल

२०७४ सालको मदन पुरस्कार नीलम कार्की ‘निहारिका’को उपन्यास ‘योगमाया’का लागि

काठमाडौं- २०७४ सालको मदन पुरस्कार नीलम कार्की ‘निहारिका’को उपन्यास ‘योगमाया’का लागि प्रदान गरिने भएको छ।

मदन पुरस्कार गुठीको आज बसेको बैठकले यो निर्णय गरेको हो।

यस्तै, जगदम्बाश्री पुरस्कार बाल साहित्यमा लामो समयदेखि सक्रिय शान्तदास मानन्धरलाई दिइने भएको छ। बाल साहित्यको विकास, विस्तार तथा प्रवर्द्धनमा पाँच दशकदेखि समर्पित रहको जनाउँदै गुठीले जगदम्बाश्री दिने भएको हो।

यसअघि मदन पुरस्कारका लागि गुठीले श्रेष्ठ ८ पुस्तकको सूची सार्वजनिक गरेको थियो। जसमा योगमायासहित नयनराज पाण्डेको यार, सरस्वती प्रतीक्षाको नथिया, ध्रुवसत्य परियारको कैरन, मोहन वैद्यको हिमाली दर्शन, यज्ञशको भुइयाँ, तीर्थ गुरुङको पाठशाला, राज माङ्लाकको लिम्बुनी गाउँ सूचीमा परेका थिए।

सायनको “छुटेका अनुहार” बजारमा

भदौ ९

कहिले राजधानी कहिले मोफसल त कहिले परदेशमा बसेर कलम चलाएर कविता मार्फत बलियो पहिचान बनाएका कवि रमेश सायनको निबन्ध सङ्ग्रह “छुटेका अनुहार” असोज तेस्रो साता बजारमा आउने भएको छ ।

लिपि प्रकाशनले प्रकाशन गर्न लागेको सङ्ग्रहमा १९ वटा निबन्ध संग्रहित छन् । सधैँ फरक र आफ्नै पहिचान हुनुपर्छ भन्ने मान्यताका साथ समाजका मसिना कुरा टिप्न खप्पिस उनी उपन्यासको बाढी चलिरहेका बेला निबन्ध मार्फत साहित्यमा अर्को छलाङ ल्याउँदैछन्।

कहिले थारूवस्तीमा पुगेर मुसाको चटनी खाने त कहिले राराको छेउमा पुगेर क्यामेरा चलाउने कवि सायनको यस अघि २०७१ मा प्रकाशित कविता सङ्ग्रह भागेर भूगोल भरी चर्चाकै शिखरमा रह्यो । अहिले इटहरीमा आफ्नै व्यवसास गरेर बसेका सायनले २०७० मा “नाम धनिमाया थारू वर्ष चौरासी” कवितामा साताको साहित्य पुरस्कार प्राप्त गरेका थिए ।

डाक्टरको लापरवाहीले शिशुको मृत्यु भएको भन्दै कारवाहीको माग ।।

भदौ ९ कपिलबस्तु,

कपिलबस्तुको तौलिहवा जिल्ला अस्पतालमा डाक्टरको चरम लापरवाहीका कारण आज एक बालकको मृत्यु भएकोे छ । यशोधरा गाउपालिका ७ सुलतनवा पुरका बल बहादुर तेलीका तीन महिने छोरा सुभम तेलीको मृत्यु भएको हो । चिकित्सकहरुको चरम लापरवाहीका कारण छोराको मृत्यु भएको आरोप लगाउँदै तेलीका आफन्तले आजविहान अस्पताल घेराउ गरेका थिए ।

पखाला लागेको बच्चालाई उपचारका लागि इमेरजेन्सी सेवामा ल्याएर राख्दा एक घण्टासम्म पनि डाक्टर नआएपछि ती शिशुको मृत्यु भएको तेलीको भनाई छ । अस्पतालमा एक–दुई जना स्वास्थ्यकर्मी, कर्मचारी बाहेक कोही नभेटिएको बताईएको छ । उपचारका लागीआउने बिरामीहरुलाई बस्ने समेत व्यवस्था नभएकोले भुइमा सुत्नुपर्ने दयनीय अवस्था रहेकोे गुनासो छ । साथै अस्पतालमा फोहर र दुर्गन्धले गर्दा बिरामीले सास्ती ब्यहोर्नु परेको र बर्षौ देखि शौचालय, अस्पताल परिसर, कोठाहरुको सरसफाई नभएकोले जनताको जीवन सँगै खेलवाड भइरहेको बिरामीहरुले गुनासो गरिरहेका छन् । यता तेलीले भने छोराको मृत्यु भएपछि डाक्टर माथि कारवाहीको माग समेत गरिरहेका छन् ।

कपिलबस्तुमा अटोरिक्साको ठक्करबाट एक जनाको मृत्यु ।।

कपिलबस्तु भदौ ९,

कपिलबस्तुको बुद्धभुमि नगरपालिकामा अटोरिक्साको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुद्धभुमी नगरपालिका ९ घेरवा बस्ने नुहर थारुको छोरा अन्दाजी २५ बर्ष का पन्चगुलाथ थारुको उपचारको क्रममा मृत्यु भएको हो । बुद्धभुमि ९ बरकलपुर स्थित महेन्द्रराज मार्गमा पुर्ब बाट पश्चिम तर्फ जादै गरेको लु १ स १६१० नंम्बरको अटो रिक्साले सोहि दिशा तर्फ जादै गरेका साईकल यात्रिलाई ठक्कर दिदाँ घाईते भएका थिए । उनलाई उपचारको लागि जिल्ला अस्पताल तौलिहवामा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको हो । अटो चालक प्रहरीको नियन्त्रणमा रहेको र अन्य थप अनुसन्धान कार्य भै रहेको ईलाका प्रहरी कार्यालय गोरुसिंगेले जानकारि दिएको छ ।

निर्मला हत्या प्रकरण : बबिता र रोशनी पक्राउ

कञ्चनपुर,  भदौ ९ । निर्मला पन्तको हत्याको अनुसन्धान गर्ने क्रममा प्रहरीले शनिबार बिहान बबिता बम र आँचल भनिने रोशनी बमलाई पक्राउ गरेको छ । उनीहरु दिदी बहिनी हुन् । भीमदत्त नगरपालिका वडानम्बर १८ स्थित आफ्नै घरबाट बम दिदी बहिनी पक्राउ परेका हुन् ।

निर्मला पन्त सोही घरमा गृहकार्य गएका बेला वेपत्ता बनेकी थिइन् । सो घरमा उनी आफूसँग पढ्ने साथी १८ वर्षीया रोशनीलाई भेट्न गएपछि बेपत्ता बनेकी हुन् । यसअघि प्रहरीले उनीहरुलाई सुरक्षाका लागि कार्यालयमा राखे पनि हिरासतमा लिएको थिएन । दुई तले घरमा बबिता र रोशनी मात्रै बस्दै आएका थिए ।

उनीहरुका बुवाआमा दार्चुलामा बस्दथे । निर्मलाको हत्यापछि भने बाबुआमा सोही घरमा आएर बस्दै आएका छन् । निर्मला हराएको दिन साउन १० गते अपराह्न पाँच बजे निर्मलाकी आमाले सो घरमा पुगेर छोरीबारे खोजतलास गर्दा बबिताले उनी दुई बजे नै यहाँबाट हिँडेको र अम्बा दिएर पठाएको बताएकी थिइन् ।

सुसाइड नोट -कविन्द्र कप्रल

सुसाइड नोट (Suicide Note)
           लेखक -कविन्द्र कप्रल
चैत्र मासको प्रचण्ड घाम । त्यसैमाथि बुटवल नगरी ।
घामको ताप, चाप र रापले सडकको छाती बेस्सरी पोलिरहेको  छ । टन्टलापुर घामले सडकमा पानीको मृगतृष्णा जन्माइरहेछ । एकमुठी शीतलता भेट्न पनि हम्मेहम्मे परेको छ । सडक छेउछाउका रूखहरू चुपचापसंग घाम तापिरहेका छन् । मानौँ रूखहरूले चर्को घाममा तपस्या गर्दैछन्, एउटा पात पनि नहल्लाईकन ।
घाम तापिरहेका छन् रे? रूखले पनि ? अझ त्यसैमाथि चैत्र महिनामा बटौलीको चर्को घाममा कसरी घाम तापिरहेका छन् ? तिनलाई जाडो भएको छ र? बेबकुफ ! पागल ! वाहियात कुरा ।
……
दिउँसोको १२:३० तिर,
म होराइजनचोकबाट गोलपार्कतिर जाँदै थिएँ । धेरैबेर कुरेँ । गाडी आएनन् । सोचेँ-हिँड्दै जान्छु, जहाँबाट गाडी पाइन्छन् त्यहीँबाट चढ्छु ।
गन्तव्यविहीन यात्री जस्तै, म घामको प्रवाह नगरी हिँडिरहेको छु । पसिनाले कमिज भिजेर निथ्रुक्क भएको छ । तिर्खाले घाँटीको रुद्रघण्टी सुकेर सुख्खा बगर जस्तै भएको छ । मुखमा र्‍यालसमेत बाँकी छैन । सबै सुक्यो अनि मरूभूमि जस्तै सुख्खा भएका छन् ओठ र मुख ।
 परसम्म पुग्दा पनि गाडी आएनन् । गाडी टन्नै आए, गए । तर गोलपार्कतिर हुँइकिने गाडी आएनन् ।
जे पर्लापर्ला आज हिँडेर नै गोलपार्क पुग्छु भन्दै एकोहोरो हिँडिरहेँ । घामको असर झन् झन् बढ्दै गइरहेको थियो ।
हस्पिटल लाइन पुगेपछि निकै गाह्रो भयो । सोचें–अब त जसरी पनि कुनै साधनमा चढ्नै पर्छ म । अन्यथा म घामको शिकार बन्न बेर छैन ।
त्यहाँ पनि गाडी आएनन् । त्यो दिन नआएका हुन् या मैले मेसो नपाएको हुँ, अनभिज्ञ रहेँ ।
एउटा रिक्सामा मस्तसंग उपरखुट्टी लगाएर सुतिरहेको रिक्सा चालकलाई सोधेँ- दाइ गोलपार्क जाने ?
ऊ मस्तसंग निदाएको थियो । मेरा शब्द उसको कानको जालीबाट भित्र छिरेनन् । सुतोस् मोरो भन्दै त्यसलाई घच्घच्याइनँ ।
केही पर गएर अर्को उखुको जुस पिउँदै गरेको रिक्सावालालाई सोही प्रश्न तेर्स्याएँ । उसले हुन्छ भन्यो । कति पर्छ गोलपार्कसम्मको भनेर सोद्धा १०० रुप्पे भन्यो ।
राजधानीमा १५ रुप्पेभन्दा धेरै भाडा नतिरेको मान्छेलाई बटौलीको भाडाले तर्साइरहेको थियो । मेरो सातोपुत्लो उडेन धन्नै ।
मनमनै उसलाई नमस्कार गरेर फेरि हिँड्ने क्रम जारी राखेँ ।
सोचेँ-आज म हिँडेरै गोलपार्क पुग्छु ।
बटौलीको घाम र गर्मीले मलाई च्यालेन्ज गरिरहेको थियो । आज बटौलीको घामलाई मैले च्यालेन्ज गर्न मन लाग्यो । त्यसैले हिँडिरहेँ । वस् हिँडिरहेँ, घामकै छाता ओढेर ।
बटौलीको घाम र गर्मीले मलाई च्यालेन्ज गरिरहेको थियो । आज बटौलीको घामलाई मैले च्यालेन्ज गर्न मन लाग्यो । त्यसैले हिँडिरहेँ । वस् हिँडिरहेँ, घामकै छाता ओढेर ।
……………………………
झण्डै एक घण्टा पैदल यात्रा पूरा गरेपछि गोलपार्क पुगेँ ।
गर्मीले टाउको रन्थनाइरहेको थियो । पसिनामा चुर्लुम्मै डुबेको थिएँ । कतै ढल्छु कि भन्ने भय थियो मनमा । त्यसैले एकैछिन प्रतीक्षालयमा बसेर शीतलता ताप्ने निधो गरेँ । र आँखा चिम्म गरेर बसेँ, लामो श्वास लिएर ।
“सुसाइड नोट”
एकैछिनपछि आँखा खोलेँ । केही आराम भएको अनुभूति गरेँ ।
जब नजर पैदलमार्गमा बज्रिए, त्यहाँ एउटा कागज देखेँ ।
सुरुमा सोचेँ-कसैले चटपटे खाएर हुर्र्‍याएको कागज होला ।
तर कागज सफा देखिन्थ्यो । त्यहाँ वरिपरि अन्य कागज पनि थिएनन् । त्यसैले केही लेखिएको छ कि भनेर हत्तपत्त टिपेर ल्याएँ कागज ।
पट्याइएको थियो कागज । खोलेर हेर्न हतार गरेँ। मानौँ त्यो प्रेमपत्र हो र मलाई मेरी प्रियसीले लेखेकी हुँदी हुन्, प्रेमको मसीले हृदयको प्रेम ।
जब कागज खोलेर हेरेँ,
पानाको सिरानमा लेखिएको थियो “सुसाइड नोट” ।
धन्नै मेरो होस उडेन । कसले लेखेको होला सुसाइड नोट ?
मलाई थाहा थिएन–आत्महत्या गर्ने चिर्कटो लेख्दा सिरानमा हेडिङ लेख्छन् भनेर ।
तल पढूँ कि नपढूँ, द्विविधाको घट्टामा पिल्सिन पुगेँ ।
तर जे लेखेको भएपनि तल नजरका घोडा नदौडाएसम्म मनलाई चैन मिलेन । अनि दौडिए मेरा नयनका घोडा सुसाइड नोटका प्रत्येक कारुणिक शब्दशब्दमा ।
त्यहाँ लेखिएको थियो,
“आदरणीय बुवा-मम्मी !
मलाई माफ गरिदिनू होला ।
हजुरहरूको सपना पूरा गरिदिन मैले आफ्नो सपनाको बली दिएँ । आफ्नो लक्ष्यलाई तिलञ्जली दिएँ ।
आफ्ना रहरहरूलाई मनमा नै नजरबन्दमा राखेर हजुरहरूको इच्छा पूरा गर्नतिर लागेँ ।”
बाआमाको सपना पूरा गर्नु सन्तानको लागि त्यो भन्दा खुसीको कुरा के हुनसक्छ र? अचम्म लाग्यो ।
तल पढ्दै गएँ,
“बुवा नेपाल सरकारको सचिव हुनुहुन्छ हजुर । हजुरसंग अथाह सम्पत्ति छ । धनको कमी थिएन सायद । त्यसैले मलाई डाक्टर बनाउन खोज्नुभयो । पैसाले किनिएको डाक्टर ।
हजुरलाई थाहा नै थियो,
मलाई मेडिकल लाइनतिर फिटिक्कै मन थिएन ।
मलाई पत्रकारिता पढ्न मन थियो । त्यसैले +२ पनि जोर्नालिज्म पढ्न चाहन्थें । हजुरले दिनुभएन । जबर्जस्ती साइन्स पढ्न लगाउनुभयो । मन नलागीनलागी +२ बल्लबल्ल पास गरेँ ।
मलाई बोल्न निकै मन पर्दथ्यो । राष्ट्रियस्तरका वादविवाद र वक्तृत्व कलामा पनि प्रथम भएकी हुँ कैयौंपटक । डिवेट मेरो सबैभन्दा मन पर्ने विषय थियो ।
म एक सक्षम र सफल पत्रकार बन्न चाहन्थेँ ।
बोलेर जिन्दगी चल्दैन । के हुन्छ जाबो पत्रकार पढेर र बनेर !
डाक्टर बन्नुपर्छ । त्यसमा छ प्रतिष्ठा र इज्जत ।’ हजुरले सधैँ यस्तै भन्नुहुन्थ्यो ।
मलाई डाक्टर पढ्ने रुचि अलिकति पनि थिएन । +२ साइन्स पढेपनि ब्याच्लरमा पत्रकारिता पढूँला भनेकी थिएँ । तर मेरो केही लागेन ।
जबर्जस्ती एमबीबीएस पढ्न लगाउनुभयो । लाखौँ खर्च गरेर मलाई प्राइभेटमा डाक्टर पढाउन अग्रसर हुनुभयो ।
कैयौंपटक फेल हुँदै पढ्दै म डाक्टर बनेँ तर आत्मादेखिको डाक्टर बनिनँ । हजुरको पैसाले मलाई डाक्टर बनाएको हो बुवा ।
म डाक्टर बनेपनि मेरो आत्माले मेडिकल लाइन स्वीकार्नै सकेन । नाम मात्रको डाक्टर बनेर म के गरूँ?
म ढुक्क थिएँ र आत्मविश्वास पनि थियो, मैले पत्रकारिता क्षेत्रमा राम्रो गर्न सक्ने थिएँ । तर मेरो सपना सबै तुह्यो बुवा ।
म जबर्जस्ती बनाइएको डाक्टर र नक्कली डाक्टरमा तात्त्विक भिन्नता के नै रह्यो र ? म सकिनँ बुवा यस्तो जिन्दगी बाँच्न ।
सुगालाई फलामको पिञ्जडामा थुनेपनि, सुनको/हिराको पिञ्जडामा थुनेपनि आखिर पिञ्जडा त पिञ्जडा नै हो नि बुवा, होइन र? मलाई यो पिञ्जडाबाट मुक्त बनाइदेऊ भनेर पुकार गर्दा तलाई सुनको पिञ्जडामा राख्छु भन्नू र मेरो इच्छा विपरीत टन्न पैसा खर्चेर भएपनि तिमीलाई डाक्टर नै बनाउँछु भन्नु एकै भएन र बुवा ?
यति शिक्षित भएर पनि सन्तानको इच्छा विपरीत चल्ने र सन्तानको भविष्य उल्टै अन्धकार बनाइदिने बुवाआमालाई मेरो सलाम छ ।
मेरो जिन्दगी जस्तो भएपनि भाइलाई आफ्नो इच्छाको विषय पढ्न दिनू बुवा । मैले जस्तै भाइले पनि सबैथोक त्यागेर हिँड्न नपरोस् ।
म जिन्दगीदेखि हारेकी छैन बुवा । ढुक्क हुनुस् म सुसाइड गर्दिनँ । तर म घर छोडेर हिँडेकी हुँ । मलाई खोज्ने प्रयास नगर्नुहोला ।
उही सुनको पिञ्जडामा थुनिएकी र ऐले पिञ्जडाबाट फरार भएकी हजुरहरूकी छोरी ।”
हे ! भगवान् !
मोरीले माथि सुसाइड नोट लेखेपनि धन्न सुसाइड गरेकी रैनछे । बुवाआमालाई तर्साउन त्यस्तो लेखेकी होली ।
पढ्दै जाँदा मलाई निकै डर लागेको थियो । सोच्दै थिएँ–फेरि एक कलिलो फूलले आत्महत्या गर्नेभयो ।
किन्तु मेरो प्रक्षेपण गलत साबित भयो । म खुसी भएँ ।
प्रिय मानुषी !
मेरा बाआमा अशिक्षित हुनुहुन्छ । शिक्षित भएर सन्तानको भविष्यमाथि खेलवाड गर्ने बुवाआमाभन्दा मेरा जस्तै शैक्षिक रूपमा अशिक्षित बुवाआमा भएको कैयौं गुणा जाती । जसले मलाई कहिल्यै आफ्नो निर्णय लिनमा बाधक बन्नु भएन ।
ऐले घोत्लिएर सोच्छु,
त्यो सुसाइड नोट किन मेरै हात पर्‍यो होला ? अनि तिनका आमाबाले के गरे होलान् ? तिनी डाक्टरी कता गइन् होला त्यो कागज त्यहाँ खसालेर? यी प्रश्नहरू मन र मस्तिष्कमा पेन्डुलम बनेर हल्लिरहेका छन् ।
© कविन्द्र कप्रल

साप्ताहिक राशिफल

साप्ताहिक राशिफल
 भदौ १० देखि १६  सम्म

मेष – चु, चे, चो, ला, लिई, लु, ले, लो, अ (Aries)
– प्रारम्भमा  व्यापार व्यवसायबाट राम्रै लाभ प्राप्त गर्न सकिन्छ। केही अवसरहरू पनि जुट्नेछन्।  प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ।  काम देखाएर उपलब्धि हात पार्ने मौका छ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। दोष, प्रत्यारोप हरू आउन सक्छन्। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्न सक्छ। यस बिचको लगानी पछिका लागि फाइदाजनक हुनेछ। बिहीबारदेखि तारिफयोग्य कामको चर्चा हुनेछ।   साताको अन्त्यतिर एकाग्रतामा कमी आउन्न सक्छ । छिट्टै बिर्सिने समस्याले केही तनावमय गराउन सक्छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
– कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। प्रारम्भमा केही चुनौती देखिए पनि प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। कर्मयोगले समाजमा स्थापित गराउन सक्छ। साताको मध्यदेखि भने समय राम्रै रहला। बौद्धिक व्यक्तिहरू सँग भेटघाट रहला। मान सम्मान को योग रहेको छ भने अन्त्यतिर प्रशस्त धन लाभ पनि हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
–   धार्मिक वा मांगलिक कार्यमा सहभागी बहिएला।   व्यापार व्यवसाय वा कार्यालयको कामले केही अप्ठ्यारोपनको महसुस गराउनेछ। मनग्गे आम्दानी हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले समस्याको समाधान हुनेछ। तर खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। पराक्रम र जोस जागिर बढ्नेछ भने दिगो कामको थालनी पनि हुनेछ, अनावश्यक विवाद मा  भने समय खेर नाफाल्नुहोला। तर्क शक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। सप्ताहान्तमा चिताएका काम बन्नाले नाम, दाम र इनाम प्राप्त हुने देखिन्छ।

कर्कट – हि, हु, हे, हो, डा, डी, डु, डे, डो (Cancer)
– प्रारम्भमा स्वास्थ्य कमजोर रहनाले पछि परिनेछ। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला।  आवेशमा गरिएको कामले पछि चिन्तित तुल्याउन सक्छ। कार्यहरूमा अवरोध सिर्जना हुन सक्छन् भने अनावश्यक झनझटहरु आईलाउनेछन। स्वास्थ्यका लागि सजग रहनुहोला। परिस्थितिले सङ्घर्षको पथमा हिँडाउन सक्छ। केही अप्रत्याशित उपहारहरू प्राप्त हुनेछन्। अध्ययनमा बाधा पुग्नेछ भने वादविवादले समस्या निम्त्याउन सक्छ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। असहज परिस्थितिका बिच कामको बोझ बढ्न सक्छ।  सुरुवातको दिनहरू तनावमय भए पनि साताको अन्त्यतिर भने मन प्रफुल्लित हुनेछ।  जोस र जागिर बढ्नेछ।  संयम ता भने अपनौनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
– प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ। रमाइलो यात्राका बिचमा आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। चिताएका काम बन्नाले प्रशस्तै धन लाभ हुनेछ।  मध्यका दिनदेखि अप्ठ्यारा कामको बोझ थपिन सक्छ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि सजग रहनुहोला। अरूकै लागि रकम र समय खर्चनुपर्ला।  सामाजिक प्रतिष्ठा एवं पदीय जिम्मेवारी प्राप्त हुनेछ।

कन्या – टो, प, पी, पु, ष, ण, ठ, पे, पो (Virgo)
– आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। मिहिनेतले अवसर दिलाउनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। विवाद तथा मुद्दाहरूमा पनि आफ्नो पक्ष बलियो रहनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। बुधवारपछि स्वास्थ्य बाधा र मनको डरले सताउनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। आराम र आहारविहारमा ध्यान पुर्याउनुहोला।

 

तुला – र, रि, रु, रे, रो, ता, ती, तु, ते (Libra)
– – सुरुमा विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। विशेष व्यक्तिसँग भेटघाट हुनेछ। प्रियजनसँगकाे भेटघाटले साता रमाइलो रहनेछ। प्रेम र मित्रताको बन्धन कसिने बलियो सम्भावना देखिन्छ। दिगो फाइदा हुने काम सुरु होला। बिहीबारदेखि परिस्थिति अलि कमजोर रहनाले केही झमेला आइलाग्न सक्छन्। घरायसी कामबाट अरूले फाइदा उठाउने प्रयत्न होला। सतर्कता अपनाउनुहोला। साझेदारीबाट केही अप्ठ्यारो महसुस हुन् सक्नेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यी, यु (Scorpio)
– स्रोत–साधन जुट्नाले छोटो समयमा उपलब्धि हातलागी हुनेछ। शत्रुहरू पछि हट्नेछन्। वादविवादबाट अलि सावधान रहनुहोला। सहयोगीहरूले विपक्षी मार्ग अवलम्बन गर्न सक्छन्।   कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो ल्याउने चेष्टा गरे पनि आँटले काम बनाउन सकिनेछ। मिहिनेत गर्दा धेरैलाई उछिन्ने मौका छ। उत्तरार्द्धमा प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। व्यवसायमा प्रगति हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिन सक्छ। सप्ताहान्तमा स्वास्थ्यका कारण काममा समस्या पर्न सक्छ। तापनि शुभचिन्तकहरूको साथले ऊर्जा प्राप्त हुनेछ।

धनु – ये, यो, भ, भी, भु, ध, फा, ढ, भे (Sagittarius)
– धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। खराब व्यक्तिको संगतले बुद्धि भ्रम हुनेछ। घरेलु समस्यामा अलि सावधान रहनुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ उठाउन सफल भइनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठुलो काम बन्नेछ।  जोस र जागिर बढ्नेछ, साताको मध्यतिर आराम मिल्ने समय मिल्नेछ भने कोही नसोचेका मित्र वा आफ़न्तसग भेट हुने मौका मिल्नेछ। स्वासप्रस्वासमा समस्या आउन सक्छ भने परिवार भित्र को जिम्मेवारी पनि बढ्न सक्छ। बिचमा समस्या आए पनि हिम्मत गर्दा चुनौती पन्छाउन सफल भइनेछ।  सुखद समाचारले मनमा उत्साह जगाउनेछ।

मकर – भो, ज, जी, खि, खु, खे, खो, गा, गि (Capricorn)
–  प्रारम्भमा आम्दानीका विविध स्रोत फेला परे पनि लाभ उठाउन नसकिएला। परिस्थितिवश हातबाट सञ्चित रकम बाहिरिन सक्छ। मध्येदेखि आम्दानी बढ्नेछ र प्रतिष्ठित काम गरेर नाम, दाम र इनाम हात पार्न सफल भइनेछ। आँटले काममा सफलता पनि दिलाउनेछ।  रमाइलो जमघटका बिच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। आवश्यकता अनुसार फाइदा उठाउन गाह्रो हुनेछ।  आफ्ना कुटुम्ब, आफ़न्तसग मिल्ने र सँगै समय बिताउने मौका हरू आउन्न  सक्छन्।  पराक्रम र धैर्यताले कामहरूमा बढोत्तरी हुनेछ।  ठुला सोचहरूको विकास हुनेछन्।  सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन्। अरूको दबाबमा परेर निर्णय लिन बाध्य भइनेछ।

कुम्भ – गु, गे, गो, सा, सी, सु, से, सो, द (Aquarius)
– परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ।  विशिष्ट व्यक्तिहरूसँग पनि मित्रता बढ्नेछ। तारिफयोग्य काम हुनेछन्। आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि आम्दानी बढ्नेछ। दिगो फाइदा हुने काममा लगानी गर्ने मौका छ।  धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। पारिवारिक जिम्मेवारी बढ्नेछ भने कुनै मांगलिक कार्य वा समारोहमा सहभागी हुने अवसर जुट्नेछन्। आफ़न्तसगको भेटघाटले मन आनन्द तुल्याउनेछ। जोस जागिर सहित नयाँ कार्यको सुरुवात हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। लाभ नहुने कामको समेत जिम्मेवारी सम्हाल्नुपर्ला। घरमा असमझदारी बढ्नाले काममा पनि बाधा हुन सक्छ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ।   तर्क शक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ।  ढिलासुस्तीका कारण अवसरहरू हातबाट फुस्किन सक्छ भने बोलीको नियन्त्रण गर्नुहोला।  यात्रा गर्ने अवसर जुर्न सक्छ।

बिजयनगर गाउँपालीकामा एक जनाको शव फेला ।।

कपिलबस्तुको बिजयनगर गाउँपालीकामा एक जनाको शव फेला परेको छ । बिजयनगर गाउँपालीका वडा नं.५ बिसहवादेबीपुर घाटको खोलापारी भारत र नेपालको सिमाना नजिकै नेपालतर्फ जिल्ला बिजयनगर गाउँपालीका५ कटुवा बस्ने अयोध्या कोरीको छोरा बर्ष अंन्दाजि २०÷२१ को छन्नु कोरीको शव फेला परेको हो । स्थानियले ईलाका प्रहरी कार्यालय गणेशपुरमा गराउन साथ तत्काल प्रहरी टोली खटि गएको थियो । मुचुलका कार्य गरी पोष्टमार्टम पश्चात शवलाई परिवारलाई बुझाईएको र अन्य थप अनुसन्धान कार्य भै रहेको ईलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।
यस्तै उता कपिलबस्तुको कपिलबस्तु नगरपालीकामा एक निलगाईको उद्धार गरिएको छ । कपिलवस्तु नगरपालिकाको वडा नं.१ गौरीचोक नजिकै रहेको पोखरीको दलदलको हिलोमा जंगली निलगाई फसेको थियो । प्रहरी टोली, स्थानिय सहित वन कार्यलयको सक्रियतामा निल गाईको उद्दार गरी बन कार्यालयलाई जिम्मा लगाईएको कपिलवस्त्ु प्रहर्ीले जानकारी दिएको छ ।

सुनको सहज आपुर्ति नहुदा कपिलवस्तुका सुनचादी ब्यापारीहरु मर्कामा ।।

सुनको सहज आपुर्ति नहुदा कपिलवस्तुका सुनचादी ब्यापारीहरु मर्कामा परेका छन । तीजको सिजन सुरु भएको छ तर ब्यापारीहरुसंग सुन नहुदा उनीहरुको कारोवारमा असर परेको बताउछन । सरकारले सहजरुपमा सुनको आपुर्ति नगर्दा आफुहरुको ब्यवासय धरासायी बन्दै गएको सुनचादी ब्यवसायी संघका जिल्ला अध्यक्ष देबी प्रसाद बर्माले बताए । सरकारले देशभरकालागि मासिक २० किलो सुन सुनचादी ब्यवसायी महासंघलाई दिने गर्दछ । त्यसको ६० प्रतिशत बढी हिस्सा महासंघ आफले राख्ने गरकोले आफुहरु मर्कामा परको अध्यक्ष बर्मा बताए । जिल्लामा महासंघकाले मासिक ५ किलो मात्र सुन दिने गरेको छ । जुन माग अनुसार धेरै कम भएको सनुचादी ब्यवसायी बताउछन । बैकहरुमा गरिने सुनको लिलामीमा समेत सुनचादी ब्यापारी भन्दा अरुलइृ नै माल दिने गरिएकाले समत समस्या परको उनको दाबी छ । सुनको अभावले बजारमा कालोबजार िसमेत मौलाएको ब्यापारीहरु बताउछन । सिन्डीकेट र कालोबजारीले गर्दा आफुहरुले प्रति तोला ३ हजार ५ सय बढीमा माल किन्न बाध्य भएको उनले बताए । उलने सुनको मापदण्ड समेत बनाउनु पर्ने माग गरे ।
उता सरकारले सहज तरिकाले सुन चाँदी आपुर्ति नगर्दा आफनो पेशा व्यवसाय धरासायी भएको भन्दै कपिलवस्तुका सुन चाँदी व्यवसायी आन्दोलित भएका छन । उनीहरुले तिन दिन सम्म सुन चाँदी पसल बन्द गर्ने निर्णय गरेका छन । यसै बिच कपिलवस्तु सुन चाँदी व्यवसायी संघका केन्द्रिय सदस्य समेत रहेका जिल्ला अध्यक्ष देबी प्रसाद वर्माले प्रेस बिज्ञप्ती मार्फत आफुहरुको व्यवसाय नै संकटमा परे पछि ३ दिन सम्म पसल बन्द गरि बिरोध गर्ने निर्णय गरिएको जनाएका छन । प्रेषित बिज्ञप्तीमा सरकारले व्यवसायीको संरक्षण गर्ने प्रतिबद्धता गरे पनि सुन चाँदीको आवश्यक आपुर्ति तथा मापदण्ड तोक्ने बिषयमा कुनै चासो नदिएको आरोप लगाईएको छ । सुनको सहज उपलब्धता नहुदाँ प्रति तोला ३ हजार ५ सय बढि रकम तिर्नु पर्ने अवस्था सृजना भई सुन कालो बजारियालाई प्रोत्साहन मिलेको बित्रप्ती मार्फत अवगत गराईएको छ । सुनको प्रयाप्त उपलब्धताका लागी आफुहरुले दबाब दिने उद्धेश्यका साथ तिन दिन सम्म पसल बन्द गर्ने निर्णय गरे पनि आफना माग सुनुवाई नभए चरणबद्ध आन्दोलनमा जाने बिज्ञप्तीमा उल्लेख छ ।